यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

अत्तालिएर हजारौं भेन्टिलेटर संकलन गर्नु भन्दा पहिले सही आंकलन गरौं


ह्याम्बर्गमा खिचिएको भेन्टिलेटरको फोटो साभार : एएफपी

“कोरोना भाइरस संक्रमितको उपचारका लागि तत्काल १० हजार आइसियु र भेन्टिलेटर थप्‍नू”

प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिको शुक्रबार बसेको बैठकले सरकारलाई दिएको निर्देशन थियो यो। संक्रमितहरुको संख्या बढ्दै गएको बेला संसदीय समितिले दिएको यो निर्देशन सतही रुपमा हेर्दा गजबको देखिन्छ। तर अलि गहिरिएर बुझ्ने हो भने छर्लङ्गै देखिन्छ।

त्रिवि शिक्षण अस्पतालका आइसियु विशेषज्ञ डा. सुवास आचार्यले यसलाई हचुवाको निर्देशन भने। किन त? हेल्थपोस्टनेपाललाई उनले बताए अनुसार १० हजार आइसियुका लागि २४ सै घण्टा नर्सिङ केयर गर्न ४० हजार नर्स चाहिन्छ, एक हजार क्रिटिकल केयर स्पेसलिस्ट र दुई हजार मेडिकल अफिसर/रेजिडेन्ट चाहिन्छ। यो नेपालमा हाल उपलब्ध संख्याभन्दा कयौँ गुणा बढी हो।

वसन्त चौधरीले त यसबारे यस्तो ट्विट पनि गरे।

अहिलेको अवस्था के हो त ? एकदमै खराब परिस्थिति भएमा हामीलाई कति आइसियु चाहिएला त? यो बारे भने तथ्याङ्क विश्लेषण गरेर राम आचार्यले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्-

संक्रमण मात्र त ठूलो कुरा भएन। किनकि हाम्रो जस्तो युवाको बाहुल्य भएको जनसांख्यकिकरण (demographics) मा संक्रमण छिटो फैलिन्छ। तर यस्को परिणाम केही बिरामीहरुले अस्पताल र भेन्टिलेटरको शरण लिनु पर्ने हुन्छ। त्यसैले त्यो तैयारी गर्नको लागि अन्यत्रको अनुभवबाट सिक्नु जरुरी छ। वर्ल्डोमिटरको तथ्याङ्क अनुसार विश्वका सबैभन्दा धेरै जनसंख्या भएका देशहरु, नेपालकै जस्तो जनसंख्याभ एका देशहरु र नेपाल वरिपरिका देशहरुका सिकिस्त बिरामीहरु र सक्रिय संक्रमितहरुको अवस्था हेर्नु उचित हुन्छ।


१- सबैभन्दा धेरै जनसंख्या भएका मध्ये करिब १० करोड वा १० करोडभन्दा बढी जनसंख्या भएका देशहरु जस्तै: चीन, भारत, अमेरिका, ब्राजिल, रुस, पाकिस्तान र भियतनाम लगायतकाको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी करिब १९०००, भारतमा ९०००, ब्राजिलमा ८३००, मेक्सिकोमा ४००० हुँदै पाकिस्तानमा ३३३७ र फिलिपिन्समा ७१७ सिकिस्त बिरामी हुन पुगेका थिए। सक्रिय संक्रमितको अनुपातमा अमेरिकामा 0.७८%, भारतमा १.३% , पाकिस्तानमा ३% र मेक्सिकोमा ३.६% रहेको थियो।


२- नेपालको जस्तै जनसंख्या भएका मुलुकहरु (याने करिब २ करोडदेखि ४ करोड जनसंख्या भएका) मध्ये साउदी अरेबियामा सबैभन्दा बढी २२९५ गम्भीर बिरामी थिए भने, दक्षिण अमेरिकामा त्राहिमाम भएको पेरुमा १५४० जना, उज्बेकिस्तानमा ४२८ जना र अफ्रिकाको माडागास्करमा १०३ जना सिकिस्त बिरामी रहेका थिए। यो ग्रुपमा सबैभन्दा बढी संक्रमित हुने मुलुक पेरु (५,७६,०६७) र साउदी अरेबिया (३०६,३७०) हुन् र दुबै मुलुकको जनसांख्यकिकरणमा युवाको बाहुल्य छ।


३- हामी वरिपरिका मित्र राष्ट्रहरुको तथ्यांक केलाउँदा सक्रिय संक्रमितको तुलानामा सबैभन्दा धेरै सिकिस्त बिरामी भएका देशहरु पाकिस्तान (३%) र भारत (१.३%) नै हुन्। विश्वको जम्मा अधिकतम ६६,५६४ सिकिस्त बिरामी भएको अभिलेख छ जस अनुसार सक्रिय संक्रमितको अनुपातमा जम्मा १.११% सिकिस्त बिरामी भएको तथ्यांक भेटिन्छ।

अत: अत्तालिएर हजारौं भेन्टिलेटर संकलन गर्नु भन्दा पहिले सही आंकलन गरौं। यदि अहिलेको वृद्धि दर (२% प्रतिदिन) ले संक्रमण बढ्दै गएमा आजको दुई महिनामा कूल संक्रमितको संख्या एक लाख पुग्छ भने सक्रिय संक्रमित ४०,००० होलान्। खराब परिदृष्यको परिकल्पना गर्दा पाकिस्तानको अधिकतम ३% ले १२०० सिकिस्त बिरामी हुनेछन् तर भारतकै १.३% लागु भएमा ५२० सिकिस्त बिरामी हुनेछन्।

हाम्रो जनसंख्याको सबैभन्दा खराब परिदृष्य हेर्ने भए पेरुलाई हेरेर योजना बनाउँ! तर तेस्तो विकराल स्थिति हाम्रो देशमा आउँदैन। किनकि हाम्रा बस्तीहरु र भौगोलिक स्थिति फरक छन्। त्यसैले समाचारका माध्यमले जनतालाई त्रसित बनाउने र चाहिने भन्दा बढी हौवा फैलाउने काम नगरौं। मानवतालाई केन्द्रमा राखी मुखौटो लगाई टाढै बसौं, काम गरौं र काम गर्ने वातावरण दिउँ सरकार। यो लकडाउनले कुनै भूमिका खेल्न सक्दैन। कति दिन गर्ने लक डाउन ?!!

थप विवरण हेर्नुस्
के हो भेन्टिलेटर, किन आवश्यक छ भेन्टिलेटर? (वेबएमडी)
भेन्टिलेटर के हो र किन यो महत्त्वपूर्ण छ ? (बीबीसी)

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)