यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कोरोनाभाइरसबारे एपीवान टिभीको बहसमा गरिएका पाँच भ्रामक दावी

एपिवान टेलिभिजनमा समाचार प्रमुख टीकाराम यात्रीले सञ्चालन गर्ने ‘एपी सेन्टर’ कार्यक्रममा भदौ २७ गते शनिबार जागृत रायमाझी र डा. समिरमणि दीक्षितसँग बहस प्रसारण भयो। पहिलेका विद्यार्थी नेता रायमाझीले यसअघि पनि विभिन्न युट्युब च्यानलहरुमा विभिन्न अपुष्ट दावी गर्दै आएका थिए। पछिल्लो समय मूलधारे मिडियाहरुमा पनि ठाउँ पाउने क्रममा एपी वान टिभीमा बहस कार्यक्रम भएको हो। कार्यक्रममा हावी भएका रायमाझीले राखेका तर्क र डकुमेन्टहरुमा न प्रस्तोताले वैधानिकता खोजे, न सहभागी वक्ता दीक्षितले। उनले कार्यक्रममा गरेका पाँच दावीहरुको हामीले तथ्यजाँच गरेका छौँ।

भ्रामक दावी १ : पृथ्वीभरी मृत्यु संख्या बढ्दैन

जागृत रायमाझी : अहिले तपाईँ र हामी बोल्दै गर्दा चार करोड १० लाख मानिसहरुको मृत्यु २०२० मा भयो। २०१९ मा पाँच करोड ७५ लाख ८० लाखको हाराहारीमा मृत्यु भयो। अबको तीन महिनामा त्यो संख्या १९ (गत वर्ष) मा पृथ्वीभरीमा मरेका मानिसहरुको संख्याभन्दा बढ्ने वाला छैन। त्यसकारण मृत्यु दर कम भएका कारण यसलाई महामारी वा प्राणघातक रोग भन्न मिल्दैन।

तथ्य : उनले यो पृथ्वीभरीका सबै देशहरुको मृत्युको तथ्याङ्क कहाँबाट प्राप्त गरे बताएका छैनन्। यस्तो तथ्याङ्क संयुक्त राष्ट्र संघको पपुलेसन डिभिजनले र विश्व स्वास्थ्य संगठन (WHO) ले पनि राख्ने गर्छ। विश्व स्वास्थ्य संगठनले सन् २०१६ भन्दा उताको तथ्याङ्क राखेको छैन। यहाँ हेर्न सक्नुहुन्छ। 

राष्ट्रसंघमा सन् २०१५ सम्मको तथ्याङ्क छ। सन् २०१६ देखिको प्रोजेक्सन राखिएको छ। त्यस अनुसार सन् २०१९ मा ५ करोड ९४ लाखको प्रोजेक्सन गरिएको छ भने सन् २०२० मा ६ करोड २० लाखको मृत्यु हुने प्रोजेक्सन छ। ८० को दशकदेखि हरेक वर्षको तथ्याङ्क र प्रोजेक्सनमा संख्या बढ्दै गएको छ। तर उनले यो वर्ष गत वर्ष मरेका मानिसहरुको संख्याभन्दा बढ्ने वाला छैन भनेर दावी गरेका छन्, जसको विश्वसनीय आधार छैन। यहाँ क्लिक गरी हेर्नुस्।

भ्रामक दावी २ : इटालीमा ९९.२ प्रतिशत मानिस कोभिड-१९ ले मरेका होइनन्

जागृत : यसलाई महामारी भन्न मिल्दैन। सबभन्दा बढी इपिसेन्टर भनेको इटाली र अमेरिका। इटालीको डेटाले भन्छ, त्यहाँको हेल्थ रिसर्च, हेल्थ इन्स्टिच्युटको डेटा हो, ९९.२ प्रतिशत मानिस कोभिड-१९ ले गर्दा मरेका छैनन्।

तथ्य : उनले ब्लुमबर्गमा मार्च १८, २०२० मा प्रकाशित 99% of Those Who Died From Virus Had Other Illness, Italy Says शीर्षकको समाचारको प्रिन्ट स्टुडियोमा देखाएका हुन्। इटालियन नेसनल हेल्थ इन्स्टिच्युटले मार्च १७ सम्मको नमूनाको विश्लेषणबाट निकालेको तथ्याङ्क थियो यो।

त्यसभन्दा पछि पनि ब्लुमबर्गले २१ मे, २०२० को ३ हजार ३२ वटा मृतकको नमूना विश्लेषण गरी अर्को तथ्याङ्क निकालेको थियो। त्यसमा भने ९५.९ को तथ्याङ्क छ।

इटालीमा अहिलेसम्म ३५ हजार ६०३ जनाको मृत्यु भइसकेको छ। यो ती सबै मृत्युको तथ्याङ्क होइन।

रायमाझीले इटालीमा ९९.२ प्रतिशत मानिस कोभिड-१९ ले गर्दा मरेका हैनन् भन्नु भ्रामक हो। यो तथ्याङ्कमा कोभिड-१९ को कारणले नमरेको भनिएको होइन कि मर्नेहरुमा कोभिड-१९ सँगै अरु रोगहरु पनि थिए भनिएको हो।

जुन रिपोर्टको कुरा उनले गरेका छन्, त्यस्तो रिपोर्ट इटालीको सो इन्स्टिच्युटले अप्रिल २०, २०२० मा पनि प्रकाशन गरेको छ। त्यसमा ३.७ प्रतिशत नमूनामा कोमोरबिडिटी देखिएन भनिएको हो। त्यसो भनेको ९६.३ प्रतिशतमा कोमोरबिडिटी देखियो।

यदि कसैको शरीरमा पहिलेदेखि नै कुनै रोग छ भने र त्यसपछि अरु कुनै भाइरसका कारण अर्कै कुनै रोग भएर पहिलेदेखिको रोगलाई अझ बढी ग्रस्त बनाइदियो भने त्यस्तोलाई कोमोरबिडिटी भनिन्छ।

मानौँ, उदाहरणका लागि कसैलाई डाइबिटिज छ वा कसैलाई मुटुको रोग छ भने त्यस्तो शरीरमा कोरोना भाइरस प्रवेश गर्‍यो भने डाइबिटिज वा मुटुको रोगलाई यति धेरै बढाइदिन्छ कि त्यही रोगकै कारण उसको मृत्यु हुन जान्छ।

जागृत रायमाझीले कार्यक्रममा देखाएको ब्लुमबर्गको रिपोर्टमा भएको चार्ट

तथ्याङ्कमा पहिलेदेखि एउटा मात्र रोग लागेका, दुई वटा रोग भएका र तीन वा तीनभन्दा बढी बिरामी भएका व्यक्तिहरुको संख्या छुट्याइएको छ।

यसलाई कोरोनाको कारण मरेकै होइन भन्नु विज्ञान नबुझ्नु हो। यसको अर्थ कोरोनाका कारण उनीहरुको मृत्यु नभएको भन्ने होइन।

तथ्य बंग्याएर भ्रामक विचार राख्ने उनले अरु तथ्याङ्क भने हेरेनन्। जस्तै उदाहरणका लागि जुलाई १६, २०२० मा प्रकाशित रोयटर्सको यो रिपोर्टमा इटालीमा मरेका मध्ये ८९ प्रतिशतको मृत्युको सीधा कारण भाइरस भनिएको छ।

यो रिपोर्ट इटालीको सुपेरियर हेल्थ इन्स्टिच्युट एन्ड नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युटले प्रकाशन गरेको हो। रिपोर्टमा बाँकी ११ प्रतिशतमा पनि कोरोना भाइरस भएको तर उनीहरुको मृत्यु क्यान्सर र डिमेन्सिया लगायतका अरु चिकित्सा अवस्थाको प्रत्यक्ष परिणामले भएको उल्लेख छ। यद्यपि, त्यसमा पनि भाइरसले उनीहरुको स्थितिलाई अझ बिगारेर मृत्यु नजिक पुर्‍याएको हुनसक्ने भनिएको छ।

भ्रामक दावी नम्बर ३ : अमेरिकामा ९४ प्रतिशत मान्छेको मृत्यु कोभिड-१९ बाट भएको होइन

जागृत : अमेरिकाको सिडिसीले भन्छ ९४ प्रतिशत मान्छेको मृत्यु कोभिड-१९ बाट भएको होइन। बाँकी छ प्रतिशतमा कोभिड-१९ देखियो अरु प्रतिशतमा मृत्युको कारण पत्ता लाग्यो कि लागेन त्यो अमेरिकाले जानोस्।तर उसले के भन्छ, ९४।

यो पनि भ्रामक दावी हो। बीबीसीका अनुसार यस्ता हावादारी दावीहरु सोसल मिडियामा निकै फैलिएका थिए र यसलाई फैलाउनमा क्यु एनोन कन्स्पिरेसिज र अरु समूहका समर्थकहरुको भूमिका थियो। उनीहरुको दावी अनुसार अमेरिकामा मृत्यु भएका मध्ये ६ प्रतिशत मात्रैको मृत्यु कोरोना भाइरसबाट भएको हो।

पक्कै पनि अमेरिकामा दिइएका डेथ सर्टिफिकेटहरुमा ६ प्रतिशतमा मात्र अरु कुनै रोग नदेखिएको लेखिएकै हो। तर ९४ प्रतिशतमा स्पष्ट रुपमा कोभिड-१९ लाई नै underlying cause of death लेखिएको छ। underlying अर्थात् मृत्युको मुख्य, खास कारण कोभिड-१९ भनेर नै लेखिएको छ। अर्थात् कुनै बिरामीको फोक्सोमा समस्या छ वा डायबिटिज छ भने डेथ सर्टिफिकेटमा त्यस्तो त लेखिएको हुन्छ नै तर मृत्युको मुख्य कारण भने कोरोनाभाइरस लेखिएको हुन्छ।

बीबीसीका अनुसार यो दावी अगस्त महिनाको अन्त्यतिर धेरै फैलिएको थियो जब राष्ट्रपति ट्रम्प लगायतका प्रभावशाली ट्विटर ह्यान्डलबाट यो कुरा ट्विट गरियो। त्यतिबेला केही ट्विटर प्रयोगकर्ताहरुले आफ्नो नामै परिवर्तन गरेर ६% राखेका थिए। फेसबुकमा पनि कन्जरभेटिभ न्युज पेजहरु, ट्रम्प समर्थकहरुले यसलाई व्यापक बनाएका थिए। जागृत रायमाझीले वास्तविकता नबुझी त्यही भ्रमलाई नेपालमा आयातमात्रै गरेका हुन्। जबकि ट्विटरले राष्ट्रपति ट्रम्पले रिट्विट गरेको यस्तो ट्विट हटाइदिएको थियो।

जीवविज्ञानमा विद्यावारिधी गरेका र जेनेटिक इभोल्युसनका अध्येता नारायण कोजुले कान्तिपुरमा लेखेका छन्,

यो निकै हास्यास्पद कुतर्क हो । कोभिड–१९ बारे पूर्ण जानकारी निर्माण भइसकेको छैन । तर, यसले दीर्घरोग भएका र ज्येष्ठ नागरिकमा छिटो र बढी असर पुर्‍याउँछ भन्ने पुष्टि भएको छ । त्यसैले उनीहरूलाई जोखिमयुक्त समूहमा राखिएको छ । जहाँसम्म मृत्युको प्रसंग छ, हरेक रोगमा मानिस शरीरका कुनै न कुनै अंग असफल भएर मर्ने हो ।

मानौं, कोही व्यक्ति हृदयरोगी छ र उसले औषधि सेवन गरिरहेको छ । यही अवस्थामा ऊ एक, दुई वर्षमै मर्ने सम्भावना छैन । तर, कोरोना संक्रमण भएकैले उसको हृदयरोग जटिल भयो । र, अन्ततः उसको निधन भयो । अब मानवीय विवेक प्रयोग गरेर सोचौं, एक, दुई वर्षमै मर्ने सम्भावना नभएको व्यक्ति कोरोना संक्रमणका कारण आज मृत्युवरण गर्न विवश भयो । यो निधनको कारक के कोरोना भाइरस संक्रमण होइन ? कोभिड–१९ होइन ?

भ्रामक दावी नम्बर ४ : सिडिसीले ‘प्यान्डेमिक’ नलेखी ‘डिजिज’ लेख्यो

जागृत : अस्ति भर्खर (अमेरिकाको) सिडिसीको वेबसाइटमा एउटा नयाँ नाम लेखियो कोरोना भाइरसको बारेमा। आजसम्म, सात महिनादेखि कोभिड-१९ प्यान्डेमिक भनेर लेखिन्थ्यो। अस्तिबाट सिडिसीको वेबसाइटमा कोरोना भाइरस डिजिज भनेर लेखियो। यो के हो ? महामारीलाई उसले डिजिज भनेर लेख्यो।

तथ्य : उनको यो भनाई पनि तथ्यसंगत छैन। पोयन्टर इन्स्टिच्युटको फ्याक्टचेकिङ वेबसाइट पोलिटीफ्याक्टका अनुसार यस्तो हल्ला फेसबुक पोस्टहरुमा सेप्टेम्बर ८, २०२० देखि देखिएको हो। ती पोस्टहरुमा ‘सिडिसीले आफ्नो वेबसाइटमा ‘कोभिड-१९ प्यान्डेमिक’लाई हटाएर ‘कोभिड-१९ आउटब्रेक’ लेख्न थालेको छ। यो प्यान्डेमिक कहिल्यै थिएन।’

जागृतले अमेरिकाको हल्ला नेपालमा आयात गर्दा ‘प्यान्डेमिक’ को साटो ‘आउटब्रेक’ लेखियो भन्नु पर्ने ठाउँमा ‘डिजिज’ लेखियो भनेका छन्। ‘डिजिज’ अर्थात् रोग लेखिनुमा त कुनै समस्या नै भएन। यो रोगको नाम नै ‘कोरोनाभाइरस डिजिज’ हो जसलाई छोटकरीमा कोभिड-१९ भनिन्छ। Corona को CO Virus को VI र Disease को D गरी COVID र सन् २०१९ मा देखिएको भएर 19।

यसअघि यसको नाम २०१९ नोभेल कोरोनाभाइरस थियो। डब्लुएचओले ११ फेब्रुअरी २०२० मा यो रोगको नाम coronavirus disease (COVID-19) राखेको हो भने भाइरसको नाम राख्ने जिम्मा पाएको International Committee on Taxonomy of Viruses (ICTV). ले भाइरसको नाम severe acute respiratory syndrome coronavirus 2 (SARS-CoV-2) राखेको हो।

‘प्यान्डेमिक’ हटाएर ‘आउटब्रेक’ शब्द राखेको उनले नउठाएको विषयमा पोलिटीफ्याक्टले लेखेको छ- जनवरीदेखि नै सिडिसीको वेबसाइटले यसलाई आउटब्रेक नै लेख्दै आएको हो। यही शब्द फेब्रुअरीमार्च महिनामा पनि प्रयोग भएको अर्काइभ पेजले देखाउँछ र अहिले पनि त्यही शब्द प्रयोग भइरहेको छ।

तर आउटब्रेक शब्द प्रयोग हुँदैमा यो प्यान्डेमिक नभएको अर्थ लगाउन मिल्दैन, पोलिटीफ्याक्टले लेखेको छ, वेबसाइटमा यसबारे गरिएको बयानले पनि यसलाई स्पष्ट गर्छ।

सिडिसीको वेबसाइटका अरु पेजहरुमा प्यान्डेमिक लेखेको उदाहरण पनि त्यसमा राखिएको छ

भ्रामक दावी नम्बर ५ : तान्जानियामा मेवामा पिसिआर पोजिटिभ आयो

जागृत : यिनी तान्जानियाको राष्ट्रपति हुन्। यिनी रसायन शास्त्री हुन्। यिनले कार आयलको नाम हाम्जा राखे र त्यसको पिसिआर टेस्ट गरे स्वाब लगेर। यिनले मेवाको नाम एलिजाबेथ राखे र त्यसको पिसिआर गरे। पोजिटिभ निस्कियो। ज्याकफ्रुटको राखे साराहा। त्यसको नेगेटिभ निस्कियो। अब ज्याकफ्रुट, एलिजाबेथ र हाम्जालाई लगेर आइसोलेसनमा राख्न त मिलेन। त्यसपछि उनले पिसिआर टेस्ट बन्द गरे। डब्लुएचओलाई यिनले बहिस्कार गरे।

तथ्य :यो पिसिआर टेस्टका बारेमा भ्रम फैलाउन प्रयोग भइरहने एउटा उदाहरण हो। रोयटर्स लगायतका केही अन्तर्राष्ट्रिय मिडियाले तान्जानियाको राष्ट्रपतिको दावीबारे समाचार बनाएका थिए।

करेक्टिभले मे २७, २०२० मा गरेको फ्याक्टचेक अनुसार मेवा र बाख्रामा कोरोनाभाइरस पोजिटिभ भेटियो भन्ने विषयको कुनै प्रमाण भेटिएको छैन। युट्युबमा तान्जानियाका राष्ट्रपतिको भाषण फैलिएको छ जसमा उनले मेवा, कुखुरा र बाख्रामा कोरोनाभाइरस पोजिटिभ भेटिएको बताएका छन्। तर त्यसमा शंका गर्ने प्रशस्त आधारहरु छन्।

यसमा उनले ती नमूनाहरुको परीक्षण कुन विधिबाट गरियो भन्ने बताएका छैनन्। तर उनको यो भाषणलाई पीसीआर टेस्टको प्रभावकारिताको विषयमा भ्रम फैलाउन प्रयोग गर्ने गरिएको छ।

नारायण कोजुले कान्तिपुरमा भदौ १४, २०७७ मा लेखेको कोरोना र कोभिडबारे सात भ्रम शीर्षकको लेखमा भनेका छन्-

हरेक सजीवको कोषमा उसको सबै जानकारी राख्ने दुईथरी न्युक्लिक अम्ल हुन्छन् – डिएनए (डिअक्सिराइबोन्युक्लिक एसिड) र आरएनए (राइबोन्युक्लिक एसिड) । कोरोना भाइरस आरएनए भाइरस हो ।

कुनै प्रजाति अर्कोसँग कति समान र कति फरक छ भन्ने जान्न उनीहरूको जिनोम सिक्वेन्स (वंशाणु प्रवृत्ति) को अध्ययन गरिन्छ । यस्तो अध्ययनका लागि त्यसरी अध्ययन गरिन लागेको जीव, वनस्पति, ब्याक्टेरिया वा भाइरसको नजिकका प्रजातिको आधारमा प्राईमर र अन्य आवश्यक रसायन प्रयोग गरी पोलिमरेज चेन रियाक्सन (पीसीआर) गरिन्छ । सरल भाषामा भन्दा, पीसीआर फोटोकपी मसिन जस्तै हो । यसले प्राइमरले निश्चित गरेको डिएनए वा आरएनको सानो अंशलाई कम समयमा नै लाखौं संख्यामा तयार पारिदिन्छ । यसरी ठूलो संख्यामा विस्तार (अम्लिफाइ) गरेपछि उनीहरूको वंशाणु क्रम (जेनिटिक सिक्वेन्सिङ) गर्न सजिलो हुन्छ ।

पीसीआरको यही सिद्धान्त र विधिको आधारमा मानिसको नाकबाट निकालिएको रस (स्वाब)मा सार्स–कोभ–२ छ, छैन भन्ने परिक्षण गरिन्छ । संक्रमित व्यक्तिको स्वाबमा भाइरस अत्यन्त कम मात्रामा हुन्छ । पीसीआरले त्यसलाई ठूलो संख्यामा विस्तार गरिदिन्छ जसबाट जिनोम सिक्वेन्सिङको जानकारी लिन सकिन्छ ।

यदि संकलित स्वाबमा सार्स–कोभ–२ को कुनै अंश छैन भने त्यसको फोटोकपी नै हुँदैन । अर्थात् पीसीआर भनिने रासायनिक प्रतिक्रिया हुँदैन । त्यसैलाई पीसीआर नेगेटिभ भनिन्छ ।

त्यसैले सामाजिक सञ्जालहरूमा एकथरीले प्रचार गरेको अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपतिले फर्सी, मेवा, डिजेल, बाख्राको पीसीआर गर्दा कोरोना देखिएको भन्ने भनाई अफवाह हो । त्यो सतप्रतिशत झुट हो । फर्सी, मेवा वा बाख्राको डिएनए सार्स–कोभ–२ भाइरससँग नमिल्ने भएकाले तिनीहरूमा पीसीआर सफल नै हुँदैन । सार्स–कोभ–२ सँग पीसीआर गर्न प्रयोग गरिने प्राइमर र अन्य रसायनले फर्सी, मेवा, बाख्राको डिएनए नै चिन्दैन । डिजेलको त डिएनए नै हुँदैन त्यसैले त्यसको पीसीआर सम्भव छैन ।

करेक्टिभ लेख्छ-

सामान्य पिसिआर टेस्ट मान्छेमा भएको सार्स कोभ २ भाइरस पत्ता लगाउने गरी डिजाइन गरिएको हुन्छ।

इन्स्टिच्युट फर मेडिकल माइक्रोबायोलोजीका निर्देशक कार्स्टेन बेकरका अनुसार मान्छेका लागि विकास गरिएको र प्रयोग गरिएको कुनै परीक्षणलाई बाख्रा, मेवा वा मोटर आयलमा प्रयोग गरिन्छ भने टेस्टको रिजल्ट पोजिटिभ होस् वा नेगेटिभ शंकास्पद नै हुन्छ।

तान्जानियाका राष्ट्रपतिले मेवाको परीक्षणका लागि नबनाइएको भए पनि पिसिआर टेस्ट गर्दा मेवा कोरोनाभाइरसबाट संक्रमित भएको पनि गरेको दावी पनि प्रश्नयोग्य छ। युनिभर्सिटी अफ लेइपजिगका एनिमल हाइजिन एन्ड एनिमल डिजिज कन्ट्रोलका प्रोफेसर उवे ट्रुएन र युनिभर्सिटी अफ स्टुटगार्टका मोलेकुलर एन्ड सिन्थेटिक प्लान्ट भाइरोलोजीका रिसर्च युटिन प्रमुख क्रिस्टिना वेगले पनि म्यामल्स (स्तनधारी) जीवमा हुने भाइरस बिरुवामा भएको र त्यसले बिरुवालाई संक्रमित गरी, विस्तार हुँदै फैलाउने कुरा सम्भव नभएको बताउँछन्।

 

जर्मनीकै फेडेरल रिसर्च इन्स्टिच्युट फर एनिमल हेल्थले विभिन्न जनावरमा कोरोनाभाइरसबारे परीक्षण गरिसकेको र चरा अनि कुखरामा यो लाग्न नसक्ने प्रेस रिलिज निकालेको करेक्टिभले लेखेको छ।

त्यसैगरी राष्ट्रपतिको भाषणमा सन्दर्भ बिर्सेको अर्को तथ्य जुन ठाउँबाट नमूना लिइएको हो, त्यो पोजिटिभ भेटिँदैमा त्यही ठाउँ संक्रमित भएको हुँदैन। अध्ययनहरुले कार्डबोर्ड, स्टेनलेस स्टिल वा प्लास्टिकमा पनि भाइरस भेटिने देखाएको छ। तर त्यसको अर्थ ती ठाउँहरु संक्रमित भएको हुँदैन। ती सतहमा भाइरसको उपस्थिति भने भएको हुनसक्छ। उदाहरणका लागि कसैले खोक्दा निस्केको भाइरस। मेवामा पनि त्यस्तै भएको हुनसक्छ।

सोही इन्स्टिच्युटले भनेको छ, बाख्राको कुनै भागबाट नमूना निकालेर परीक्षण गरेको भन्दैमा बाख्रामा नै संक्रमण भएको हुनुपर्छ भन्ने छैन। हाँछ्यु गर्दा पनि मान्छेबाट त्यो सरेको हुनसक्छ। तर त्यसरी सर्‍यो भन्दैमा जनावर संक्रमित भएको र भाइरसले आफूलाई बढाउँदै लग्छ भन्ने हुँदैन।

जर्मन विश्वविद्यालयका अस्पतालहरुलाई करेक्टिभले गलत टेस्ट रिजल्टको बारेमा फ्याक्टचेक गर्दा मुख्य गल्ती राम्रोसँग स्याम्पल ननिकाल्नु, मिक्स अप हुनु, भण्डारण गर्दा गल्ती हुनु वा कतै लानु पर्दा लामो समय लाग्नु हुनसक्ने निश्कर्ष निस्केको थियो।

तसर्थ तान्जानियाका राष्ट्रपतिको भाषण अप्रमाणित छ। किनभने न कस्तो खालको परीक्षण गरिएको भन्ने प्रष्ट छ न मान्छेका लागि विकास गरिएको पिसिआर टेस्टले मेवा वा बाख्रामा गर्दा आएको भनिएको रिजल्ट नै शंकाविहीन हुन्छ।

रायमाझीले यस्ता भ्रामक दावी गरिरहँदा पनि मूलधारको मिडियाका कार्यक्रम सञ्चालक र सहभागीले त्यसको प्रतिवाद गर्नुको साटो उनको त्यस्तो भ्रमलाई फैलाउन मद्दत गरिरहे।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो editor@nepalfactcheck.org वा blog@mysansar.com अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ। हाम्रो भाइबर ग्रुपमा जोडिएर पनि तपाईँ यस्ता लिङ्क पठाउन सक्नुहुन्छ। भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्। तथ्य जाँच सामाग्री माइसंसारनेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

5 comments to कोरोनाभाइरसबारे एपीवान टिभीको बहसमा गरिएका पाँच भ्रामक दावी

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)