यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

सम्झनामा बलराम दाइ !

आज अलि अप्रत्याशित र दुःखद खबर सुन्नुपर्‍यो- बलराम दाइको निधन!

विश्वास लागेन। कान्तिपुरकै अनलाइनमा कान्तिपुरका सहायक–सम्पादक बानियाँको दु:खद निधन शीर्षकको समाचार आएपछि पत्याउनै पर्‍यो।

बलराम दाइसित मेरो भेट ‘नागरिक’ र ‘दैनिकी’ मर्ज भएपछि भएको थियो। सन् २००८ मा कान्तिपुर टुक्रिएपछि त्यहाँ काम गर्ने पुराना पत्रकारहरुको एक समूह विनोदराज ज्ञवालीसँगै बाहिरिएका थिए। तर त्यसरी बाहिरिएका सबै पत्रकारहरु पछिसम्म ज्ञवालीसँग रहेका थिएनन्। नारायण वाग्ले, अमित ढकाल, प्रतीक प्रधान, गुणराज लुइँटेल आदि बजारका चल्तीका पत्रकारहरुसँगै बलराम बानियाँ पनि ज्ञवालीसित अलग्गिएर छुट्टै नयाँ पत्रिका ‘दैनिकी’ निकाल्ने तर्खरमा थिए। यता ज्ञवालीले युवराज घिमिरेलाई सम्पादक बनाई नागरिक दैनिक निकाल्ने तयारी गरेका थिए। त्यहीँबाट सुरु हुन लागेको अनलाइन ‘नागरिकन्युज’मा हामी काम गर्थ्यौँ। अर्को समूह दैनिकी डट कम चलाउँथ्यो।

छुटेर गइसकेका ‘दैनिकी’मा रहेका पत्रकारहरुको समूह फेरि ज्ञवालीसँग नै मर्ज हुन आएपछि बल्ल ‘नागरिक’ दैनिक निस्केको थियो।

बलराम दाइ राजनीति ब्युरोका प्रमुख थिए। पत्रिकाले चलाएको अनलाइनमा सबैभन्दा ठूलो समस्या रिपोर्टरहरुले आफूलाई थाहा भएका न्युज पनि भरे पत्रिकालाई चाहिन्छ भनेर नटिपाउने हुन्छ। बलराम दाइ हुँदा त्यो समस्या कहिले पनि भोग्नु पर्थेन। एकाबिहानै होस् कि राति अबेर होस्, केही न्युज भयो भने अनलाइनलाई हुन्छ भनेर टिपाइहाल्ने गर्थे उनी। त्यसैले हाम्रा लागि अनलाइन-फ्रेन्डली थोरै पत्रकारहरुमध्ये एक थिए बलराम दाइ।

बलराम दाइसित काम गर्दा के अचम्म लाग्थ्यो भने सबैभन्दा पहिला अफिसमा पुग्ने नै उनी हुन्थे। अनि विदा पनि कहिल्यै नबस्‍ने। हप्ताको सातै दिन अफिसमै। बिहान सबैभन्दा पहिला आउने पनि उनी अनि राति अबेला जाने पनि उनी। हामी साथीहरु त जिस्कन्थ्यौँ पनि- एक दिन विदा पनि नबसेकोमा बलराम दाइलाई कारबाही गर्नुपर्छ।

पत्रकारहरुले पनि थोरै भए पनि स्वामित्व पाउने अनि चलिआएको भन्दा बेग्लै पत्रकारिता गर्ने अठोटका साथ ‘कान्तिपुर’बाट नाम चलेका पत्रकारहरु अलग्गिएका थिए। बलराम दाइ त प्रुफ रिडिङबाट ‘कान्तिपुर’ प्रवेश गरी लामो समयसम्म राजनीति बिटमा काम गरिरहेका पत्रकार। तर ‘नागरिक’ जुन किसिमले अघि बढ्यो, त्यो उनलाई चित्त बुझेको थिएन। एक पटक ‘नागरिक’ले पाठक-पत्रलाई मुख्य समाचार बनाएर छाप्यो। ‘हाम्रो के काम अब, पाठकले नै मेन न्युज लेख्ने भएपछि’ भन्दै उनले गरेको व्यङ्ग्य मलाई अझै याद छ।

शायद् यस्तै – यस्तै कुराले चित्त नबुझेर त होला, नागरिक दैनिक प्रकाशनको एक वर्षपछि उनले फेरि ‘कान्तिपुर’ नै फर्किने निर्णय गरे। हामी अनलाइनमा भएका साथीहरुलाई चाहिँ उनी नगइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। किनभने पोलिटिकल बिटबाट उनले जति सहयोग अनलाइनलाई अरुले गर्दैन थिए। तर म्यानेजमेन्टलाई शायद् उनी ‘नागरिक’का लागि आवश्यक लागेन होला। र त, रोकेनन्। उनले ‘नागरिक’ छाडेर गएको दिन भावुक भएर मैले फेसबुकमा ‘बलराम दाइको बहिर्गमन’ भनेर फोटो नै हालेको रहेछु। अफिसको गेटबाट निस्केपछि पनि झ्यालबाट हेर्दै, फोटो खिच्दै। क्याप्सनमा योग्य लडाकुको बहिर्गमन पनि लेखेको रहेछु। उनी लडाकु नै थिए- आफ्नो जिम्मेवारीमा। आफ्नो कामप्रतिको लगनशीलता र मेहनतमा। कसैले पनि उनको इमानमा प्रश्न उठाउन सक्दैन थियो।

नागरिकमा हुँदा ‘सुध्रिसकेका’ बलराम दाइ त्यसपछि पिउन थाले रे भन्ने सुनिन्थ्यो। अहिले उनको निधनमा धेरैले उनको राम्रो पक्षको बखान गरेका छन्। उनीहरुले बलराम दाइको त्यही एउटा खराब बानी पनि सुधार्नका लागि दबाब दिएको भए शायद् आज यो दिन देख्न पर्दैन थियो कि!

विवादित समाचार

उनले लेखेका केही समाचार विवादमा परे। पछिल्लो पटक उनको बाइलाइनमा छापिएको ‘कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनमा चीनले सीमा मिचेको लेखिएको’ समाचार गलत भनी सरकारले खण्डन गरेको थियो। यसमा कान्तिपुरले क्षमासमेत मागेको थियो। तर यो समाचार छाप्ने कान्तिपुरमात्र थिएन। नागरिकको अनलाइनमा र अन्नपूर्ण पोस्टको त पत्रिकामा नै यो समाचार छापिएको थियो। भारतीय न्युज एजेन्सी एएनआईबाट सुरु भएको यो समाचार नेपालन्युज, हाम्राकुरा, थाहाखबर आदिले पनि हालेको थियो। अरु मिडियाले यो छापिएकोमा क्षमा मागेका छैनन्। उनी भने केही समयका लागि कारबाहीमा समेत परे। खासमा यो दोष उनी एक्लैको थिएन, नेपाली मिडियाको न्युजरुममा  भेरिफिकेसन प्रोसेसको अभावको दोष थियो। कसैले लेखेको समाचारको अङ्ग पुगेको छ कि छैन, तथ्य सही छन् कि छैनन् भनेर खोज्ने मेकानिजम नै कहाँ बनेको छ र हाम्रो न्युजरुममा? जे लेखिन्छ, त्यही छापिन्छ। यो भन्दाअघि उनी विवादमा परेको विद्युत प्राधिकरण र यसका एमडी कुलमान घिसिङको समाचारमा पनि भएको त्यही थियो।  त्यही मेकानिजमको अभावमा स्रोतले आफ्नो स्वार्थमा घुमाइदिन्छ पत्रकार र मिडियालाई। दोष जति पत्रकार एक्लैले आफ्नो टाउकोमा लिनुपर्ने बाध्यता हुन्छ।

अहिलेको नयाँ पुस्ताले त्यही विवादित समाचारमात्र सम्झिएको भए पनि उनका सम्झनलायक र अनुकरण गर्न लायक धेरै विशेषता छन्। सबैभन्दा महत्त्वपूर्ण कामप्रतिको समर्पण हो। अनैतिक किसिमले पैसा कमाउनतिर लागेनन् उनी। आफ्नो जीवनका ऊर्जाशील धेरै समय कान्तिपुरका लागि खर्चेका बलराम दाइको सम्मान यो दुःखद निधनपछि कान्तिपुर मिडिया ग्रुपले कसरी गर्ने हो, हेर्न बाँकी छ।

कसरी भयो मृत्यु?

मृत्यु कसरी भयो भन्ने बारे अहिले तीन वटा कारण चर्चामा छन्।

१) रहस्यमय मृत्यु : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मादेखि नेपाल पत्रकार महासंघले उनको ‘रहस्यमय ढंगले निधन भएको’ भन्दै ‘गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग’ गरेको छ। फ्रिडम फोरम नेपालले त एक कदम अघि बढेर ‘यसमा कुनै रहस्यमय सञ्जालको हात पनि हुनसक्ने’ शंका पनि व्यक्त गरेको छ। केही पत्रकारले भने पत्रकारकै मृत्युको समाचारलाई पनि सेन्सेनल न्युज बनाएर बेच्न खोजेको देखियो-

जबकि आइतबार राति उनी आफै ती भाइ पत्रकारका घरमा गएका थिए। सेन्सेनल बनाउन यसलाई कब्जा भनिएछ। पछि यो अनलाइनले आफ्नो शीर्षक परिवर्तन गरेको थियो।

केही अनलाइनले अखिलका नेताको फेसबुक स्टायटसबाट सारेर यस्तो समाचार समेत राखे

२) आत्महत्या : केही मिडिया र सोसल मिडियामा उनले आत्महत्या गरेको भनिएको छ।

३) दुर्घटना

प्रत्यक्षदर्शीहरुको भनाई र अरु परिस्थितिहरु बुझ्दा तेस्रो कारण सही जस्तो लाग्यो मलाई। हुनत यसमा प्रहरीले अनुसन्धान गरिरहेको छ, अनुसन्धानबाटै थप कुरा प्रष्ट हुनेछ। तर यी कुराले तेस्रो कारण सही लाग्यो-

– बल्खु एरियामा भएको सिसिटिभीमा उनी ढलमलिँदै हिँडेको सिसिटिभी फुटेजमा देखिएको छ जसको सनाखत उनकी छोरीले गरे भनिएको छ।

– बल्खु खोला छेउमा भेटिएको चप्पल आफ्ना पिताको भएको सनाखत छोरीले गरे भनिएको छ।

– प्रत्यक्षदर्शीहरुले विभिन्न युट्युब च्यानलमा भनेका कुरा सुन्दा पनि त्यस्तै बुझिन्छ। (विभत्स फोटोसमेत राखिएका कारण मैले यहाँ लिङ्क राखिनँ) प्रत्यक्षदर्शी तेजबहादुर तामाङले एक व्यक्ति ढुन्मुनिँदै आएको र डिल नाघेर चिप्लेर खोलामा खसेको, बग्दै गरेका व्यक्तिलाई बचाउन पोलिथिन पाइप दिएर समाउन भनेको तर उनले समाउन नसकेको बताएका छन्।  उनको भनाई अनुसार सोमबार त्यहाँ मान्छे बगाएको थाहा पाएपछि धेरैले डोरी र पाइप दिएर बचाउन खोजेका थिए। तर सकेनन्। अर्का प्रत्यक्षदर्शी रिङ्कु खत्रीले पनि आफूहरुले बचाउनलाई डोरी फ्याँक्दासमेत उनले समात्न नसकेको बताए।

यो सोमबारको घटना थियो। तर हराएको भनेर उजुरी चाहिँ बुधबार बल्ल भएको रहेछ। दुई दिनसम्म सम्पर्कविहीन रहँदा पनि उजुरी नभएकैले पनि बगाएको मान्छेको पहिचान हुन नसकेको देखिन्छ।

बागमती प्रदेश प्रहरी कार्यालयले भने मंगलबार नै बागमती खोलाले बगाई ल्याएको नाम थर नखुलेको पुरुषको शव भेटिएको समाचार राखेको थियो।

बुधबार उजुरी परेर खोजतलास भएपछि बल्ल यो उनकै शव भएको खुलेको थियो। बगाएको ठाउँबाट भेटिएको ठाउँ धेरै टाढा पर्छ- म्याप हेर्नुस्।

बलराम दाइको निधनको समाचारमा अहिले धेरै मिडियाले प्रयोग गरेका उनको फेसबुक प्रोफाइलबाट लिइएको फोटो पनि मैले नै त्यतिबेला नागरिकको आइडी कार्ड बनाउनलाई सन् २००९ मा खिचेको फोटो थियो, जसलाई उनले प्रोफाइल पिक्चरमा राखेका थिए। आज हेर्दा अझैसम्म पनि त्यही फोटो उनको फेसबुकको प्रोफाइल पिक्चरमा रहेछ। तर अहिले फेसबुकमा उनको नामसँगै Remembering लेखिएको छ। अर्थात् उनको फेसबुक अकाउन्ट अब Memorialized भइसकेको छ।

1 comment to सम्झनामा बलराम दाइ !

  • Suraj

    Dear editor,
    In this news Bagmati state police letter head is wrong. It shold be State police of Bagmati, Hetouda. Otherwise it should be roman script “Bagmati Pradesh Prahari Karyalaya. Hetouda.” please ask them to correction.