यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

अरु मिडियाले ‘इकान्तिपुर’बाट सिक्नुपर्ने कुरा

गएको माघ २ गते ‘नेपालखबर’मा ‘संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशसँग प्रधानमन्त्री ओलीको भेट’ शीर्षकमा समाचार छापियो। समाचारमा ‘प्रधानमन्त्रीको निजी सचिवालय निकट स्रोतका अनुसार’ भनिएको थियो। त्यसैगरी ‘रातोपाटी’ले पनि सोही दिन ‘भेटेकै हुन् त न्यायाधीशहरुले प्रधानमन्त्रीलाई ?’ ‘भेटेका हुन् भने उनीहरुले न्यायालयबाट बिदा लिनुपर्छ’शीर्षकको समाचार राखेको थियो। अहिले यी दुवै वेबसाइटमा गएर तपाईँले हेर्नुभयो भने दुवै वेबसाइटले सो समाचार हटाएर क्षमा मागेका छन्।


सर्वोच्च अदालतले विज्ञप्ति प्रकाशन गरेर कानुनी दायरामा आउनसक्ने तर्फ सचेत गराएपछि र समाचार पुष्टि गर्न या अपहेलनाका लागि तयार रहन सम्बन्धित मिडियालाई अदालतमै बोलाएर भनेपछि दुई मिडियाले समाचार सच्याएका हुन्।

रातोपाटीले लेखेको छ, ‘हामीलाई अधिकांश समाचार तथा सूचनाहरु स्रोतबाट नै प्राप्त हुन्छन् । स्रोतको विश्वास नै नगर्ने भन्न पनि सकिँदैन । तर, स्रोतबाट प्राप्त सूचनालाई पुष्टी गर्ने क्रममा कहिलेकाहीँ केही कमजोरी हुन सक्छन्, जुन कुरा उक्त समाचारमा हामीबाट पनि हुन पुग्यो। हामीलाई स्रोतबाट प्राप्त उक्त समाचार असावधानीका कारण पूर्णरुपमा पुष्टी नभई प्रकाशित भएकाले सच्चाइएको छ । साथै, प्रकाशित समाचारले सर्वोच्च अदालतका न्यायाधीशहरुको प्रतिष्ठा तथा सर्वोच्च अदालतको गरिमामा समेत आँच आउने परिस्थिति आएको भन्ने विषयमा हामी दुखित छौँ । न्यायपालिकाको गरिमा र न्यायाधीशहरुको प्रतिष्ठामा आँच ल्याउने हाम्रो कुनै मनसाय थिएन, छैन र रहने पनि छैन।’

त्यसैगरी नेपालखबरले लेखेको छ, ‘अहिलेसम्मको हाम्रो थप खोजबिनमा सो खबरमा उल्लेख गरिएको मिति र समयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सर्वोच्च अदालतका न्यायाधीशहरू दिपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र सपना प्रधान मल्लले भेटघाट गरेको पुष्टि हुने प्रमाण फेला परेन। त्यसैले उच्च स्रोतले दिएको सूचनाका आधारमा प्रकाशित सो खबर सच्याउँदै यसबाट सम्बन्धित न्यायाधीश र सम्मानित अदालतप्रति पर्न गएको असुविधाका निम्ति हामी क्षमा याचना गर्दछौं। साथै अबका दिनमा हाम्रा स्रोतहरूबाट आउने सूचनालाई थप पुष्टि गरिने प्रतिवद्धता पनि व्यक्त गर्दछौं।’

यी त भए कानुनी दायरामा ल्याउने चेतावनीपछि सच्याइएका मिडिया कन्टेन्ट।

बिहीबार इकान्तिपुरले भने शनिबार राति प्रकाशन गरेको समाचारको शीर्षक र समाचार हामीले हिजो फ्याक्ट चेक गरिसकेपछि सच्याएको छ।

माघ १० गते राति कान्तिपुर राष्ट्रिय दैनिकको अनलाइन संस्करण इकान्तिपुरमा ‘अख्तियारमा धूलो परेका फाइल निकाल्दै छौं : परराष्ट्रमन्त्री ज्ञवाली‘ शीर्षकमा समाचार छापिएको थियो। हामीले माघ १४ गते यो कारण दिँदै यो समाचारलाई भ्रामक (misleading) का रुपमा वर्गीकरण गरेका थियौँ- ‘मन्त्री ज्ञवालीले भाषणमा कतै पनि ‘अख्तियार’ भनेका छैनन्। समाचारको लिडलाइनमा प्रयोग गरिएको उद्धरण (कोट) पनि ज्ञवालीले बोलेको जस्ताको तस्तै हुनुपर्नेमा त्यस्तो छैन। ज्ञवालीले ‘धूलो परेका फाइललाई निकालेर हेरिन्छ’ भनेका थिएनन्, ‘वर्षौँदेखि भ्रष्टाचारका फाइलहरुमा जहाँ धुलो परेको थियो, ती फाइलहरुलाई हामीले उधिन्न थाल्यौँ’ भनेका थिए। त्यसैगरी समाचारको लिडलाइनमा अख्तियार र अदालत शब्द प्रयोग भएको छ, जुन ज्ञवालीले बोलेकै थिएनन्। मन्त्री ज्ञवालीले बोलेको भाषणलाई अख्तियारमा पेन्डिङमा रहेका केसहरुको सन्दर्भ जोडेर समाचारमा व्याख्या गर्न सकिन्थ्यो, तर त्यो नगरी नबोलिएको विषयलाई शीर्षक र उद्धरणमा राखिएका कारण हामीले यो समाचारलाई भ्रामकका रुपमा वर्गीकरण गरेका छौँ।’

फ्याक्ट चेकको भोलिपल्ट इकान्तिपुरले शीर्षक र लिडलाइन यसरी सच्यायो-

योसँगै समाचारको पुछारमा यस्तो सूचना राख्यो-

अरु मिडियाले पनि सिक्नुपर्ने कुरा हो यो। मिडियाले सकेसम्म गल्ती गर्नुहुन्न। तर मान्छे हो, कहिलेकाहीँ गल्ती हुन्छ। गल्ती भइसकेपछि त्यसप्रति माफी माग्दै भूल सुधार गर्नाले मिडियाको व्यावसायिकता नै झल्कन्छ। यसले मिडियाको विश्वसनीयता पनि आर्जन हुन्छ। विश्वका नाम चलेका मिडियाहरुले पनि गल्ती गर्छन्। तर उनीहरुले त्यसलाई स्वीकार्दै सच्याउँछन् पनि।

तर नेपालमा यस्तो चलन छैन। अहिले सोसल मिडियाको प्रभाव भएर मात्र हो नत्र त मिडियाले आफूले गरेका गल्ती स्वीकार्ने त कल्पनै गर्न नहुने जस्तो स्थिति थियो।

अहिले पनि गल्ती भएको सार्वजनिक भइसक्दासमेत ‘ह्या होस्’ भनेर चुप बस्ने, गुपचुप सच्याउने काम हुन्छन्।  जस्तै अन्नपूर्ण पोस्टको अनलाइनमा आएको यो समाचार

गल्ती सच्याउने इकान्तिपुरको यो कदमलाई ताली। अरु मिडियाले पनि सिकुन् यसबाट।

के छ विदेशमा चलन ? (पुरानो ब्लगबाट रिपोस्ट गरेको)

जब वासिङटन पोस्टले गल्ती गर्‍यो
सन् १९८१ को कुरा हो, अमेरिकाको प्रतिष्ठित दैनिक द वासिङटन पोस्टको पहिलो पेजमा एउटा समाचार छापियो- ‘जिम्मीको विश्व’ शीर्षकमा। ८ वर्षका एक बालक कसरी लागू औषधी हिरोइनको लतमा लागे भन्ने विषयमा थियो समाचार। पत्रकारिता जगतको प्रतिष्ठित पुरस्कार पुलित्जर प्राइज सन् १९८१ मा यो समाचार लेख्‍ने ज्यानेट कूकलाई दिने घोषणा भयो। समाचार छापिएपछि वासिङटन सहरका तत्कालीन मेयर म्यारिअन ब्यारीले जिम्मी नामको त्यो केटोलाई खोज्ने आदेश दिए तर पत्ता लगाउन सकेनन्। तर ब्यारीले जिम्मीलाई उद्धार गरी उपचार गराइरहेको दावी गरे। सहायक प्रबन्ध सम्पादक बब उडवर्डले यो समाचारलाई पत्याए, छापे र पुलित्जर प्राइजका लागि सिफारिश गरे। उनले पुरस्कार पनि जिते। तर पुरस्कार जितेपछि पोस्ट कै पत्रकारहरुले उनले उदधृत गरेका अज्ञात स्रोतहरुका बारे प्रश्न उठाए।

पोस्टका कार्यकारी सम्पादक बेन्जामिन ब्राडलीलाई भास्सार कलेजबाट फोन आयो- तिम्रा रिपोर्टरले हाम्रो कलेजमा पढेका छैनन् है। झस्किए सम्पादक। किनभने समाचार लेखिका कूकले आफ्नो बायोग्राफी पुलित्जरका जजहरुलाई पठाउँदा त्यो कलेजमा ग्राजुएट गरेको भनेर लेखेकी थिइन्। फेरि थाहा भयो युनिभर्सिटी अफ टोलेडोमा पनि उनले मास्टर्स डिग्री लिएकी हैन रहिछिन्। भास्सारमा एक वर्ष पढेको र टोलेडोबाट बीए मात्र गरेकी रहिछिन्। अनि समाचारका पात्र जिम्मीको खोजी थालियो। अहँ, भेटिएन। अन्त्यमा कूक आफैले स्वीकार गरिन्, त्यो केटो त छँदै थिएन, समाचारका अधिकांश अंश काल्पनिक थिए। अन्ततः कूकले राजीनामा दिए।
भोलिपल्ट पोस्टले पुलित्जर प्राइज फिर्ता गर्‍यो र आफ्नो सम्पादकीयमा यस्तो लेखेर क्षमा याचना गर्‍यो “This newspaper . . . was itself the victim of a hoax—which we then passed along in a prominent page-one story . . . How could this have happened?” समाचार लेखिकाको राजीनामा र पोस्टले इमान्दार भएर गरेको क्षमा याचनापछि यो कान्ड सकियो। तर पत्रकारिता क्षेत्रलाई सँधैका लागि एउटा उदाहरण भने छाडेर गयो। पछि यही कथामा हलिउडमा एउटा फिल्म पनि बन्यो The Hoax, जसमा रिचर्ड गेरले अभिनय गरेका थिए।
थप पढ्नुस्

समाचारदेखि प्रमाणसम्म सबै झुटा !
एउटा अर्को उदाहरण सन् १९९५ देखि १९९८ सम्म तीन वर्ष स्टेफन ग्लास नामका रिपोर्टरले दुनियाँलाई उल्लु बनाएको घटनालाई लिन सकिन्छ। यसको शिकार बनेको थियो द न्यु रिपब्लिक नामको म्यागेजिन। घटना, पात्र, उनीहरुका भनाई, स्रोत र प्रमाण सबै नक्कली जुटाएर समाचार लेख्‍ने उनको शैलिबाट कायल भएका द न्यु रिपब्लिकका सम्पादक मार्टिन परेजले पछि एउटा अन्तर्वार्तामा भनेका थिए- अब त म उसले बाहिर घाम लागेको छ भनेर भने पनि पत्याउँदिन।

उनले गरेका कयौँ फ्रड यत्तिकै रहे तर सन् १९९८ को मे महिनामा पाप धुरीबाट करायो। ह्याक हेभन शीर्षकमा उनले एक १५ वर्षका ह्याकरको बारेमा समाचार लेखे। ती ह्याकरणले जुक्ट माइक्रोनिक्स नामको कम्पनीलाई ह्याक गरेको अनि पछि त्यही कम्पनीले उसलाई सूचना सुरक्षा सल्लाहकारका रुपमा काम दिएको समाचारमा थियो। समाचार काल्पनिक भए पनि आफैले देखेजस्तो गरी यसरी लेखिएको थियो-

Ian Restil, a 15-year-old computer hacker who looks like an even more adolescent version of Bill Gates, is throwing a tantrum. “I want more money. I want a Miata. I want a trip to Disney World. I want X-Men comic [book] number one. I want a lifetime subscription to Playboy – and throw in Penthouse. Show me the money! Show me the money!. . . .”
Across the table, executives from a California software firm called Jukt Micronics are listening and trying ever so delicately to oblige. “Excuse me, sir”, one of the suits says tentatively to the pimply teenager. “Excuse me. Pardon me for interrupting you, sir. We can arrange more money for you.”

यो समाचार छापिएपछि फोर्ब्स म्यागेजिनका पत्रकार एडम पेनेनबर्गलाई शंका लाग्यो। उसले समाचारमा दिइएका तथ्यहरुलाई क्रस चेक गर्न खोजे। जुक्ट माइक्रोनिक्स नामको कुनै कम्पनी र समाचारमा उल्लेख गरिएका मानिस फेला परेनन्। यसको पर्दाफास गरी फोर्ब्सले अनलाइनमा समाचार छापेपछि पत्रिकाले आन्तरिक अनुसन्धान थाल्यो। समाचारमा वर्णन गरिएका घटना नक्कली र पात्र नक्कली रुपमा खडा गरिएको पाइएपछि सम्पादकले ग्लासलाई तत्काल बर्खास्त गरे। विस्तृत आन्तरिक छानबिन भयो र उनले लेखेका ४१ समाचारमध्ये कम्तिमा २७ वटा काल्पनिक वा बढाइचढाइ गरिएको फेला पर्‍यो। सन् २००५ मा दिइएको अन्तर्वार्तामा ग्लासले बाँकी १४ वटा समाचारमा पनि काल्पनिक कुरा भएको बताएका थिए। उनी यति खुँखार थिए कि ह्याकरसम्बन्धी त्यो समाचारका लागि उनले आफै वेबसाइट बनाएका थिए, हुँदै नभएको जुक्ट माइक्रोनिक्स कम्पनीको भ्वाइस मेल अकाउन्ट बनाएका थिए, नक्कली बिजनेस कार्ड छपाएका थिए र ह्याकर कम्युनिटीको नक्कली न्युजलेटर छापेका थिए।

द न्यु रिपब्लिकले गल्तीबारे जानकारी दिँदै आफ्ना पाठकहरुसमक्ष क्षमा माग्यो। यसबारे पनि हलिउडमा Shattered Glass शीर्षकमा एउटा फिल्म बनेको छ।

जब न्युयोर्क टाइम्सले गल्ती गर्‍यो
सन् २००६ को अप्रिल ९ मा अमेरिकाको अर्को एउटा प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले ज्याक हिटको एउटा लेख छाप्यो जसमा गर्भपात गराएको अभियोगमा एल साल्भाडोरमा एक महिलालाई जेलमा राखिएको दावी गरिएको थियो। ८ महिनापछि पत्रिकाले क्षमा माग्दै गल्ती सच्यायो। वास्तवमा ती महिलालाई बच्चा जन्मिएपछि हत्या गरेको आरोपमा जेलमा राखिएको रहेछ। लेखक गर्भपात गराउन पाउनु पर्छ भन्ने समूहमा काम गर्ने एक अनुवादकको अनुवादमा भर परेका रहेछन्।

सन् २००६ कै मार्च महिनामा न्युयोर्क टाइम्सको पहिलो पेजमा हस्सन एम फताह नामका एक रिपोर्टरले एक इराकीसँग लिएको अन्तर्वार्ता छापियो। त्यसमा ती इराकी अबु घारिब जेलमा रहेको बेलाको भनी फोटो पनि छापिएको थियो। इन्टरनेट म्यागेजिन सालोनले त्यो फोटोमाथि तुरुन्त प्रश्न उठायो र अमेरिकी सेनाले पनि। टाइम्सले त्यही फोटो वास्तविक नामसहित धेरै वर्षअगाडि नै छापिसकेको रहेछ। टाइम्सका सम्पादकले यसप्रति क्षमा मागे र त्यो मान्छेको परिचय खोज्न पर्याप्त छानबिन नगरेको स्वीकारे।

जब सीएनएन र टाइमले गल्ती गर्‍यो
सन् १९९८ को जुन ७ मा सीएनएनले एउटा समाचार दियो- भियतनाम युद्धका क्रममा युद्ध छाडेर भाग्ने अमेरिकी सैनिकहरुलाई अमेरिकाले लाओसमा नर्भ ग्यास प्रयोग गरी मारेको थियो। जुलाई ७ तारिखमा सीएनएनले यो समाचार गलत रहेको स्वीकार्दै आफ्ना दर्शकसमक्ष यसरी क्षमा माग्यो-

We acknowledge serious faults in the use of sources who provided NewsStand with the original reports and therefore retract the Tailwind story.

We apologize to our viewers and to our colleagues at Time for this mistake.

We have learned a lot from the mistakes made, and we will try to avoid them in the future भन्दै टाइम म्यागेजिनले पनि यही विषयमा छापिएको आफ्नो कभर स्टोरीप्रति क्षमा माग्यो।

माथिका केही त उदाहरण मात्र हुन्, जसले देखाउँछ पत्रकारितामा गल्ती हुन्छ। तर त्यो गल्तीलाई लुकाउन खोज्नु अर्को महागल्ती हुन्छ। गल्ती भएपछि त्यसलाई स्वीकार गर्नु आगामी दिनमा गल्ती हुन नदिन गरिएको संकल्प हुन्छ। गम्भीर गल्ती गरेका मिडियाहरु गल्ती स्वीकार गरेपछि अघि बढेका छन्। गल्ती स्वीकार्दा मिडियाप्रतिको विश्वास घट्दैन, दीर्घकालीन रुपमा बढ्छ। दुर्भाग्यवश नेपाली मिडियाले यस्तो चलन पछ्याउन अप्ठेरो मान्छ।

1 comment to अरु मिडियाले ‘इकान्तिपुर’बाट सिक्नुपर्ने कुरा

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)