यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

रुकुम घटना : भएको के थियो ? संसदीय समितिको विश्लेषण यस्तो छ


चौरजहारी नगरपालिका-८, सोतीमा भएको घटनाको सम्बन्धमा अध्ययन, अनुगमन तथा छानविन गर्न “चौरजहारी नगरपालिका, सोती घटना छानविन विशेष संसदीय समिति” गठन भएको थियो। समितिले आफ्नो कार्ययोजना बनाई उक्त घटनाको समग्र पक्षको अध्ययन, अनुगमन तथा विश्लेशण गर्न जाजरकोट, चौरजहारी नगरपालिका र रुकुम पश्चिममा रहेका, पीडित परिवार, घटनासँग सम्बन्धित संघर्ष समिति, राजनीतिक दल, नागरिक समाज, घटनाको उद्धारमा संलग्न स्थानीय बासिन्दा, प्रहरी प्रशासन एवं सुरक्षाकर्मी, पत्रकार, उक्त घटनाका प्रत्यक्षदर्शी घाईते व्यक्तिहरू, प्रतिवादीहरू लगायत सरोकारवाला निकायसँग छलफल, भेटघाट, अन्तरक्रिया गर्ने कार्य सम्पन्न गरेको छ।

जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं. ४ राना गाउँका वर्ष २१ को नवराज वि.क. र जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८, सोतीकी वर्ष १७ की किशोरी बीच गहिरो प्रेम सम्बन्ध भई एक आपसको घरमा आउने जाने र सँगै बस्ने समेत गर्दै आएको पाइन्छ। दलित समुदायको केटासँग कथित माथिल्लो जातको केटीको प्रेम सम्बन्ध भएको कुरा केटीतर्फका अभिभावकले समेत थाहा पाए। छोरीले दलित केटासँग प्रेम सम्बन्ध राखी विवाह गरेमा आफ्नो परिवार तथा आफन्तले सामाजिक बेइज्जत हुने भनी उनीहरूको प्रेम सम्बन्धलाई छुटाउने पटक पटक प्रयास गरेका छन्। त्यसकारणले पनि यस घटनाको मुख्य कारण जातीय विभेदबाट नै शुरु भएको पाइन्छ।

कसरी बस्यो प्रेम ?

केटी अध्ययनका लागि चौरजहारी डेरा लिएर बसेको पाइन्छ। २०७५ सालको त्रिभुवन उच्च माध्यमिक विद्यालय, जाजरकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भएको बेलामा नवराज वि.क. एक राम्रो खेलाडी समेत भएको कारणले केटी केटाप्रति आकर्षित भई चिनजान भएको पाइन्छ। तत्पश्चात् उनीहरूको बीचमा भेटघाट गर्ने, टेलिफोन नम्बर साटासाट गर्ने, कुराकानी गर्ने, फेसबुकमा साथी बनी सम्वाद गर्ने, एक अर्काका घर परिवार र आफन्तहरूलाई चिनाउने, नाता लगाई बोल्ने र जाजरकोटको सदरमुकाम खलङ्गामा लागेको रमाइलो मेला हेर्न केटी जाजरकोट गएको बेला केटी ४ दिनसम्म केटाको घरमा गएर सँगै बसेको, एक आपसको जन्मदिनमा भेट्ने र शुभकामना आदान प्रदान गर्ने गरेको पाइन्छ।

यसै क्रममा केटी पटक पटक गरी ७ दिनसम्म केटाको घरमा गएर बसेको बुझिन्छ। यसै क्रममा केटा पक्षको बुवा आमाले हामी दलित जाति र तिमीहरू मल्ल ठकुरी भएकोले पछि समस्या पर्न सक्ने र केटीको उमेर समेत नपुगेकोले उमेर पुगेपछि सोचौला भन्दा केटीले कुनैपनि जात माथि विश्वास नगर्ने जातीय विभेद तथा छुवाछुतको अन्त्य भैसकेको बताएका थिए। त्यसपछि उनीहरू दुवैको प्रेम सम्बन्ध झन् प्रगाढ हुँदै गएको पाइन्छ।

यसै क्रममा नवराज वि.क. पटक पटक केटीको घर जाने गरेको र मिति २०७६ चैत १७ गते नवराज वि.क.सहित ३ जनाले केटीलाई भेट्न भनी जाँदा परिवार र त्यहाँका वडाध्यक्ष डम्बरबहादुर मल्लले निजहरूलाई नियन्त्रणमा लिई चौरजहारी प्रहरीलाई जिम्मा लगाई एक रात प्रहरी चौकीमा समेत राखेको र भोलिपल्ट प्रहरीले नवराजलाई सम्झाई बुझाई गरी आमालाई जिम्मा लगाई पठाएको पाइन्छ।

केटीले बोलाएको हो कि होइन ?

यसै क्रममा उक्त घटनापछि २०७७ जेठ ८ गते साँझ नवराज वि.क. लाई केटीले फोन गरी मेरो अन्यत्रै विवाह हुन लागेको हुँदा १०/१२ जना युवाहरू लिएर लिन आउनु भनेको केटा पक्षको भनाई रहेको। तर उक्त कुरा पछि प्रहरीद्वारा कल डिटेल लगायतका विषयबाट नखुलेको हुँदा केटीले उक्त कुरा भनेको र लिन भनी बोलाएको हो होइन भन्ने कुरा यकिन खुलेको पाइएन।

त्यसैगरी केटीले केटा पक्षलाई यदि उक्त कुरा भनी केटीले बोलाएको विषय साँचो नै भएता पनि केटीले स्वयं आफैले बोलाएको हो वा परिवार तथा आफन्तको दवावमा बोलाएको हो? भन्ने विषय समेत यकिन हुन सकेन।

यसै क्रममा केटीले बोलाएको भनी नवराजले आफ्ना नजिकका साथीहरू १९ जना जम्मा पारी बेहुली लिन वा भेट्न भनी केटीको घरबाट करिब ५० मिटर तल सडकमा १८ जना पुगेको तर गोपाल बुढाथोकी नामका १ जना भने धल्ला पुल नपुग्दै बीच बाटोबाटै फर्किएको बुझिन्छ। नवराज वि.क. सहितको समूहलाई घरमुनिको बाटोमा देखेपछि आमाले “ए डुम तँ फेरि आइस्, अझै पुगेन’ भन्दै गालीगलौच गरी यिनीहरूलाई मार्नु सिध्याउनु पर्छ गाउँलेहरू सबैलाई खबर गर्नु भनी वडाध्यक्ष डम्बर बहादुर मल्ललाई फोन गर्दै गर्दा नवराज वि.क. सहितका युवा असुरक्षित महशुस गरी कुनै प्रतिवाद नगरी त्यहाँबाट सरासर हिँडेको पाइयो।

केटीका परिवार र आफन्तले उनीहरूको प्रेम सम्बन्धलाई कहिले पनि नस्वीकारेको। घटना भएको दिन नवराज सहित १८ जनाको समूह केटीको घर नजिकैको बाटोमा आएको देखेपछि केटीको आमाले असहज तथा अस्वभाविक महशुस गरी वडाध्यक्षमार्फत् गाउँलेलाई खबर गरेको पाइन्छ। त्यसको करिब ४५ मिनेट पछि युवाहरू मध्यपहाडी लोकमार्गको आसपास पुग्ने बेलामा सबै गाउँलेहरूले चारैतिरबाट घेरा हाली घरेलु हतियार, आँसी, टाट्नो बनाउने काठ, लाठी, ढुङ्गा समेत प्रयोग गरी आक्रमण तथा कुटपीट गरी ६ जनाको ज्यान जाने र १२ जना गम्भीर घाइते हुने गरी निर्मम सामूहिक हत्या जस्तो अमानवीय, जघन्य अपराधिक घटना घटेको पाइयो।

कर्णाली प्रदेश रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ को सोतीस्थित मध्यपहाडी लोकमार्गको आसपासमा २०७७ जेठ १० अन्दाजी बेलुकी अन्दाजी ५:३० बजेको समयमा घटित घटनामा ६ जना होनहार युवाहरूको मुत्यु भएको र बाँकी १२ जना युवाहरू गम्भीर घाइते भएको घटनाले देश र सम्पूर्ण जनसमुदायलाई स्तब्ध तुल्याएको छ। सिङ्गो मानव समाज र सभ्यतालाई यसले गम्भीर आघात पुयाएको छ। यस्तो जघन्य त्रासदीपूर्ण घटना दोहरिन नदिन राज्यका सबै संयन्त्रहरू संवेदनशील, प्रभावकारी र जवाफदेही बन्नुपर्ने समितिको बुझाई रहेको छ।

राज्य संयन्त्र र स्थानीय जनप्रतिनिधिले सामान्य रुपमा लिए

घटना घटेका दिन २०७७ साल जेष्ठ १० गते घटनालाई राज्यका संयन्त्र एवं स्थानीय जनप्रतिनिधिले सामान्य रुपमा लिएको देखिन्छ। सरोकारवाला निकायले घटना पछि तत्कालै घटनाको प्रकृति र गम्भीरतालाई विशेष रुपमा बुझी तद्अनुरुप प्रभावकारी रुपमा आवश्यक कदम चालेको पाइएन। घटना उज्यालो अर्थात् घाम छँदै मानिसहरूको चहलपहल हुने लोकमार्ग नजिक भएको, घटनास्थलमा सुरक्षाकर्मी पुग्दा आक्रमणकारीले लोकमार्गमा, भेरीको बीच भङ्गालोमा र भेरी पारी जाजरकोट पट्टीको बगरमा कुटपीट गरिरहेको र सुरक्षाकर्मीले आक्रमणकारीहरूलाई छोडी घाइतेहरूलाई मात्रै नियन्त्रणमा लिनु, जाजरकोट पट्टीका सुरक्षाकर्मीले आफ्नै जिल्लाका आफ्नै जिल्लामा भेटिएका युवाहरूलाई नियन्त्रणमा लिई अर्को जिल्लालाई बुझाउनु, नियन्त्रणमा रहेका घाइते युवाहरूले आफूसँगै आएका साथीहरू त्यहाँ नभएको कुरा सुरक्षाकर्मीलाई भन्दाभन्दै पनि तत्काल घटनास्थलमा कुनै खोजी कार्य नगर्नु, घटना भएकै दिन बेलुका १९:१५ बजे करिव १ घण्टा पछि नै नवराज वि.क. को लाश फेला परे पछि पनि तत्कालै घटनास्थल नियन्त्रणमा नलिनु, अपराध घटेको घटनास्थल शील नगर्नु र घटनामा संलग्न आक्रमणकारी र शंकास्पद अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य नगर्नु नहुनु गम्भीर त्रुटी देखिन्छ।

कम उमेरमा विवाह

सोती घटना अन्तरजातीय प्रेम गरेको भनिएका केटा र केटीको उमेर २१ वर्ष र १७ वर्ष रहेको पाइन्छ। उक्त दिन नवराज बि.क. सँग बेहुली लिन वा काफल खान भनी सँगै गएका सबै युवाहरू २१ वर्ष भन्दा कम उमेरको भएको देखिन्छ। घटनामा मृत्यु भएका सञ्जिव बि.क.को २० वर्षको श्रीमती र अन्दाजी ३ वर्षको छोरा रहेको पाइन्छ। त्यसैगरी मृतक टिकाराम सुनारको श्रीमतीको उमेर १८ वर्ष र अन्दाजी २ वर्षको छोरी, ३९ वर्षको बाबु र त्यो भन्दा कम उमेरकी आमा रहेको हुँदा जाजरकोट र रुकुममा कम उमेरमा विवाह हुने प्रचलन रहेको पाइन्छ।

मृतक नवराज बि.क. र निजको प्रेमिकाको पनि प्रेम सम्बन्ध कायम रहेको करिव २ वर्ष भन्ने कुरा प्रायः सबैबाट सुन्नमा आएको पाइयो। तर स्थानीय रुपमा कम उमेरमा विवाह गर्ने चलन भएतापनि जातीय भेदभाव र छुवाछूतकै कारणले उनीहरूको प्रेम सम्बन्धलाई अस्वीकार गरेको देखिन्छ। उक्त घटनामा पीडक पक्षका प्रतिवादी वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्ति, गाउँका अगुवा व्यक्ति तथा आफन्तहरूले अलिकति पनि संयमता अपनाउन नसक्दा यस्तो जघन्य अपराध भई अपुरणीय क्षति हुन पुगेको छ।

घटनाका पीडितहरू, मृतक टिकाराम सुनार बाहेक सबै जाजरकोटका हुनु, उनीहरू माथि साङ्घातिक आक्रमण गर्नेहरू सबै रुकुम पश्चिमका रहनु, हराएका व्यक्तिहरूको खोजीमा जाजरकोटतर्फका स्थानीय बासिन्दा र आफन्तहरू क्रियाशील रही सबै लाश जाजरकोट तर्फ आफन्तहरूले नै भेट्नु, रुकुम पश्चिम चौरजहारी तर्फका सुरक्षाकर्मीले घटनाको प्रकृति अनुरुप तत्काल आवश्यक कार्यवाही एवं पहल कदमी गर्न नसकेको पाइयो।

यदि तत्कालै हराएका ६ जनाको खोजी कार्य गरेको भए प्रायः सबैलाई पानी बाहिरै एवं जीवितै सोही समयमा फेला पर्ने कुरामा धेरैको विश्वास रहेको पाइयो। घटनाको गम्भीरता समयमै बुझिएको भए तत्काल अपराध घटेको स्थानको सुरक्षा, वेपत्ता भएका व्यक्तिको खोजी, फेला परेका मृतकको लाशजाँच र पोष्टमार्टमका लागि उच्च प्रविधि एवं सतर्कता अपनाउन सकिन्थ्यो तर त्यस्तो भए गरेको पाइदैन।

पोस्टमार्टम रिपोर्टमा पीडित संशकित
साथै सबै तहका राज्य संयन्त्रहरूले यो घटनालाई चासोका साथ लिई विशेष अनुसन्धान गर्नु पर्ने हुन्थ्यो। लाश प्रकृति मुचुल्का तयार गर्ने क्रममा लाश फेला पारी उद्धार गर्ने व्यक्तिहरूको भनाईलाई मुचुल्कामा समावेश नगरिएको देखियो। प्रहरी आफैले लाशको प्रकृति देख्दादेख्दै पनि लेख्न छुटाएको पाइन्छ। तत्काल फेला परेको नवराज वि.क. को लाश पोष्टमार्टम अधिकारकर्मीहरूको विरोध र दबावका कारण समयमै हुन सकेन भने अन्य लाशहरू पनि ढिला फेला परेको र फेला परेपछि पनि पोष्टमार्टमा विलम्ब हुनुको साथै लाश राख्नका लागि विशेष प्रविधिको प्रयोग भएको पाइएन। मृतकका संवेदनशील अङ्गहरू टाउको, आँखा, नाक, मुख र शरीरका विभिन्न भागमा धारिलो हतियारका चोटहरू हुँदा हुदै लाश प्रकृति मुचुल्कामा उल्लेख गर्न छुटाइएको पाइयो। साथै पोष्टमार्टम गर्ने क्रममा मृतकका शरीरमा गम्भीर प्रकृतिका चोटपटक र लाश प्रकृति मुचुल्काका अतिरिक्त स्थानीयबासीको बयान अनुसार कानबाट रगत बगिरहेको, आँखा बाहिर निस्किएको, घाँटी भाचिएको, दाँत झरेको, उनीहरूको कपडामा प्रष्टै देखिने गरी रगतका टाटाहरू रहेको, टाउको अनुहार कपडाले बाधिएको जस्ता अवस्थालाई पोष्टमार्टम रिपोर्टका लागि खुलाउनु पर्ने विषय उल्लेख नगरिकन पोष्टमार्टमका लागि स्वास्थ्य सेवा कार्यालय जाजरकोट पठाइएको। स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा ल्याइएका लाशहरूको संख्या र प्रकृति अस्वभाविक देख्दा देख्दै पनि आफ्नो कार्यमा कुनै गम्भीरता असहज महशुस गरी थप विशेषज्ञ सेवाको माग गरेको देखिएन। एकातर्फ लाशमा देखिएका प्रशस्त चोटहरू उल्लेख गर्नु, थप परीक्षणका लागि भिसेरा जाँच गर्न पठाउनु र अर्का तर्फ मृत्युको कारण सिधै “cause of death: Drowning” उल्लेख गर्नुले पोष्टमार्टम रिपोर्ट प्रति पीडित पक्षहरू सशंकित भएको पाइयो।

जाजरकोट र रुकुम पश्चिम जिल्लामा यति ठूलो घटना घटी हामी यति ठूलो पीडामा हुँदा पनि जिल्लाका जनप्रतिनिधि हामीलाई भेट्न, सहानुभूति दिन आउनुभएन भन्ने पीडित परिवारको गुनासो रहेको पाइयो।

जाजरकोट र रुकुम पश्चिम जिल्लामा यति ठूलो घटना घटी हामी यति ठूलो पीडामा हुँदा पनि जिल्लाका जनप्रतिनिधि हामीलाई भेट्न, सहानुभूति दिन आउनुभएन भन्ने पीडित परिवारको गुनासो रहेको पाइयो। घटना घटेपछि १० गते साँझ नै मृतक नवराज वि.क. को र क्रमशः ११ गते टिकाराम नेपालीको, १२ गते गणेश बुढा मगरको, १४ गते लोकेन्द्र सुनारको, १५ गते सजिव वि.क. को र २० गते गोविन्द शाहीको लाश भेटिई पोष्टमार्टमको लागि पठाइएको पाइन्छ। तर स्वास्थ्य सेवा कार्यालय जाजरकोटबाट १२ गते देखि २१ गतेसम्म फरक फरक मितिमा गरिएका पोष्टमार्टमको रिपोर्ट तत्कालै सम्बन्धित निकायलाई नदिएर एकैपटक बुझाउनुपर्ने कुनै आधार कारण देखिएन।

स्वास्थ्य सेवा कार्यालयको काम बुझेको लाशको पोष्टमार्टम गरी तत्कालै रिपोर्ट दिनु हो तर कार्यालयमा उपस्थित चिकित्सकहरू “सबै लाशको रिपोर्ट एकै दिन दिने भनी यतिका दिन राख्नुपरेको” बताउँछन्। फरक फरक मितिमा भेटिएको र फरक फरक मितिमा पोष्टमार्टम गरिएको रिपोर्ट एकै पटक दिनु वा बुझाउनु कानून सम्मत् र व्यवहारिक देखिँदैन।

हाम्रो देशमा अन्तरजातीय विवाहको नाममा बिभिन्न कालखण्डमा विभिन्न प्रकृतिका घटना नघटेका पनि होइनन् तर यस प्रकृतिको जघन्य सामूहिक हत्या हुनेगरी घटेको घटना भने पहिलो मान्न सकिन्छ। एउटा समूहमाथि आक्रमण गर्न गाउँ नै सहभागी भएको यो त्रासदिपूर्ण घटनाले हामी सबैलाई एकपटक सोच्न बाध्य बनाएको छ।

घटना जघन्य प्रकृतिबाट घट्न गई अपूरणीय मानवीय क्षति भएको छ।

(संसदीय समितिको प्रतिवेदनको ‘घटनाको विश्लेषण’ खण्डबाट साभार। यसमा किशोरी र उनकी आमाको नाम कानुनले गोप्य राख्नु पर्ने प्रावधान भएकोले प्रतिवेदनमा उल्लेख भए पनि यहाँ हटाइएको छ। सबहेडलाइनहरु रिपोर्टमा छैन, त्यो मैले हालेको हुँ)

रुकुम घटनाबारे ब्लगहरु

रुकुम प्रकरणमा ‘कान्तिपुर’ कहाँ-कहाँ चिप्लियो? पाँच उदाहरण

युट्युब

पडकास्ट

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)