माइसंसार धेरै दिनदेखि खाली छ। सुरु गरेको १५ वर्षमा यति लामो समयसम्म बिना खबर यसरी गायब भएको इतिहास थिएन। तर यसपालि कोरोनाले यस्तै गर्यो। साह्रै ज्याद्रो रहेछ यो कोरोनाको संक्रमण। संक्रमणमुक्त भएको लामो समयसम्म पनि केही केही असर बाँकी नै हुने रहेछ। त्यसो त पोजिटिभ रिपोर्ट आएर होटल आइसोलेसनमा बसेको सातौँ दिनमा रिपोर्ट नेगेटिभ आएर घर फर्किसकेकै एक महिना भइसकेको छ। सुरुमा त भर्याङ चढ्दा पनि थकाइ लाग्ने हुन्थ्यो।
अहो, म त कोरोना संक्रमण भएर मुक्त भइसकेको मान्छे। अब केही समय त मलाई लाग्दैन भन्ने मनमा भएको थियो केही दिन। तर त्यो खुसी धेरै रहन सकेन। दोस्रो पटक संक्रमित भएका खबरहरु आइरहेका थिए। दोस्रो पटक भएमा त झन् घातक हुने पनि भनिएको रहेछ। नेपालमै पनि दोस्रो संक्रमण भएको समाचारहरु फाट्टफुट्ट सुनिए।
यो कोरोना अचम्मको हुने रहेछ। कसैलाई कुनै लक्षणै नदेखिने रहेछ। कुनै गाह्रो नहुने रहेछ। मलाई भने लक्षणसहितको देखा परेको थियो। खोकी र टाउको दुखाइले हैरान बनाएको थियो। निको भइसकेपछि अति थकानले गाह्रो।
यही बीचमा नाम्चे घुम्न जान सस्तो प्याकेजको चर्चा चल्यो। जान मन लागेको थियो। तर कहाँ जान सक्छु होला र जस्तो लाग्ने। एक दिन ट्रायलका लागि भनेर सुन्दरीजल हाइकिङमा गयौँ। तपाईँहरुलाई याद छ नि सुन्दरीजल जाँदा सुरुमा एउटा ठाडो उकालो चढ्नुपर्ने! त्यो उकालो चढ्दै जाँदा एकदम थकाइ लाग्यो। सेनाको चेकप्वाइन्टतिर एकछिन आराम गर्ने भनेर बसेको, बिस्तारै सबै ‘सेन्स’ गुम्दै गयो। आँखामा बिस्तारै अँध्यारो छायो। केही क्षण बेहोसै पो भएछु !
त्यही दिनदेखि हो खसीको खुट्टी सुप र बट्टाइँको अण्डा जबर्जस्ती खान परेको ! शाकाहारी आहार भङ्ग भएको !
शारीरिक थकान त बिस्तारै हरायो यो खाएपछि। लुक्लाबाट नाम्चेसम्मको बाटो, त्यस्तो ठाडो उकालोमा पनि म लगभग अरु सबैभन्दा अगाडि नै भएँ। खासै गाह्रो महसूस भएन। सकुशलै नाम्चे गएर फर्कियौँ।
तर मानसिक थकान भने जारी छ। केही गर्न मन नलाग्ने, थोरै केही गर्दा पनि थाकेको जस्तो हुने। न किताब पढ्न सक्ने, न टिभी हेर्न मन लाग्ने, न केही लेख्न नै सक्ने। केही लेखौँ भन्ने लाग्यो भने जाँगरै नचल्ने। ह्या आज होस्, भोलि गरौँला भन्ने लाग्ने। यति लामो समयसम्म यस्तो मानसिक थकानको अनुभव मैले पहिले गरेको थिइनँ। मलाई थाहा छैन कोरोनामुक्त भएका अरुलाई कस्तो भएको छ, तर मलाई भने यसले अझै पनि प्रत्यक्ष/अप्रत्यक्ष सताउने क्रम जारी छ।
संक्रमणमुक्त भइसकेपछि मलाई आइसोलेसनमा बस्दा जस्तै गरी दुई पटक बेस्कन टाउको दुख्यो। दोस्रो पटकको दुखाइ औषधी खाँदा पनि लगभग २४ घण्टासम्म रह्यो। यस्तो बेलामा मनमा शंका जाग्ने रहेछ- फेरि कोरोन लाग्यो कि क्या हो ! फेरि ह्या, कहाँ लाग्नु भनेर आफ्नै मनलाई सम्झायो बस्यो।
आखिर सोचे झैँ कोरोना रैनछ।
यो पनि
कहाँ गरेँ मैले गल्ती : कोरोना भाइरसले ‘झुक्यायो’ कि म झुक्किएँ ?
हामीले पनि धेरै मिस गरिरहेका छौ तपाईंका सुसान्दर्भिक ब्लग|
यसबेला तपाईंलाई आरामको जरुरत छ| अहिलेलाई पूर्ण स्वास्थ्यलाभ प्रति ध्यान दिनुहोला|
खोप नआईन्जेल सक्दो सतर्कता अपनाउने हो र घरपरिवार मित्रजनहरुलाई पनि सचेत गराउने हो|
हार्दिक कामना|
(मुलुकले यस्तो विकराल कोविद महामारी भोगीरहेको बेला सत्तावाल नेताहरु आपसी स्वार्थ, नियुक्ती भागबन्डा र जुंगाको लडाइमा मस्त र अस्त ब्यस्त छन, नाँगो उदाँगो भएको छ, प्रमुख प्रतिपक्ष घोर निद्रामा छन, ओम्नीकाण्ड र अख्तियार भ्रष्टतिर छन| कस्तो बिडम्बना!)
शेरचन तामाङ
Praying for your speedy recovery, Salokya Ji!