यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

घरमै विपश्यनाको एक दिने शिविरको एउटा नौलो अनुभव


मार्च महिनाको सुरुमा म बुढानिलकण्ठ, मुहानपोखरीको धम्मशृङ्ग विपश्यना केन्द्रमा थिएँ। बाहिरी संसारसित पूर्ण रुपमा सम्बन्ध विच्छेद हुने भएकोले बाहिर के भइरहेको छ, हामी कसैलाई थाहा थिएन। १० दिने मौन तोडेपछि बोल्न पाइने पहिलो दिन बडा रमाइलो हुन्छ। सँगै ध्यान बस्नेहरुसित अनेक थरि कुरा हुन्छ। त्यो दिन कोरोना भाइरसको आतंकबारे पनि कुरा भएका थिए। दुई वटा सम्भावना थिए, भाइरस निस्क्रिय भइसकेको, अझ कडा रुपमा फैलिएको भएको। त्यो दिन मोबाइल चलाउन नदिने हुनाले यसै हो भन्न सकिने अवस्था थिएन।

ध्यान केन्द्रबाट बाहिर निस्केपछि थाहा भयो, यो बीचमा विश्वमा संक्रमण धेरै फैलिएको रहेछ। सबभन्दा बढी इटाली प्रभावित भएको रहेछ। अझ घर फर्केको १२ दिनमै हाम्रै देशमा पनि कडा लकडाउन सुरु भयो।

भर्खरै विपश्यनाबाट फर्किएको हुनाले घरभित्रै बस्दा पनि त्यति गाह्रो भएन। अभ्यास निरन्तर जारी थियो। अझ जुमबाट पनि सामूहिक एक घण्टे ध्यान हुने भएकोले सहज भएको थियो।

विपश्यनाको सबैभन्दा ठूलो र कठिन चुनौति नै निरन्तर अभ्यास हो। बिहान बेलुकी दुई घण्टा अभ्यास गर्न भनिन्छ। यो गर्दा के फाइदा हुन्छ भन्ने प्रत्यक्ष अनुभव पनि हुन्छ। तर पनि निरन्तरता दिन गाह्रो पर्छ। यस पटक भने लकडाउनकै कारण पनि निरन्तर अभ्यास गर्न सकिएको थियो। ‘यसपालि त खतरै भयो नि, पहिलेभन्दा गजब भइरहेको छ,’ भन्ने लागेको थियो।

तर यो तीन महिने लकडाउनका बीच कहाँ के बिग्रियो- पत्तै भएन। उही पुरानै पारा। नियमित अभ्यास छुट्यो। पुरानो अभ्यास भएकोले ‘छुट्यो, गर्नुपर्छ’ भन्ने चाहिँ मनमा हुने रहेछ।

पछिल्ला केही दिनमा त एक घण्टासमेत बस्न नसक्ने स्थिति आयो। बस्यो- विपश्यना त के, आनापानसमेत राम्रोसित गर्न नसकिने ! मन व्याकुल हुने। आधा घण्टामात्र बस्नु पनि ठूलै उपलब्धि जस्तो पो हुन थाल्यो। आनापानाले विपश्यना थाल्नुभन्दा अघि श्वास प्रश्वासमा ध्यान दिएर चित्तलाई स्थिर गर्ने काम गर्छ।

सुरु सुरुमा ध्यान केन्द्रबाट फर्कँदा त आनापाना नै आवश्यक हुन्न थियो। सीधै विपश्यना गर्न सकिन्थ्यो।

गौतम बुद्धले सिकाएको यो ध्यान विद्यामा सकिन्छ भने हप्तामा एक पटक अरुसँग सँगै बसेर ध्यान गर्नु भनिन्छ। त्यसैले जमलको ज्योति भवनमा अक्सर जाने गर्थेँ म। तर लकडाउनका बेला यो सम्भव हुने कुरा भएन। जुमको भर्चुअल ध्यानमा सय जना जति भए पनि सँगै बसेर गरे जस्तो नहुने रहेछ।

आजभन्दा भोलि झन् झन् बिग्रँदै गएपछि आफै एक दिने शिविर चलाएर बस्नुु पर्छ कि जस्तो लाग्यो। तर त्यसका लागि निर्देशनसहितको अडियो कतै नपाइने रहेछ। एक घण्टा बस्नलाई भने विपश्यनाको एपमा प्रशस्त अडियोहरु छन्।

यो विद्यालाई फेरि लोकप्रिय बनाउन बर्मामा जन्मिएर भारत आएका गुरु एसएन गोयन्काको मृत्यु भएको सात वर्ष भइसके पनि उनकै आवाजसहितको निर्देशन अडियो/भिडियो सुनाएर/देखाएर शिविर चलाउने गरिन्छ।

१० दिने ध्यान शिविरमा बसिसकेकाहरुका लागि मात्र एक दिने शिविर पनि चलाइन्छ। यसमा सहभागी हुँदा नियमित ध्यान गर्नुपर्ने हौसला बढ्छ।

आफै स्वयं शिविर लगाएर बसे पनि हुन्छ भन्ने पनि गोयन्का गुरुजीको निर्देशन थियो। तर कसरी बस्ने हो अनुभव थिएन।

अब अति भयो, आधा घण्टा पनि बस्न नसक्ने भयो भनेर स्वयं शिविरमा बस्नु पर्छ कि क्या हो भनेर सोचेको पनि धेरै दिन भइसकेको थियो। सोमबार राति अबेरसम्म निद्रा नलागेपछि भोलि बस्ने कोशिश गर्छु भन्ने लाग्यो। निर्देशनको अडियो त पाइन्न, तर टाइम सेड्युल त पाइएला नि भनेर राति नै खोजेँ। भेटियो।

त्यसो त मैले जमानामा धम्मशृङ्ग (बूढानिलकण्ठको विपश्यना केन्द्रको नाम) मा बुद्ध जयन्तीमा एक दिने शिविर बस्दा टाइम सेड्युलको फोटो खिचेको थिएँ। तर चाहिने बेलामा भेटिए पो। कता हो कता। इन्टरनेटमा खोज्दा एउटा भेटियो।

त्यो अनुसार बिहान ९ बजेदेखि ध्यान बस्न सुरु गर्नुपर्ने रहेछ। तर एक त सुतेकै ढिला, उठेपछि पनि अल्छी लागिरह्यो। फेरि एउटा मनले भन्यो, धत्, यस्तो गरेर पनि हुन्छ, एक घण्टा ढिलो भए पनि गर्नुपर्छ।

लौ त नि भनेर ९ को साटो १० बजे सुरु गर्ने निधो गरेँ। हतारको निर्णय भएकोले घरको कसैलाई भनेकै थिइनँ। म आफैलाई पनि बस्न सक्छु जस्तो लागेकै थिएन।

बस्छु भनेर मात्र भएन, नियम पालना गर्नै पर्‍यो। नियम कडा छ फेरि। आर्य मौन पालना गर्नुपर्ने अर्थात् कसैसित मुखले मात्र हैन, इशाराले पनि बोल्न नपाइने। लकडाउनमा थुनिएका कारण मोबाइलमा इन्टरनेट चलाइरहने लत बसेको छ। त्यो पनि गर्न पाइन्न। सकिएला त ?

जे त पर्ला। बस्छु भने पछि बस्छु।

१० बज्न ५ मिनेटअघि कोठामा चकटी राखेर बस्न थालेँ। त्यति सजिलो भएन। तर आधा घण्टामै ‘उठ-उठ’ भनेर सताउने मनले त्यो दिन एक घण्टा बस्न दियो। मनले मलाई हैन, मैले मनलाई निर्देशन र नियन्त्रण गर्न सकेँ। गुरुजीले दिने जंगली हात्तीको उदाहरण जस्तै। जंगली हात्तीरुपी मन धेरै व्याकुल हुन खोज्यो, तर मैले त्यसलाई पाल्तु बनाउने कोशिश जारी राखेँ।

मोबाइलमा विपश्यना एपको Gong only वाला एक घण्टे अडियो बजाएको थिएँ। यसमा सुरुमा एक घण्टी हान्छ, त्यसपछि एक घण्टापछि मात्रै अर्को घण्टी हान्छ, बीचमा केही पनि निर्देशन हुन्न। एक दिने निर्देशनवाला अडियोको अभावमा त्यही सजिलो लाग्यो।

एक घण्टा बसिसकेपछि पाँच मिनेट आराम गरी फेरि अर्को एक घण्टा बसेँ। यो पटक त अघिल्लो भन्दा अलि सहज भयो। गर्न नपाइने हो, तर व्याकुल मनले कहिलेकाहीँ ‘आँखा खोलेर हेर न, कति समय बाँकी छ’ भन्छ। कति समय मनलाई जितिन्छ, कति समय मनले जित्छ। त्यतिबेला मनले जितेर आँखा खोलेर हेर्दा १० मिनेट मात्र बाँकी थियो एक घण्टा सकिन। भनेपछि पहिलो एक घण्टाभन्दा दोस्रो एक घण्टा बस्न अलि सहज भएछ।

१२ बजे खाना खाने गरी एक घण्टाको ब्रेक थियो सेड्युलमा। तर मैले एक घण्टा ढिला सुरु गरेको हुनाले त्यो समय १ बजेमात्रै आउँथ्यो। एक दिने शिविरको ६ घण्टा ध्यानमा दुई घण्टा आनापाना र चार घण्टा विपश्यना हुन्थ्यो। त्यसैले तेस्रो घण्टाबाट विपश्यनाको अभ्यास गरियो।

घरको कोठामा ध्यान गर्दा बाहिर सडकमा मान्छेले बोल्दै गरेको लगायत अरु विभिन्न आवाज मात्र होइन, कोठामै रहेको घडीको पनि टिकटिक आवाज सुनिने रहेछ। अरु बेला पनि सुनिने आवाज हो त्यो, तर याद नगरिने रहेछ।

तेस्रो घण्टाको ध्यान सकिएपछि खाना खाने गरी एक घण्टा ब्रेक थियो सेड्युलमा। तर बोल्न नपाइने नियम छ। खाना त नबोलिकनै खाइयो तर बाँकी समय चाहिँ मोबाइलमा इन्टरनेट चलाउँ चलाउँ लागेर हैरान ! तर यो मामिलामा पनि मनले मलाई जित्न सकेन, मैले नै मनलाई जितेँ।

त्यसपछिका तीन घण्टा पनि सजिलो भएन बस्न। सजिलो भइदिएको भए त सबै ‘बुद्ध’ नै भइहाल्थे नि 🙂 शास्त्र पढेर कोही मान्छे बुद्ध हुन सक्दैन। कुरो बुझेर पनि कोही बुद्ध हुन सक्दैन। सिद्धान्त र व्यवहारिक अभ्यास दुवै जरुरी हुन्छ।

बुद्ध धेरै परको विषय हो, अहिलेलाई गृहस्थीमा बसेर जीवन जिउने कलामात्र सिकेर लागू गर्न पाए पनि ठूलो कुरा हो विपश्यनाबाट। आफ्नो र अरुको हानी गर्ने गरी द्वेष, इर्ष्या, क्रोध, दुर्भावना हुन नदिने, भएको थाहा पाएर नियन्त्रण गर्ने र फैलन नदिने, आफ्नो र अरुको कल्याण हुने, स्नेह, सद्‍भाव मंगल भाव आउने काम गर्ने। दुःखमा धेरै दुःखी नहुने, सुखमा धेरै नमात्तिने। राग र द्वेषको बीचमा समता भावमा बस्न सक्ने- यति गर्न सके जीवन सहज हुन्थ्यो।

सात चोटी काठमाडौँमा र एक चोटी लुम्बिनीमा १० दिने ध्यान गरेर तैँले चाहिँ के पाइस् त भनेर सोध्नुहोला। सबैभन्दा पहिला त यो कति पटक भन्नुको अर्थ नै रहँदैन रहेछ। कसैले एक पटकमा नै धेरै लाभ पाउँछ, कसैले ५० पटक गर्दा पनि पाउँदैन। कुरो बुझेर त्यसलाई व्यवहारमा लागू गर्नु र अभ्यासको निरन्तरता यसको चुनौति हो।

म त यो विद्यामा अझै कच्चा नै छु। नियमित अभ्यास नै राम्रोसित गर्न सकिरहेको छैन। मैले तीन पटकको १० दिने शिविर पछि गर्नुपर्ने ‘धर्मसेवक’को कोर्स गरेको छैन। त्यसपछि सैद्धान्तिक पक्ष अझ बुझ्नका लागि गर्नुपर्ने सतिपठ्ठान कोर्स पनि गर्न बाँकी नै छ।

तर पनि अहिले आफूले नचाहेको कुरा हुँदा पहिले जति व्याकुल हुन्थेँ, त्यो कम भएको जस्तो लाग्छ। पटक्कै नहुने त होइन। हुन्छ। तर ‘रियलाइज’ पनि हुन्छ। कहिले तत्काल, कहिले अलि पछि भए पनि। समता भावमा बस्नुपर्छ भन्ने हुन्छ। बस्न सकिन्छ, सकिन्न त्यो अर्को कुरा हो। कम्तिमा रियलाइज गर्ने स्टेजमा पुगेँ भन्ने लाग्छ। कहिलेकाहीँ त त्यही पनि हुन गाह्रो छ। कहिले ढिला मात्र रियलाइज हुन्छ। जीवन सहज बनाउन मद्दत गरेको छ, फाइदा हुन्छ भन्ने लागेकैले १२ वर्षअघि पहिलो पटक विपश्यना गरेदेखि पछि लागिरहेको छु।

१२ वर्षमा पहिलो पटक घरमै पनि स्वयं शिविर बस्न सकिने रहेछ भन्ने अनुभव चाहिँ बटुलियो।

5 comments to घरमै विपश्यनाको एक दिने शिविरको एउटा नौलो अनुभव

  • chari guru

    धन्यवाद सालोक्य जी. मैले पनि धेरै बर्ष अगाडि १० दिन को सिबिर मा भाग लिएर पुरा गरे, अैले पनि समय मिले सम्मा ध्यान गर्छु / यो बिप्यसना ध्यान धेरै राम्रो छ/
    मैले बुझे सम्मा यो बिप्यस्यना ध्यान पनि कता कता भैरब तनत्र को ११२ ध्यान बिधी हरु सँग मिल्न गएको जस्तो लाग्छ ।।। बुद्ध भन्दा अगी नै हाम्रो समाज म ॠषि मुनी हरु ले यो ध्यान प्रतिपदित गरेका जस्तो लाग्छ | अादिगुरु शंकरअचर्य , गोराख्नाथ र अरु थुप्रै सम्प्रदाय मा यो बुद्ध ले गरेको जस्तो ध्यान र अरु थुप्रै कथिन (गारो, गाह्रो नियम तथा पद् डटी को ध्यान हरु ) थियो ।। बुद्ध को ध्यान धेरै सरल छ , सब ले गर्न सक्ने ..

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Deep

    मैले ध्यान गर्न थालेको साढे दुई बर्ष जस्तो भयो । दिन को २ घण्टा गर्छु ।
    ध्यान गरेको ५ ६ महिना त राम्रै थियो । तर एक दिन मलाई साइकोसिस जस्तो भयो केहि दिन । जो देखे पनि यस्ले मलाई मार्छ जस्तो । हुँदा हुँदा मेरो ४ बर्ष को छोरा सँग पनि डर लाग्ने ।
    मैले तर ध्यान गर्न छोडिन । त्यो ताका झन धेरै गर्न थाले । अनि ३ ४ दिन पछी आफै ठीक भयो ।
    अहिले निकै मन सान्त हुन्छ । रिस कम उठ्छ । एन्जाइटी निकै कम छ ।
    पहिले पहिले ध्यान गर्दा निदाउने कारण ले हो कि किन हो, आजकल मलाई पनि ध्यान गर्दा एक घन्टा पार गर्न निकै गाह्रो हुन थालेको छ । कहिले सकिएला जस्तो हुन्छ, तर म नसकिन्जेल उठ्दिन । मलाई थाहा छ यो इस्टेज पनि आफै पार लाग्छ । । ।मात्र धर्य गर्नु छ । सबै ठीक हुनेछ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Pratap Paudel

    हजुरको सुझावकोलागी धन्यवाद। अब आउने समयमा सिबिर जाने प्लानमा आउनेछु!
    Maile herne/sunne gareko video

    https://youtu.be/fxfOrvCy

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Pratap Paudel

    हजुरको यो बाडेको अनुभव अत्यन्तै उपयोगी लाग्यो।
    मैले पनि भर्खर भर्खर यु टिउब हेरेर घरमा अभ्यासको प्रयास गर्दै छु।
    पहिला ३० मिनट प्रणयम गरेर अनी ध्यानमा बस्ने प्रयास गरेको छु
    तर ध्यानमा बस्दा दिनभर बिर्सिएको कुराहरु याद आउछन। मन धेरै आस्थायी हुन्छ।
    मैले पनि एउटा के अनुभव गरेको छु भने रिस उठेको बेलामा किन रिसौदैछु भन्ने सोच आउछ। तत्काल श्वासमा ध्यान ल्याउन प्रयास गर्छु। कहिलेकहि सफल पनि भाईन्छ। नेपाल आएको बेलामा सिबिरमा जाने प्लानमा छु। हजुरको अनुभव बाट के बुझे भने सिबिर जादैमा मात्र हुँदैन रइछ। केही सल्लाह दिनुहोस् ….

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • युट्युब हेरेर अरु ध्यानकाे अभ्यास गर्नुस्, विपश्यनाकाे चैँ नगर्नुस् है। याे पूरै १० दिनकाे प्याकेज हुन्छ। नियम पालन गरेर सिक्नु पर्छ। मेराे सुझाव : एक पटक १० दिनकाे शिविर अवश्य गर्नुस् नियम पालन गरेर। मन नलागे कन्टिन्यु नगर्दा हुन्छ, तर भगवान गौतम बुद्धले सिकाएकाे विद्याकाे शुद्ध रुप चाख्ने मौका याे जुनीमा नछुटाउनुस्।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)