यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

नझुक्किनुस्, स्यानिटरी प्याड लगाएकै कारण कसैको मृत्यु भएको छैन

नायिका वर्षा शिवाकोटीले बिहीबार आफ्नो फेसबुकमा एउटा स्टायटस राखिन्, जसमा लेखिएको थियो- ह्विस्पर, स्टे फ्री आदि स्यानिटरी प्याड प्रयोग गरेका कारण ५६ जनाको मृत्यु भयो। उनले जस्तै अहिले धेरै नेपालीले फेसबुकमा यही स्टायटस कपिपेस्ट गरी राखेका छन्। त्यसमा दावी गरिएको छ-एउटै प्याड दिनभर प्रयोग गर्दा अल्ट्रा न्यापकिनहरुमा प्रयोग हुने रसायन लिक्विडबाट जेलमा परिणत हुन्छ, यसले क्यान्सर गर्छ। के यो सही हो ? हामीले यो विषयमा फ्याक्टचेक गरेका छौँ।


नायिका वर्षा शिवाकोटीले राखेको स्टायटस। अर्काइभ लिङ्क।

यो स्टायटसमा रहेका वाक्यलाई गुगलमा राखेर सर्च गर्दा धेरै संस्थाहरुले यो दावी बारे फ्याक्टचेक गरिसकेको पाइन्छ। स्नुप्सले सात वर्षअघि नै यो विषयमा फ्याक्टचेक गरेर यसलाई गलत ठहर गरिसकेको छ।

त्यसमा सन् २०१३ मा इमेलबाट फरवार्ड भएको भनिएको मेसेज यस्तो राखिएको छ-

Attention Sisters!!!FORWARD AS U RECEIVE:

56 girls died because of using whisper, stayfree, etc.

One Single pad for the whole day because of the chemical used in Ultra Napkins.

Which converts liquid into gel. It causes cancer in bladder & uterus. So please try to use cotton made pads and if you are using ultra pads, Please change that with in 5 hours, per day, at least.

If the time is prolonged the blood becomes green & the fungus formed gets inside the uterus & body.

Please don’t feel shy to forward this message to all girls and even boys so that they can share with their wives n friends, whom they care for.

This is a public service msg from Tata Cancer Hospital.

सात वर्षअघिको इमेलमा फैलिएको सन्देश र अहिले सामाजिक सञ्जालमा फैलिएको सन्देशको प्रकृति उस्तै छ। नेपालमा फैलाइएको सन्देशमा पनि भारतको टाटा मेमोरियल अस्पतालको नाम रहेको छ। तर ५६ जना किशोरीको मृत्यु कहाँ भएको भन्ने चाहिँ खुलाइएको छैन।

स्नुप्सका अनुसार लामो समय एउटै स्यानिटरी प्याड लगाउँदा स्वास्थ्य र सफाइमा केही कैफियत हुनसक्ने भए पनि क्यान्सरै हुने गरी गम्भीर हानी हुने वा ५६ जनाको मृत्यु भएको कुनै तथ्य भेटिएन।

पछिल्लो समय भारतमा पनि यो सन्देश फैलिएको छ। त्यसैले भारतीय मिडियाहरु बंगलौर मिररले सन् २०१७ मा, न्यु इन्डिया एक्सप्रेस ले समेत सन् २०१८ मा फ्याक्टचेक गरी यो विषय गलत रहेको लेखेका छन्। त्यसैगरी भारतकै फ्याक्टचेक वेबसाइट फ्याक्टक्रिसेन्डोले पनि सन् २०१८ मा यसलाई हल्ला मात्र भएको लेखेको छ।

ग्लोबल इन्भेस्टिगेटिभ जर्नलिजम नेटवर्कको समेत सदस्य रहेको फिलिपिन्सको भेराफाइल्सले यो विषयमा विस्तृत फ्याक्टचेक गरेको छ।

रिप्रोडक्टिभ टक्सिलोजी नामको जर्नलमा सन् २०१९ मा प्रकाशित एउटा अध्ययनमा स्यानिटरी प्याडहरुमा हुने टक्सिक केमिकलहरुको विषय उल्लेख छ। त्यसमा भोलाटाइल अर्गानिक कम्पाउन्ड्स (भिओसिज) ले क्यान्सरको जोखिम बढाउने उल्लेख छ। तर यो रिसर्चले ठोकुवा केही नगरी न्यापकिनहरुमा हुने टक्सिक केमिकलहरुले स्वास्थ्यमा पार्ने सम्भावित जोखिमबारे थप अध्ययन हुनुपर्ने बताएको छ।

यो रिसर्च प्रकाशित हुनुभन्दा धेरै अघि नै सन् २०१३ देखि यो हल्ला इन्टरनेटमा फैलिएको देखिन्छ।

गाइनोकोलोजिस्टहरु क्यान्सर होइन, योनीमा संक्रमण, चिलाउने जस्ता स्वास्थ्य समस्या हुनसक्ने चाहिँ बताएको भेराफाइल्सले उल्लेख गरेको छ।

नेपालमा फैलाइएको सन्देशमा यो मात्र होइन, महिनावारी भएको पहिलो तीन दिनसम्म टाउको नुहाउन नहुने भन्दै ८० प्रतिशत महिला टाउको नुहाउँदा खेरी मरेको ‘चिकित्सकीय रुपमा पुष्टि’ भएको दावी समेत गरिएको पाइन्छ।

जर्नल अफ फेमिली मेडिसिन एन्ड प्राइमरी केयरमा प्रकाशित अध्ययनमा यसलाई मिथक भनिएको छ। महिनावारी भएको बेला नुहाउँदा होइन ननुहाउँदा चाहिँ स्वास्थ्यमा समस्या हुनसक्ने उल्लेख छ।

युनिसेफले महिनावारी हुँदा स्वास्थ्यमा ध्यान दिनुपर्ने विषयमा तयार पारेको गाइडमा टाउको नुहाउँदा केही खराब नहुने उल्लेख गरेको छ।

नेपालमा भाइरल बनाइएको सन्देशमा स्तन क्यान्सरसँग सम्बन्धित केही दावीहरु पनि गरिएका छन्। जस्तै सुत्दा ब्रा लगाउन नहुने, एन्टिपर्सपिरेन्टको साटो डिओडोरेन्ट प्रयोग गर्नुपर्ने आदि।

स्तन क्यान्सरबारे जनचेतना बढाउने उद्देश्य रहेको ब्रेस्टक्यान्सर डट ओआरजीले यसलाई ‘हल्ला’ मात्रै भएको बाएको छ। राति ब्रा लगाउन नहुने, अन्डरवायर ब्रा र एन्टिपर्सपिरेन्टबारे गरिएका दावीका कुनै वैज्ञानिक प्रमाण नरहेको त्यसमा उल्लेख छ। अहिलेसम्म गरिएका मध्ये एउटा अध्ययनले मात्र ब्रा र स्तन क्यान्सरको सम्बन्ध रहेको देखाएको छ। ब्रा लगाउने र नलगाउनेको बीचमा क्यान्सरसँग सम्बन्ध रहेको कुनै ठोस प्रमाण नभेटिएको दावी ब्रेस्टक्यान्सर डट ओआरजीको छ।

सन् २०१४ मा १५ सयभन्दा बढी महिलामा गरिएको अर्को अध्ययनले ब्रा लगाउने र स्तन क्यान्सरको जोखिममा कुनै सम्बन्ध नरहेको देखिएको क्यान्सर डट ओआरजीले उल्लेख गरेको छ।

अस्ट्रेलियाको ब्रेस्ट क्यान्सर नेटवर्कले पनि यसलाई हल्ला मात्रै भएको उल्लेख गरेको छ।

अमेरिकाको नेसनल क्यान्सर इन्स्टिच्युटले पनि ब्रा, एन्टिपर्सपिरेन्टको स्तन क्यान्सरसित सम्बन्ध नरहेको उल्लेख गरेको छ।

निश्कर्ष : सामाजिक सञ्जालमा स्यानिटरी प्याड र ब्राको विषयमा गरिएका विभिन्न दावीसहितका भाइरल सन्देशहरु मिथ्या हुन्। यी दावीहरुको कुनै पनि भरपर्दो वैज्ञानिक आधार छैनन्।

 

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)