यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कसरी निम्तियो पाटनमा आजको स्थिति ?

आज नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको थियो, त्यसमध्ये ३६ प्रतिशत काठमाडौँ उपत्यकामा थिए। तर आजको दुःखको खबर अर्कै थियो। जिल्ला प्रशासन कार्यालयहरुले तेस्रो पटक लम्ब्याएको निषेधाज्ञाका बीच पाटनमा बुंगद्य (रातो मच्छिन्द्रनाथ) को रथ तान्न खोज्ने स्थानीय र रोक्ने स्थानीय प्रशासनको आदेश पालना गराउन खोज्ने प्रहरीबीच भएको झडपका दृश्य सामाजिक सञ्जालमा भाइरल भए। आक्रोशित भिडले एक प्रहरीलाई मोटरसाइकलबाट थुतेर पिट्दै गरेको र ज्यान जोगाउन भाग्दै गरेको मार्मिक दृश्य भिडियोमा देख्नुपर्‍यो। एकछिन पछि रगतपच्छे स्थानीय बासिन्दाको फोटो पनि देखियो। पानीको फोहरा, टियर ग्यास, ढुंगामुढा, गुलेली…. स्थिति निकै संवेदनशील देखियो। यस्तो स्थिति आउने नै थिएन। बेलैमा थोरै संवेदनशीलता अपनाएको भए। आखिर कसरी निम्तियो त आजको स्थिति?

कोरोना संक्रमण फैलने डरले गत वर्ष घोडाजात्राको दिनदेखि लकडाउन सुरु भयो। यो बीच काठमाडौँमा सेतो मच्छिन्द्रनाथको रथयात्रा गाइजात्रा र यहाँको सबैभन्दा ठूलो इन्द्रजात्रा पनि रोकियो। सबैको सहमतिमा नै भिडभाड नगरी इन्द्रजात्राका केही परम्परा धानियो भने कुमारी, गणेश र भैरवको रथयात्रा चाहिँ गरिएन। भक्तपुरमा पनि त्यहाँको सबैभन्दा ठूलो बिस्काः जात्रा गरिएन।

त्यसो भए पाटनमा चाहिँ बुंगद्यः (रातो मच्छिन्द्रनाथ)को रथ यात्रामा किन यस्तो स्थिति निम्तियो त?

शायद् अरु जात्रा जस्तै त हो नि यो पनि भन्ने सोच भएकोले !

यो काठमाडौँ वा भक्तपुरको जस्तो जात्रामात्र थिएन। योसँग जोडिएको आस्था, विश्वास र जनश्रुतिका कारण पाटनको यो जात्रालाई बेग्लै हिसाबले सोच्ने र व्यवहार गर्नुपर्ने हुन्थ्यो। देश संघीयतामा गए पनि धेरै अधिकार बोकेको केन्द्र सरकार मातहतको सिडिओ, गुठी संस्थान र केन्द्र सरकारले यो कुरा बुझ्यो, न स्थानीय सरकारले नै यसलाई संवेदनशील रुपमा लियो।

त्यसो त जात्राको स्थानीय आयोजकहरु पनि चुकेका हुन्। यो रथयात्रा पाटनका थुप्रै स्थानीय समूहहरुले सामूहिक रुपमा आयोजन गर्ने हुन्। छुट्टाछुट्टै समूहको छुट्टाछुट्टै जिम्मेवारी हुन्छ। यी समूहहरुबीच नै एकै मत थिएन।

यही बीच रथ बनाउन थालियो। रथ तान्ने कि नतान्ने भन्नेमा विवाद भयो। कसैले सोसल डिस्टेन्स अपनाएर रथ तान्नु पर्छ भने। कसैले मान्छेले हैन, क्रेनले तान्नु पर्छ भने। कसैले कहाँ क्रेनले तानेर हुन्छ, मान्छेले नै तान्नुपर्छ भन्न थाले। विवादै विवादका बीच बुंगमतिबाट ल्याएको देउताको मूर्तिलाई रथमा राख्ने (रथारोहण) कहिले भन्नेमा गुठी संस्थानले कस्तो बिजोग गर्‍यो, उदाहरण हेर्नुस्।

गुठी संस्थानले असार २४ गते रथारोहण गर्ने निर्णय गर्‍यो। तर त्यसको एक दिनअघि सिडिओ कार्यालयमा मिटिङ हुँदा रथारोहण स्थगित गर्ने निर्णय भएको भन्दै गुठी संस्थानले पत्र लेख्यो।

त्यो दिन रथारोहण हुन सकेन।

फेरि साउन ६ गते गुठी संस्थानले अर्को पत्र लेख्दै साउन १० गते रथारोहण गर्ने भन्यो।

त्यसको भोलिपल्टै गुठी संस्थानले अर्को सूचना निकालेर ‘हाललाई रथारोहण कार्य स्थगित भएको’ बतायो।

यस पटक गुठी संस्थानले गरेको यो अलमललाई सहन तयार भएनन् केही स्थानीय समूहहरु। उनीहरुको जोडबलमा गुठी संस्थानको त्यो सूचना खारेज भयो र तोकिए अनुसार साउन १० गते नागपञ्चमिकै दिन रथारोहण गरियो।

खासमा रथारोहण  वैशाख शुक्ल प्रतिपदाकै दिन गर्ने प्रचलन हो। तर यसपालि लकडाउनका कारण त्यो सम्भव भएन। रथमा राखेको चार दिनपछि रथयात्रा सुरु हुनुपर्थ्यो। तर रथमा राखे पनि पुल्चोकबाट जावलाखेलसम्म तान्नु पर्ने रथ तान्न सकिएन। रथ कसरी तान्ने भने विषयमा सबै एकमत हुन सकेन।

हो, यस्तै बेला हो नेतृत्व चाहिने !

यो रथ तान्नेसँग मात्र सम्बन्धित विषय थिएन। एउटा डर पनि थियो साथमा। जनश्रुति चाहिँ के रहेछ भने दशैँसम्म रथयात्रा गर्न सकेनन् भने यो करुणामय देउतालाई भक्तपुरेहरुले लैजान्छन्। देउता लगेपछि पाटनमा राम्रो हुँदैन रे। भक्तपुरेहरु पनि जिस्काउँथे पाटनवासीहरुलाई, तिमीहरुले जात्रा गर्न सकेनौ, अब हामीले भक्तपुरमा ल्याउने हो।

खास कुनै स्रोत वा यस्तै हो भनेर भन्ने कोही नभने पनि हल्ला प्रशस्त थिए- भक्तपुरमा मच्छिन्द्रनाथलाई नै राख्न न्यातपोल मन्दिर बनाएको हो रे, न्यातपोल मन्दिरमा मूर्ति नभएको त्यही कारण हो रे। न्यातपोलमा होइन रे, भक्तपुरको तपलाछीको मन्दिरमा राख्ने रे। कोही भन्थे त्यहाँ होइन अखं बहा: (अखण्डशिल महाविहार) मा राख्ने हो रे, त्यो त राजा नरेन्द्रदेव कै पालामा बनेको हो रे।

मच्छिन्द्र वंशावलीको हवाला दिएर भनिन्छ, उनै नरेन्द्र देवको शासनकालमा नेपालमा वर्षा नभएर अनिकाल भएको रहेछ।  पानी पार्ने उपाय थियो, करुणामय लोकेश्वरलाई नेपाल (काठमाडौँ) ल्याउने।  काठमाडौँका बन्धुदत्त र ललितपुरका किसान रथचक्र मिलेर कामरुपबाट करुणामयलाई उपत्यकामा त ल्याइयो रे तर विवाद सुरु भयो रे कहाँ राख्ने भनी।

राजा नरेन्द्र देवले लोकेश्वरलाई भक्तपुरमा लग्ने सोचमा। काठमाडौँका बन्धुदत्त आचार्य काठमाडौँ लग्ने सोचमा। पाटनका रथचक्र पनि के कम, उनले पनि पाटनमै राख्नु पर्ने भने। अन्त्यमा पाटनकै थकालीको निर्णय मान्ने सहमति भयो।  चक्ररथले चलाखी गरे, थकालीको दहीमा नून मिसाएर पठाइदिए। नून खाएपछि नूनको सोझो गरेर उनले पाटनमै देउता राख्नुपर्ने निर्णय सुनाए। त्यही बेला पाटनमा जात्रा नभए चाहिँ भक्तपुर लग्नु पर्छ भन्ने कुरो भएको रे। तर दसैँअघि जात्रा नसके रातो मछिन्द्रनाथलाई भक्तपुर लग्ने भन्ने कुराको आधार छैन, यो भ्रममात्रै हो भन्नेहरु पनि छन्। यसबारे थप बुझ्न सहयोग रञ्जितको रिपोर्ट यहाँ छ।

एक पटक जात्रा नहुँदा भक्तपुरेहरु लिन समेत आएको रे पनि भनियो। अब यहाँ यही ‘रे’ले पनि एक किसिमको डर बनाइदियो। अरु किसिमको डर भए कुरा अर्कै हुनसक्थ्यो। यो त आस्थासित जोडिएको डर।

रथयात्रा जसरी पनि गर्नुपर्छ भन्नेमा पुगे केही समूह। तर यसै गर्ने भनेर स्थानीय प्रशासनले अनुमति दिएन।  भदौ ७ गते पानेजु (बन्धुदत्त बज्राचार्यका सन्तान), ज्योतिषी र ललित रथचक्रका सन्तानले राष्ट्रपतिलाई पत्र लेखे। पत्रमा असोज २ गतेदेखि मलमास लाग्ने, कात्तिकमा दशैँ हुने र दशैँमा रातो मच्छिन्द्रनाथलाई बुंगमतिमा नै फर्काएर पूजा गर्नुपर्ने हुनाले रथयात्रा हुने ठाउँमा निषेधाज्ञा वा कर्फ्यु आदेश जारी गराएर कसैलाई निस्कन नदिई भए पनि रथयात्रा गराइपाउँ भनिएको थियो। त्यसमा रथयात्रा कसरी गराउने भन्ने खाका पनि राखिएको थियो। रथयात्रापछि भोटो जात्रा हुने दिन राष्ट्रप्रमुखका रुपमा पहिले राजा र अहिले राष्ट्रपति उपस्थित हुने प्रचलन छ।

तर राष्ट्रपतिले केही गरिनन्। यसको बोधार्थ प्रधानमन्त्री, सिडिओ, महानगरपालिका, गुठी संस्थानलाई पनि दिइएको थियो।

मान्छेको भिड जम्मा नहुने गरी कर्फ्यु लगाएर, मास्क अनि स्यानिटाइजर, सम्भव भएसम्म भौतिक दूरीसहित  सुरक्षाका सबै उपाय अपनाएर, अझ सम्भव भए पिसिआर परीक्षण गरेर निश्चित संख्यामा मान्छे लगाएर रथयात्रा गर्न नसकिने होइन।

तर अयोध्या नेपालमै छ भन्दै ठोरीमा राममन्दिर बनाउन निर्देशन दिने प्रधानमन्त्रीलाई पाटनको यस्तो सयौँ वर्ष पुरानो र सांस्कृतिक रुपमा संवेदनशील विषयमा कुनै चिन्ता भएन। उनी त वामदेवलाई राष्ट्रिय सभामा पठाउने कि युवराज खतिवडालाई पठाउने भन्नेमै व्यस्त भए।

त्यहाँमाथि हिजो तेस्रो पटक निषेधाज्ञा थपियो। त्यसले पनि घरभित्र थुनिएर बसेकाहरु आक्रोशित भइरहेका थिए। रथ तान्ने विषयमा आजै बिहान ११ बजे गुठी संस्थान र सरोकारवालाबीच निर्णायक बैठक थियो। यसका लागि दबाब दिन बिहान साढे नौ बजे पुल्चोकमा भेला हुन हिजै रातिदेखि आह्वान भइरहेको थियो फेसबुकमा।

नभन्दै सांस्कृतिक पहिचानका लागि दबाब दिन मानिसहरु भेला भए ब्यानर बोकेर। त्यसको फेसबुकमा लाइभ हुन थाल्यो- अहिले नै रथ तान्ने आउनुस् भन्दै।

 

शायद् त्यो हेरेर पनि मान्छे त्यहाँ थपिए।  थोरै समयमा धेरै भिड जम्मा भयो। भिडमा आक्रोश थियो।

प्रहरी र स्थानीय बीच लामै समय विवाद भयो। उता बैठक जारी थियो, यता आफै रथ तान्ने प्रयास हुन थाल्यो।

हेर्नुस् फेसबुक लाइभ यहाँ यहाँयहाँ

प्रहरीले त्यसलाई रोक्न पानीको फोहरा छ्याप्यो, टियर ग्यास हान्यो।

पानीको फोहर प्रहार गर्दै। फोटो : प्रविन रानाभाट

स्थानीय पनि ढुंगामुढा र तोडफोडमा उत्रिए। हुँदाहुँदा मोटरसाइकलमा जाँदै गरेका ट्राफिक प्रहरीलाई लडाएर लखेटी लखेटी कुट्ने कामसमेत भयो।

भिड नियन्त्रणको काममा समेत नखटिएका, सवारी व्यवस्थापनमा खटिने बिचरा ट्राफिक प्रहरीको के दोष!

धन्न, त्यसरी अव्यवस्थित रुपमा रथ तान्दा ढलेन। नत्र जसले तानेको हो, उनीहरुकै आस्थामा पनि त्यसरी ढल्दा अनिष्ट हुने भन्ने नै हुन्थ्यो क्यार। धन्न त्यो झडपमा कसैको ज्यान गएन। तर जस्तो दृश्य देखियो, त्यसले भने सबैलाई दुःखी बनाइदियो। अब यो विषयले साम्प्रदायिक सद्‍भाव बिग्रन नदिन अपील गर्नु पर्ने हो। तर खै, कसलाई पो चिन्ता छ र! सम्बन्धित व्यक्तिहरु संवेदनशील भइदिएको भए त यो स्थिति आउने नै थिएन नि।

र, यो ब्लग लेख्दालेख्दै एउटा समाचार आयो- ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाएर रथ तान्ने र २६ गते बुंगमति फर्काउने निर्णय भएछ। अलि अगाडि नै यस्तो निर्णय गरेको भए आज यस्तो स्थिति नै आउने थिएन।

अपडेट : आधिकारिकता बिना असम्बन्धित समूहले रथ तान्न खोजेकोमा खेद

यसैबीच १९ वटै जातीय खलः पुचः रहेको  बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजकले आज प्रेस विज्ञप्ति जारी गर्दै कुनै आधिकारिकता बिना असम्बन्धित समूहबाट रथ तान्न प्रयास गरिएकोमा ‘यस्तो अवाञ्छनीय कार्यको घोर भर्त्सना गर्दै खेद व्यक्त’ गरेका छन्।

विज्ञप्तिमा ‘भदौ ११ गते रथसँग सम्बन्धित सरोकारवालाहरुको विशेष बैठकमा मलमास अगावै जात्रा सम्पन्न गर्ने र त्यसको लागि गुठी संस्थानको प्रधान कार्यालयबाट विज्ञहरुसँग परामर्श गरी आएको निचोड उपर जातीय खलःपुचःहरु, रकमीहरु लगायत अन्य सम्बन्धित सबैको उपस्थितिमा हुने बैठकबाट पारित गर्ने र सोही अनुसार श्री रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न गर्ने भद्र सहमति भएको’ जानकारी गराइएको छ।

‘सोही सहमति अनुसार द्रुत गतिमा कार्य भइरहेको समयमा अनियन्त्रित हुल आई अव्यवस्थित रुपमा रथ तान्ने प्रयत्न भएको’ भनिएको छ।

अब के हुन्छ?

विज्ञप्ति अनुसार अब यो सालका लागि मात्र सम्बन्धित सबैको सहमतिमा रातोमच्छिन्द्र नाथको सबै विधि प्रकृयाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गरिनेछ।

यसका लागि चार चरणमा यी काम हुनेछन्

१) भदौ १९ गते क्षमा पूजा गर्ने

२) भदौ २१ गते सोह्र खुट्टेपाटी सम्म रथ तान्ने र छ्वयलाबु गर्ने

३) भदौ २२ गते भुज्याय् मनाउने र साइत हेर्ने

४) साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने

3 comments to कसरी निम्तियो पाटनमा आजको स्थिति ?

  • गणेश केसी

    यो दुखद घटनापछि सरोकारवालाहरुले जिम्मेवारीपूर्वक जुन निर्णय लिएका छन,यो अत्यन्र शुखद छ।हाम्रो धार्मिक तथा सास्कृतिक रीति र परम्परा तथा सद्भाव कायम राख्न यो निर्णय सह्रानीय छ।

  • nimesh

    सुरक्षा निकाय, प्रहरी प्रशासन र सिडिओले बिहानदेखि थाहा थियो त युवाहरु आज रथ तान्न जान्छ भनेर, रथ तान्नेबेलासम्म त धेरै प्रहरीहरु पनि तैनाथ भै सकेको थियो । त्यतिबेला नै नरोकी के हेरेर बसेको होला प्रशासनले???
    अन्तमा असम्बन्धित समूहबाट रथ तान्न प्रयास गरिएकोमा भन्ने वक्तव्य निकालेकोप्रति ‘घोर भर्त्सना गर्नै पर्ने हुन्छ’ किनकि समयमा कार्य सम्पादन गर्न नसकेको दोश अरुमाथि थुपारेकोले।

  • […] ब्लग लेखिसकेको छु। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।  शुक्रबार बिहान ४ बजेदेखि नै त्यहाँ […]

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)