यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

निर्मला हत्याका दुई वर्ष : अझै उघ्रिएन मिडियाको आँखामा लागेको पर्दा


निर्मला पन्तको हत्या भएको आज ठ्याक्कै दुई वर्ष पूरा भयो। नेपाल प्रहरीले इतिहासमै सबैभन्दा बढी समय, स्रोत र जनशक्ति लगाएको केस मध्येमा एक हुनुपर्छ यो।  तर अहिलेसम्म पनि यो केस समाधान हुन सकेको छैन। पहिलोपोस्टमा हुँदा #WhoKilledNirmala सिरिजमा यो विषयको गहिराइमा पुगेर indepth रिपोर्टिङ गरेको हुनाले यसबारे धेरै पाटो मैले केलाएको छु। हल्ला र अफवाहहरुलाई चिरेर तथ्यका आधारमा समाचार लेख्नुपर्ने जिम्मेवारी बोकेको मूलधारका मिडियाले उल्टो सोसल मिडियाको अफवाहका आधारमा समाचारहरु बनाएपछि यो केस झन् बढी गिजोलिएको हो। दुई वर्षपछि धेरै विषयमा सिन क्लियर भइसकेको छ र प्रमुख मिडियाहरुलाई आफूले त्यतिबेला अफवाहलाई बल दिने गरी तथ्यमा चुकेर समाचार दिएको हो कि भन्ने चाहिँ भए जस्तो लागेको थियो मलाई। तर आज नागरिकमा प्रकाशित समाचार पढ्दा त्यस्तो लागेन। मूलधारका केही मिडियाको आँखामा लागेको पर्दा अझै उघ्रिएको रहेनछ।

मिसलिड गरिएको छवि

प्रहरीले यो घटनाको एक महिना नहुँदै दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। तर त्यसको भोलिपल्ट माहौल यस्तो बनाइयो कि ती व्यक्ति दोषी हुँदै होइनन्, भिआइपी अपराधी जोगाउनका लागि नक्कली अपराधी खडा गरिएको हो भन्ने प्रचार गरियो।

यस्तो छवि सुरुमा कञ्चनपुरका पाका पत्रकार खेम भण्डारीले मानसखण्डमा समाचार लेखेर बनाएका थिए। भदौ ५ गते मानसखण्डमा प्रकाशित समाचारमा ‘उनकी छिमेकी खेमा सुवेदीलाई उद्‍धृत गर्दै लेखिएको थियो,

‘प्रहरीले भनेजस्तो बलात्कार र हत्या गर्न सक्ने शारिरीक क्षमता नै दिलिपसँग थिएन।’ सुवेदीका अनुसार दिलिप शारिरीक भार पर्ने कुनै पनि काम गर्न सक्षम समेत थिएनन् । ‘एक अंगाल दाउरा पनि बोक्न सक्दैन थियो’, सुवेदीले भनिन्, ‘सानो काम गर्दा पनि स्वाँ स्वाँ हुन्थ्यो ।’

मानसखण्डको वेबसाइटमा रहेका पुराना समाचारहरु सबै उडेको छ। मानसखण्डको वेबसाइट पनि पुरानो manaskhanda.com बाट परिवर्तन गरी manasakhanda.com बनाइएको छ। तर पनि अर्काइभमा सेभ गरिएका कारण यो समाचार यहाँ क्लिक गरी हेर्न सकिन्छ। 

उनको यो समाचार त्यतिबेला सर्वाधिक चासोको विषय भएकोले थुप्रै कपिपेस्ट वेबसाइट र फेसबुक-युट्युबमा आए। त्यतिमात्र होइन, मूलधारका मिडियासमेत त्यसैमा बहकिए।  काठमाडौँबाट प्रकाशित हुने राजधानी दैनिकमा सुरेश पन्तको बाइलाइनमा छापिएको समाचारका अधिकांश अंश मानसखण्डकै दैनिककै समाचारको हुबहु कपिपेस्ट थियो। नपत्याए  हेर्नुस् मानसखण्डमा भदौ ५ गते छापिएको समाचार र राजधानीमा त्यसको केही दिनपछि छापिएको समाचार।

नागरिक दैनिकले समेत खेम भण्डारीकै मानसखण्डमा छापिएको दुई दिनपछि भदौ ७ मा छापेको समाचारमा भण्डारीकै ठहरको प्रतिबिम्ब थियो – ‘गाउँमा खानेकुरा माग्दै हिँड्ने, महिला देख्दा पनि छेउबाट हिँड्ने, महिलालाई छुन डराउने र घटनास्थलको अवस्था हेर्दा दिलीप दोषी भएको कोही पनि पत्याउन तयार छैनन्।’

यही बनाइएको छवि भएभरका सबै मिडिया (सोसल मिडिया, अनलाइन, मूलधारे मिडिया) मा व्यापक भएपछि सामान्य पाठकले विश्वास नगर्नुपर्ने कारण हुन्थेन। त्यसैले धेरैलाई यो मान्छे बलात्कार र हत्या गर्नै नसक्ने खालको थियो र नक्कली अपराधी बनाइएको भन्ने नै लाग्यो।

खासमा यो गलत रहेछ भन्ने कुरा दिलिपलाई म आफैले तेस्रो पटक कञ्चनपुर जाँदा भेटेपछि प्रष्ट भएँ। दिलिपका दाजुले आफ्ना भाइलाई ‘केटीको मामिलामा गौतम बुद्ध जस्तो’ भनेर हामीलाई भनेका थिए। तर कस्तो रहेछ भन्ने कुरा त उनीसित केही बेर कुरा गर्दा थाहा भयो।

उसले गरेका सेक्सका कुराले उनमा यौन भोक कति तीव्र छ भन्ने देखायो। दिलिपका दाजुले भने जस्तो केटीको मामिलामा ‘गौतम बुद्ध’ जस्तो, मतलबै नभएको त पटक्कै हैन रहेछ भन्ने प्रष्टै भयो।  मसित कुरा गर्ने क्रममा उसले आफ्नै परिवारका महिला सदस्यप्रति आपत्तिजनक कुराहरु भन्यो। यौन अङ्गका बारेमा पनि कुरा गर्‍यो। यौन कुण्ठाले ग्रसित रहेछ ऊ भन्ने प्रष्ट भयो।

गर्न केटी मिलाइदेऊ न भनेर अनुरोध गर्ने, गर्ने ठाउँ छ त भनेर सोध्दा ‘मिलमा ल्याएर गर्न मिल्छ’ भन्ने दिलिप नागरिकमा छापिएको समाचारमा  जस्तो ‘महिला देख्दा पनि छेउबाट हिँड्ने, महिलालाई छुन डराउने’ खालको कसरी भयो त ?

मानसखण्डमा छापिएको जस्तो ‘बलात्कार र हत्या गर्न सक्ने शारिरीक क्षमता नै दिलिपसँग नभएको, एक अंगाल दाउरा पनि बोक्न नसक्ने’ पनि देखिएन उसको शारीरिक बनौट हेर्दा। हात मिलाएको थिएँ मैले पनि उसित। कडा थियो उनको हात। दुब्लो पातलो भए पनि एक अंगाल दाउरा बोक्न नसक्ने थिएन। बरु घटनाअघि उसले बारी खनेर पैसा लिएको भन्नेहरु पनि भेटेँ मैले त।

त्यतिबेला कुराकानी गरी मैले बनाएको भिडियो छुटाएको भए हेर्नुस् (अलि सावधान हुनुस्, यसमा अश्लील कुराहरु पनि छन्, सम्पादन गर्दा उनी कस्तो चरित्रका थिए भन्ने प्रष्ट नहुने भएकोले सम्पादन बिनै हालेको थिएँ)

अझै उघ्रेन हल्ला र अफवाहको पर्दा

तर दुई वर्षपछि नागरिकले समाचार लेख्दा यी सब कुरालाई ध्यान नदिई लेखेको छ- ‘यज्ञराजलगायत आफन्त तथा छिमेकी भने दिलीप दोषी हुन नसक्ने पुरानै अडानमा छन्।’ यसबाट नागरिक लगायतका मिडियाको आँखामा लागेको हल्ला र अफवाहको पर्दा अझै पनि नउघ्रेको प्रष्ट भएको छ।

अडान महत्त्वपूर्ण कि तथ्य ? तथ्यले के भन्छ, त्यो महत्त्वपूर्ण भएन ? यज्ञराज (निर्मलाका बाबु) को विषयमा त पछिल्लो समयमा धेरै कुरा प्रष्ट भइसक्यो। उनले निर्मलाकी आमालाई कुट्न खोजेको, धम्क्याएको भिडियो नै सार्वजनिक भइसक्यो। कान्छी स्वास्नी बिहे गरेपछि परिवारबीच सम्बन्ध राम्रो नभएको कुरा पनि आइसकेकै हो। यज्ञराज लगायतका कुन आफन्त र कुन कुन छिमेकीले दिलिप दोषी हुन नसक्ने अडान राखेको हो, समाचारमा प्रष्ट छैन। यो पनि दोषी त हुनसक्ला है, अनुसन्धान गर्नुपर्छ भन्नेहरु पनि त होलान् नि।

अरु केसमा भए किटानी जाहेरी परेपछि अनुसन्धान हुने गर्छ। यो केसमा के यस्तै नागरिक जस्ता राष्ट्रिय मिडिया वा खेम भण्डारी जस्ता स्थानीय शक्तिशाली पत्रकारहरुको डरमै प्रहरीले दिलिपसिंह विष्टमाथि फेरि अनुसन्धान गर्न नसकेको हो? पूर्व आइजी सर्वेन्द्र खनालको पालामा अपराध सकारेका भनेर समाचार लिक गराइए पनि पछि छाडिएका विशाल चौधरीलाई पछिल्लो समयमा पुनः कञ्चनपुर प्रहरीले ल्याएर सोधपूछ गरेको थियो। दिलिपको विषयमा भने यस्तै सोधपूछ मात्र गर्न पनि प्रहरीले नसकेको कारण चाहिँ के होला? अनुसन्धानले देखाएको तथ्यका आधारमा पो थप प्रक्रिया अघि बढाउने हो त, होइन यसको विषयमा त अनुसन्धानै गर्न हुँदैन, यो हुनै सक्दैन भन्ने कसैको दबाब किन मान्नु पर्ने?

‘पागल’ले गर्नै सक्दैन’

दिलिपसिंह विष्टको बारेमा कतिपयले उ मानसिक सन्तुलन बिग्रिएको व्यक्ति हो, त्यसैले उसले यस्तो काम गर्न सक्दैन भन्ने तर्क गर्ने गरेका छन्। तर यसको अर्को पाटो पनि छ। सैद्धान्तिक कुरा गर्ने हो भने अपराध गर्ने भनेकै मनको ‘सन्तुलन’ बिग्रिएपछि हो। हत्या, बलात्कार जस्ता घृणित काम सद्दे व्यक्तिले गर्नै सक्दैनन्। हत्या गर्नका लागि मनमा एकदम द्वेष जागेको हुनुपर्छ। त्यतिबेला उसले मनको सन्तुलन गुमाउँछ, मान्छे मार्नु हुँदैन, यसको नतिजा के हुन्छ भन्ने नै बिर्सन्छ अनि हत्या गर्छ।

कानुनी रुपमा हेर्दा भने पुरानो मुलुकी ऐनमा दण्ड सजायको महलको १ नं. मा “कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खतवात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्तैन” भन्ने कानूनी व्यवस्था रहेको छ।

अहिलेको नयाँ मुलुकी अपराध संहिता ऐन २०७४ मा पनि दफा १४ मा लगभग त्यस्तै व्यवस्था छ-

यसले अहिले मानिसहरुले भन्ने गरे जस्तै मानसिक अस्वस्थ व्यक्तिले अपराध गर्नै नसक्ने भनेको छैन, तर कसुर मानिने छैन भनिएको छ। तर यो फौजदारी सिद्धान्तका लागि विभिन्न शर्त पूरा भएको हुनुपर्छ। जस्तै सर्वोच्च अदालतले भुपाल लिम्बुविरुद्ध नेपाल सरकारबीचको एउटा फैसलामा भनेको छ,

मुलुकी ऐन, दण्ड सजायको महलको १ नम्बरबमोजिमको सुविधा पाउन अभियुक्त मानसिक रूपमा असामान्य अवस्थाको भई ठीक र बेठीक छुट्‍याउन नसक्ने वा आफ्नो वा अर्काको हित अहित छुट्‍याउन नसक्ने गरी बौलाएको प्रमाणित हुनुपर्दछ । मानसिक सन्तुलन ठीक रहेको अवस्थामा गरेको आपराधिक कार्यको लागि दण्ड सजायको महलको १ नं. आकर्षित हुन सक्तैन ।

कसुर वारदात स्थापित भएको अवस्थामा त्यस्तो वारदात हुँदाको समयमा मानिसकरूपले असन्तुलित भई गरेको वा कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्था थियो भन्ने कुराको प्रमाणित गर्ने भार सो दावी लिने पक्षमा रहन्छ । वारदातको अवस्थामा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको भनी प्रतिवादीले वारदातपश्चात अनुसन्धान अधिकारी र पछि अदालतमा बयान गर्दा जिकिर लिएको र सोलाई पुष्टि हुने प्रमाण पेस गरेको देखिदैन।

मानसिक अवस्था कहिले ठीक र कहिले बेठीक हुने अभियुक्तले मानसिक सन्तुलन ठीक भएको अवस्थामा कसुर गरेको रहेछ भने त्यस्ता अभियुक्तको हकमा दण्ड सजायको महलको १ नं. आकर्षित हुन सक्तैन । कुनै कसुर अपराधमा संलग्न अभियुक्तले वारदात हुँदाको अवस्थामा मानसिक सन्तुलन ठीक नभएको कारणले आपराधिक कार्य गरेको हो भन्ने कुरा मिसिल संलग्न सबुद प्रमाणबाट शङ्कारहित रूपले पुष्टि नभएसम्म त्यस्ता अभियुक्तले दण्ड सजायको महलको १ नं. बमोजिम सुविधा पाउन सक्ने अवस्था हुँदैन।

त्यसैगरी स्वयं दिलिपसिंह विष्टले नै भिनाजुको हत्या गरी जेल पर्दा जिल्ला, तत्कालीन पुनरावेदन  र सर्वोच्च गरी तीनै तहको अदालतले उनलाई दोषी नै ठहर गरेको थियो। मानसिक सन्तुलन थिएन भनी लिएको पुनरावेदन जिकिरलाई पुनरावेदन अदालतले ‘असन्तुलन भएको भन्ने कुरा देखिँदैन’ भनी अस्वीकार गरेको थियो र सर्वोच्च अदालतले पनि त्यसैलाई सदर गरेको थियो।

सर्वोच्चको फैसलाको अंश

एकछिनका लागि मानौँ दिलिपको मानसिक सन्तुलन गुमेकै अवस्था हो। त्यसो भए पनि उसले नै निर्मलाको बलात्कार र हत्या गरेको होइन नै भन्ने ठोकुवा कसरी गर्न सकिन्छ?

कानुनले दिएको त्यो सुविधा अर्थात् ‘होस ठेगानमा नरहेको व्यक्तिले गरेको कुरालाई कसुर मानिने छैन’ लागू हुनलाई त पहिला उसैले गरेको हो भन्ने ठहर भएर, अदालतमा यो मुद्दा प्रवेश गरेको हुनुपर्छ। अदालतमा पुगेपछि त्यहाँ चाहिँ त्यो काम गरेको बेला यसको होस ठेगानमा थिएन भनेर चिकित्सकले प्रमाणित गर्नुपर्छ। चिकित्सकले प्रमाणित गरेपछि होस ठेगानमा नरहेको बेला अपराध गरेको भएर कसुर मानिने छैन, सजाय दिन हुँदैन भन्ने अदालतको आदेश हुनुपर्छ। हल्लैहल्लामा यो पागल हो, यसले गर्न सक्दैन भनेर हचुवा भरमा भन्नु भएन।

मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुले बलात्कार जस्तो यौन अपराध गर्ने गरेको देखिएका अनुसन्धानहरु पनि भएका छन्। 

त्यसका आधारमा मानसिक सन्तुलन बिग्रेको व्यक्तिले अपराध गर्नै नसक्ने भन्ने तर्क ठीक होइन। गर्न पनि सक्छ। कानुनी प्रावधान अनुसार त्यतिबेला उसको मानसिक सन्तुलन गुमेकै हो भने अदालतमा त्यो प्रमाणित भए कसुर नमानिन पनि सक्छ। तर अदालतको प्रक्रियामा नै नगई बाहिरैबाट यो होइन, यसले गर्नै सक्दैन भनेर आफै अदालत हुने काम किन गर्ने ?

 ‘सर्ट च्यातेको नागरिकको ठोकुवा’

नागरिकको आजको समाचारमा लेखिएको छ-

‘सार्वजनिक गर्नुअघि दिलीपको घरमा नास्पाती किन्ने निहुँमा गएका प्रहरीले दिलीपको कमिजको गोजी च्यातेर उखुबारीमा फालेका थिए। दिलीपको घरबाट ल्याएको कमिजको गोजीको टुक्रा खोज्न भन्दै निर्मलाका बुबालाई शव फेला परेको उखुबारीमा लगियो। उखुबारीमा कमिजको टुक्रा फेला पर्‍यो भन्दै प्रहरीले मुचुल्का बनायो। तर उक्त मुचुल्कामा निर्मलाका बुबा यज्ञराजले हस्ताक्षर गर्न मानेनन्।’

दिलिपको सर्टको खल्ती च्यातेको हो कि होइन भन्नेमा निश्चित हुन नसकेरै हामीले पहिलोपोस्टमा ३० अङ्कको सिरिज लेख्दा पनि यसबारे केही लेख्न सकेनौँ। अझै पनि यो विषयमा खोज्ने क्रम जारी छ।

नागरिकले लेखेको सर्ट च्यातेको सम्बन्धमा चलेका तीन किसिमका हल्ला मध्ये एउटा मात्र हो।  यो विषयमा तीन वटा हल्ला चलेका थिए-

  • नास्पाती किन्ने निहुँमा गएका प्रहरीले दिलिपको सर्टको गोजी च्यातेर घटनास्थलमा राखेको
  • तत्कालीन एसपीले आफ्ना विश्वासपात्र गड्डाचौकीका प्रहरी अधिकारीलाई अनुसन्धानका लागि बोलाएको, उसैले सर्टको गोजी च्यातेर लगेर राखेको
  • दिलिपको घरमा खानतलासी गरी मुचुल्का उठाउने क्रममा च्यातेर लगेर घटनास्थलमा राखेको

नास्पाती किन्ने निहुँमा गएका दुई जना प्रहरी थिए हवल्दार धर्मसिंह भाट र सिआइबीबाट गएका डिएसपी अंगुर जिसी। उनीहरुले दिलिपका भाउजु र भतिजी बुहारीसित पुलिस हो भन्ने थाहा नदिई दिलिपको बारेमा भिडियो रेकर्ड गरी कुराकानी गरेका थिए। तत्कालीन एआइजी धीरु बस्न्यातको प्रतिवेदनमा सर्टको खल्ती च्यातेको हो भनेर धर्मसिंह भाटले बयान दिएका थिए। तर पछि उनले आफूलाई यातना दिएको कारण मुक्ति पाउनका लागि त्यस्तो बयान दिएको दावी गरेका थिए।

हेर्नुस् उनीसितको कुराकानीको भिडियो-

बस्न्यातको प्रतिवेदनमा खल्ती च्यातेको हो भन्ने बयान भए पनि च्यातेको देख्ने कोही छैनन्। कसले त्यहाँ लगेर राखेको खुलेको छैन। बयान पनि अरुसित बाझिएकोले प्रमाणित हुन नसकेको समाचार त नागरिकले नै लेखेको थियो। कसले कहिले च्यातेर कसले र कहिले घटनास्थलमा राखेको भन्ने प्रमाण अहिलेसम्म खुलेको छैन।

तर नागरिकले आज ‘दिलीपको घरमा नास्पाती किन्ने निहुँमा गएका प्रहरीले दिलीपको कमिजको गोजी च्यातेर उखुबारीमा फालेका थिए’ भनेर ठोकुवा नै गरेको छ। यो ठोकुवा त्यतिबेला चलेका तीन थरिका हल्लामध्ये एक मात्र थियो।

खेम भण्डारीको मानसखण्डले त त्यतिबेला ‘दिलिपको पारिवारिक स्रोतका अनुसार प्रहरीले दिलिपको घरमा गएर उनले लगाउने गरेको सर्ट मागेर लगेको थियो । पछि त्यही सर्टको खल्ती च्यातेर घटनास्थलमा राखियो । अनि दिलिपलाई घटनाको मुख्य अभियुक्त बनाएर प्रस्तुत गरियो ‘लेखेको थियो।

प्रहरीले सर्ट मागेर होइन, खानतलासी पूर्जी दिएर, वडाध्यक्ष तथा जनप्रतिनिधिसमेतको रोहवरमा बरामदी मुचुल्का गरेर दिलिपका लुगा लगिएको थियो। लुगा बरामद गर्दै गरेको बेलाको भिडियोसमेत रहेको छ जसको मिति अगस्त २०, २०१८ बिहान १० बजेर ४७ मिनेट रहेको छ। यो दिलिपलाई सार्वजनिक गरिएको दिन २०७५ भदौ ४ गतेको मिति हो।

यो विषयमा म अझै खोज्ने क्रममा नै रहेकोले यकिन रुपमा यही हो भनेर अहिले भन्न सक्दिनँ। तर नागरिकले ठोकुवा गरी लेख्दा केही आधार पनि खुलाएको भए हुन्थ्यो।

डिएनएबारे नागरिकलाई थाहै नभएको?

नागरिकले डिएनएबारे यति मात्र लेखेको छ, ‘निर्मलाको भेजिनल स्वाबमा फेला परेको शुक्रकीटको अवशेषको प्रोफाइलसँग डिएनए रिपोर्ट मेल नखाएपछि दिलीप रिहा भएका थिए।’

डिएनएबारे राष्ट्रिय मानवअधिकार आयोगको विज्ञ टोलीको प्रतिवेदन, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व प्रमुख जीवन रिजाल, सोही प्रयोगशालाका डिएनए प्रमुख डा. दिनेश झा र फरेन्सिक डाक्टर तुलसी कँडेलसहितको टोलीको प्रतिवेदनलाई भने नागरिकले उल्लेख मात्र पनि गरेको छैन। कारण के होला?

महाकाली अञ्चल अस्पतालका डाक्टरहरुले निर्मलाको शवबाट निकालेको भेजिनल स्वाबलाई नेपाल प्रहरीको सामाखुसीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएका थिए। त्यो ल्याबको बायोलोजी, सेरोलोजी युनिटले त्यसको परीक्षण गर्दा मानव वीर्य भेटिएको बताएको थियो। तर यो टोलीले प्रतिवेदनमा  भेजिनल स्वाबमा भेटिएको male component DNA वीर्यको नै हो भन्न नसकिएको ठहर गरेको छ। के आधारमा यस्तो ठहर भयो त?

वीर्य भेटिएको छ कि छैन भनी यकिन गर्ने सबैभन्दा विश्वसनीय परीक्षण प्रविधि स्पर्म सेल टेस्ट हो। टोलीमा सहभागी एक सदस्यका अनुसार टोलीले निर्मलाको भेजिनल स्वाबमा कस्तो स्पर्म सेल कति वटा भेटिएको हो भनेर प्रहरीको ल्याबका अधिकारीहरुलाई सोधेको थियो। तर त्यसको जवाफ ल्याबले दिएन। ल्याबको फाइलमा पनि परीक्षणको नतिजा बारे केही उल्लेख थिएन।

‘यही आधारमा हामीले भेजिनल स्वाबमा वीर्य भएको आधार यकिन गर्न नसकिएको लेखेका हौँ’, ती सदस्यले भने।

नभेटिएको सेल भेटियो जस्तो कसरी हुनसक्छ त? विज्ञका अनुसार sperm को head with neck and tail देखिएमा मात्रै सेल भेटिएको यकिन हुन्छ। तर sperm head मात्रै भेटिएको अवस्थामा अन्य जैविक संरचना पनि sperm head जस्तो देखिएर झुक्किन सक्छ। त्यसो भए त्यो भेटिएको डिएनए (Y-STR) चाहिँ कसको त? जुन डिएनएसित सबै शंकितको डिएनए म्याच गरिँदै थियो? यो प्रश्नको उत्तर प्रतिवेदनमा छैन। तर प्रशस्त संकेत दूषित अर्थात् contamination भएको तर्फ इंगित छ। यसबारे लेखेको ब्लग पढ्नुस्-निर्मला प्रकरण : किन कसैसित नमिलेको रहेछ डिएनए? विज्ञ टोलीले बल्ल पत्ता लगायो

छानबिन समिति बारे नागरिकको अन्यौल

नागरिकको समाचारमा ‘पछि तत्कालीन आइजिपी सर्वेन्द्र खनालले एआइजी धीरु बस्न्यातको प्रतिवेदन खारेज गर्दै डिआइजी सुरज केसीको संयोजकत्वमा नयाँ छानबिन समिति गठन गरे’ लेखिएको छ। यो पनि गलत हो।

खनालले धीरु बस्न्यातको प्रतिवेदनमा विवाद भएपछि वास्तविकता बुझेर प्रतिवेदन पेश गर्न सबैभन्दा पहिला तत्कालीन सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी तारिणीप्रसाद लम्साललाई आइजी सचिवालयले लगाएको थियो। लम्सालको टोलीले विभिन्न व्यक्तिहरुसँग सोधपूछ गरी कागज गरेको थियो।

यो प्रतिवेदनमा धीरु बस्न्यातको प्रतिवेदनभन्दा फरक कुरा आएपछि गत वर्ष माघ १९ मा डिआइजी सुरज केसीको नेतृत्वमा अर्को पुनरावलोकन समिति बनाइएको थियो, जसलाई दुवै प्रतिवेदनको अध्ययन गरी सत्यतथ्य पेश गर्न भनिएको थियो। यो टोलीले भीड र आन्दोलनकारीको कुरालाई स्रोत बनाएर अनुसन्धान गरिएको भन्दै तत्कालीन एआइजी धिरु बस्न्यातको अध्यक्षतामा गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नगर्ने सुझाव दिएको थियो। यही प्रतिवेदनको सुझाव अनुसार आइजी सचिवालयले यो प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

तर नागरिकको समाचारमा आइजी सर्वेन्द्र खनालले पहिला धीरु बस्न्यातको प्रतिवेदन खारेज गरेर पछि चाहिँ डिआइजी सुरज केसीको संयोजकत्वमा नयाँ छानबिन समिति गठन गरेको भनिएको छ। तथ्यगत रुपमै यो गलत छ।

यसरी हेर्दा ‘नागरिक’ को आँखामा लागेको पर्दा अझै उघ्रिएको देखिएन।

3 comments to निर्मला हत्याका दुई वर्ष : अझै उघ्रिएन मिडियाको आँखामा लागेको पर्दा

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)