यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कोरोनाको मारमा अर्को पत्रिका : ‘अन्नपूर्ण सम्पूर्ण’ बन्द


तीन वर्षअघि २०७४ भदौ १४ गते ‘अन्नपूर्ण सम्पूर्ण’को प्रकाशन सुरु भएको घोषणा गरिँदाको फोटो साभार : अन्नपूर्ण

कोरोनाको कहरमा अर्को पत्रिका पनि परेको छ। तीन वर्षअघि सुरु भएको अन्नपूर्ण मिडिया नेटवर्कको प्रकाशन ‘अन्नपूर्ण सम्पूर्ण’ बन्द भएको छ। यो ट्याब्ल्वाइड पत्रिका थियो। सम्पूर्णको प्रकाशन बन्द भएसँगै ठूला मिडिया हाउसबाट प्रकाशन हुने तीन वटा ट्याब्ल्वाइड साप्ताहिकहरु मध्ये ‘नागरिक’को ‘शुक्रबार’ले मात्र जेनतेन इपेपरमा आफ्नो अस्तित्व देखाउन सफल भएको छ। कान्तिपुरले सबैभन्दा पुरानो ‘साप्ताहिक’ बन्द गरेर पत्रकारहरुलाई कानुनी रुपमा विदा गरिसकेको छ। यद्यपि उसले आधिकारिक रुपमा यो पत्रिका बन्द भएको घोषणा गरिसकेको छैन। कान्तिपुरको ‘नारी’ त भदौदेखि प्रकाशनै सुरु हुने हल्ला पनि फैलिसकेको छ।

अन्नपूर्णले यसअघि कोरोना नआउँदै ‘अन्नपूर्ण टुडे’ म्यागेजिन पनि अब डिजिटलमा आउने वाचासहित बन्द गरेको थियो। तर त्यो वाचा पूरा हुन सकेन।

अन्नपूर्णले ‘सम्पूर्ण’ बन्द गरेको आधिकारिक घोषणा गरिसकेको छैन। तर सम्पादक राजन नेपालले शनिबार फेसबुकमा स्टायटस लेख्दै अन्नपूर्ण मिडिया नेटवर्क व्यवस्थापनले ‘अन्नपूर्ण सम्पूर्ण’ साप्ताहिक प्रकाशन बन्द गर्ने निर्णय गरेको लेखेका छन्। योसँगै यसमा कार्यरत आठ जना पत्रकार एकै पटक सडकमा आएका छन्।

सम्पूर्णको प्रकाशन नेपालको ट्याब्ल्वाइड साप्ताहिकको बजारमा रहेका दुई प्रतिस्पर्धीहरु ‘कान्तिपुर’को ‘साप्ताहिक’ र ‘नागरिक’को ‘शुक्रबार’लाई चुनौति दिन २०७४ भदौ १४ गते सुरु भएको थियो।

यसका सम्पादक राजन नेपाल टिमसहित नागरिकको ‘शुक्रबार’बाट राजीनामा दिएर निस्केको एक महिनापछि अन्नपूर्णको ‘सम्पूर्ण’ प्रकाशन भएको थियो। शुक्रबारमा उनले सात वर्ष सम्पादकीय नेतृत्व गरेका थिए।

कोरोनाको मार

लकडाउनको तीन हप्तासम्म ‘सम्पूर्ण’ छापिन बन्द भए पनि त्यसपछि भने इपेपरमा मात्र होइन, कागजमै पनि छापिँदै आएको सम्पादक नेपाल बताउँछन्।

ट्याब्ल्वाइड पत्रिकाहरुको बजार यसै पनि घट्दो क्रममै थियो। तर कोरोनाको मार साहुहरुलाई पत्रिका बन्द गर्ने राम्रो बहाना बनिदियो। कान्तिपुरलाई आफ्नो २५ वर्ष पुरानो प्रकाशन ‘साप्ताहिक’ आधिकारिक सूचना बिना नै बन्द गर्ने मौका यही कोरोनाले दियो।

सम्पूर्ण पनि अहिले बन्द गर्नुपर्ने स्थिति आउनुमा कोरोनाकै योगदान बढी छ। कोरोनाले आर्थिक संकट भएको कारण देखाउँदै कम्पनीले सुरुमा स्वयंसेवाको प्रस्ताव गरी पछि आधा तलबमात्र दिन थाल्यो।

खाईपाई आएको तलब आधा घट्दा त्यसले डामाडोल बनाउने भइहाल्यो। सम्पादक नेपालका अनुसार पाँच महिनादेखि आधा तलब मात्र पाइन्थ्यो। यो स्थिति यतिबेलासम्म हुन्छ भन्ने भनिदिए पनि त्यतिसम्म त हो नि भनेर बस्न हुन्थ्यो, तर अनिश्चित भइदियो।

अझ ‘कम्पनी नाफामा नजाउन्जेल’ खालको भाषा प्रयोग भएकोले  आधा तलब कहिलेसम्म कायम रहने निश्चित थिएन। किनभने मिडियाले नाफाको रकम अन्यत्रै लगाई कम्पनी घाटामा देखाउने ट्रेन्ड मिडियाकर्मीहरुले देखेभोगेकै हो।

‘कम्पनीले यो प्रकाशन प्याकअप गर्छौँ, सहयोग गर्नुस् भनेकोले  हामी राजीनामा गरेर निस्किएका हौँ’, नेपालले भने।

 ट्याब्ल्वाइडको बजार छैन अब?

ठूला मिडिया हाउसबाट ट्याब्ल्वाइड साप्ताहिकको सुरुवात कान्तिपुरले नै ‘साप्ताहिक’बाट गरेको थियो। किशोर नेपाल यसका संस्थापक सम्पादक थिए। उनैको प्रस्तावमा कान्तिपुरले यो प्रकाशन सुरु गरेको थियो, जुन त्यतिबेला निकै लोकप्रिय पनि थियो। साप्ताहिकको प्रकाशन कसरी सुरु भयो भन्नेबारे कैलाश सिरोहियाले नै सार्वजनिक कार्यक्रममा रोचक पारामा सुनाएका थिए-

२०४९ सालमा कान्तिपुरको प्रकाशन सुरु भयो, ५२ सालमा उहाँ (किशोर नेपाल) आउनुभयो र भन्नुभयो, ‘लौ न यो देशमा साह्रै निरस भयो पत्रकारिता, केही रङ्गीन पत्रकारिता गर्नुपर्‍यो।’

मैले त पहिला बुझ्दै बुझिनँ। अनि उहाँले भन्नुभयो, अलि फरक धारको पत्रकारिता गर्नुपर्छ, कैलाश तँलाई थाहा छैन यस्तो पनि चल्छ नि।

अनि मैले ‘ल के हो दाइ एउटा बुझिने गरी खाका बनाएर ल्याउनुस्’ भनेँ।

खाका हेरेपछि मैले भनेँ- तपाईँ त पोलिटिकल पत्रकार, यत्रो वर्ष लड्नुभो पञ्चायतसँग लड्नुभो, विभिन्न धारमा लेख्नुभो। कहाँ यो मनोरञ्जनमा केटाकेटीको फोटो छापेर बस्नुहुन्छ दाइ।

‘होइन मलाई अब साह्रै उराठ लाग्यो, केही दिन यही काम गर्छु’ भन्नुभयो।

‘हुन्छ दाइ गर्नुस्’ भनेँ। उहाँले त्यसपछि एउटा छोटोमिठो टिम बनाउनु भो र साप्ताहिकको प्रकाशन त्यहाँबाट भयो।

साँच्चिकै उहाँको त्यो एउटा सक्सेस मोडल थियो त्यो पनि, कान्तिपुर पब्लिकेसन्स भित्रको। त्यो छोटो समयमा यति लोकप्रिय भयो कि..

मैले भन्थेँ दाइ, यो फोटो अलि बढी भएन ? गाली गर्छन् आएर।

गाली गर्न पनि हेर्नु त पर्‍यो नि, लुकीलुकी हेर्छन् अनि गाली गर्छन तँलाई आएर भन्नुहुन्थ्यो।

साप्ताहिक आज पनि उहाँकै मोडलमा चलेको छ।

तर २५ वर्षअघिको सक्सेस मोडलले अहिले काम गरिरहेको थिएन। सूचना उपभोगमा आएको परिवर्तनसँगै साप्ताहिकको बजार खस्कन थालेको थियो।

त्यसमाथि साप्ताहिकलाई चुनौति कान्तिपुरको प्रतिस्पर्धी नागरिकले किशोर नेपालकै नेतृत्वमा शुक्रबार सुरु गरेर दिन थाल्यो। नाम शुक्रबार भए पनि यो बिहीबार नै बजारमा आउँथ्यो।

शुक्रबारमा कार्यकारी सम्पादकका रुपमा राजन नेपालले काम गरेका थिए। राजन नेपालले टिमसहित शुक्रबार छाडेपछि केही समय यसको गुणस्तर खस्कियो र त्यसपछि केपी ढुंगानाको नेतृत्वमा शुक्रबारको प्रकाशन हुन थाल्यो। ढुंगानाले २ वर्षपछि शुक्रबार छाडेर नेपाललाइभ गएर त्यहाँबाट पनि राजीनामा दिइसक्दा पनि नागरिकन्युजले आफ्नो अबाउट असमा शुक्रबार केपी ढुंगानाको सम्पादकत्वमा प्रकाशन भएको वाक्य सम्पादन गर्न भ्याएको छैन।

शुक्रबारका पूर्व सम्पादक ढुंगानाले समयानुकूल कन्टेन्टमा सुधार गरे पत्रिकाको बजार ध्वस्तै भए जस्तो नलागेको विचार ट्विट गरे-

सम्पूर्णबाट भर्खरै राजीनामा दिएका राजन नेपाल पनि त्यसलाई स्वीकार्छन्। ‘हामीले कन्टेन्टमा समयानुकूल परिवर्तन गर्दै आएका छौँ, नगरेको होइन।’

ट्याब्ल्वाइड पत्रिकाको प्रकृति नै विश्वभर यौन सामग्री हुने गर्छ। सेक्स कन्टेन्ट बढी भयो भन्ने आरोप नेपालका ट्याब्ल्वाइडहरुलाई पनि लाग्ने गर्छ। नेपालका अनुसार त्यसलाई मिनिमाइज गरी सोसल इस्यु उठाउने गरी कन्टेन्ट सुधार उनको टिमले शुक्रबार र सम्पूर्णमा गरेको थियो।

‘हामीले धेरै चेन्ज गरेका थियौँ। प्याकेजिङ गरेर कन्टेन्ट दिन्थ्यौँ। दैनिक पत्रिकाले समाउन नसकेका इस्यु समात्थ्यौँ’, उनको दावी छ, ‘अहिले दैनिक पत्रिकासमेत यही फरम्याटमा गएको छ।’

कोर पोलिटिकल इस्युमा नछिरी सोसल इस्युलाई आफूहरुले महत्व दिएको उनको भनाई छ।

तर पत्रिकाको बजार घट्दो ट्रेन्डमा रहेको उनी स्वीकार्छन्। यो बीचमा सञ्चारमा धेरै परिवर्तन आएको छ। मान्छेको लाइफस्टाइल डिजिटल भएको छ। हातहातमा मोबाइल छ। उनीहरुलाई कागजमा तान्न नसकिएकोले नयाँ पाठक बन्न नसकेको नेपाललाई लाग्छ।

तर पनि गृहिणी, पसले, ४० कटेका वर्ग छन्, जसलाई कागजकै पत्रिकामा रस बसेको छ। उनीहरुलाई कागजमै कायम राख्नु चुनौति जस्तो लाग्छ नेपाललाई।

२५ वर्षअघि जुन सोचका साथ ट्याब्ल्वाइड पत्रिका ठूला मिडिया हाउसले सुरु गरेका थिए, त्यसयता धेरै पक्षमा नाटकीय परिवर्तन आइसक्यो। सूचना उपभोगकै माध्यम परिवर्तन भइसक्यो। अहिले अधिकांशले मोबाइलबाट सूचना पाउँछन्। तर त्यो माध्यमको विश्वसनीयतामा पनि ठूलो संकट छ। परिवर्तित सन्दर्भलाई विश्लेषण गरी त्यही अनुसार चुनौति स्वीकार गरी सामना गर्ने सम्पादकीय र व्यवस्थापकीय नेतृत्व नहुने हो र पाठकलाई नयाँ दिन नसक्ने हो भने ट्याब्ल्वाइड मात्र हैन छापा पत्रकारिता नै संकटमा पर्न थाल्नेछ। यसको अर्को नकारात्मक पक्ष पनि छ। सशक्त मिडिया कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु पनि हो। स्वेच्छाचारी शासक वर्ग यस्तै होस् भन्ने चाहन्छन्। यसले अन्तत्वोगत्वा बेफाइदा नागरिकलाई नै गर्ने हो।

1 comment to कोरोनाको मारमा अर्को पत्रिका : ‘अन्नपूर्ण सम्पूर्ण’ बन्द

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)