यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

नेपाल आइपुगेको खोप : के हो, कस्तो हो- बुझ्‍न सजिलो पार्ने १५ तथ्य

भारत सरकारले नेपाललाई दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) बिहीबार बिहान काठमाडौं आइपुगेको समाचार तपाईँहरुले विभिन्न मिडियामा पढ्नुभइसक्यो होला। तर यो खोप के हो, कस्तो हो, कसले बनाएको, कसरी काम गर्छ जस्ता प्रश्नको उत्तर तपाईँलाई थाहा छ ? यी लगायत कोरोना भाइरस खोपबारे जान्नै पर्ने तथ्य।

१) नेपालमा कुन खोप आइपुगेको हो?
नेपालमा आइपुगेको खोपको नाम कोभिशिल्ड हो। यसलाई Oxford-AstraZeneca भ्याक्सिन नामले पनि चिनिन्छ। ‘कोभिशिल्ड’ भनेको यो खोपको व्यापारिक नाम हो। यसको कोडनेम AZD1222 हो।

२) कहाँ बनेको खोप हो?
यो खोप भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) मा बनेको हो। साइरस एस पुनावालाले भारतको पुनामा ५५ वर्ष पहिले स्थापना गरेको एसआईआई अहिले खोप उत्पादन गर्ने बेच्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हो। कम्पनीले आफ्ना भ्याक्सिनहरु विश्वका १७० देशले प्रयोग गर्ने दावी गरेको छ।

३) भारतले वा सेरमले नै विकास गरेको खोप हो त यो?

होइन। यो खोप बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीले विकास गरेको हो। एस्ट्राजेनेका भनेको बेलायतमा मुख्य कार्यालय भएको बेलायती र स्वीडिश लगानीको औषधीसम्बन्धी बहुराष्ट्रिय कम्पनी हो। यो खोपको ट्रायल चल्दै गर्दा खोपले काम गर्छ कि गर्दैन भन्ने नै अनिश्चित थियो। त्यतिबेलै भारतका भ्याक्सिन किङ भनिने पुनेवालाले यी संस्थाहरुसितको सहकार्यमा चार करोड डोजको उत्पादन थालेको थियो। यसलाई चीनको साउथ चाइना मर्निङ पोस्टले ‘ठूलो जुवा’ को संज्ञा दिएको थियो।

४) नेपालमा यो खोप कसरी आयो?

यो खोपका १० लाख डोज नेपाली जनता र सरकारलाई भारतीय जनता र सरकारको तर्फबाट उपहारका रुपमा निःशुल्क प्राप्त भएको हो।

भारत सरकारले आफ्नै देशमा खोप अभियान सुरु गर्दैगर्दा छिमेकी देशहरुलाई पनि सहयोग गर्ने क्रममा नेपाललाई १० लाख, बङ्ग्लादेशलाई २० लाख, माल्दिभ्सलाई १ लाख र भूटानलाई १ लाख ५० हजार डोज खोप पठाएको हो।

५) यति छिट्टै कसरी खोप आयो?

गएको भदौ २३, २०७७ मा  साथी कृष्ण ढुंगानासित कुरा गर्दा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ‘यो वर्ष नेपालमा कोभिड—१९ भ्याक्सिन आउँदैन, २०७८ पुससम्म आउँछ कि भन्ने अनुमान छ’ भनेका थिए। मंसिर २७, २०७७ को कान्तिपुरमा ‘खोप खरिदमा ४२ अर्ब लाग्‍ने आकलन’ शीर्षकको समाचार छापिएको थियो जसमा ‘स्वास्थ्य मन्त्रालयले भारतमा बनेको खोप नेपालमा ७ अमेरिकी डलरमा उपलब्ध हुन सक्ने बैठकमा जानकारी गराएको’ उल्लेख थियो। 

बीबीसी नेपालीसित गत हप्तामात्रै कुरा गर्दै स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीले भनेका थिए, ”एउटा कुरा के बुझ्नुपर्‍यो भने अहिले कम्पनीसँग सोझै खोप लिन गयौँ भने फस्ने अवस्था छ र धेरै पछाडि पाउने अवस्था आउँछ। त्यस कारण सम्बन्धित देशका सरकारहरूको सहयोग आवश्यक पर्छ।’

भारतबाट नेपालले २० प्रतिशत जनसङ्ख्याका लागि आवश्यक पर्ने खोप खरिद नै गर्नेगरी तयारी गरेको उनले बताएका थिए।

खोप किन्नका लागि सरकारले खोप कोषमा दान दिन पनि आह्वान गरेको थियो।

भारतले जनवरी १९ मा भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यान्मार र सेशेल्समा भोलिपल्टैदेखि भ्याक्सिन पठाउन सुरु गर्ने घोषणा गरेको थियो। कति डोज खोप आउने भन्ने सार्वजनिक घोषणा भोलिपल्ट गरियो।

खोप खरिदको पूर्वतयारीमा जुटेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अनुदानमा यति छिटो र यति धेरै मात्रामा खोप आउला भन्ने अनुमान नगरेको र यो घोषणा उनीहरुकै लागि ‘सरप्राइज’ भएको यो समाचारमा उल्लेख छ

नेपालले अहिलेसम्म कुनै खोपको बुकिङ नगरेको भएर किन्नै खोजेको भए पनि भारतले सहयोगका रुपमा नपठाएको भए यो खोप यति छिट्टै अर्थात् आजै आउन सम्भव थिएन।

६) यो खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले  स्वीकृति दिइसकेको हो?

होइन। तर डब्लुएचओले स्वीकृत दिने तयारी चाहिँ गरिरहेको छ।  डब्लुएचओको डकुमेन्ट अनुसार आपतकालीन प्रयोगका लागि अनुमति पाउने लाइनमा १५ वटा खोप रहेका छन्। त्यसमध्ये अहिले नेपालमा आएको सेरम इन्स्टिच्युटमा उत्पादन गरिएको खोपको बारेमा मध्य फेब्रुअरीसम्ममा निर्णय आउने लेखिएको छ।

यो डकुमेन्ट अनुसार अहिलेसम्म डब्लुएचओले फाइजर र बायो एन टेकले बनाएको खोपलाई मात्र आपतकालीन प्रयोगको स्वीकृति दिएको छ। यो खोपको नाम   Comirnaty हो। यसलाई  tozinameran वा BNT162b नामले पनि चिनिन्छ।

७) नेपालमा आएको खोप कहाँ कहाँ प्रयोगका लागि स्वीकृत भएको छ?

नेपालको औषधी व्यवस्था विभागले यो खोपका लागि १५ जनवरीमा ‘आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको’ हो। हेर्नुस् विभागको सूचना।

बेलायतअर्जेन्टिना  ले डिसेम्बर ३०, २०२० मा यो खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। त्यसैगरी जनवरी ३ मा भारतले आफ्नै देशमा उत्पादन गरिएको खोपलाई अनुमति दिएको थियो भने त्यसको भोलिपल्ट मेक्सिकोले अनुमति दिएको थियो। यो खोपलाई अनुमति दिनेमा ब्राजिल , अर्जेन्टिना मोरक्कोपाकिस्तान  पनि छन्। बेलायतका ८२ वर्षीय पुरुषले अनुमति पाइसकेपछि जनवरी ४ मा पहिलो खोप लिएका थिए। 

८) यो खोप बिक्री पनि हुन थालिसक्यो?

रोयटर्सका अनुसार शुक्रबारदेखि यो खोपको व्यापारिक बिक्री सुरु हुनेछ। यो कम्पनीलाई विश्वका विभिन्न देशहरुबाट खोपको अर्डर आएको छ तर शुक्रबार पहिलो खेप ब्राजिल र मोरक्कोलाई पठाइनेछ। ब्राजिल कोभिड-१९ का कारण धेरै ज्यान गुमाउने अमेरिकापछिको दोस्रो राष्ट्र हो। यो कम्पनीबाट ब्राजिलले नेपालमा आएको भन्दा दुई गुणा बढी अर्थात् २० लाख डोज किनेको हो। साउथ अफ्रिका र साउदी अरेबियाले पनि यो खोप किन्ने भएका छन्। साथ अफ्रिकाको स्वास्थ्य मन्त्रालयले जनवरीमा भारतमा बनेको यो खोप १० लाख डोज र फेब्रुअरीमा ५ लाख डोज किन्ने सहमति भएको बताएको छ।

त्यसैगरी डब्लुएचओले विश्वका कम र मध्यम आय भएका मुलुकहरुमा खोप पठाउनका लागि बनाएको कार्यक्रम कोभ्याक्सले एस्ट्राजेनेका कम्पनीबाट ३० करोड डोज किनिसकेको छ।  युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई ४० करोड डोज आपूर्ति गर्ने सहमति पनि एस्ट्राजेनेकासित भएको छ। एस्ट्राजेनेकासित यो खोपका २० करोड डोज आपूर्ति गर्ने सम्झौता क्यानाडासित पनि सेप्टेम्बरमै भएको थियो भने अक्टोबरमा स्वीजरल्यान्डले ५३ लाख डोजको प्रिअर्डर गरेको थियो। थाइल्यान्डले नोभेम्बरमा २६ करोड डोजको अर्डर गरेको थियो। दक्षिण कोरियाले पनि कम्पनीसित दुई करोड डोजको कन्ट्र्याक्ट साइन गरिसक्यो। यद्यपि दक्षिण कोरियाे यो खोपको आपतकालीन प्रयोगको अनुमति दिइसकेको छैन। 

म्यान्मारले भने भारतको सेरम कम्पनीसित तीन करोड डोज भ्याक्सिन किन्ने सहमति गत डिसेम्बरमा गरेको हो। फेब्रुअरीमा बल्ल म्यान्मारले यो खोप पाउनेछ। 

९) भारतमा यो खोप लगाएका कारण मान्छे मरेका हुन्?

माइसंसारमा खोपबारे यो ब्लग लेख्दै गर्दा मैले फेसबुकमा तपाईँहरुका केही प्रश्न छन् कि भनेर सोधेको थिएँ। पिताम्बर ढकाल र विष्णु खड्काले यसबारे जिज्ञासा राखेका थिए।

भारतले आपतकालीन प्रयोगका लागि दुई वटा खोपलाई अनुमति दिएको छ- एउटा यही नेपालमा आएको अक्सफोर्ड-एस्ट्राजेनेका खोप, अर्को चाहिँ कोभ्याक्सिन। भारत बायोटेक नामको कम्पनीले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीको सहकार्यमा बनाएको यो भ्याक्सिनलाई भारतमा मात्रै आपतकालीन प्रयोगको अनुमति दिइएको छ। तेस्रो चरणको ट्रायलको तथ्याङ्क सार्वजनिक नहुँदै जनवरी ३ मा यसलाई भारत सरकारले स्वीकृति दिएको हो, जसको मिडियामा आलोचना पनि भएको छ। डब्ल्युएचओको आपतकालीन प्रयोगको अनुमतिका लागि प्रक्रियामा रहेका १५ वटा खोपको सूचीमा यो खोप पर्दैन।

भारतले अघिल्लो शनिबार (जनवरी १६) देखि भारतमा खोप लगाउने अभियान सुरु गरेको हो। तर सबैले यो लगाउन पाउने छैनन्। सुरुमा नर्सहरु, डाक्टरहरु र फ्रन्टलाइनमा रहेर काम गर्नेहरुले मात्रै खोप लगाउन पाउँछन्। जुलाईसम्ममा ३० करोड भारतीयलाई खोप लगाउने लक्ष्य भारत सरकारले राखेको छ।

भारतमा अहिले यही दुई वटा खोपबाट खोप अभियान चलाइएको छ। यस क्रममा सोमबारसम्म दुई जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। तर ती मृत्युहरु खोपको इन्जेक्सनका कारण नभएको त्यहाँको स्वास्थ्य मन्त्रालय बताउँछ। शनिबार उत्तर प्रदेशमा ५२ वर्षीय पुरुषको मृत्यु भएको थियो जसको कारण कार्डियोपल्मोनरी रोग भएको भनिएको छ। त्यसैगरी कर्नाटका राज्यमा ४३ वर्षीय पुरुषको मृत्यु पनि हर्ट अट्याकका कारण भएको भारत सरकारका प्रवक्ताले अल जजिरालाई बताएका छन्। त्यसैगरी हिन्दुस्तान टाइम्सका अनुसार तेलगंना राज्यमा अर्को एक जनाको पनि मृत्यु भएको छ। तर त्यो पनि खोपका कारण नभई हर्ट अट्याककै कारण भएको दावी गरिएको छ।

खोप अभियान सुरु भएको छैटौँ दिन बिहीबारसम्ममा झण्डै १० लाख जनाले खोप लगाएका छन्। ती मध्ये १८७ जनालाई साइड इफेक्ट (एईएफआई) भएको र हालसम्म कसैको मृत्यु नभएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार रातिको विज्ञप्तिमा भनेको छ।

१०) नेपालमा आएको खोप कोभ्याक्सिन कि कोभिशिल्ड ?

कोभ्याक्सिनलाई भारतमा बाहेक अरु देशमा आपतकालीन प्रयोगको अनुमति छैन, कोभिशिल्डलाई चाहिँ छ। नेपालको औषधी व्यवस्था विभागले दिएको स्वीकृति कोभ्याक्सिनलाई नभएर कोभिशिल्डलाई हो। तैपनि कोभ्याक्सिन हो कि कोभिशिल्ड हो धेरैलाई अन्यौल भएको छ। आज ल्याइएको खोपको फोटो साथी प्रवीण रानाभाटले खिचेका छन्।

११) नेपाल आएको खोपको प्रभावकारिता कति हो?

डब्लुएचओ भन्छ लगाउने सबैलाई सुरक्षित गर्ने र सबैका लागि पूर्णतया सुरक्षित हुने ‘पर्फेक्ट’ भ्याक्सिन भन्ने हुन्न। प्रभाकारी भ्याक्सिन जसले सुरक्षित बनाउने इम्युनिटी बनाउने क्रममा केही अप्रिय साइड इफेक्ट गर्न सक्छ। तर ती सामान्यतया धेरै गाह्रो बनाउने खालको हुन्न र छिट्टै हराउँछ पनि।

यसको प्रभावकारिता ६२ देखि ९० प्रतिशतसम्म रहेको भनिएको छ। यो भनेको  तेस्रो चरणको ट्रायलको प्रारम्भिक नतिजा हो।

डब्ल्युएचओले आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको र धेरै देशहरुमा प्रयोगमा आएको फाइजर – बायोएनटेक कम्पनीको खोप र यो खोपको फरक बीबीसीले यो चार्टमा दिएको छ-

फाइजरको खोप माइनस ७० डिग्री तापक्रममा भण्डार गरेर राख्नुपर्छ भने नेपाल आएको खोप चाहिँ सामान्य फ्रिजको तापक्रममै हुन्छ। फाइजरको खोपको प्रभावकारिता ९५ प्रतिशत भनिएको छ। तर फाइजरकै खोप लगाउँदा नर्वेमा २९ जनाको मृत्यु भएको समाचार पनि छ। 

१२) नेपालीहरुमाथि ट्रायल गर्न यो खोप ल्याइएको त होइन?

फेसबुकमै आएको अर्को प्रश्न हो यो। यसको जवाफ हो- होइन।

क्लिनिकल ट्रायल (परीक्षण) खोप विकासका लागि जरुरी हुन्छ। यो अक्सफोर्ड-एस्ट्राजेनेका खोपका लागि अमेरिका, बेलायत, ब्राजिल, साउथ अफ्रिका, जापान र भारतमा ट्रायल भएको थियो। ट्रायलका क्रममा २८ वर्षका एक ब्राजिली डाक्टर स्वयंसेवकको अक्टोबर २०२० मा मृत्यु भएको थियो। उनले खोपको साटो प्लासेबो लिएका थिए। उनी जस्तै ट्रायलमा सहभागी हुने सयौँ स्वयंसेवकहरुका कारण खोप विकास सम्भव हुने हो।

नेपालमा पनि ट्रायल चाहिँ हुन लागेको छ। क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको समाचार कान्तिपुरले पुस २६ मा दिएको थियो।  समाचार अनुसार क्लोभरको ट्रायल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालमा गर्न लागिएको हो।

१३) नेपालमा कति जनालाई यो खोप लगाउन पुग्छ?

भारतबाट आएको १० लाख डोज। एक जनाले चार हप्ताको फरकमा दुई डोज लगाउनु पर्छ। सामान्यतया १० लाख डोजले पाँच लाख जनसंख्यालाई लगाउन पुग्ने जस्तो लाग्छ। तर, स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन। त्यसमा विभिन्न प्राविधिक कारण हुन्छन्। एक भायलमा १० डोज खोप हुन्छ। हरेक भायल खोलेपछि तुरुन्तै सक्नुपर्छ। ६ घन्टापछि लगाउन मिल्दैन। त्यसबीचमा लगाएर सकिएन भने पनि त्यसलाई फाल्नुपर्छ। त्यसैले अहिले आउन लागेको खोप करिब चार लाख नागरिकलाई लगाउन सकिन्छ भन्ने अनुमान छ।

१४) कसले लगाउन पाउँछ खोप?

यो खोप कसैले लगाउँछु भन्दैमा लगाउन पाउने होइन। खोप महाशाखा प्रमुख डा. झलकका अनुसार फ्रन्टलाइनर्सले मात्र यो खोप लगाउन पाउने छन्। सुरुमा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी, त्यसपछि एम्बुलेस चालक र शववाहन चालक, तेस्रो प्राथमिकतामा महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइ मजदुर, शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी परेको उनले यो समाचारमा बताएका छन्। यसरी छुट्याइएको प्राथमिकता समूहले खोप लगाएपछि बाँकी रहेमा दीर्घरोगी, सुरक्षाकर्मी र शैक्षिक संस्थामा कार्यरत फ्रन्टलाइनरलाई लगाउने सरकारको योजना छ। खोप लगाउन कसैलाई जबर्जस्ती छैन। लगाउन नचाहनेले नलगाउन पनि सक्छन्। शरीरमा एलर्जी हुने व्यक्ति, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कम उमेरका कुनै पनि व्यक्तिले यो खोप लगाउनुहुँदैन ।

१५) अरु कुन कुन खोप छन्?


यो न्युयोर्क टाइम्सको भ्याक्सिन ट्राकर हो। यसका अनुसार अहिले विश्वभर ६८ वटा खोपको मान्छेमाथि क्लिनिकल ट्रायल भइरहेको छ र २० वटा परीक्षणको अन्तिम चरणमा पुगेका छन्। कम्तिमा ९० वटा प्रिक्लिनिकल भ्याक्सिनहरुको जनावरमा परीक्षण भइरहेको छ।

१६) यो खोपले कसरी काम गर्छ?
यो चाहिँ अर्को ब्लगमा लेखौँला। थप केही प्रश्न भए हाम्रो फेसबुकमा यहाँ क्लिक गरी वा तल कमेन्टमा लेख्नुहोला। त्यसलाई पनि समेट्ने प्रयास गर्नेछु।

5 comments to नेपाल आइपुगेको खोप : के हो, कस्तो हो- बुझ्‍न सजिलो पार्ने १५ तथ्य

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)