यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

*’बाघ’ भनेर *’बिरालो’को फोटो दिने सीआइबी, छाप्‍ने मिडिया : गल्ती हुन नदिन केही टिप्स

-राजु आचार्य-

यही पुस २० गते काठमाडौँमा प्रहरीले ‘चरीबाघको छालासहित धापासीबाट एक जनालाई पक्राउ गरेको समाचार विभिन्न प्रमुख अनलाइन मिडियाहरुमा आयो। ‘चरीबाघ’ नेपाल सरकारले प्राथमिकतामा राखेको संरक्षित स्तनधारी वन्यजन्तु हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले टोखा नगरपालिका,धापासीबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका निवासी कमलप्रसाद सुनुवारलाई दुई वटा चरीबाघको छालासहित पक्राउ गरेको समाचार थियो त्यसमा। तर बरामद गरिएको भनी समाचारमा राखिएको छाला भने चरीबाघको थिएन, ठूलो नीरबिरालोको थियो।

कुन मिडियामा कस्तो समाचार र फोटो? 

अनलाइनखबरले ‘चरीबाघको छालासहित एकजना पक्राउ’ शीर्षकको समाचारमा यस्तो फोटो राखेको छ-

त्यसैगरी सेतोपाटीले ‘चरी बाघको छालासहित धापासीबाट एक पक्राउ’ शीर्षकको समाचारमा यस्तो फोटो राखेको छ-

‘नेपालखबर‘ले ‘काठमाडौंमा चरीबाघको छाला बेच्दै गर्दा एक जना पक्राउ’ शीर्षकमा पनि उस्तै फोटो राखेको छ-

न्युज २४ टिभीको वेबसाइटमा ‘टोखाबाट चरिबाघको छाला बरामद’ शीर्षकमा यस्तो फोटो राखिएको छ-

सामान्यतया पत्रकारहरुले गुगलमा सर्च गरेर फोटो राख्दा एउटा प्रजातिको फोटो हुनुपर्नेमा अर्कै राख्ने गरिन्छ। जस्तै एउटा अर्को अनलाइन नेपालकथाले भने यही समाचारमा चरीबाघको भन्दै बाघको छालाको फोटो राखेको थियो-

तर अनलाइनखबर, नेपालखबर, सेतोपाटी, न्युज२४ जस्ता प्रमुख मिडियाले राखेका फोटोहरु नेपालकथाले जस्तो गुगल गरेको भरमा राखिएको पक्कै थिएन। समाचारमा राखिएको फोटो र सोही मितिमा प्रहरी प्रधान कार्यालय/केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँले उपलब्ध गराएको प्रेस विज्ञप्तिमा उपलब्ध गराइएको छालाको तस्बिर एकै खालका छन्। हेर्नुस् प्रेस विज्ञप्ति

पत्रकारले ‘चरी बाघ’ हो कि होइन भनेर जाँच गर्लान् भनेर आशा गर्नु अहिलेलाई त्यति उपयुक्त नहोला।  उनीहरुले त प्रहरीले जे भने, जे दिए, त्यही हाले। तर प्रहरीले पो कसरी सो छालालाई चरीबाघ कै भनेर यकिन गर्‍यो होला त? कसैलाई सोधेको हो भने कसलाई सोधे होलान् ?

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयुसीएन) को बिरालो एवं साना मांसाहारी प्रजाति विज्ञ समूहका सदस्य यादव घिमिरेले सीआईबीको प्रेस विज्ञप्ति, अनलाइनखबर, नेपालखबर र सेतोपाटीमा राखिएको फोटो ‘चरीबाघ’को हुन नसक्ने यी कारण दिए-

१) फोटोमा देखिएको छालामा थोप्लाहरू कहीँ पनि छैन। चरीबाघको प्रष्ट थोप्लाहरू हुन्छन्। जस्तै यो चरीबाघको छालाको फोटोमा देखिन्छ-

२) फोटोमा देखिएको छालाको ढाडमा एउटा कालो मोटो धर्सो छ, जुन चरीबाघमा त्यसरी प्रगाढ हुँदैन।

३) यसको घाँटी नजिक पनि दुई वटा काला मोटा धर्साहरू देखिन्छन्, यस्तो पनि चरीबाघमा हुँदैनन्।

४) निरबिरालोको पुच्छरमा कालो र सेतो जस्तै देखिने ब्याण्डहरू हुन्छन्, जुन चरीबाघमा हुँदैनन्।

घिमिरेका अनुसार मिडियामा आएको छालाको यो फोटो ‘चरीबाघ’को नभएर ‘निर बिरालो’को भएको स्पष्ट हुन्छ।

प्राध्यापक एवं वरिष्ठ वन्यजन्तुविज्ञ करन बहादुर शाह पनि मिडियामा आएका फोटो चरीबाघको हुननसक्ने बताउँछन्। ‘हामी यसैमा काम गरिरहेकाहरुले फोटो हेर्ने बित्तिकै यो चरीबाघको होइन, निर बिरालोको फोटो हो भनेर थाहा पाउन सक्छौँ’, उनी भन्छन्, ‘तर सामान्य व्यक्तिहरुले पनि छुट्याउन सक्ने केही विशेषता हुन्छ। चरीबाघ घरपालुवा बिरालो भन्दा अलिकति ठूलोमात्रै हुन्छ र जिउभरी प्रष्ट थोप्लासहितका बुट्टा हुन्छ।’

प्राकृतिक इतिहास संग्रहालयका निर्देशकसमेत रहिसकेका शाहले भने, ‘चरीबाघ र निर बिरालोको छालाको आकार नै करिब-करिब दोब्बर हुन्छ- भैँसीको पाडो र बाख्री भने जस्तै।’

प्रजाति पहिचानमा मिडियाले गरेका गल्तीहरु थुप्रै छन्। मर्दीन्युजमा पनि चितुवाको बच्चा २०७७ पुस २१ गते भन्दै ‘चरी बाघ’को फोटो राखिएको थियो।

यो फोटो राससका पत्रकार कृष्ण न्यौपानेले खिचेका हुन्। यसरी सरकारी समाचार एजेन्सी राससमार्फत् प्रजाति नै फरक पर्ने गरी जानकारीहरू पठाइएका तथा मिडियामा छापिएका पनि छन्।

नचिनेर के फरक पर्छ र ?

कतिपयलाई लाग्न सक्छ- चरीबाघ हो कि निर बिरालो हो नचिनेर के फरक पर्छ र ?

त्यसो होइन।

प्रजाति पहिचानमा चुकियो भने अपराधीलाई हुने सजायमा पनि निकै तलमाथि हुनसक्छ।

उदाहरणका लागि चरीबाघको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै हुने प्रावधान छ।

चरीबाघ मार्ने वा घाइते बनाउनेलाई एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने प्रावधान छ।

केन्द्रीय अनुसन्धान ब्युरोको विज्ञप्तिलाई नै आधार मानी कारबाही अगाडि बढ्यो भने पक्राउ परेका व्यक्ति यही सजायको भागीदार हुन्छ। तर चरीबाघ होइन निर बिरालो भनेर प्रजाति पहिचान गरियो भने सजाय निकै कम हुन आउँछ।

संरक्षित क्षेत्र भित्र अनुज्ञा पत्र नलिई निर बिरालो मारेमा वा घाइते बनाएमा बीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै हुन सक्ने उल्लेख छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (पाचौं संशोधन) ले संरक्षित क्षेत्र बाहिर हुने सजायमा स्पष्ट उल्लेख नगरे पनि निर बिरालोको हकमा ऐनको दफा २६ उपदफा ६ आकर्षित हुन्छ। यस अनुसार बिगो भए बिगोको दोब्बर जरिवाना र एक वर्ष कैद वा बिगो कायम नभए कसुरको मात्र हेरी बीस हजारसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने भनेर उल्लेख छ।

अर्थात् निर बिरालोलाई चरी बाघ भनिदिँदा सजाय पनि अधिकतम सजाय १ वर्षबाट १५ वर्षसम्म पुग्न सक्छ।

कसरी पत्ता लगाउने ?

कुनै पनि प्रजाति देख्ने बित्तिकै त्यसलाई चिन्नै पर्ने वा त्यसको नाम छिटो-छिटो भन्नुपर्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ। यही विषयमा वर्षौ पढेका र काम गरेकाले पनि गल्ती गर्न सक्छन् भने प्रहरी वा पत्रकारबाट हुने गल्तीलाई स्वभाविक मान्न सकिएला। तर स्वभाविक हो भन्दैमा मानिसको जीवनलाई नै अप्ठ्यारो पर्ने गरी ‘चरी बाघ’लाई ‘चितुवा’ त भन्नु भएन नि। यसको लागि धैर्यता चाहिन्छ। आफूभन्दा जानेकालाई सोध्दा पहाडै खस्छ झैँ नगरौँ। यसो गर्दा प्रजातिको पहिचानमा सहज हुन सक्छ, विशेष गरी स्तनधारीको। तल उल्लेखित कुराहरूलाई मनन गर्ने हो भने प्रजाति पहिचान सहज हुन सक्छ।

‘नेपालका स्तनधारी वन्यजन्तुहरू’ नामक पुस्तक राख्दा राम्रो हुन्छ। प्रा. करनबहादुर शाह र डा. हेमसागर बरालद्वारा लेखिएको यो पुस्तकबाट प्रजाति कुन समूहमा पर्दो रहेछ भन्ने थाहा पाउन सक्छौँ र प्रजाति पहिचान गर्न पनि । अनलाइनमा पनि चित्रसहितको एउटा पुस्तक उपलब्ध छ। यहाँ क्लिक गर्नुस्। यसले पनि हाम्रो उद्देश्यमा सघाउन सक्छ। भारतका विवेक मेनोनद्वारा प्रकाशित स्तनधारी सम्बन्धी पुस्तकले पनि हाम्रो उद्देश्य पुरा गर्न सक्छ।

• विज्ञहरू वन्यजन्तुमा काम गर्छन् वा लामो समय वनमा बिताउँछन् भन्दैमा स्तनधारी चिन्छन् भन्ने छैन। उनीहरूको विषय फरक पर्न सक्छ। कम्तिमा दुई जना विज्ञहरूसँग क्रस चेक गराउनुहोस्।

• कतिपय अवस्थामा तपाईँसँग भएको फोटो कुन प्रजातिको भनेर गुगलबाट पनि पत्ता लगाउन सकिन्छ। हामीले अन्य जानकारी खोजे जस्तै गुगलमा फोटो अपलोड गरेर पनि थाहा पाउन सक्छौँ । यसका लागि यो लिंकमा गएर फोटो हाल्नुस् र सम्भावित नाम खोज्न सक्नुहुन्छ।

• सामाजिक सञ्जालमा फोटोहरू राख्दा पनि निकै छिटो पहिचान हुन् सक्छ। यसका लागि भ्वाइस अफ नेचर जस्ता थुप्रै फेसबुक समूहहरू उपयुक्त हुन्छन् ।

अन्तमा,

समाचार कसले छिटो पठाउने र छाप्ने भन्ने होडले प्रजातिको गलत पहिचान भइरहेको छ। ढिलो गर्नुस् तर सत्य जानकारी पस्कनुस्। हेर्ने बित्तिकै पनि केही प्रजातिहरू सजिलै छुट्टिन्छन्। केही उदाहरण तल पनि छन्,

बाघ

चितुवा

चरीबाघ

ठूलो निर बिरालो

सम्बन्धित ब्लग :

आतंक : चरी बाघको कि पत्रकारको?
एउटा बिरालोको त्यस्तो फोटो जसले अनुसन्धानकर्मीहरु समेत अलमलमा परे
राजु आचार्यका थप ब्लगहरु

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)