यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

‘साप्ताहिक’, ‘नारी’ र ‘नेपाल’का ५३ पत्रकार अझै ट्वाँ : न बन्द गरेको घोषणा गर्छन्, न अवकाश पत्र दिन्छन्

जुन दिन (असार ११, २०७७) कान्तिपुर पब्लिकेसन्सले आफ्ना तीन पत्रिकाहरु साप्ताहिक, नेपाल र नारी बन्द गर्ने घोषणा भएको भन्दै अरु अनलाइनहरुमा समाचार आएको थियो, त्यही दिन सोही पब्लिकेसन्सको एउटा पत्रिका काठमाण्डु पोस्टमा छापिएको विज्ञापन थियो माथिको। यसमा साप्ताहिक ‘अब दिनदिनै’ भनिएको छ। तर त्यो दिनदेखि साप्ताहिकको वेबसाइटमा नयाँ सामग्री आउन छाडेको छ। सूचना बिनै पत्रिका छापिन बन्द भए पनि दिनहुँ अपडेट भइरहने नेपाल म्यागेजिनको वेबसाइटमा पनि यही दिनदेखि नयाँ सामग्री देखिन छाडेको छ। नारी मासिकको वेबसाइटको पनि अवस्था त्यही छ।  तीन वटा पत्रिका बन्द भएको समाचार अरु मिडियामा आए पनि कान्तिपुरले एक हप्ता भइसक्दा पनि यसबारे पाठकहरुलाई कुनै औपचारिक जानकारी दिएको छैन। 

कान्तिपुर जस्तो आफूलाई १ नम्बरको दावी गर्ने स्थापित मिडिया हाउसले आफ्ना प्रकाशनहरु सधैँका लागि बन्द गरेको हो कि कोभिड-१९ ले पारेको समस्याका कारण केही समयका लागि वा अनिश्चित कालका लागि स्थगन गरिएको हो कि बताउनु पाठकप्रतिको उसको दायित्व थियो। कति त ग्राहकै बनेका होलान् यी पत्रिकाका। ती ग्राहकसित अग्रिम रकम उठाइसकेका छन्। अब उनीहरुको रकमको भर्पाइ कसरी हुने?

कान्तिपुरबाटै टुक्रिएर गएको नेपाल रिपब्लिक मिडियाले रिपब्लिका अङ्ग्रेजी दैनिक बन्द गर्दा यसका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले सूचना दिएरै गरेका थिए।

यही प्रकाशनका शुक्रबार साप्ताहिक र परिवार मासिकलाई सूचना दिएरै स्थगन गरिएको छ।

कान्तिपुरले देशव्यापी लकडाउन सुरु भएको केही दिनपछि चैत १४ गते विशेष प्रकाशकीयमा भनेको थियो, ‘कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन्। त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आकलन गर्नेछौं र हालको स्थितिमा अलिकति सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन्।…अहिले केही समय हाम्रा प्रिन्ट माध्यममात्र स्थगित भएका हुन्, हामीसँग सशक्त डिजिटल माध्यमहरू छँदै छन् । ईकान्तिपुर डट कम, काठमान्डुपोस्ट डट कमलगायत केएमजीका डिजिटल प्लाटफर्ममार्फत हामी छिनछिनमा समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता, फोटो, भिडियो आदि लिएर आइरहने छौं।’

दैनिक पत्रिका बन्द गर्ने कान्तिपुरमात्रै एक्लो भएपछि एक हप्तामै कान्तिपुर र काठमान्डु पोस्ट फेरि छापिन थालेको थियो। त्यसपछि कति अंक हो साप्ताहिक पनि छापियो तर नेपाल र नारी छापिएन। अनलाइनमा भने अपडेट भइरहेका थिए सबै।

असार ११ गतेदेखि त्यो पनि बन्द भयो। तर कान्तिपुर आफ्ना तीन प्रोडक्ट बारे मौन बसेको छ।

यी तीन वटा पत्रिकामा काम गरिरहेका ५३ जना श्रमजीवी पत्रकारहरु पनि अहिले ट्वाँ परेका छन्। उनीहरुलाई भएको के हो नै थाहा छैन। असार ११ गतेको दिन तीन पत्रिकाका दुई सम्पादकले आफू मातहतका पत्रकारहरुलाई व्यवस्थापनले बन्द गर्ने निर्णय गरेको मौखिक जानकारी मात्र दिएका थिए। न उनीहरुले व्यवस्थापनबाट यसबारे औपचारिक कुनै जानकारी पाएका छन्, न अवकाश पत्र नै दिइएको छ।

‘अहिले गिट्टी कुट्ने काम छैन, तिमीहरु आ-आफ्ना घर जाओ भने जस्तो व्यवहार गरिएको छ हामीलाई’, ५३ मध्येका एक पत्रकारले मलाई सुनाए। ती ५३ मध्ये कति जना जीवनका दुई दशक त्यहीँ काम गरी बिताएका श्रमजीवी पनि छन्।

कान्तिपुरका कर्मचारीहरुलाई आफ्नो युजरनेम र पासवर्ड हालेर एचआर सफ्टवेयरमा लगइन गरी आफ्नो संचित विदा कति छ, विदाको निवेदन दिने आदि हेर्न मिल्ने बनाइएको हुन्छ। त्यो दिनपछि यी  ५३ जनाकै पासवर्डले काम गर्न छाडेको छ।

‘सम्पादकीय स्वतन्त्रता अपहरण?’

त्यतिमात्र होइन, पत्रिका बन्द गर्ने औपचारिक रुपमा व्यवस्थापनले जानकारी नै नदिई ती पत्रिकाका वेबसाइट, सोसल मिडिया अकाउन्टहरुका पासवर्डहरु परिवर्तन गरी उनीहरुको पहुँच निषेध गरिएको छ। साप्ताहिक, नेपाल र नारीका फेसबुक र ट्वविटर अकाउन्टहरुमा असार ११ गतेदेखि नै नयाँ केही आउन छाडेको छ।

‘यसलाई हामीले सम्पादकीय स्वतन्त्रताको अपहरणका रुपमा लिएका छौँ’, नेपाल म्यागेजिनका कार्यरत एक पत्रकारले भने, ‘व्यवस्थापनलाई हामीले यो बारे लिखित विरोध जनाउँदैछौँ। ‍औपचारिक र कानुनी रुपमा सम्पादकीय टिमलाई जानकारी दिएर यसो गरेको भए हाम्रो आपत्ति हुन्न थियो। अहिले जस्तै हुने हो भने त सम्पादकीय टोलीले राखेका कुनै कन्टेन्ट कसैलाई मन नपरे सम्पादकीय  नेतृत्वलाई थाहै नदिई हटाउने वा संशोधन गर्ने पनि त हुनसक्थ्यो नि।’

‘सम्पादकले राजीनामा दिएका छैनन्। कम्पनीले औपचारिक रुपमा अब बन्द भयो भनेर पनि जानकारी दिएको छैन, अनि सबै कुरा सिज गर्नुपर्ने केको हतार?’, उनी भन्छन्।

कान्तिपुर जस्तो कर्पोरेट हाउसका व्यवस्थापन र कर्मचारीबीच विश्वासको सम्बन्ध पनि हुनुपर्छ। बरु प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट गर्न नहुने रिट्विट भएको छ तर यी मिडियाका ह्यान्डलबाट अहिलेसम्म भएको देखिएको छैन। कर्मचारी र व्यवस्थापन बीच यो हदसम्म अविश्वासको खाडल गहिरिनु अचम्मलाग्दो छ। यो भनेको हिजोसम्म कम्पनीले विश्वास गरेका पत्रकारहरुलाई अब हामीले निकालिसकेपछि यिनीहरुले के के उपद्रो गर्छन् भनेर अविश्वास गरेकै हो। सबैलाई कानुनी रुपमा विदा दिएर, राजीनामा गराएर त्यसो गर्नुपर्ने हो कर्पोरेट मिडिया हाउसले त।

मलाई धेरै वर्षअघिको एउटा घटना याद आयो। त्यतिबेला म स्पेसटाइम दैनिकमा काम गर्थेँ। यसका साहु जमिम शाह थिए जसको २०६६ सालमा गोली हानेर हत्या गरियो। एक समय कान्तिपुरलाई टक्कर दिने मिडिया हाउस थियो यो। स्पेसटाइम दैनिक, स्पेसटाइम टुडे गरी नेपाली र अंग्रेजी दुई वटा ब्रोडसिट दैनिक, स्याटेलाइट च्यानल च्यानल नेपाल र काठमाडौँमा सबैभन्दा बढी ग्राहक भएको केबल टेलिभिजनका मालिक थिए उनी।

भारतीय मिडियामा जमिम शाहको मिडियामा दाउद इब्राहिमको लगानी भएको खबर आउँथे। तर हामी काम गर्नेले भने कति महिनादेखि तलब नपाएको हो गन्न पनि भुल्ने स्थिति आइसकेको थियो। एक पटक पैसा नदिई काम गर्न सकिन्न भनेर केही साथीहरुले धर्ना कस्यौँ। एक जना साथी रुन्चे आवाजमा तलब नपाएर कसरी काम गर्ने, यी यस्तो फाटेको लगाएर हिँड्नु परेको छ भन्दै  जुत्ता देखाउँदै थिए। हाम्रो धर्ना चलिरहेको बेला एक्कासी माथिबाट जमिम शाहले  ठूलो स्वरमा भने, ‘हैन, के हल्ला गरिरहेको? ल आजदेखि पत्रिका बन्द भो। बन्द गरिदिएँ मैले लज्जा। जाओ घरमा।’

हामी ट्वाँ !

‘अनि हाम्रो पैसा नि?’, हामीले सानो स्वरमा सोध्यौँ।

‘पैसा पर्सि आएर लिन आउने !’ उनी त्यति भनेर फेरि आफ्नो क्याबिनमा गए।

हामी फेरि ट्वाँ !

अहिले कान्तिपुरको प्रकरण सुन्दा हाम्रा मिडिया साहुहरु अझै पनि १७ वर्षअघिकै मानसिकताबाट गुज्रिरहेको जस्तो लाग्यो। जसरी त्यतिबेला जमिम शाहले मुखको भरमा मैले बन्द गरेँ पत्रिका भन्थे, अहिले पनि भइरहेको लगभग त्यस्तै त हो।

(त्यतिबेला स्पेसटाइम बन्द भने भएन, भदौ १६ कान्डपछि त्यही निहुँ पारेर पत्रिका बन्द गरियो)

अहिले कोरोनाको निहुँ पाएका छन्।

पत्रकारहरुलाई र पाठकहरुलाई औपचारिक रुपमा जानकारी नै नदिई पत्रिका बन्द गर्न किन खोजियो त?

कानुनी प्रावधान एउटा कारण हुनसक्छ। किनभने श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ ले सञ्चार प्रतिष्ठान बन्द गर्न चाहेमा प्रेस रजिस्ट्रार र सम्बन्धित श्रमजीवी पत्रकारहरुलाई तीन महिना अगावै दिनु पर्ने प्रावधान छ।

२३. सञ्चार प्रतिष्ठान बन्द गर्न सक्नेः (१) व्यवस्थापकले आफूले सञ्चालन गरेको सञ्चार प्रतिष्ठान कुनै कारणले बन्द गर्न चाहेमा सो कुराको सूचना प्रेस रजिष्ट्रार र सम्बन्धित श्रमजीवी पत्रकारहरूलाई तीन महिना अगावै दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सञ्चार प्रतिष्ठान बन्द हुने भई श्रमजीवी पत्रकारले स्वतः अवकाश पाउने भएमा वा दफा २२ बमोजिम दरबन्दी कटौती भई श्रमजीवी पत्रकारले अवकाश पाउने भएमा व्यवस्थापकले सम्बन्धित श्रमजीवी पत्रकारहरूलाई तोकिएबमोजिम सुविधा दिनु पर्नेछ ।

मलाई मन लागेन भोलिदेखि बन्द गरेँ भन्न पाउँदैन कुनै पनि व्यवस्थापकले। कि कर्मचारीहरुसित सहमति गरेको हुनुपर्‍यो।

तर अहिले सञ्चार प्रतिष्ठान नै बन्द गरेको देखिन्न। कान्तिपुर पब्लिकेसन्स एउटा सञ्चार प्रतिष्ठान भयो। यसबाट पाँच पत्रिका निस्कन्थे। तीन वटा पत्रिका बन्द हुन लागेका हुन्। भनेपछि यी पत्रकारहरुलाई कुनै प्याकेज दिएर गोल्डेन ह्यान्डसेक गर्ने वा अरु पत्रिकामा सरुवा गर्ने विकल्प छन्।

बन्द हो कि स्थगित त?

कान्तिपुर पब्लिकेसन्स प्रालिका श्रमजीवि पत्रकार एवं कर्मचारीले व्यवस्थापनलाई  ‘नेपाल म्यागेजिन, साप्ताहिक र नारी केकति कारणले बन्द वा स्थगित गरिएको हो ? औपचारिक र कानुनी जानकारी दिनुपर्‍यो भन्दै औपचारिक पत्र व्यवस्थापनलाई बुझाउने तयारी गरिरहेका छन्।

साप्ताहिक र नारीको टिम र नेपाल म्यागेजिनको टिमले बुधबार छुट्टाछुट्टै अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियासँग भेटेका थिए। उनले सबैखाले दुश्मनहरुसँग जुधेँ, तर यो कोरोनासँग जुध्न सकिएन, अब मैले धान्न सकिनँ, त्यसैले बन्द गर्न बाध्य भएँ भनेका थिए।

उनले हाललाई बन्द गरेँ तर यी मेरा गहनाहरु हुन्, उपयुक्त परिस्थिति भएपछि चलाउँछु पनि भनेका थिए।

पछि चलाउँछु भनेको भए बन्द नभई स्थगन गरेको बुझिने भयो। औपचारिक रुपमा पब्लिकेसन्स आफैले केही घोषणा नगरेको भएर न बन्द, न स्थगन त्यहाँ कार्यरत पत्रकारहरु अझै ट्वाँ परिरहेका छन्।

केही पत्रकारहरुले आरोप लगाएका छन्, कम्पनीलाई अप्ठेरो परेको बेलामा खुरुक्क ज्ञानी घर गइदिए हुन्थ्यो भने जस्तो नियत देखिन्छ।

यत्रो वर्ष नम्बर वान मिडियाका रुपमा एकछत्र राज गरिरहेको कान्तिपुरले नाफा कति कमायो, कता लग्यो, कसैले सोधेको छैन। त्यही मिडियाका लागि भनेर आफ्नो जीवनको महत्त्वपूर्ण समय खर्चेका पत्रकारहरुलाई संकटको बेला लात हान्न नैतिकताले दिन्छ र भनेर प्रश्न मात्र उठेको हो।

अचम्म त के भने यत्रो मिडिया हाउसको म्यानेजमेन्टले नाफाको थोरै प्रतिशत यस्तो संकटको बेला आउनसक्छ भनेर कोष पनि नबनाएको रहेछ? कति दूरदर्शी त!

2 comments to ‘साप्ताहिक’, ‘नारी’ र ‘नेपाल’का ५३ पत्रकार अझै ट्वाँ : न बन्द गरेको घोषणा गर्छन्, न अवकाश पत्र दिन्छन्