यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कोरोनाले देउता पनि घरैमा : ८ फोटोमा हेर्नुस्, कस्तो खल्लो भयो यसपालिको इन्द्रजात्रा

पृथ्वीनारायण शाहले काठमाडौँमा आक्रमण गर्दा समेत नरोकिएको इन्द्रजात्रा यसपटक कोरोना महामारीका कारण रोकियो। धेरैले  काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइने आज (१६ भदौ, २०७७) को दिनलाई मात्र इन्द्रजात्रा भन्ठान्छन्। तर काठमाडौँको सबैभन्दा रमाइलो यो जात्रा एक दिन होइन, आठ दिन मनाइन्छ। काठमाडौँमा दिनका दिन संक्रमितको संख्या बढिरहेको बेला सयौँ भेला भएर जात्रा गर्नु उपयुक्त पनि हुन्थेन। कस्तो असर पर्‍यो त, आज केही फोटो खिचेको छु। 

 

इन्द्रजात्रामा जीवित देवी कुमारी, जीवित देवता गणेश र भैरवको रथ तीन दिन तानिन्थ्यो। वसन्तपुरको यो ठाउँको रौनक नै गजब हुन्थ्यो। तर यो ठाउँ आज यस्तो सुनसान थियो।

कुमारी, गणेश र भैरवको रथयात्रा इन्द्रजात्राको तेस्रो दिन (येँया पुन्हिको दिन) बसन्तपुरबाट चिकंमुगल, न्हूघः, लगन, वन्दे, जैशीदेवल, भिन्द्यःत्वाः हुँदै वसन्तपुर मै पुगेर टुङ्गिन्थ्यो। खासमा यही दिन पृथ्वीनारायण शाहले विक्रम संवत १८२५ मा यही दिन राजदरबार कब्जामा लिँदा कान्तिपुरका राजा जयप्रकाश मल्ल कुमारीको रथमै थिए। आफ्नो पराजय निश्चित देखेपछि उनी रथबाट उत्रेर कोहिटीका गोपुरबाट आफ्ना अङ्गरक्षक तीन सय जनाजति नगरकोटीका साथ पचलीतिरको बाटो गरी काठेसाँगुबाट वाग्मती तरी ललितपुरमा शरण लिन गएका थिए। थप विवरण यो भिडियोमा हेर्न सक्नुहुन्छ।  कुमारीको रथ कोहिटीमा अलपत्र थियो। जयप्रकाश मल्ल भागिसकेका थिए। इन्द्रजात्रा के हुने टुङ्गो थिएन। तर उनले आफ्ना भाइभारदार र आवश्यक गोर्खाली सैनिकसमेत पठाई कोहिटीबाट कुमारीको रथको यात्रा चलाउन लगाएका थिए। सत्ता परिवर्तन हुँदासमेत इन्द्रजात्रा रोकिएको थिएन। तर यस पटक भने कोरोना कहरले इन्द्रजात्रा नै नहुने स्थिति आयो। सांकेतिक रुपमा पूजा भने गरिएको छ।

हनुमानढोकामा भक्तपुरबाट ल्याइने यो यःसिँ ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्थ्यो। यसपालि भक्तपुरबाट यो यःसिँ नै ल्याइएन।

 

अरु बेला छोपेर राखिने हाथु द्यः (श्वेत भैरव पनि भनिन्छ तर सेतो छैन) को यो विशाल मूर्तिलाई इन्द्रजात्राको दिन यसरी खोलिन्थ्यो। तर यसपालि भने यसरी एउटा आँखिझ्यालमात्र खोलेर राखियो। एउटा झ्यालमात्र चाहिँ अचेल अरु बेला पनि खोल्ने गरिन्छ। पहिले भए इन्द्रजात्राकै दिनमात्र झ्याल खोलिन्थ्यो।

हाथु द्यःको मुखमा पाइप जोडेर पछाडि घ्याम्पोबाट जाँड बगाइन्थ्यो र पाइपको धाराबाट बग्ने प्रसाद खानलाई भक्तजनको भिड लाग्थ्यो। यसपालि यो पनि भएन। यसमा देखिएको भिड भएको फोटो केही वर्षअगाडि अंगद ढकालले खिचेको हो।

इन्द्रचोक (स्थानीयहरु वंघः भन्छन्) मा आकाश भैरवको यो मूर्तिलाई मन्दिरबाट निकालेर सडकमा यसरी सजाइन्थ्यो। तर यस पटक देउता पनि घरभित्रै छन्।

यसपालि लाखे पनि सडकमा नाच्दै हिँडेको छैन, लाखेको मुकुन्डो जैसीदेवल र चिकँमुगलको ठीक बीचमा रहेको छ मजिपातको लाखेघर भित्रै छ। पुरानो र अहिलेको इन्द्रजात्राको बारेमा ट्विटरमा कुरा हुँदा सुदिन सायमिले लाखेको पुरानो फोटो ट्विट गरेका थिए। यस पटकको फोटो भने समर्थ रञ्जितले खिचेका हुन्। समर्थको घर लाखेघर नजिकै छ।

इन्द्रजात्राको दिन कुमारीको रथयात्रा सकिएर वसन्तपुरस्थित निवासमा भित्राइसकेपछि दागीँ र बौमतः पनि यसपालि निस्किएन। दागीँको परम्परा यसरी फोटो राखेर धानियो। कसरी निकालिन्थ्यो दागीँ ? हेर्नुस् भिडियो काठमाडौँवासीलाई ‘स्वर्ग लैजान’ मध्यरातमा टोल टोल चहार्ने यो अनौठो दागीँ

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)