यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

गंगालाललाई गोली ठोक्ने आदेश पाएका व्यक्ति उल्टै क्वाँ-क्वाँ रोएर भागेको त्यो क्षण


प्रतिगमनको विरोध गरिरहेको नागरिक आन्दोलनले आज शोभा भगवतीमा कार्यक्रम गर्दैछ। अहिले त नेपालमा कसैलाई पनि मृत्युदण्ड दिइँदैन। तर विक्रम संवत् १९९७ मा त्यहाँ दुई जना व्यक्तिलाई शहीद बनाइएको थियो। हिले शहिद सप्ताह मनाइँदैछ नेपालमा। त्यसो त अहिले शहिदहरु थुप्रै भइसके। तर शहिद भन्ने बित्तिकै धेरैलाई याद आउने चार जनामा उही दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री नै हुन्।

त्यो दिन रातको दश बजेको थियो। माघ महिनाको चिसो सिरेटोले मुटु नै कमाउँथ्यो। त्यही बेला राजद्रोहको मुद्दामा ज्यानसजाय पाएका नेपाल आमाका दुई सपुत दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली ठोकेर मृत्युदण्ड दिनका लागि विष्णुमतीको किनारमा रहेको शोभाभगवतीतर्फ लगिंदै थियो। उनीहरूलाई लिएर एउटा लहरी सिंहदरबारबाट प्याफलको बाटो हुँदै अगाडि बढिरहेको थियो। त्यही लहरीमा मृत्युदण्डको काम तामेली गर्ने आदेश पाएका राणाका अफिसर, सिपाही, आठपहरिया र दुई पोडेको टोली पनि थियो। उक्त टोलीको नेतृत्व जनरल नरशमशेरले गरेका थिए। उनका साथमा उनीमुनिका कर्णेल चन्द्रबहादुर थापा, मेजर ‘प्राणराज’ भन्ने ठकुरीलगायतकाहरू पनि संलग्न थिए।

मृत्युदण्डका लागि वधस्थलतर्फ लगिएका दुई सपुतमध्ये कलिलो उमेरका गंगालाललाई राणाशासक जुद्धशमशेरसमेत माफी मगाउन चाहन्थे। त्यसैले बाटोभरि लहरीमा नरशमशेरले गंगालाललाई माफी मगाउने प्रयास गरिरहे। यद्यपि प्रजातन्त्रका लागि प्राणाहुति दिन आतुर गंगालालले माफी मगाउन चाहने नरशमशेरलगायतका सिपाही अफिसरहरूलाई मुखभरिको जवाफ दिंदै भनिरहे– ‘हामीले के बिगारेका छौं र माफी माग्ने ? बरु तिमीहरूले हामीसँग माफी माग्नुपर्छ।’

उमेरमा कलिलै भए पनि उनी जोशिला र वीर थिए। अत्यन्तै निडर स्वभावका उनले जेलमा चरम यातनाको शिकार हुँदा पनि कहिल्यै आफ्नो शिर राणासामु झुकाएनन्। मृत्युदण्डको फैसलाका समयमा पनि कति पनि विचलित नभएका उनलाई मृत्युदण्डको अन्तिम समयसम्म माफी मगाउने प्रयत्न भइरऽयो।

अन्ततः दुई सपुतलाई लिएर हिंडेको लहरी शोभाभगवतीस्थित भाचाखुसी दोभानमा पुग्यो। त्यहाँ बाँसका खम्बाहरू गाडेर त्यसअघि नै फाँसी दिने ठाउँ तयार गरिएको थियो। दुवैलाई त्यही खम्बामा बाँधेर पुनः जनरल नरशमशेरले गंगालाललाई भने– ‘फेरि एक पटक समय बाँकी छ, माफी माग्।’

तर गंगालालले नरशमशेरको प्रस्तावलाई लत्याउँदै अत्यन्तै घृणाका साथ जवाफ दिए– ‘बरु अन्याय र अत्याचारका लागि गल्ती महसुस गर्दै तैंले माफी माग्।’

गंगालालबाट यस्तो जवाफ आएपछि नरशमशेर दशरथ चन्दतर्फ फर्केर भने– ‘भन् तेरो अन्तिम इच्छा के छ?’

जवाफमा दशरथ चन्दले भने– ‘मलाई राणाशासन खत्तम भएको हेर्ने इच्छा छ, के तैंले त्यो इच्छा पुर्‍यायाउन सक्छस्?’

गंगालालको अडान र दशरथ चन्दको राणाशासन खत्तम भएको हेर्ने इच्छा ! यस्तो अनपेक्षित जवाफ सुनेपछि नरशमशेरलाई खपिनसक्नु भयो र उनले पोडेलाई आदेश दिए– ‘गोली ठोक’
उनीहरूको हत्याका लागि दुई जना तालिमप्राप्त पोडेहरू लगिएका थिए। उनीहरूमध्ये एक पोडेले नरशमशेरको आदेशअनुसार सर्वप्रथम दशरथ चन्दको खुट्टामा गोली हान्यो। उनकै आदेशमुताविक दोस्रो गोली तिघ्रामा हान्यो। त्यसपछि दशरथ चन्दको तिघ्रा र खुट्टाबाट रगतको भल बग्न थाल्यो, उनी छटपटाउन थाले।

आफ्ना साथीको यस्तो छटपटाहटले गंगालाललाई खपिनसक्नु भयो। उनले त्यो सहन सकेनन् र दशरथलाई गोली दागिरहेकाहरूलाई कडा स्वरमा भने– ‘यदि सक्छस् भने तेरो बाउलाई एकै गोलीले हानेर मार्।’

गंगालालको उक्त स्वर सुनेपछि नरशमशेरले गंगालालको घुँडामा गोली हाने। त्यसपछि उनले पोडेलाई दशरथको कोखामा गोली हान्न लगाए, अनि त दशरथ झन् छटपटाउन लागे।

दशरथ चन्दको छटपटाहट देखेर गंगालालले माफी मागून् भन्ने चाहनाअनुसार एकै पटकमा उनलाई नमारिएको भनाइ ‘नेपालको प्रजातान्त्रिक इतिहासमा प्रजापरिषद्को भूमिका’ का लेखक डा. राजेश गौतमको छ। तर नरशमशेरको आग्रह र चाहना विपरीत गंगालालले माफी माग्नुको सट्टा नरशमशेरलगायतका राणाहरूलाई बारम्बार गाली गरिरहे। अन्त्यमा नरशमशेरले पोडेलाई दशरथ चन्दको छातीमा गोली हान्न अह्राएपछि मात्र दशरथ चन्दले गोलीको अन्तिम प्रहारमार्फत सम्पूर्ण पीडाबाट मुक्ति पाए।

वि.सं. १९९७ माघ १४ गतेको त्यो मध्यरातमा दशरथ चन्दले राजा, देश र जनताका लागि प्राणको आहुति दिएर अमर शहीद बने।

यता शहादत प्राप्तिका खातिर गंगालाल दुई गोली खाएर छटपटाइरहेका थिए। उनीहरू गंगालाललाई सकेसम्म माफी मगाउन चाहन्थे। तर आहुतिका लागि तयार गंगालाल अझै पनि माफी माग्न तयार थिएनन्।

गंगालालको त्यो छटपटी देखेर गोली हान्नका लागि लगिएको पोडेले गोली हान्न मानेन। बरु गंगालालको त्यो पीडादायक छटपटी देखेर क्वाँक्वाँ रुन थाल्यो। नरशमशेरले उसलाई धेरै फकाए, प्रलोभन देखाए तर पनि त्यो पोडे गंगालाललाई गोली ठोक्न तयार भएन। दशरथ चन्दलाई गोली हान्ने पोडेलाई नरशमशेरले गोली ठोक्न अराए तर ऊ पनि डरले थरथर कामिरहेको थियो। उसले भन्यो– ‘म गोली हान्न सक्तिनँ।’ अन्त्यमा जनरल नरशमशेर स्वयम्ले गंगालालमाथि गोली प्रहार गरे। पहिले पेट र त्यसपछि कोखामा लागेको दुई गोलीले गंगालालको प्राणपखेरु उड्यो र १९९७ को माघ १४ गतेकै मध्यरातमा दशरथ चन्दसँगै उनले पनि शहादत पाई अमर शहीद बने।

नरशमशेरको अर्कै कुरा
नेपाल प्रजापरिषद्का एक सदस्य गोविन्दप्रसाद उपाध्ययद्वारा लिखित ‘नेपालको प्रजातान्त्रिक इतिहास सन्दर्भ’ मा उल्लेख भएअनुसार गंगालाललाई हानिएको गोलीमध्ये तीन गोली नरशमशेर स्वयम्ले हानेका थिए। अन्तिम दुई गोली हान्न पोडेलाई सघाएको उपाध्यायले उल्लेख गरेका छन्।

यसैगरी इतिहासकार डा. राजेश गौतमले पनि गंगालाललाई गोली हान्ने नरशमशेर भएको बताएका छन्। आफ्नो पुस्तक ‘नेपालको प्रजातान्त्रिक इतिहासमा प्रजापरिषद्को भूमिका’ तयार गर्ने क्रममा डा. गौतमले मृत्युदण्डका लागि खटिएकाहरूमध्ये मेजर वेदबहादुर सिलवाल, लेफ्टिनेन्ट कृष्णबहादुर थापा र दोस्रो पोडेसित भेट भएको बताएका छन्।

तर नरशमशेरले भने दशरथ र गंगालाललाई आफूले गोली नहानेको दाबी गरेका छन्। उनले तन्नेरी द्वैमासिकको वर्ष २२ अंक १ मा प्रकाशित ‘नरशमशेर इतिहास र संस्मरण’ मा आफूले गोली हान्ने पोडेलाई सघाएको मात्र बताएका छन्।

यसरी गोली हान्न सघाएको मात्र कुरा गर्ने जनरल नरशमशेरले हालै प्रकाशित ‘उहाँकै जुवानी’ नामको आत्मवृत्तान्तमा उल्लेख गरेअनुसार दशरथलाई अनुभवी पोडेले एकै गोलीमा ‘काम खत्तम’ गरेको थियो। तर गंगालाललाई गोली हान्न लगिएको दोस्रो पोडेले भने बन्दुकको ट्रिगर तान्नुको सट्टा उल्टै उक्त बन्दुक फयाँकेर भागेको हुनाले सिपाहीहरूले पक्रेर ल्याएको उल्लेख गरिएको छ। दशरथलाई मार्दा त आफू र कर्णेल चन्द्रबहादुर थापा अलि परको पाटीमा बसेको र त्यहीँ सिपाहीहरूले उक्त पोडेलाई पक्रेर हाजिर गराएको बताइएको छ।

तर उक्त पोडेलाई अनेक प्रलोभन, धम्की दिंदा पनि ‘बरु मलाई मारे हुन्छ, म त सक्दिनँ’ भनी भुइँमा लडिबुडी गर्दै रुन लागेकोले पहिलेकै पोडेलाई थप बक्सिस दिने आश्वासनका साथ अर्को एक बोतल रक्सी पनि पिलाई पाटीबाट आफू आएको नरशमशेरले बताएका छन्। ‘एकैचोटी मार्ने भन्दाभन्दै मेरो साथीलाई पहिले किन मारिस्, मलाई पनि गोली ठोक्’ भन्दै कराइरहेका गंगालालतर्फ अंगालो हालेर पोडेलाई त्यहाँसम्म पु¥याएको र बन्दुक तेस्र्याउन सघाएको तर बन्दुकको ट्रिगर भने पोडेले नै तानेको कुरा नरशमशेरले उल्लेख गरेका छन्।

तर उनको उक्त भनाइ इतिहासकारहरूले तत्कालीन व्यक्तिहरूलाई स्रोतका रूपमा राखेर तयार पारेको इतिहाससित मेल खाँदैन।


नरशमशेर जबरा राणा शासन ढलेर प्रजातन्त्र आइसकेपछि २००७ सालदेखि २०१० सालसम्म तीन वर्ष प्रहरी प्रमुख रहे। फोटो साभार : नेपाल प्रहरी वेबसाइट

गोली हान्न नमान्ने पोडेलाई जेल सजाय

गंगालाललाई गोली हान्न नमान्ने र बरु आफैलाई मारिदिनू भन्दै रुने अनुभवहीन पोडेलाई गोली हान्न नमानेकै निहुँमा राणा सरकारले ६ महिनाको जेल सजाय दिएको डा. राजेश गौतम जानकारी दिन्छन्। डा. गौतमका अनुसार जेल सजाय पाउने उक्त पोडेसित गौतमको भेट भएको थियो। भेट हुँदा तत्कालीन घटनाको इतिवृत्तान्त आफूलाई पोडेले बताएको गौतमबाट थाहा भएको छ।

मृत्युदण्डको फैसला सुनाएपछि दशरथचन्द र गंगालाल श्रेष्ठले दुवैले एकैचोटी एक ठाउँमा मर्न पाऊँ भन्ने प्रस्ताव राखेका थिए। उनीहरूले मर्नुभन्दा अगाडि शोभाभगवतीको दर्शन गर्न पाऊँ भन्ने माग राखे। उनीहरूले शोभाभगवतीमै राणाशासन ढाल्ने प्रण गरेपछि प्रजापरिषद्को सदस्यता लिएका थिए।

शोभाभगवती पुगेर दशरथ र गंगालालले पूजाको टपरी मन्दिरभित्र चढाएर मन्दिरको परिक्रमा गर्दै ‘भगवती माता आज हामी दुवै प्रसन्न छौं, हजुरकहाँ पहिले आएर राणाशासन ढाल्ने भाकल गरेका थियौं, हजुरकहीँ आएर प्राण त्याग गर्न पायौं’ भनेका थिए।

(२०५८ सालमा प्रकाशित ‘साधना’बाट)

सम्बन्धित ब्लगहरु-

दुई पटक फाँसी दिन खोज्दा पनि बचेका धर्मभक्तलाई कुटेर झुण्ड्याइएको त्यो दिन

काठमाडौँमै मध्यरातमा फाँसी दिएर दिनभर रुखमा झुण्ड्याइएको त्यो दिन

2 comments to गंगालाललाई गोली ठोक्ने आदेश पाएका व्यक्ति उल्टै क्वाँ-क्वाँ रोएर भागेको त्यो क्षण

  • गौरव

    के गर्ने? २००७ सालपछि पनि त्यस्तै हत्यारा र जल्लादलाई पूजा गरिए| तिनैका दुइटी छोरी महेन्द्रका दुईभाईले बिहे गरेका थिए|
    मोहनशम्सेर जो प्रधानमन्त्री थिए उनले भारतको दवाबमा मक्ख परेर असमान सन्धि गरेका हुन जुन अहिले हामीले भोग्न परिरहेको छ|
    मोहनशम्सेर, नरशम्सेर र अन्य आसेपासे चरित्रहरुबारे थप खोज अनुसन्धान गर्न हाम्रा ईतिहासकारहरु डराए वा बातावरण मिलेन त्यो खुल्न बाँकी छ| तुरन्त सात साल पछि, पञ्चायतकाल र राजतन्त्र रहुन्जेल सम्म कसैले खुलेर आउने हिम्मत नै गरेनन| कलमकारहरु पनि स्तुती गान मै रमाए| आफ्नो अह्राएको कामभन्दा पनि बढी गएर मार्ने र प्रताडित गर्ने हत्यारा कसरी सातसाल पछि पनि प्रहरीको हाकिम बने कसैले प्रश्न उठाएका छैनन| ईतिहासकार फलानो शम्सेर र तेलानो शम्सेरले खाली गुणगान र आफुलाई मन नपरेका कुराको मात्र खुलासा गरे, बयान गरे, स्तुती गरे तर साँचो अनि तथ्यगथ्यलाई ओझेलमै पारीदिए| अरु बाजेखाजे ग्वाँजेहरु लेखक इतिहासकारको नाउमा कलंक भएर खाली झुटो बर्णन र स्तुतीगर्नतिर मात्र लागे| एकाडेमीया ब्रित्तमा नुन खाएकाहरु र प्रतिपालक बीच पनि अवस्था त्यस्तै रह्यो| सबै गन्हाउने तर को कती गन्हाउने भनेर खोज्न भन्दा गन्ध होइन वास हो भनेर सच्चाईलाई उल्टो मोढ दिने भेटिए|
    जुन देशको ईतिहास झुटमा निहित हुन्छ त्यो तगदैन| खोज अनुसन्धान गरेर निकाल्ने काम हाम्रो हो| अहिले पनि डरलाग्दो छाया र छ वि बोकेका ब्यक्तीहरुले महत्वपूर्ण पद लिने चलन घटेको छैन| अझ बढेको होला| फेरि त्यस्तो नहोस जस्तो भएको थियो|

  • D.B. Nepal

    It is unbelievable that after King TBBSD’s democracy came to power and this guy was still a police head for three more years. No wonder Nepal’s system was so bad since back then. Thanks for the information though.