यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

रुकुम प्रकरणमा ‘कान्तिपुर’ कहाँ-कहाँ चिप्लियो? पाँच उदाहरण

रुकुम चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको समाचार र विचारमा कान्तिपुरले पटक-पटक तथ्यगत गल्ती गर्दै आएको छ। यस्ता गल्तीहरुलाई कान्तिपुरले सच्याएको पनि देखिँदैन।  माइसंसारले फेला पारेका ‘कान्तिपुर’ चिप्लिएका पाँच उदाहरण यस्ता छन्-

चिप्लिएको उदाहरण १ : अदालतै फरक

कान्तिपुरले आज (२३ असार, २०७७) को सातौँ पेजमा रहेको ‘दृष्टिकोण’ मा ‘तर्क मात्र पर्याप्त छैन’ शीर्षकमा सन्तोष परियारको विचार छापिएको छ। त्यसमा ‘घटनाका प्रमुख योजनाकार र आक्रमणमा पनि प्रत्यक्ष संलग्न भनिएका (*नामै खुलाएर) मल्ललाई सामान्य धरौटीमा छोडेर जिल्ला अदालत जाजरकोटले यसलाई पुष्टि गरिदिएको छ’ लेखिएको छ। यो गलत हो। जिल्ला अदालत जाजरकोटमा यो मुद्दा चलेकै छैन। मुद्दा रुकुमको अदालतमा चलेको हो। नयाँ संविधान आएपछि टुक्रिएका दुई जिल्लामध्ये एक रुकुम हो। यो मुद्दा रुकुम पश्चिमको अदालतमा चलेको हो।

यो त लेखकले लेखेको विचार हो, विचारमा गरेको गल्तीको जिम्मेवारी लेखककै हुन्छ भन्ने तर्क पनि गरिएला। तर त्यो कूतर्कमात्र हो। लेखकले उल्लेख गरेका विषय तथ्यगत रुपमा गलत छ कि सही छ, जाँच गर्नुपर्ने काम पत्रिकाले यसको जिम्मेवारी जसलाई दिएको छ, उसको हुन्छ। लेखकले लेख्यो भन्दैमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको जन्म नेपालको बारा जिल्लामा भएको छाप्‍न मिल्दैन। बाराक ओबामाले राम्रा काम गरेका थिए वा खराब काम गरेका थिए भन्ने लेखकको विचारमा सम्पादन गर्न नपाइए पनि तथ्य चाहिँ सही हुनै पर्छ।

लेखको शीर्षकमा भनिए जस्तै तर्कमात्र पर्याप्त हुँदैन, त्यसका तथ्यहरु पनि सही हुनुपर्छ। एउटा जिल्लामा चलेको मुद्दालाई अर्कै जिल्लामा चलेको भनेर लेखिनु तथ्यगत त्रुटी हो। लेखकले जस्तो लेखे त्यस्तै छापियो भन्ने हो भने त मैले जस्तो ब्लग चलाए भइहाल्यो नि किन देशको नम्बर वान पत्रिका चलाएर त्यत्रा मान्छेलाई जिम्मेवारी तोक्नुपर्‍यो?

त्यसैगरी लेखमा ‘घटनाका प्रमुख योजनाकार र आक्रमणमा प्रत्यक्ष संलग्न भनिएका’ लेख्दै जुन नाम लेखिएको छ, त्यो पनि सही छैन। किशोरीकी आमाको नाम त्यसमा हुनुपर्ने हो तर पुरुषको नाम राखिएको छ। ‘भनिएका’ भनेर कसले भनेको हो पनि खुलाइएको छैन। प्रहरीसितको बयानका आधारमा अदालतमा दायर आरोपपत्रमा ‘घटनाका प्रमुख योजनाकार र आक्रमणमा प्रत्यक्ष संलग्न’ भनिएको हो। बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेका बालबालिकाको परिचय लुकाउनु पर्छ। त्यसैका लागि बालबालिकाको परिवारको नामसमेत गोप्य राख्ने गरिन्छ। तर यो घटनामा किशोरीलाई युवती लेख्ने त मूलधारकै मिडिया पनि छन्, सोसल मिडियामा त फोटोसमेत राखेर जथाभावी गाली गरिए।

लेखमा सामान्य धरौटीमा छाडिएको भनिए पनि अदालतले मागेको एक लाख रुपैयाँ धरौटी राख्न नसकेर उनी पनि जेलमा गएको समाचार आएको थियो।

चिप्लिएको उदाहरण २ : पोस्टमार्टम रिपोर्टै फरक


आजको भन्दा गम्भीर गल्ती त कान्तिपुरले जेठ १६ मा गरेको थियो। त्यो दिन कान्तिपुरको पहिलो पेजमा ‘पोस्टमार्टम रिपोर्ट भन्छ- कुटपिटबाट मृत्यु’ र ‘नदीमा बगे पनि पेटमा पानी भरिएको भेटिएन’ शीर्षक राखिएको थियो। त्यसैगरी चौथो पेजको समाचारमा ‘पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन्’ लेखिएको थियो। नाम नखुलाइएको चिकित्सकलाई उद्‍धृत गर्दै समाचारमा अगाडि लेखिएको छ, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन उनका अनुसार नदीमा डुबे मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए।’

तर त्यतिबेला पोस्टमार्टम रिपोर्टै तयार भएको थिएन। कान्तिपुरको रिपोर्टले जे भन्यो त्यसको ठ्याक्कै उल्टो वास्तविक पोस्टमार्टम रिपोर्टमा भने ६ जनाकै मृत्युको कारण Drowning अर्थात् डुबेको उल्लेख छ। कान्तिपुरले लेखे जस्तो पोस्टमार्टम रिपोर्ट नआएको भनी जाजरकोट जिल्ला अस्पतालमा आक्रमण हुँदा हवाई फायर गर्नुपरेको थियो। त्यसमा कान्तिपुर रिपोर्टरको भूमिकाबारे यो ब्लगमा लेखेको छु- ‘मारेर फाल्दा’ पनि किन ‘डुबेर मरेको’ रिपोर्ट आयो : रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार

अडियोमा सुन्नुस्-

चिप्लिएको उदाहरण ३ : वडाध्यक्षको नगरपालिका नै फरक


२ असार, २०७७ को कान्तिपुरको दोस्रो पेजमा छापिएको ‘रुकुम घटना : वडाध्यक्षको हातमा लाठी र ढुंगा’ शीर्षकको समाचारमा ‘जाजरकोट नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल’ लेखिएको रहेछ। यो पनि गलत हो।

‘जाजरकोट’ जिल्लाको नाम हो। यो जिल्लामा तीन वटा नगरपालिका छन्- भेरी नगरपालिका, छेडागाड नगरपालिका, नलगाड नगरपालिका। जाजरकोट नामको नगरपालिका त मैले अहिलेसम्म सुन्या छैन। मल्ल चाहिँ ‘रुकुम पश्चिम’ जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष हुन्। कान्तिपुरले नगरपालिकाको नामै फरक लेख्यो, तर भोलिपल्टको अङ्कमा त्यसलाई सच्याएन। गल्तीलाई गल्ती नै रहन दियो। मानौँ कान्तिपुरलाई लागेको छ, ‘गल्ती भयो भनेर लेखियो भने झन् धेरैले गल्ती भयो भनी थाहा पाउँछन्, त्यसैले चुप बस्नुपर्छ।’

चिप्लिएको उदाहरण ४ : बच्चाको लिङ्ग नै फरक

६ असार, २०७७ मा कान्तिपुरमा सहारा नै ढलेपछि… शीर्षकमा फोटोहरुसहितको एउटा समाचार छापिएको छ। फोटोको क्याप्सनमा ‘टीकारामका श्रीमती र छोरा’ का रुपमा चिनाइएको छ।

तर समाचारमा भने टीकारामको छोरा हैन एउटी छोरी रहेको भन्दै नाम पनि सुमित्रा उल्लेख छ। समाचारमा तीन ठाउँमा छोरी लेखिएको छ। तर क्याप्सनमा छोरा लेखिएको छ।  छोरा हुन् कि छोरी समाचार र क्याप्सन अनि फोटोले कन्फ्युज बनाउँछ। सुमित्रा टीकारामकी बहिनी हुन्, उनकी छोरीको नाम भने एलिजा हो।

खासमा छोरी नै हुन्। फोटोको बच्चाको कपाल छोटो भएकोले छोरा जस्तो देखियो भन्ठानेर क्याप्सनमा चाहिँ छोरा हालेकोले चिप्लिएको हुनुपर्छ।

चिप्लिएको उदाहरण ५ : सांसदहरुको पूर्व पार्टी


२६ जेठ, २०७७ मा कान्तिपुरको दोस्रो पेजमा प्रकाशित ‘रुकुम घटना : न्यायको बाटोमा राजनीतिक तगारो !’ शीर्षकको समाचारमा ठगेन्द्रप्रकास पुरीबाहेक रुकुमका अन्य सबै सांसदहरु पूर्वमाओवादीकै छन् जस्तो भान पारिएको छ। तर त्यसो होइन। रुकुम चौरजहारीकै र पूर्व एमालेकै नेता तीर्था गौतम प्रतिनिधि सभा सदस्य छिन्।

२०५५ फागुन २१ गते एमाले रुकुमका तत्कालीन सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार यदु गौतमको माओवादीहरुले हत्या गरेका थिए। तीर्था उनकै पत्नी हुन्।

त्यस्तै रुकुम पश्चिमकै पूर्व एमालेकै महिला नेतृ देवी ओली पनि कर्णाली प्रदेश सांसद छन्। त्यसकारण पूर्व एमालेको ठगेन्द्रमात्र सांसद होइनन्।

तीर्था र ठगेन्द्रले रुकुम घटनाबारे विज्ञप्तिसमेत निकालेका छन्।

 

र, एउटा बोनस : थर नै फरक

कान्तिपुरले २५ जेठ, २०७७ मा अझै छटपटाइरहेका छन् घाइते शीर्षकमा पहिलो पेजमा समाचार राखेको थियो। घाइतेमध्ये एक जनाको नाम-थर गोविन्द सुनुवार लेखिएको छ। खासमा थर चाहिँ ‘सुनार’ हो, सुनुवार होइन। सुनारलाई ‘दलित’ भनिन्छ तर सुनुवार किरात समुदाय अन्तर्गतको जनजातिमा पर्छ।

सुनुवार विद्यार्थी समाजले यसको विरोधमा विज्ञप्ति दिएको थियो-

असार ३ गतेको कान्तिपुरको पाठक पत्रको एक कुनामा

‘सुनुवार होइन शाही’ शीर्षकमा वीरबहादुर सुनुवारको पत्र छापिएको छ। यसमा कान्तिपुर आफैले भने केही पनि भनेको छैन। होइन, हामीले लेखेको सुनुवार नै सही हो पनि भनेको छैन, गल्ती भएकोमा सच्याइएको छ पनि भनिएको छैन।

खासमा उनको नाम गोविन्द सुनार हो। अदालतमा पुगेको आरोप पत्रमा गोविन्द सुनार लेखिएको छ

गोविन्द शाहीको चैँ यो घटनामा ज्यान गएको हो। माथिको विवादमा आएको नाम घाइतेको हो। सुनार र सुनुवार के हो थाहा नपाएर कान्तिपुर अन्यौलमा, अनि पाठकको पत्र छापिएकोको तथ्य पनि गलत।

 

 

रुकुम घटनाबारे ब्लगहरु

युट्युब

पडकास्ट

2 comments to रुकुम प्रकरणमा ‘कान्तिपुर’ कहाँ-कहाँ चिप्लियो? पाँच उदाहरण

  • Nimeh

    लेख्नेले जस्तो लेखे पनि हुने हो भने राष्ट्रीय दैनिक भनेर नाम राख्नुको औचित्य नै छैन त्यतिमात्र नभई सम्पादकलाई किन पाल्नुपर्यो यदि सम्पादन नै गर्दैन भने । देशको नम्बर वान पत्रिका तर काम चाहि भ्रम छर्ने । माईसंसारले यी राष्ट्रीय पत्रिका भनेर चलाउनेहरुलाई गोष्ठी वा त्यस्तै ट्यूशन दिन मिल्दैन र भने ? हमेशा गल्ति गरी रहेको छ तर सच्याए भनेर नैतिक जिम्मेवारी लिनु नपर्ने ? त्यस्तै सिकेर नै पत्रकारिता गरेकै हुन त यिनीहरुले? नेताहरु पनि त्यस्तै राष्ट्रीय पत्रिका जो राष्ट्रको चौथौ अंगको हविगत पनि त्यस्तै !!!?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • […] रुकुम प्रकरणमा ‘कान्तिपुर’ कहाँ-कहाँ… […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)