यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

उपहारमा पाएको हिउँ चितुवा

– करनबहादुर शाह –

पाँचवटा भेडाहरुलाई दश-दश दिनसम्म लेकका विभिन्न ठाउँहरुमा उनीहरूले बाँधेर राखेका थिए तर एउटालाई पनि हिउँ चितुवाले मारेन। बरु एघारौं र बाह्रौं दिनमा एउटा भेडालाई रातो भालुले र अर्कोलाई ब्वाँसोले खायो। हिउँ चितुवालाई क्यामेरामा कैद गर्न भेडाको चारो थापिएको थियो।

हुम्ला जिल्लाको लिमी उपत्यकामा हिउँ चितुवा सम्बन्धी चेतनामूलक वृतचित्र बनाउन काठमाण्डौबाट नेपाली विज्ञहरुको एउटा टोली सो क्षेत्रमा गएको थियो। टोलीलाई भाजु आचार्यले नेतृत्व गरेका थिए भने उनीसँगै आदव घिमिरे, ओम जिसी, खेमराज पौडेल, नौशल यादव, भुवन अर्याल, रिमेश खड्का र प्राध्यापक बरन शाह रहेका थिए।

लिमीमा उनीहरुको त्यो तेस्रो भ्रमण थियो । त्यस अघि उनीहरूले सो क्षेत्रको जैविक विविधताको विस्तृत अध्ययन गरेको थियो।

यस पटक भने हिउँ चितुवालाई क्यामराले कैद गर्ने र त्यस सम्बन्धी वृतचित्र बनाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा त्यसको प्रचार प्रसार गर्ने उद्देश्य थियो । सो क्षेत्रमा रहँदा उनीहरुले हिउँ चितुवाको बारेमा स्थानीय गाउँलेहरुसँग छलफल गरे ।

लिमि उपत्यकाको विभिन्न ठाउँहरुमा हिउ चितुवाको पाइलाहरु, बिष्टा, जमिन खोसको, ढुङ्गा र चट्टानमा मुतेर चिन्ह लगाएको तथा उसले मारेको नाउर, नायन, कियाङ्ग, इत्यादिको खप्पर, अस्थिपञ्जरहरुलाई आफ्नो मुभि क्यामेरामा कैद गरिसकेका थिए ।

हिउँ चितुवा हिँड्ने ठाउँहरुमा भेडाको चारो राखेर वा त्यसै स्वचालित क्यामेरा राखेर छोड्दा त्यस भेकमा पाइने विभिन्न वन्यजन्तुहरु क्यामेरामा कैद भएका थिए तर खास चाहिएको त्यस भेकमा “साबु” नाउँले चिनिने हिउँ चितुवाको भने केही अतो पतो थिएन ।

नेपालको अन्य उच्च हिमाली भेकमा पनि हिउँ चितुवाहरु पाइन्छन् तर लिमीको जस्तो अध्ययन अनुसन्धान गर्न सजिलो वातावरण अरु स्थानमा नभएकोले अध्ययन टोली तेस्रो पटक त्यहाँ गएको थियो । तर कडा परिश्रमको वाबजुद पनि ‘पर्वतको प्रेत’ भनिएको हिउँ चितुवाको भने कहि अतोपतो थिएन ।

गाउँलेहरुले उनीहरुको अनुसन्धानमा सहयोग गरेतापनि भेडा बाँधेर चारो हाल्ने विषयमा स्थानीयहरुले आपत्ति जनाएको बिस्तारै गाईगुई हल्ला सुनियो ।

‘पहिले र अहिले प्रत्यक्ष लाभ नपाउनेहरुले नै विरोध गरेको हनुपर्छ’, भाजुले भने, ‘घरपालुवा भेडाहरु हिउँ चितुवाको चारोको रुपमा प्रयोग गर्दा हिउँ चितुवा र अन्य नरभक्षीहरू पल्किन्छन् र पछि यिनीहरुले घरपालुवा जनावरलाई खोजी खोजी मार्न थाल्छन् भन्दैछन गाउँलेहरु।’

एकातिर हिउँ चितुवा फेला नपरेको झोक, अर्कोतिर त्यहाँ बिस्तारै विकसित हुँदै गएको नकारात्मक धारणाले सबै दिक्क थिए । अतः उनीहरु जति छिटो काम सिध्याएर काठमाण्डौ फिर्ने मनसायमा पुगेका थिए ।

टोलीले झेल्नुपरिरहेको तिक्ततादेखेपछि प्राध्यापक शाहले एउटा गजबको योजना तयार पारे । एउटा नक्कली हिउँ चितुवा बनाएर टाढैबाट उसको छायांकन गर्ने ।

यस्तो अनकन्टार ठाउँमा हिउँ चितुवै देखाउने पो कसरी ! डेन्टपेन्ट गर्ने पो कसरी !’, टोलीका सदस्य नौशलले चिन्ता व्यक्त गरे ।

‘ह्यातेरी, त्यो सबै गुरुलाई छाडिद्याओ न, म बन्दोबस्त गर्छु भएन ?’, प्राध्यापक शाहले हप्की पाराले भने ।

‘हिउँ चितुवाको छाला एकजनाले ओड्ने, अनि टाढबाट शुट गर्ने, प्राध्यापकले भने, ‘सकिगो नि, अनि डकुमेन्ट्री भाइरल !’

सबैजना गलल हाँसे ।

‘छाला ल्याउने पो कसरी सर ‘ भाजुले सोधे।

‘ल सबैले ध्यान दिएर सुन’, प्राध्यापकले भने, ‘यस क्षेत्रका बौद्ध धर्मावलम्बीहरुले वनजंगलमा फेला पारेका स्थानीय वन्यजन्तुहरुको सिनो आलै भए छाला काढेर गुम्बामा चढाउने गर्दछन् । खप्पर, सिङ पनि चढाउँछन् । लिमी उपत्यकाको तीनवटै गाउँहरु तील, हाल्जी र कॉग मध्ये त्यस भेकको सबैभन्दा पुरानो मानिएको हाल्जीको गुम्बामा हालै एउटा मरेको ठूलो भाले हिउँ चितुवाको छाला काढेर झुण्डाइएको छ ।’

त्यति भन्दै प्राध्यापकले सबैलाई हाल्जी गुम्बातिर लगे । प्राध्यापकले गुम्बाको लामालाई केही दिनलाई हिउँ चितुवाको छाला आफुहरुलाई दिन अनुरोध गरे र बदलामा गुम्बालाई पाँच हजार रुपैयाँ दिने बचन गरे । लामाले समितिमा कुरा गरेर भोलिपल्ट बिहान कोंग गाउँमा छाला पठाइदिने बताए ।

टोली सदस्यहरुले टाढैबाट हिउँ चितुवाको छाला अवलोकन गरे र प्राध्यापक बुढाको तरकिबलाई मनै मन ‘वाह वाह गरे।

‘सक्कली हिउँ चितुवा नपाएपछि कमसेकम यसैले भएपनि इज्जत जोगिने भो केटा हो !’, टोली नेता भाजुले सबैलाई भने ।

सबैजना खित्का छाडेर हाँसे ।

अर्को दिन बिहानै हिउँ चितुवाको छाला शिविरमा आइपुग्यो । उनीहरूले गाउँले प्रविधि अनुसार नुन, तेल र गरम पानी प्रयोग गरेर सट्टाले माड्दै छालालाई नरम पारे । मानिसले ओढ्न मिल्ने गरी त्यसलाई हिउँ चितुवाको प्रष्ट रुप दिदै सिलाउन लगाए ।

‘नक्कली हिउँ चितुवा बन्ने काम सोनमले गर्छ, केही दिन अघिदेखि सहयोगीको रुपमा दैनिक ज्यालादारीमा उनीहरुको लागि काम गर्दै आएको ठिटो सोनामलाई त्यो छाला ओढाइदिंदै आदबले भने ।

सोनम केहीबेर अकमकायो ।

‘गाँठ पाउँछस् मूला, किन धक मान्छस्’, उनले हप्की लगाए । आफैसँग हिउँ चितुवा भएपछि टोलीको फूर्ति बेग्लै थियो ।

बन्दोबस्तको जम्मै सामान लिएर झोंग गाउँबाट उनीहरु झण्डै पाँच घण्टा घुमाउरो उकालो बाटो हिँडदै करिब ५२०० मीटरमा पर्ने बुकी पाटनको प्याक्पालुंग भन्ने स्थानमा पुगेर त्यस रात त्यही शिविर बसे ।

भोलिपल्ट बिहानको नास्ता गरेर योजना मुताविक नक्कली हिउँ चितुवाको छायांकन गर्न जम्मै त्यहाँबाट साखे खोलातिर लागे । एक घण्टा जति हिंडे पछि उनीहरु साखे खोलाको माथि पुगे र त्यहिबाट सोलाको पारिपट्टी हिउँ चितुवा रुपी सोनामलाई हिँड्न लगाएर छायांकन गर्ने विचार गरे ।

उनीहरु बसेको ठाउँबाट ८ सय मीटर जति तल झरे पछि सासे खोलामा पुगिन्थ्यो । त्यहाँबाट खोला अलिकति मात्र देखिन्थ्यो तर खोला भन्दा पारी पट्टीको अलिकति उकालो भएको बुकी र घाँसले छोपिएको भू-भाग प्रष्टै देखिन्थ्यो ।

खोला तरिसके पछि साेनामलाई छाला ओढेर हिउँ चितुवाकाे रुपमा मास्तिर हिँड्न लगाउने, करिब २०० मीटर जति हिडिसके पछि यता पट्टीकाले चिच्याएर ‘कट ! भयो सोनाम’ भन्ने र सोनाम त्यहाँबाट फर्किएर आउने । यो जम्मै कुरा क्यामेरामा कैद गर्ने सल्लाह भयो ।

सोनाम हिउँ चितुवाको छाला बोकेर खोला किनारातिर ओर्ल्याे । यता तिरकाहरु क्यामेरा तयार पारेर हँसिमजाक गर्दै बसे । बढीमा
आधा घण्टाभित्र सोनाम खोलामा पुगेर पारीपट्टीबाट हिउँ चितुवा बनेर हिँड्दै गरेको देखिनु पर्ने थियो तर ४० मिनेट भइसक्दा पनि नक्कली हिउँ चितुवा नदेखिंदा सबै मुखामुख गर्नथाले । अन्दाजी ४५ मिनट पछि हिउ चितुवा बिस्तारै माथि तिर लाग्दै गरेको देखियो, यतातिरबाट क्यामेराले उसलाई कैद गर्न सुरु गयो ।

सो हिउँ चितुवा उनीहरुले सोचेको भन्दा अलि बढि नै गतिमा हिंडिरहेको थियो, २०० मीटर जति माथि पुगि सके पछि माजुले ‘कट् सोनाम भयो’ भनी दुई-दुई पटक जोरले कराए । तर उनले कराएको केही असर देखिएन। किनकी हिउँ चितुवा अलि बेग बढाएर हिड्दै गयो । त्यहाँ भए जतिकाले एकै स्वरमा चिच्याए । ‘भयो सोनाम भयो….कट् ! कट् !’ तर सो हिउँ चितुवा हेर्दा हेर्दै तिनीहरुको आँखाबाट ओझेल भयो ।

हिउँ चितुवा रुपी सोनामको त्यो अपाच्य हरकत माथि त्यहाँ चर्चा चल्यो ।

‘लौ, हिउँ चितुवाको छाला लिएर सोनाम मानसरोवर जाने बाटो हुँदै ताक्लाकोटतिर लाग्यो । छाला बेचेर चार पाँच लाख रुपैयाँ कमाउने भयो अब’, प्राध्यापकले भने । ‘लिमिको कान्छोले जाडोको बेला, हिउँ चितुवाको न्यानो छाला लाउन पायो, डाँडा कटेको पतै भएन’, रिमेशले आफ्नो राय सुनायो ।

‘सम्पूर्ण शरिर ढाक्ने गरी छाला ओढेको थियो’, भाजुले भने, ‘कतै सुने न कि त !’ ‘उनीहरू आफूसंग थरमसमा ल्याएको कफी निकालेर पिउन थालेका मात्र के थिए, अचम्मको साथ सोनाम उनीहरुको सामुन्ने टुप्लुक्क देखापर्‍यो। अरुले मुख खोल्नु अगावै उसले भन्यो ‘यो खोलो तर्न सकेना मो ता फर्क्यो । उसको ग्लानी प्रकट गर्दै गरेको अनुहार देखेर तिनीहरु तीन छक्क परे । उनीहरु ट्वाल्ल परेर एकअर्कालाई हेरिमात्र रहे । कुरा स्पष्ट थियो । सोनामलाई देखेर त्यो खोलाको आसपासमा भएको हिउँ चितुवा केही छिन अघि माथि तिर हिंडेको थियो । ढुङ्गा खोज्दा देउता भेटेको त्यस अप्रत्यासित सफलताबाट सबैजना अत्यन्तै खुशी भए। त्यहाँबाट सबैजना झोंग गाउँको बाटो समाते।

कॉग पुग्न केही माथि उब्जन शाही भन्ने एकजना व्यक्तिले बाटोमा होटल खोलेको थियो। सबैले लिमिको त्यो अन्तिम रातलाई त्यही सेलिब्रेट गर्ने विचार गरे। केहीबेरपछि क्याम्प फाएर शुरु भयो । होटलका साहुले सबैलाई खसी र बियर सर्भ गरे ।

टोली नेता भाजुले दुई शब्द बोल्दै भने ‘कार्यक्रमको सफलताको लागि सबैलाई बधाई रधन्यवाद छ । आजको त्यो हिउँ चितुवालाई बरन सरले टोलीलाई उपहार दिनु भएको हो । उहाँको नक्कली हिउँ चितुवाको योजनाले असली हिउँ चितुवा भेटाएको हो । सबैको तर्फबाट प्राध्यापक सरलाई मुरी मुरी धन्यवाद । त्यसपछि सबैले घरेलु रक्सी र बियरको गिलास हातमा लिए र “चियर्स गरे । कहिल्यै मद्यपान नगर्ने आदबले समेत सबैले कर गरेकाले ‘फर्स्ट एण्ड लास्ट’ भन्दै एउटा चाइनिज बियरको चुस्की लगाए ।

जब मद्यपानले असर देखाउन शुरु गयो, गीत संगीतको माहोल बन्यो । रक्सीको खाली बोतल, पानीको खाली जर्किन, खाने थाल, हात र चम्चाले बजाउन थालियो र झयाउरे लयमा गीत गुञ्जिए । अचानक त्यहाँ एउटा हिउँ चितुवा संगीतको लयमा खुट्टा, जीउ, मकाउँदै लामो पुच्छर जमीनमा घिसार्दै नाच्न थाल्यो । यसपाला भने त्यो हिउँ चितुवाको छाला भित्र सोनामको सट्टा स्थानीय रक्सीले झ्याप प्राध्यापक बुढा आफै थिए। सबैको अगाडि नाच्दै गरेको सो नक्कली हिउँ चितुवाले सबैलाई दिउँसो चाक्पालुंगमा हिड्दै गरेको देखेको असली हिउ चितुवाको दृष्यलाई फेरि एक पटक सम्झन बाध्य गराएको थियो ।

(The Snow Leopard ‘हिउँ चितुवा’ वार्षिक पत्रिका, अंक ६, मंसिर २०७७ मा प्रकाशित कथा)

Comments