यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

उल्लुको बोली, चमेरोको दुःख र बाघलाई ज्वरो : चिडियाखानामा कोरोना कल्पना

-राजु आचार्य- 

आज मौसम अलि चिसो चिसो छ। घाम छैन। बादल धुम्म छ। त्यसैले दिउँसो पनि आँखा देखिरहेको छु। आजभोलि  मानिसहरू पनि आएका छैनन्। नत्र भने यतिखेर आइसक्थे। हैन, बिदा पनि होइन। आ… जे सुकै होस्। यी दुई खुट्टेहरू नआएकै जाति। हल्ला गरेर दिनभरि हैरान गर्छन्। हुनी नहुनी खान दिन्छन्। पेट दुखेर हैरान। आज भोलिका केटाकेटी त झन् भनेको नै मान्दैनन्। ‘ऊ उल्लु हेर हेर !’ ‘हैन यो त हुचिल होइन र’ भनेर एकै खालको कुरा गर्छन्। कोहीकोही त ‘यसलाई चीन पुर्‍याउन पाए निकै पैसा पाइन्थ्यो’ भनेर गिद्धे नजर पनि लाउँछन्। दिक्क लाग्छ। जालीबाट मसिना दाउराले घोच्छन् पनि। ज्ञान भएका तर विवेक नभएका मनुवाको कुरा गरी साध्य नै छैन।

अहिलेसम्म चिडियाखानाका कर्मचारी खाना लिएर पनि आएनन्। मलाई मन पर्ने मुसा दिए पो! त्यही भैँसीको मासु त हो नि ! गनाएको हुन्छ। ताजा त घरमै लैजान्छन् कि क्या हो !

छेवैमा बस्ने बाघ खोक्दै छ त आज। के भएछ यसलाई ? ओहो साँझ परिसक्यो । बाहिर पनि हल्ला असाध्यै कम छ। आजको दिन पनि बित्न लाग्यो।

‘तँलाई केही थाहा छ, किन हो यस्तो आज’ मैले मसँगै बस्ने तर अर्कै प्रजातिको लाटोकोसेरोलाई सोधेँ। ऊ मसँग बोल्न खासै मन गर्दैन, अर्को जातको न पर्‍यो । मान्छे जस्तै भएको छ ऊ आजभोलि। काम परे मात्र खोज्छ मलाई। यी हाकिमहरूले पनि के गर्छन् कुन्नि, अर्को जातको उल्लु ल्याएर किन एकै ठाउँमा राख्नु पर्‍यो ?

यसले साथ नदिएपछि अर्को पिँजडामा रहेको चमेरातिर मैले त्यही प्रश्न राखेँ । दिनभरि भुईँतिर झुन्डिएर के गर्छ कुन्नि। अलि गफाडी छ ऊ।  इतिहासै बताउन थाल्यो।

***

मेरो छेवैमा सानो प्वाल छ। यी चिडियाखानाका मानिसले देखेका छैनन्। त्यहीँबाट बेलुकी बाहिर घुमेर पनि आउँछु। पहिला पहिला मलाई देखिनसहने एक जना चेपाङ दाइसँग मित लगाएको छु। आजकल उनी मेरा हितैषी भएका छन्। उनीसँग हिजो निकै भलाकुसारी भयो। दाइले  भन्दै थिए ‘अलि होस् गर्नु है, मान्छेलाई कोरोना भन्ने भाइरसको कारणले रोग लागेको छ। तिमीलाई भेटे मारी पो दिन्छन्।’

हामी प्रकृतिमा आरामले बसेका थियौँ । मान्छेले देखिसहेनन् । घर मासिदिए। मारेर  खाए। हाम्रा थुप्रै पुस्ता मारिदिए। यिनले दिएका दुःखको बयान गरी साध्य छैन। हाम्रो शरीरबाट भाइरस सर्‍यो रे। उ त्यो सिवेट छैन, त्यसलाई पनि दोष लगाएका छन्। कोही कोहीले त सर्पलाई पनि दोषी मानेका छन्। त्यो भाइरस हाम्रो शरीरबाट मान्छेको शरीरमा पुग्यो भनेर खेदो खनेका छन्। हामीलाई खाऊ भनेका थियौँ र !

***

चमेराको कुरा सुनिसके पछि पो बल्ल मलाई चिडियाखानामा किन मानिस आएनन् भन्ने थाहा भयो। हाम्रो कुरा सुनिरहेको त्यो गोठे लाटोकोसेरो पनि कान ठाडो पार्दै नजिकै आइपुग्यो। ज्यान जाने कुरा भएपछि यस्तै हुँदो रहेछ।

त्यो  चमेरालाई सोधे ‘ तँलाई किन मार्ने रे’ । उसले बेली विस्तार लगायो, ‘तिमी जस्तै थुप्रै वन्यजन्तु चीनमा तस्कर हुन्छ। तिमीहरूलाई त जिउँदै लैजान्छन् तर हामीलाई त मारेर हो नि। चीनमा हाम्रा आफन्तहरू पनि थुप्रै छन्। उता लगेर हामीलाई मार्छन् अनि खान्छन्। अनेक रोग लागेको सन्चो हुन्छ रे। अनि अहिले हाम्रो शरीरको रोग सर्‍यो रे।’ बाहिर बसेका मेरा आफन्तहरूलाई रोग सर्छ भनेर धेरैलाई  मारिसके।’

‘हैन चीनको रिस नेपालमा किन देखाउने होला?’ उसले थप्यो ।

मलाई नरमाइलो लग्यो । यी मानिसले कहिले पनि राम्रो सँग बस्न दिएनन् । कहिले फुल चोरे, कहिले गुलेलीले हानेर घाइते बनाए, कहिले हाम्रो अङ्गको व्यापार गरे, कहिले हामी बस्ने घरमा आगो लगाए । हामी चुप लागेर बस्यौँ । आज यिनलाई पनि हामी जस्तै भएको रहेछ । एक अर्काको नजिक बसेर कुरा गर्न पनि सकेका छैनन् । ढोका बन्द छ। बजार बन्द छ। स्कुल बन्द छ। कुनैले उपचार पनि पाएका छैनन्।

चमेराले  भन्यो ‘ बुझिस् मान्छेहरू त घरबाट बाहिर पनि निस्किएका छैनन्। अहिले बेलुका उड्न खुब रमाइलो र शान्त पनि हुन्छ।’

चमेराको कुरा सुनेर मलाई बाहिर उड्न पाए हुन्थ्यो जस्तो लाग्यो। आफ्नो भने लामो समयदेखि उड्न नपाएर पखेटा कुँजिएका छन्। खुला आकाशमा घुम्नु पर्ने हामी राम्ररी हिँड्न पनि पाएका छैनौँ। न खाना राम्ररी पाएका छौँ। भित्तामा ठोकिएर चुच्चोमा घाउ भएको छ। परिवारसँग छुट्ट्याइएर ल्याएको पनि ३ वर्ष भइ सक्यो। अब त चिन्दैनन् पनि होला। हामीलाई यसरी जेलमा हाल्नेहरूलाई कहिले पनि सुख त हुँदै हुन्न। ल जा  ठोकेर भन दिएँ।

उता बाघले गुनासो गर्‍यो,  ‘मेरो शरीरमा ज्वरो पनि छ, खोकी लागेको पनि हप्ता काटिसक्यो। त्यो कोरोना सोरोना के हो चेक गरेर, औषधि दिए हुने नि’ ।

अघिदेखि चुप लगेर बसेको भालुको पारा छुट्यो ‘ गर्छन् तँलाई चेक, मान्छेको त भाको छैन त जाबा बाघको’ । बाघ चुप लाग्यो ।

‘के भयो’ धेरै घोरिएको देखेर चमेरो मतिर हेरेर करायो।

मैले भने ‘केही होइन’ । तर सबै मान्छे तिर फर्केर भन्न मन लाग्यो ‘खुच्चिङ’ । हाम्रो हितको लागि को बोल्छ होला ? लकडाउन पछि मानिसको  बुद्धि फिर्ला त ! मलाई त भर लाग्दैन । यिनीहरु बाँचे भने यिनले कोरोना त्रास पनि छिट्टै बिर्सने छन् । जसरी भूकम्पलाई बिर्से ।

(माथि उल्लेखित संवाद काल्पनिक हुन्। वर्षौँदेखि लाखौं वन्यजन्तुहरु चिडियाखानामा बसालिएका छन्। यसका सकारात्मक र नकारात्मक दुवै आयामहरू छन्।)

 

2 comments to उल्लुको बोली, चमेरोको दुःख र बाघलाई ज्वरो : चिडियाखानामा कोरोना कल्पना

  • Jagan Nath Adhikari

    Thank you Raju ji for your nice description and presentation of voice of animals kept in Zoo. These animals are really vulnerable as your story said.

  • Bhattu

    Lekh ramro lagyo, bagh lai joro aako bhanda kheri sachaiko new york ko zoo ma bagh lai corona lagera joro aako khoki laako yad aayo.