यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

खोपमा विश्वास नहुँदा नेपालमा राजाको ज्यान गएको त्यो बेला

अहिले कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरण सकिन लागेको छ। पहिलो चरणमा फ्रन्टलाइनरहरुलाई खोप दिइएको थियो। अहिले त हेर्नुस् सामाजिक सञ्जालको बेला छ। देशविदेशमा मान्छेहरुले मैले खोप लगाएँ भनेर पाखुरा देखाएर फोटो हाल्छन्। त्यो देखेपछि ए, उसले त लगाएछ भनेर जे भए पनि मनोवैज्ञानिक रुपमा विज्ञानप्रति विश्वास जाग्छ। तर त्यतिबेला कहाँ त्यस्तो थियो र !

खोपमा विश्वास नभएर सरकारले नै रोक लगाएको र त्यतिबेलाका राजाको ज्यानै गएको घटना पनि रहेछ। आज एउटा पुरानो पत्रिका पल्टाउँदा डा. भद्ररत्न बज्राचार्यको लेख फेला पर्‍यो। विफर अर्थात् स्मल पक्सको महामारीसँग सम्बन्धित छ यो विषय।

आजभन्दा २ सय २२ वर्षअघि अर्थात् वि.सं. १८५५ तिरको कुरा हो। त्यस वर्ष रणबहादुर शाहले आफ्ना छोरा गीर्वाणयुद्धविक्रमलाई राजकाज सुम्पिई सन्यासी जीवन ग्रहण गरे। उनकी प्रिय महारानी कान्तिमतीलाई साथमै लिई उनी देवपत्तनमा बसेका थिए।

त्यतिबेला कान्तिमती क्षयरोगबाट पीडित थिइन् र उनको उपचार भइरहेको थियो। उपचार भइरहेकै समयमा काठमाडौं उपत्यकामा विफरको महामारी फैलियो। त्यो रोग कान्तिमतीमा पनि सर्‍यो। वि.सं. १८५६ मा रोग निको भइसकेपछि ऐना हेर्दा आफू कुरूप भएको देखेर कान्तिमतीले आत्महत्या गरेकी थिइन् भन्ने अफवाह त्यस बेला काठमाडौं उपत्यकामा फैलिएको थियो।

विफरको महामारी काठमाडौं उपत्यकामा चारैतिर फैलिएपछि रणबहादुर शाहलाई आफ्नो छोराको चिन्ता बढ्न थाल्यो।

विफर नआएका छोरालाई बचाउन राजाले विफर लागेका सम्पूर्ण बालबालिकाहरूलाई नै काठमाडौँ उपत्यकाबाट बाहिर धपाउने निर्णय गरे।

त्यसबेला धेरै नेवार परिवारले बालबालिकासहित उपत्यका छाड्नु परेको थियो । यसले एउटा परम्परागत नेवारी गीत ‘शीतलामाजु माई’ सम्झाउँछ । यो गीतमा ‘माता शीतला’ भनी विफरकी देवीलाई सम्बोधन गरिएको छ।

‘हे माता शीतला’ भन्दै गीतको पहिलो हरफले ‘हेर तिम्रा भक्तहरुको दयनीय अवस्था नियाल ! सैनिकले घेरेर राखिएका यी बालबालिकालाई देशबाहिर निकालिंदैछ’ भन्ने भाव व्यक्त गरेको टम रबर्टसनले लेखेका छन्। 

कान्तिमतीको मृत्युले रणबहादुर शाहलाई देवी शीतला माईप्रति निक्कै क्रोधित तुल्यायो। आफ्नी रानीको मृत्युको कारण विफरको प्रकोप भएकोले उनले शीतला माईको मूर्तिलाई फोहर लिपेर फाल्न लगाए। शायद काठमाडौं उपत्यकाका जनताले रणबहादुर शाहको शीतला माईप्रतिको यो दुर्व्यवहार र बालबालिकाहरू धपाइएको घटनाबाट मर्माहत भई आफ्नो घरमा कसैलाई यो रोग लाग्ला वा आफू पनि निस्काशित हुनुपर्ला भनेर रणबहादुर शाहको दुहाई माग्ने प्रचलनको थालनी गरेका थिए।

रणबहादुर शाहको दुहाई मागेर शीतला माईको प्रकोपलाई काठमाडौं उपत्यकाबाट सदाको निमित्त पन्छाउन भने कसैले पनि सकेनन्। यस संक्रामक रोगले कति केटाकेटीको अल्पायुमै मृत्यु भयो, कति परिवार तहसनहस भए, कति कुरूप, अपाङ्ग भई बाँच्न बाध्य भए भन्ने कुराको लेखाजोखा नै छैन। तर एउटा कुरा भने के सत्य छ भने साधारण जनताका परिवारमात्र यसबाट पीडित नभई रणबहादुर शाहका परिवारलाई नै यसले सखाप पारेको थियो।

यस प्रसंगमा वि.सं. १८७३ मा विफरको महामारीबाट राजदरवारमाथि परेको बज्रपात उल्लेखनीय छ। वि.सं. १८७३ तिर पुनः काठमाडौँले विफर रोगको महामारीको सामना गर्नुपयो। त्यस बेलाको नेपालले अंग्रेजहरूसँग भएको युद्धमा भोग्नुपरेको पराजयको तीतो अनुभवलाई बिर्सनसम्म पाएका थिएनन् अथवा युद्धमा नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाउनुपरेको चोट निको भइसकेको थिएन, तैपनि विफरको महामारीले काठमाडौंमा भयंकर आतंक फैलाइहाल्यो।

विफरको विरुद्ध खोप लगाउने चलन आइसकेको थिएन तर पनि नेपालमा बृटिश राजदूतका चिकित्सकका रूपमा नियुक्त भई काठमाडौं आएका चिकित्सकले विफरका विरुद्ध खोप लगाउन प्रारम्भ गर्न थाले। बनेपा भेगमा यो प्रयोग सफलताका साथ अगाडि बढिरहेको थियो तर त्यही समयमा सरकारले यसलाई जनविरोधी र नेपालको सांस्कृतिक मान्यता विपरीत हुन गएको कारण देखाई खोप अभियान रोक्ने आदेश पठायो।

अब यो महामारी राजदरवारभित्र फैलियो। सबैभन्दा पहिले यस रोगले प्राण शाह (रणबहादुर शाहका नातेदार) को घरमा आक्रमण गर्‍यो। त्यहाँबाट राजदरवारभित्र रोगले च्याप्न थाल्यो। सर्वप्रथम तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहका सबै छोराछोरीमा विफर सर्‍यो। यस रोगका शिकार भएका गीर्वाणयुद्धका कान्छा छोराको नोभेम्बर २ तारिखमा मृत्यु भयो।

यस रोगले राजामाथि आक्रमण नगरोस् भन्ने उद्देश्यले गीर्वाणयुद्धलाई छुट्टै घरमा बस्ने व्यवस्था मिलाइयो। अचेल कोरोना लागेकाहरु आइसोलेसनमा बसे जस्तै।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले बृटिश राजदूत समक्ष राजपरिवारका सदस्यहरूलाई खोपाउने व्यवस्था मिलाउन आग्रह गरेका थिए। तर, खोपप्रति विश्वास थिएन। त्यसैले राजपरिवारमाथि खोपको प्रयोग गर्नुभन्दा अगाडि एक निरोगी व्यक्तिमा खोप लगाई औषधिको असरबारे अध्ययन गर्ने निर्णय भयो। त्यही कारण राजपरिवारमा खोप लगाउने कार्य ढिला हुन गयो।

संयोग हेर्नुस् त, खोप लगाउनु अघि नै राजा गीर्वाणयुद्धविक्रम शाहमाथि उक्त रोगले आक्रमण गरिहाल्यो।

गीर्वाणयुद्धविक्रम शाहलाई विफर रोगबाट बचाउन हरसम्भव प्रयास गरियो, तर उक्त रोगबाट २० वर्षीय जवान राजालाई कसैले बचाउन सकेन। रोग चर्कँदै गएपछि नोभेम्बर २० तारिखका दिन गीर्वाणयुद्ध विक्रमको मृत्यु आर्यघाटमा भयो। नेपाली संस्कार अनुसार उनकी जेठी रानी (जसको छोराको विफरकै कारणबाट केही दिनअगाडि मृत्यु भइसकेको थियो) ५ वटी दासीहरूका साथ सती गइन्। गीर्वाणयुद्धकी कान्छी रानी गर्भवती भएकी हुनाले उनी सती जानबाट रोकिइन्।

तर कस्तो विडम्बना! रणबहादुर शाहको मोहर घोटेर पिलाएमा प्रसव दर्द हट्छ भन्ने धारणा जमाउन सक्ने राजाकी कान्छी बुहारीको मृत्यु अन्ततः प्रसव व्यथाबाट नै हुन गयो। तत्कालीन बृटिश राजदूत गार्डनरले आफ्नो सरकारलाई गीर्वाणयुद्धकी कान्छी महारानीको डिसेम्बर १६ तारिखमा मृत्यु भएको खबर पठाए। त्यसो त उनको मृत्यु विफरबाट भएको थियो भनेर जनसाधारणमा प्रचार गरियो, तापनि शोकाकूल राजपरिवारको ध्यान गर्भवती कान्छी महारानीको स्वास्थ्यको हेरचाहतर्फ नगएको एवं गीर्वाणयुद्धको असामयिक मृत्युको आघात सहन नसकी गर्भ तुहिन जाँदा मृत्यु भएको समाचार गार्डनरले बेलायतमा पठाए।

Comments