यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

नागरिकले क्षमायाचना गर्दै हटायो ‘कान्तिपुर’को लेखसित मिलेको कथा


‘कान्तिपुर’मा पहिल्यै छापिसकेको एउटा सामग्री थोरै तोडमरोड गरी ‘नागरिक’मा ‘चोरी’ भएको विषयमा सोमबार माइसंसारमा ब्लग प्रकाशित भएकै दिन ‘नागरिक’ले अनलाइनबाट क्षमायाचना गर्दै हटाएको छ।

कान्तिपुरमा २०७७ असार ६ गते शरच्चन्द्र वस्तीको ‘अर्को अर्थ नलागेमा’ कोलममा ‘लकडाउनपछि एक दिन’ शीर्षकमा व्यङ्ग्य छापिएको थियो। त्यसको दुई हप्तापछि असार २० गते ‘नागरिक’को अनलाइन संस्करणमा दिला शाहको ‘लकडाउनभित्रका कथाहरू’ शीर्षकमा कथा छापिएको थियो। कतिपय शब्दहरु हुबहु, कतिपय अलि परिवर्तन गरेर र केही थपथाप गरे पनि थिम एउटै थियो।

 

शरच्चन्द्र वस्तीको लेखमा भएको एटिएम जाँदाको विवरण, मोटरसाइकल लडेर घाइते हुने केटा र केटीको विवरण, बैँकको काउन्टरमा गरेको हाछ्युँको विवरण दिला शाहको कथामा उस्तै छ।

नागरिकले  ‘सामग्रीको विषयवस्तु शाहले लेखबाट चोरी गर्नुभएको हो वा संयोग हो भन्नेमा शाहले नै स्वीकार नगर्दासम्म हामी यकिन हुन सक्दैनौँ’ लेखेको छ।

‘तर, विषयवस्तु आलेखसँग हुबहु मिल्न गएको र छाप्नुअघि यसतर्फ ध्यान पुग्न नसकेकामा हामी क्षमायाचना गर्दैछौँ’, नागरिकले लेखेको छ, ‘ शाहको उक्त सामग्री हाम्रो अनलाइनबाट हटाइएको अवगत पनि गराउँछौँ। ‘

नागरिकले थप स्पष्ट पार्दै लेखेको छ, ‘बौद्धिक सम्पत्ति चोरीको हामी सधैँ विरोधी हौँ। आलेखको विषयवस्तु चोरिएको वा मिल्न गएको सम्बन्धमा लेखक शाहले स्पष्ट नगरेसम्म भविष्यमा सम्बन्धित लेखकका सामग्री स्वीकार नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं।’

अहिले सो कथा प्रकाशित भएको लिङ्कमा जाँदा  यस्तो क्षमायाचना देख्न सकिन्छ-

तर फेसबुकमा भने कथा पुरानो लिङ्कसहित अझै सेयर भइरहेको छ। मोबाइलमा इन्स्ट्यान्ट आर्टिकलमा यो कथा अझै पनि डिलिट भएको छैन-

यो आज सेयर भएको लिङ्क-

गल्ती हुँदा पनि नसच्याउने नेपाली पत्रकारिताको ‘गौरवशाली’ परम्परालाई चिर्दै तत्काल बौद्धिक चोरीको गम्भीर विषयलाई सम्बोधन गरेर नागरिकले निकै प्रशंसायोग्य काम गरेको छ। आशा छ, यसबाट नेपाली पत्रकारिताले पाठ सिक्नेछ।

तुलना गर्नुस् दुवै लेखहरु-

कान्तिपुरमा छापिएको लेख
नागरिकमा छापिएको कथा

पहिले के-के भएको थियो?

६ वर्षअघि नागरिकमा छापिएको समाचारका केही अंश कान्तिपुरमा हुबहु रहेकोबारे माइसंसारमा ब्लग लेखिएपछि कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले ट्विटबाट ‘गम्भीर गल्ती’प्रति क्षमा मागेर पत्रिकामा पनि क्षमायाचना छापिएको थियो। पढ्नुस् त्यतिबेलाको ब्लग।

त्यसैगरी कम्तिमा तीन वटा लेख नागरिक दैनिकमा अर्कै लेखकले लेखेका लेखहरुबाट हुबहु कपिपेस्ट गरेर छापेको माइसंसारमा खुलासा भएपछि लेखकले यो संयोगमात्रै हो भनेर जग हँसाए पनि पत्रिकाले भने कारबाही गरेको थियो। नागरिक दैनिकका विचार पृष्ठका तत्कालीन सम्पादक गोविन्द अधिकारीले ट्विट गर्दै ‘किरण गिरीको लेखले लाजमर्दो बनाएको’ उल्लेख गर्दै ‘सारेको पत्ता लगाउन नसकी छापेकोमा क्षमा मागेका थिए। त्यतिबेलाको ब्लग पढ्नुस्।

यसअघि पनि कान्तिपुरमा हुबहु प्रकरणमा ‘आलु’ कान्ड भइसकेको छ। कान्तिपुरको शुक्रबारे अंक “हेल्लो शुक्रबार” को विकी टेक स्तम्भमा न्युयोर्क टाइम्स, टेलीग्राफ लगायत अन्य पत्रिकामा प्रकाशित “टेक्नो न्युज” हुबहु नेपाली भाषामा अनुवाद गरेको बिषयमा सामाजिक संजाल फेसबुक र टुइटरमा ब्यापक आलोचना भएको थियो। त्यसबेला भोजराज दाहालले लेखेको ब्लग पढ्नुस् (सर्भर सार्ने क्रममा कतिपय स्क्रिनसटहरु भने हराएका छन्)

यस्तै पछिल्लो समय बाह्रखरी कथा प्रतियोगितामा नियमविपरीत नागरिकमा प्रकाशित भइसकेको कथालाई पुरस्कार दिइएको भनी विवाद भएको थियो। यससम्बन्धी ब्लग यहाँ क्लिक गरी पढ्नुस्।

2 comments to नागरिकले क्षमायाचना गर्दै हटायो ‘कान्तिपुर’को लेखसित मिलेको कथा

  • दिल प्रसाद

    त्रिभुवन विश्वविद्यालयका खनिया भन्ने भीसी थिए| उनले प्लेजरिज्म गरेको प्रमाणित हुँदाहुँदै पनि सरकारले उनलाई पुरै अवधि भीसी खान दिए|प्लेजरिज्मको दागी लाग्दालाग्दै एउटा उच्च शिक्षण संस्थाको पदमा निर्लज्ज बस्ने नेपालको ईतिहासमा खनिया बदनाम व्यक्ति हुन जस्को नाउ लिन पनि शरम मान्नपरने हुन्छ| ककस्ले बौद्धिक चोरी, भनसुन, हेराफेरी र नक्कल गरेर कीर्ते शैक्षिक प्रमाणपत्र बोकेका छन, त्रिविवि का हुन वा बिहार, उत्तर प्रदेश, मध्यप्रदेश वा अन्य ठाउँका, सबै पोलको पोको खुलीने डर भएपछी सरकारमा रहेकाहरु र पावरवालहरु चुप बसे, खनियालाई कार्वाही गरेनन, पदबाट पनि हटाएनन| त्यस्ता गरिमामय शिक्षण संस्थाको कद र ओजन घटाऊने खनियाका विद्यार्थी, चेला र सिकोगर्नेहरु धेरै छन|दिला शाह पनि खनिया “स्कुल अफ थट” बाट प्रेरित भएका हुन भन्ने देखिन्छ| खनिया जस्तालाई समाजमा अझ प्रतिस्ठा दिने कस्तो समाज हो? जर्न लिल्म मा पनि त्यसैको प्रतिफल हामीले भोग्नु पारीरहेको छ्| हजार होइन, लाखौंले कीर्ते प्रमाणपत्र लिएर सरकारी, शिक्षाण संस्था र एन्जीओका जागिरमा नियुक्ती, बढुवा लिने यो मुलुकमा
    प्लेजरिज्म जेरोक्स गरेको सरह मानिन्छ| सबै निश्पक्ष थर्ड पार्टीले छानविन गरे अड्डा अदालत देखी शिक्षण संस्था र जर्नलिज्म सम्म मुछिने भएकोले यँहा एउटा मन्त्र जपिन्छ, तै चुप मै चुप|
    मौलिदै गएका यस्ता विकृति औल्याउने माईसंसारको प्रयास सराहनीय छ|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Lal Bahadur Lamichhane

    के हो यस्तो खै बुझ्ने सकिएन | मुना चौधरीको कथा बारे मैले फेसबुकमा कुरो उठाएको थिएँ अनि समाचार बन्यो | मनिषा जी को लेखमा मेरो अनि ससम्मान नाम छ | खै पुरस्कार ब्यांक खातामा पठाई सके अरे |

    अहिले फेरि कान्तिपुरको र नागरिकको पनि उस्तै उस्तै कुरा आउँछन |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)