यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पर्वतको अनौठो दृश्य : दाम्लोले बाँधेर बजार डुलाउँदा पनि चितुवा किन चुप बस्यो?

-राजु आचार्य- 

दाम्लोले बाँधिएको एउटा चितुवा लमक लमक हिँड्दैछ। केही समय एक युवक र धेरै जसो समय दुई जना प्रहरी समेतले दाम्लो समातेर हिँडेको छ। मानिसहरु सेल्फी खिच्न लालायित देखिन्छन्। कोही कोही भिडियो पनि खिचिरहेका छन्। कोही चितुवाको टाउकोमा यस्सो छोएर हेर्छन्। घरपालुवा झैँ गरी चितुवा पनि मानिसहरुको भिडमा बिन्दास हिँड्दैछ।

यतिखेर पर्वत जिल्लामा उद्दार गरिएको भनिएको चितुवालाई बजारमा गराइएको क्याट वाक चर्चामा छ। धेरैले चितुवालाई बाघ भनेका छन्। कोरोनाले आक्रान्त पार्दै गरेको अवस्थामा सामाजिक दुरीको धज्जी उडाउने गरी हुल रमाइलोमा व्यस्त देखिन्छ। एक जना प्रहरीले त मास्क पनि लगाएका छैनन्। उनी भन्छन् ‘ कोरोना आयो कोरोना’। उक्त चितुवा पर्वतको जलजलामा गाउँपालिका-७ धाइरिङमा समाएर प्रहरी र डिभिजन कार्यालयमा बुझाइएको छ।

के त्यसरी ‘क्याट वाक’ गर्नहुन्थ्यो ?

यही प्रश्न पर्वतका डिभिजनल वन अधिकृत अशोक श्रेष्ठलाई सोध्दा उनी भन्छन्, ‘त्यसो गर्नु हुन्थेन, किन गरे कुन्नि!’

उनले भने ‘हामीलाई खबर गरेपछि सहायक वन अधिकृत रवि आनन्द गोपाली, ईश्वर पुरी (चालक) र सुदिप पुन (खरिदार) सहितको टिम बनाएर गाडीसहित पठाएको हो, तर त्यति बेलासम्म उद्दार गरिएको ठाउँबाट मुख्य बजारसम्म ल्याइसकिएको रहेछ। धन्न कुनै घटना भएनl हाम्रो समूहले त्यसपछि गाडीमा हालेर लिएर आएको हो।’

युवा अनुसन्धानकर्मी तथा बिरालो प्रजातिका अध्येता यादव घिमिरे भन्छन्, ‘यो अचम्मलाग्दो घटना हो। यस्तो घटना मैले अहिलेसम्म देखेको छैन। चितुवा बिरामी जस्तो देखिन्छl यसलाई घरमा पालिएको पनि हुन सक्छ। दुवै अवस्थामा यसरी सार्वजनिक स्थानमा हिँडाउन नहुने।’

प्राध्यापक एवम् वरिष्ठ वन्यजन्तु विज्ञ करनबहादुर शाह भन्छन् ‘यो देशमा प्रहरी, कर्मचारीलाई पनि के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने थाहा छैन। सर्वसाधारण त कुरै छोड्नुहोस्। चितुवालाई उद्दार गरेको भए पनि त्यस्तो सास्ती दिन पाइँदैन।’

वन कार्यालयको समूहले गाडीमा ल्याएको चितुवालाई हाल डिभिजन वन कार्यालयमा राखिएको छ। मंगलबार प्राविधिकले सामान्य चेक गरेर औषधि दिइएको छ। यता ठिक नभए ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’ को चितवन कार्यालयमा समन्वय गरेर उतै पठाउने सोचमा रहेको छ वन कार्यालय।

leopard in cage
वनका कर्मचारी गाडीसहित गएर डिभिजन वन कार्यालयमा यसरी ल्याइएको थियो

के के भयो ?
सोमवार (असार ८ गते) : प्रहरीद्वारा उद्दारl बजार घुमाएको। बेलुका करिब ७ बजे डिभिजनल वन कार्यालयमा पुगेको।
मङ्गलवार (असार ९ गते) : प्राथमिक उपचार।
बुधवार(असार १० गते) : पर्वतका पशु स्वास्थ प्राविधिक गोविन्द पौडेल द्वारा उपचार सुरु, चितुवाले मासु खान थालेको।
बिहीबार (असार ११ गते) : उपचार नियमित।
शुक्रवार(असार १२ गते) : अवस्था हेरेर, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन लैजाने योजना

चितुवाको अवस्था कस्तो छ अहिले ?

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ अन्तर्गत कुस्मामा रहेको सम्पर्क इकाईका ‘पशु स्वास्थ्य प्राविधिक’ गोविन्द पौडेलले नियमित रूपमा सो चितुवाको रेखदेख गरेका छन्।

उनी भन्छन् ‘यसले आफ्नो हरकत देखाएको छैन। निकै तनावमा छl आँखा राम्ररी देखेको छैन। बाहिरी ठूलो चोट छैन तर नाकको टुप्पामा सानो घाउ छ। यसले कान पनि कम सुनेको जस्तो लागिरहेको छ।’

उनले थपे, ‘हामीले सामान्य औषधि सुरु गरेका छौँ। वनका कर्मचारीले मासु ख्वाउने र अन्य रेखदेख गर्ने काम गरेका छन्।’

leopard feeding
चितुवालाई मासु ख्वाउदै वनका कर्मचारी

सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरू

पत्रकार भीमप्रसाद घिमिरेले भाइरल भएको भिडिओ बारे यसरी फेसबुकमा पोस्टाएका छन्, ‘आजको दिन ‘नेपालीले पाए गर्छ’ भन्ने भनाइका साथ सामाजिक सञ्जालमा भाइरल रहेको पर्वतको फोटो/भिडिओ हेर्न पर्नी रछ। मुन्छेका भीडसँगै दाम्लोमा चितुवा लुरुलुरु हिड्या देखिन्छ ।साँच्चै यो जङ्गली नै हो त ?’

काठमाडौँकी सलिना प्रसाई भन्छिन् ‘यो क्रूर मानसिकता हो। यो मानिसले गर्ने व्यवहार होइन’। चितवनका वासु बिडारी भन्छन् ‘ यो देख्दा दुखित छु। चेतना दिने कार्यक्रम गर्नु पर्‍यो’ ।
सरन सम्बाहाम्फे व्यङ्ग्य कसेर लेख्छन्, ‘त्यो भिडमा मैले एउटा मानिस देखेँ, अरू सबै जनावरहरू थिए’ ।

त्यसै गरी अभिनय पाठक फेसबुकमा लेख्छन् ‘वन्यजन्तु संरक्षण भन्ने कुरा संरक्षित क्षेत्र भन्दा बाहिर कहिल्यै संवेदनशील रूपमा लिइएन। फलस्वरूप यस्तो देखिने दिन आयो’ ।

दीपेश मिजारको भने अलि फरक विचार छl उनी भन्छन् ‘यसमा त्यस्तो आपत्ति गर्नुपर्ने केही छैन ! धन्न विचरा जनपदका साथीहरूले यतिको भएपनि सहयोग गरिदिएका छन् : कथित हामी वनकर्मीहरू अझै पनि जनावरको रेस्क्यु गर्ने सक्षम छैनौ ! यो जनपदको लापरबाही होइन हाम्रो कमजोरी हो’

सामाजिक सञ्जालमा अधिकांशले घट्नाको निन्दा गरेका छन्। केहीले प्रहरीको तारिफ पनि गरेका छन् । कोही त नेपालीको ताकत देखाउन यो फोटो मोदीलाई पठाउनु पर्ने भनेर समेत आफ्नो विचार लेखेका छन्।

आशिष तामाङ भन्छन् ‘ मलाई लाग्छ हामीलाई कोरोना भाइरस भन्दा ठूलो प्रकोप चाहिन्छ’ ।

त्यो चितुवालाई के भएको होला ?

पहाडी क्षेत्रका बस्तीहरूमा ज्यानै जोखिममा पारेर भीरको मह काट्ने चलन हुन्छ। सो भिर मौरीको मह बुढापाकाहरूले धेरै खान दिँदैनन्। विदेशीहरू पनि सो महलाई ‘बहुला मह’ भन्ने गर्छन्। हुन पनि हो, झुक्किएर धेरै खाइयो भने यसको नशा लामो समय सम्म लाग्छ। मानिसले आँखा देखिरहन्छ, सोच्ने पनि गरिरहन्छ तर हात खुट्टा चलाउन सक्दैन। यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ, जसले गर्दा मानिसले प्रतिक्रिया जनाउन सक्दैन। धेरै मह खाएर मानिसहरू मरेका पनि छन्। मौरीले बिरुवाको विषालु रसहरू पनि खाने भएकोले त्यसो भएको भन्छन् स्थानीय।

मैले यो उदाहरण प्राध्यापक एवम् वरिष्ठ वन्यजन्तु विज्ञ करनबहादुर शाहलाइ बताएर चितुवाको अवस्थाको बारेमा सोधेको थिएँ। उनले भने, ‘हो, एकदम सत्य। त्यो चितुवालाई सिनो वा अन्य खानामार्फत् विषले असर गरेको प्रस्ट हुन्छ। यस्ता विषहरूले तपाईँले भने जस्तो स्नायु प्रणालीमा असर गरेको हो।’

उनले थपे, ‘चितुवालाई अगाडि मानिस छ भन्ने पनि थाहा छ, उसले आँखा पनि देखिरहेको छ, उ हिँडी पनि रहेको छ तर उसले प्रतिक्रिया जनाउन नसकेको मात्र हो।’

प्राध्यापक शाह यसबारेमा थप्छन्, ‘सर्पहरू जन्मने बित्तिकै विषसहित आक्रामक हुन्छन्। शुरुमानै शत्रु र मित्र चिन्छन्। प्रकृतिमा कसरी बाँच्ने, के खाने भन्ने जन्मँदै सिकेर आउँछन्। तर बिराला प्रजातिहरूमा त्यस्तो हुँदैन। माउले बच्चाहरुलाई सिकाउँछन्। यो चितुवा वयस्क होइन। आमा कुनै कारणले गुमाएको र आमाबाट सिक्ने कुरा पूर्ण रूपमा सिक्न नपाएको पनि हुन सक्छ। जसले गर्दा मानव बस्ती नजिकै आउने वातावरण बनेको र भेटिएको हुन सक्छ।’

उनले भने ‘यसको पनि सम्भावना छ, तर म यो कारण भन्दा पनि, विषकै कारणले हो भन्नेमा छु।’

शाहले थपे ‘नत्र भने यस्तो बेला ९९ प्रतिशत आक्रमण गर्नु पर्ने हो, किनकि यिनीहरू जति घाइते हुन्छन, जति भोका हुन्छन् त्यति नै बढी आक्रामक हुन्छन्। चितुवाले शत्रु र मित्र छुट्टाउन नसकेर मात्र हो, नत्र भने त्यस्तो गर्दा पर्वतमा धेरै मानिस घाइते हुन् सक्थे।’

डिभिजनल वन अधिकृत श्रेष्ठ भन्छन्, ‘यसका बारेमा के भएको भनेर हामी भेटनरी डाक्टरसँग समन्वय गरी रहेका छौँ। शरीरमा विष प्रवेश गरेको हुन सक्छ।’

अनुसन्धानकर्मी घिमिरे भन्छन्, ‘कुपोषित जस्तो देखिन्छl विष पनि हुन सक्छ। यदि त्यसो हो भने विषको असर कम हुने बित्तिकै आक्रामक हुन सक्छ।’

उनले भने, ‘मानिसहरू नजिक जानु राम्रो हुँदैन। मलाई कुन्नि किन हो मानिसले पालेको चितुवा फुत्केको जस्तो पनि लाग्छ।’

भेटनरी इन्टर्न अभिशेष निरौला पनि विषको कारणले यस्तो घटना हुन सक्ने बताउँछन्। उनी भन्छन् ‘ कुनै कारणले यिनको शरीरमा विष प्रवेश गर्‍यो भने अन्य लक्षणसहित डिप्रेस्ड (बाहिरी संसारसँग बेखबर रहने) हुनसक्छ। विषको असर अनुसार कहिले बढी सक्रिय हुने र कहिले कम सक्रिय हुन सक्छन्।’

केही वर्ष अघि हिउँ चितुवाको बच्चा माउसँग छुट्टिएर र खाना नपाएको अवस्थामा डोल्पामा भेटिएको थियो। हिउँ चितुवाका ती अल्प वयस्क डमरुहरू मानिसले जति जिस्क्याउँदा पनि केही गर्न सकेका थिएनन्। यो आमाले तालिम दिनु अगाडि नै छुट्टिएका थिए भनेर अनुमान गरिएको थियो।

मानिस वन्यजन्तु द्वन्द्वले यस्ता घट्नाहरु हुन्छन्

नेपालमा अहिले २२ हजारभन्दा बढी सामुदायिक वनहरू समुदायलाई हस्तान्तरण गरिएको छ। यो वन संरक्षणको अभियान र कार्यक्रम विश्वभर चर्चित छ। वन जोगिएसँगै वन्यजन्तु पनि बढेको अनुमान गर्न सकिन्छ। किनकि हामी सँग सामुदायिक वन घोषणा गर्दा कुन कुन प्रजाति कति थिए भन्ने जानकारी नै छैन।

लगभग नेपाल भर पाइने यो चितुवाको मानिस सङ्गको द्वन्द्व बढ्दो छ। वनका रुखलाई आफ्नो भने पनि सामुदायिक वन उपभोक्ता समूहरुले वन्यजन्तुलाई आफ्नो भन्ने वातावरण अहिलेसम्म बन्न सकेको छैन। यही कारणले सम्बन्धित निकायलाई खबर नगरी चितुवा लगायतका हिंस्रक वन्यजन्तुहरूलाई विष/पासो/ बन्दुकले नियन्त्रण गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय पर्वतकी सहायक वन अधिकृत अनिता दण्देख्या भन्छिन् ‘मानव र वन्यजन्तु बीचको द्वन्द्व पर्वत जिल्लामा पनि छl गत वर्ष मात्रै करिब ७७ वटा निवेदन क्षतिपूर्ति उपलब्ध गराइदिने विषयका थिएl त्यसमध्ये सबै चितुवाले गरेको क्षति सम्बन्धी थियो।’

फरेस्टर खिमराज पौडेल भन्छन् ‘ पर्वतमा गत आर्थिक वर्षमा ६४ वटा बाख्रा, २ वटा गाई/गोरु/बाच्छा, ११ वटा भैँसी/पाडा/पाडी मारिएका थिए। तर मानवीय क्षति भने भएको थिएन। राहत स्वरूप डिभिजनल वन कार्यालयबाट चार लाख ३४ हजार बाँडिसकिएको छ।’

उनले थपे, ‘यो वर्ष १ जना मानिसलाई समेत घाइते बनाएको अभिलेख छ।’

तर लामो समयसम्म वन्यजन्तुबाट हुने नोक्सानीको लागि सरकारले कृषकको जनधनको नोक्सानलाई नजर अन्दाज गरेको थियो। अहिले पनि सरकारी रकम केवल राहत मात्र भएकोले विभिन्न वन्यजन्तुलाई प्रतिकार वा रिसको कारणले मारिदिने क्रम रोकिएको छैन। विषको प्रयोग पनि तिनै मध्येको एक हुन सक्छ।

स्मरण रहोस्, वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (दोस्रो संशोधन, २०७४) अनुसार सरकारले राहत दिने गरेको छ। वन्यजन्तुको कारणले मानिस घाइते हुँदा २० हजार देखि २ लाखसम्म औषधि उपचार खर्च, मृत्यु हुँदा १० लाख राहत, पशु मरेमा १० हजार देखि ३० हजार राहत (पशुधन बिमा बापतको रकम कटाएर), घर/गोठ क्षति,भण्डारण गरिएको अन्न क्षति तथा अन्न क्षति कोलागि १० हजार सम्म राहत दिने व्यवस्था गरिएको छ ।

1 comment to पर्वतको अनौठो दृश्य : दाम्लोले बाँधेर बजार डुलाउँदा पनि चितुवा किन चुप बस्यो?

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)