यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कथा : मोबाइल र श्रीमती

– प्रकाश अविनाश –

करिब तीन चार महिनादेखि उनको व्यवहार अनौठो देखिन थालेको थियो । खास गरी मोबाइल फोनको सन्दर्भमा । यसअघि उनको मोबाइल कहाँ रहेको हुन्थ्यो उनैलाई थाहा हुने थिएन, धेरै जसो मेरो मोबाइलबाट कल गरेर पत्ता लगाउनु पर्थ्यो । जहाँ जति बेला जसले पनि खोलेर हेर्न, गेम खेल्न, कल गर्न सक्थ्यो , किनकि अनलक गर्न कुनै पासवर्ड राखिएको थिएन । यसको मतलब उनी फेसबुकमा टाइम पास गर्थिनन् भन्ने हैन, गर्थिन्, उनको फेसबुक एकाउन्ट चार पाँच वर्ष अगाडि मैले नै खोलिदिएको थिएँ । म वा छोरीसँग फुर्सदमा बसिरहेको बेला पनि उनी फेसबुक चलाउँथिन् र हामीलाई उनको साथीहरूले पोस्ट गरेका फोटो, कमेन्ट देखाउँदै आफूले के कमेन्ट हान्ने भनेर छलफल गर्थिन्, आफूले पोस्ट गरेको स्ट्याटस वा फोटोमा आएको कमेन्टहरूको बारेमा बताउँथिन्। फेसबुक भएपछि म्यासेन्जर हुने नै भयो, उनी हामीसँगै हुँदा पनि म्यासेन्जरमा साथीहरूसँग च्याट गर्थिन्, म्यासेन्जर भिडियो कल आउने जाने पनि भै रहन्थ्यो। म्यासेन्जरमा नयाँ वर्ष, दशैँ, तिहार आदिमा आउने भिडियो, फोटोहरू पनि हाम्रै अगाडि बसेर मजासँग सुन्थिन्,हेर्थिन् । आफूलाई राम्रो लागेको फोटो र भिडियोहरु कसरी साथीहरूसँग सेयर गर्ने भनेर छोरी वा मसँग सोधेर सेयर गर्थिन् र रमाउँथिन् ।

फेसबुकमा कहिलेकाहीँ आउने वयस्कलाई मात्रै हुने मसला सुत्ने बेलामा मलाई खुसुक्क देखाउँथिन र सोध्थिन् यस्ता कुराहरू फेसबुकमा राख्दा सबैले देख्दैनन् ? हाम्री छोरी अनि जसले राखेको हो त्यसको छोरा छोरी वा बाउ आमाले पनि देख्छ होला नि हगी ? म जिस्क्याउँदै भन्थेँ ‘ हैन यो त तिमीलाई मात्र माया गरेर पठाई दिएका हुन ।’

मेरो मजाक साँच्चै लागेर रिसाएर कोल्टे फर्के पछि म आफूतिर फर्काउँदै उनलाई सम्झाउँथे ‘यसमा जो जो साथीहरू छन् उनीहरूले लेखेको वा राखेको फोटोहरू उनीहरूले मात्र देख्छ, कुनै बेला तिम्रो साथीको साथी जोसँग तिमी साथी छैनौ, ले राखेको कुराहरू तिम्रो साथीले सेयर गर्‍यो भने तिमीलाई पनि आउँछ।’

त्यै त यो…..लाई मैले चिने कै छैन, साथी बनाएकै छैन , कसरी यस्तो आयो ? उनी मलाई सफाई दिँदै भन्थिन ।

फुर्सदले मानिसलाई केही न केही सिकाउँछ , उनको पनि शनिवार र आइतबार फुर्सद नै थियो । खाना बनाउने , घर सर सफाइ गर्ने काममा हामी पनि सघाउँथ्यौँ , कहिलेकाहीँ घुम्न जान्थ्यौँ नत्र उनी फुर्सद मा फेसबुकमा नै रमाउन थालेकी थिइन । छोरी र मलाई पनि रमाइलै लाग्न थालेको थियो किनकि उनी त्यसमा रमाए पछि छोरी र म आफ्नो काममा बिना व्यवधान लाग्न पाउँथ्यौँ । कहिले कही सबभन्दा मिल्ने साथीको फोटोमा वा जन्मदिनमा राम्रो कमेन्ट लेख्न परे मात्र हाम्रो सहयोग चाहिन्थ्यो । छोटो छोटो कमेन्ट हान्न, दुई तीन वटा फोटो हाल्न आफैँ सक्षम भै सकेकी थिइन । भिडियो सहितको म्यासेन्जर कल गरेर साथीहरूसँग लगाएको लिपिस्टीक, लुगा, खाना र कसको फेसबुकमा कस्तो लुगा लगाएको कुन पोजको फोटो आयो भन्ने बारेमा लामो गफ गरेको सुनेर छोरी र म मुसुमुसु हाँस्थ्यौँ । म्यासेन्जर मार्फत मन परेको भिडियो, फोटोहरू कुन कुन साथीलाई सेयर गर्न उनलाई खुब मजा लाग्थ्यो । भाइबर र ह्वाट्स अप पनि जोडिइसकेको थियो , मतलब अव उन्को फुर्सद हुँदा मोबाइल चलाउने बानी , फुर्सद निकालेर मोबाइल चलाउने बानीमा परिणत भै सकेको थियो । फेसबुक फ्रेन्डको लिस्ट पनि ह्वात्तै बढेको थियो ।

अब घरको काममा छोरी र मलाई अलिकति बढी लोड थपिएको थियो , लोड नै नभने पनि बीच बीचमा तरकारी काटी दिने, चलाई दिने , लन्ड्री हालिदिने , कपडा पट्याउने काममा सघाई दिन समय निकाल्न अनुरोध आउने गरेको थियो । कहिले कही छोरीले ममी म होमवर्क गर्दै छु भनी भने त्यो काम फत्ते गर्ने जिम्मेवारी मलाई आई लाग्थ्यो । बिदाकै दिनमा पनि आज एकदम अल्छी लागेको छ अलि अलि टाउको पनि दुखेको छ छोरी आज बाहिरबाट खाना मगाउन भन्न थालेकी थिइन । छोरी पनि आफ्नो मन परेको खाने कुरा रोजेर मगाउन पाउने भए पछि खुसी हुन्थी र भन्थी ‘ममी क्रेडिट कार्ड हजुरकै युज गनु है त ?’ हप्ताको दुई दिन बिदा मध्ये एक दिन गाडी चलाउन जान्ने साथीहरूसँग मिलेर कतै घुम्न जाने प्लान बन्न थालेको थियो । साँझ पख दाल, भात तरकारी , अचार खाने मेनु परिवर्तन भएर तरकारीमा छिपछिपे झोल हालेर खाने बानी पर्न थालेको थियो ।

अँ सबभन्दा महत्त्वपूर्ण कुरा त जागा हुँदासम्म मोबाइल हातमा रहन थालेको थियो । राती सुत्ने बेलामा सिरानी मुनि घुसारिन्थ्यो । अनि अनलक गर्न पासवर्ड बसेको थियो जुन उनलाई मात्र थाहा थियो । कहिले कही कामबाट प्राप्त हुने चेक डिपोजिट गर्न, इमेल रिप्लाई गर्न पर्दा पासवर्ड के हो ? भन त भन्दा ‘ल्याउनु भन्न आउँदैन मै खोल्दिन्छु’ भनेर एक दुई चोटी बिगारेर बल्ल खोलि दिन्थिन ताकि मलाई र छोरीलाई साँच्चै लागोस् कि पासवर्ड बिर्सिए कै रहिछ । मेरो वा छोरीको हातमा उन्को मोबाइल हुँदासम्म उनी हाम्रै नजिकमा हुन्थिन र काम सकिएपछि लिएर मात्रै उठ्थिन । छोरीले आमालाई हकार्न थालेकी थिइन ‘ममी मोबाइल धेरै नहेर्नु त आँखालाई असर गर्छ अनि टाउको दुख्छ ।’ उन्को यति विध्न बढेको मोबाइल मोह देखेर म पनि अचम्मित भएको थिएँ र कुनै उपायले उनले थाहा नपाउने गरी मोबाइल चेक गर्ने दाउ कुरेर बसेको थिएँ । सधैँजस्तो एक आइतबार उनी साथीहरूसँग मिलेर टाढा मलमा गएको वेला नयाँ नम्बरबाट फोन आयो फोन उठाएँ तर स्वर उनको थियो , हामी मलमा आएको यसो ब्याग चेक गर्दा मोबाइल छैन। यो इशाको मोबाइलबाट फोन गरेको, तै पनि घरमै छोडेँ कि एक पटक यताउता हेर्दिनु न।

मनमनै लौ घरमै भेटियोस् भन्दै म मोबाइल खोज्न थालेँ, नभन्दै सिरानी पट्टी खाटको मुनि खसेको रहेछ, मैले अघि फोन आएकै नम्बरमा फोन गरेर यसको जानकारी दिएँ। अब मेरो दिमाग कसरी मोबाइलको पासवर्ड मिलाउने भन्नेमा लाग्यो, सजिलैसँग मिल्यो पनि। किनकि मेरो र छोरीको मोबाइलको पासवर्ड फोन नम्बरको अघिल्लो छ वटा नम्बर हो भन्ने उनलाई थाहा थियो। उनले पनि यस्तै राखेकी होलिन् भनेर कोसिस गरेको मिली हाल्यो। सबभन्दा पहिला आएका र गएका कलहरू हेर्न थालेँ।

तल सार्दै हेर्दा एक दुई वटा म्यासेन्जर अडियो र भाइबर अडियोमा मैले नचिनेका मानिसका कलहरूमा नौ दश मिनेटको कल भएको पाएँ। खासै ध्यान दिइनँ। म्यासेजमा गएर हेरेँ त्यहाँ पनि खासै दृष्टि पुर्‍याउनु पर्ने देखिनँ। ह्वाटस एपमा केही म्यासेजहरू भएको तर महिनौँसम्म पनि उत्तर नगएको देखेँ। म्यासेन्जरमा गएँ, हेर्दै जाँदा एउटा पुरुष नामबाट आएको म्यासेजमा मेरो ध्यान पुग्यो, लेखिएको थियो ‘जाबो एउटा फोटो त नपठाउनेको के भर, विश्वास गर्नु र ख्वै ?’ यही एउटा म्यासेज थियो, अरू केही पनि थिएन र यो त्यही नामबाट आएको थियो जुन मैले अगाडि कल हेर्दा देखेको थिएँ। मैले यसो सोचेँ म्यासेज र कल नियमित हुने गर्थ्यो तर तत्कालै रिमुभ वा डिलिट गरिन्थ्यो। त्यसपछि मैले त्यो म्यासेज पठाउनेको फेसबुक प्रोफाइल खोलेर हेरेँ र थाहा पाएँ यिनीहरू दुई जना नेपालमा स्कुलका सहपाठी रहेछन्। यो पनि मेरो श्रीमतीको मोबाइल मोह बढाउने साथी भएको कुरा मैले करिब करिब ठोकुवा गरेँ र मोबाइल खुरुक्क सिरानीमुनि राखिदिएँ।

त्यसको केही हप्तापछि म दोस्रो सिफ्टको काम सिध्याएर राति साढे नौ बजे घर फर्किदा होमवर्क गरिरहेकी छोरीले भनिन् ‘ममी टाउको दुखेर आठै बजे सुत्नु भयो, हामीले फ्रोजनको रोटी माइक्रोवेभ गरेर बिहानको तरकारीसँग खायौँ, हजुरलाई पनि दूध र त्यही तताई दिउँ ?’

मैले ‘म आफै गर्छु, तिमी पढ’ भनेर लुगा फेर्न फ्रेस हुन जानु अगाडि श्रीमतीलाई हेरेँ। निदाएकी रहिछन्। सोचेँ औषधि खाएर सुतिन् होला। त्यस दिनको कामका अलिकति बढी चापले शरीर दुखेको , सन्तोषजनक खाना खान नपाएको र श्रीमतीलाई टाउको दुख्न थालेको धेरै नै भएकोले केही भएको हो की भन्ने चिन्ताले म राम्रोसँग निदाउन सकेको थिइनँ, आँखा चिम्म पारेर निदाउने कोसिस गर्दै अर्ध निन्द्रामै लमतन्न परिरहेको थिएँ। उनको सिरानीमुनिको फोनमा म्यासेजको घण्टी बजेको मैले पनि थाहा पाएँ, उनी बिस्तारै चलमलाइन्, सिरानीमुनिको मोबाइल हेरेको कुराको अनुमान मेरो पनि सिरानी अलिकति चलेकोले लगाएँ। एक्कैछिन पछि उनी बिस्तारै उठेर बाथरुम छिरिन्। फर्के पछि टाउको दुख्न कस्तो छ? औषधि खायौ कि खाइनौ ? कुन बेलादेखि दुख्न थालेको ? अर्को हप्तालाई डाक्टरको अपोइन्टमेन्ट लागि कामबाट बिदा लिन मिल्छ कि मिल्दैन भनेर सोध्नु पर्ला भनेर सोच्दै रहेँ।

दश मिनेट जति बितिसक्दा पनि उनी बाथरुमबाट नफर्के पछि के भयो भनेर बोलाउँ कि जस्तो लाग्यो। तर फेरि कहिलेकाहीँ पेट खराब हुन सक्छ भनेर चुप लागेँ। थप पाँच मिनेट बितेपछि उन्को सिरानीमुनि यसो छामेको मोबाइल पनि थिएन। अघि म्यासेजको घण्टी बजेको सम्झँदै पक्कै उही सहपाठीसँग च्याटमा रमाउन थालेकी होली भन्ने लागेर झनक्क रिस उठ्यो, अनि बिस्तारै बाथरुमको ढोकामा गएर कान लगाएँ। भित्रको खस्याक खुसुक र स्वाँ फ्वाँ सुन्न नसकी आएर डङरङ्ग ओछ्यानमा लडेँ।

‘ह्याँ भन्दा कति भन्नु यार तँलाई ’ पाले आले बियर दुई बोतल र रेड लेबलको दोस्रो पेगको अन्तिम चुस्की लगाई सके पछि बोली लरबराउन थाली सकेको मेरो साथीले निरासिलो पारामा भन्यो।

‘सम्झाएँ, तर्साएँ, फकाएँ, केही गर्दा पनि त्यो मोबाइलको लत घट्न सकेन। छोरी पनि दिक्क भै सकी। उल्टै ‘यो बेलामा आएर मलाई यस्तो नचाहिँदो आरोप लाउनी, शङ्का गर्नी’ भनेर घरमा रडाको मच्चाउन थालेकी छे। एघार वर्षिया छोरीमाथि यसको कस्तो असर पर्ला भनेर म सधैँ चुप बस्न खोज्छु तर कहिलेकाहीँ त साह्रै रिस उठ्छ।

‘कोरोना भाइरसको महामारीभन्दा केही अगाडि नेपाल गएकी लकडाउनले गर्दा उतै अड्केकी छ। उसको फेसबुके सहपाठी पनि उतै छ। म त गर्दिन, उसले कहिलेकाहीँ फोन गर्छे तर कुरा गर्नै मन लाग्दैन, ऊ पनि औपचारिकता निभाए जस्तो गर्छे, छोरीसँग चाहीं एक दुई मिनेट गफ गर्छे रे।’

एक्कैछिन टोलाएपछि उसले भन्यो ‘साला यो लकडाउन नभइदिएको भए हाम्रो छिनोफानो भै सक्थ्यो।’

— हाल सन्नीभेल, क्यालिफोर्निया

Image by StockSnap from Pixabay

(शनिबार साहित्यका लागि तपाईँ आफ्ना सामग्री blog@mysansar.com मा पठाउन सक्नुहुन्छ)

Comments