यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

अमेरिकाको राष्ट्रपति चुनाव नबुझेर कन्फ्युज हुनुहुन्छ? यो पढ्नुस्

अमेरिकामा आज नोभेम्बर ३ मा राष्ट्रपति चुन्नका लागि मतदान हुँदैछ। यो चुनावमा विश्वको ध्यान तानिएको छ। अमेरिकाको चुनाव प्रक्रिया भने अलि जटिल छ। यहाँ अमेरिकी जनताले प्रत्यक्ष रुपमा राष्ट्रपति चुन्न मतदान गर्ने होइनन्। अमेरिकी निर्वाचन प्रणाली अनुसार जनताको सीधा भोटबाट हैन, इलेक्टोरल भोटबाट राष्ट्रपति चुनिने हो।

सजिलोमा बुझ्नका लागि तपाईँ हाम्रो प्रधानमन्त्री कसरी चुनिए भन्ने उदाहरण लिनसक्नुहुन्छ। हामीले २७५ जना सांसदलाई प्रतिनिधि सभाका लागि चुनेका थियौँ पछिल्लो निर्वाचनमा। कुनै जिल्लाबाट १० सांसद चुनिएका थिए भने कुनै जिल्लाबाट १ मात्र।

ठीक त्यसैगरी अमेरिकामा पनि ५० राज्य र एक राजधानी गरी ५१ राज्यको जनसंख्या अनुसार प्रत्येक राज्यबाट निश्चित संख्यामा इलेक्टोरलहरु चुनिन्छन्।

हाम्रोमा कूल सांसद संख्या २७५ भने जस्तो त्यहाँ कूल चुनिने प्रतिनिधिहरुको संख्या ५३८ हुन्छ। हाम्रोमा २७५ को बहुमत अर्थात् १३८ भोट ल्याउन सक्ने प्रधानमन्त्री निर्वाचित हुन्छ। त्यहाँ भने ५३८ को बहुमत अर्थात् २७० इलेक्टोरल मत ल्याउने निर्वाचित हुन्छ।

तर बुझ्नलाई यसरी भने पनि नेपाल र अमेरिकाको चुनावमा भने फरक छ। हामीले भोट दिँदा उम्मेदवारलाई उसको पार्टीको चुनाव चिह्नलाई भोट दिन्छौँ। त्यो सांसदले भोट दिने बाहेक अरु पनि काम जस्तै कानुन बनाउने आदि पनि गर्छ।

अमेरिकामा भने इलेक्टरहरुको काम राष्ट्रपति निर्वाचनमा मत दिने मात्र हो। मतदान गर्नेले पनि इलेक्टरको नाममा हैन, ट्रम्प वा बाइडेनकै नाममा गर्छन्। नमूना मतपत्र हेर्नुस्-

राष्ट्रपति/उपराष्ट्रपतिका लागि मात्र हैन, मतपत्रमा सांसद (स्टेट सिनेटर) देखि जिल्ला न्यायाधीश र कन्सटेबलका लागि समेत मतदान गर्न पाइन्छ।

मतपत्रमा राष्ट्रपति/उपराष्ट्रपतिको नाम देखेर कतिपयलाई सीधै चुन्ने हो कि भन्ने पनि लाग्न सक्छ। तर नाम भए पनि वास्तवमा राज्यका इलेक्टरहरुलाई चुन्ने हो।

यी इलेक्टरहरु सम्बन्धित पार्टीले सम्बन्धित राज्यमा नियुक्त गरेका हुन्छन्। त्यसैले कुनै राज्यमा कसैले ट्रम्पलाई भोट दिएको भए र ट्रम्पले पपुलर भोटमा जित हासिल गरेको भए रिपब्लिकन पार्टीले नियुक्त गरेका इलेक्टरहरुले ट्रम्पलाई भोट दिने हुन्।

डिसेम्बर १४ मा हुन्छ राष्ट्रपति चुन्न मतदान

अनि यी इलेक्टरहरु राज्यको राजधानीमा भेला भएर राष्ट्रपति चुन्न मतदान गर्छन्। यसका लागि साइत पनि अनौठो बेला जुराइएको हुन्छ- डिसेम्बर महिनाको दुई वटा बुधबारपछिको पहिलो सोमबार। यो वर्ष त्यो साइत डिसेम्बर १४ मा जुर्छ।

त्यो दिन सबै राज्यको राजधानीमा इलेक्टरहरु भेला हुन्छन् अनि छुट्टै मतपत्रबाट भोट दिन्छन्। अधिकांश राज्यका लागि जति इलेक्टोरल मत छुट्याइएको हुन्छ, जसले बढी भोट जित्यो सबै उसैले लैजान्छ। क्यालिफोर्नियामा जनसंख्याका आधारमा ५५ जना इलेक्टर हुन्छन्।  त्यस्तै टेक्ससमा जनसंख्याका आधारमा ३८ इलेक्टर छुट्याइएको छ।

यो प्राविधिक पक्षमात्र भएकोले यो दिन हुने चुनावलाई धेरैले ध्यानै दिँदैनन्।

खासमा इलेक्टरहरुले जसलाई पनि भोट दिन पाउँछन् अमेरिकाको संविधान अनुसार। तर सामान्यतया यस्तो हुँदैन। २४ राज्यमा त अर्कैलाई भोट दिए सजाय समेत हुने कानुन छ। पछिल्लो पटक सन् २००४ मा मिन्नेसोटाका एक जना इलेक्टरले डेमोक्रेट उम्मेदवार जोन केरीलाई भोट दिनुपर्नेमा जोन एडवार्डलाई दिएका थिए।

मतगणनाको परिणाम जनवरी ६ मा

अनि यी इलेक्टरहरुले गरेको मतदानको मतपरिणाम भने जनवरी ६ मा बस्ने संसदको संयुक्त बैठकमा वर्तमान उपराष्ट्रपतिले पढेर सुनाउँछन्। नयाँ संसद पनि नयाँ राष्ट्रपतिको चुनावसँगै चुनिएको हुन्छ।

यसरी खासमा अमेरिकी राष्ट्रपति औपचारिक रुपमा निर्वाचित हुने जनवरी ६ तारिखमा मात्रै हो। त्यसपछि नयाँ राष्ट्रपतिको शपथ जनवरी २० मा हुन्छ।

कसले जित्छ कहिले थाहा हुन्छ त ?

सबै भोट गन्नलाई त कयौँ दिन लाग्न सक्छ। तर सामान्यतया भोलिपल्ट बिहान सबेरैसम्म कसले जित्छ भन्ने थाहा भइसक्छ। अघिल्लो चुनावमा रातको ३ बजे ट्रम्पले विजय भाषण दिएका थिए।

तर यस पटक भने हुलाकबाट मतदान गर्नेहरु धेरै भएकोले त्यो गन्नलाई धेरै समय लाग्न सक्ने अनुमान गरिएको छ।

Comments