यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

दिल्लीमा पाँच बूँदे सहमति हुँदै गर्दा मलाई राजा मान्ने कि ज्ञानेन्द्रलाई बहस : त्रिभुवनको आत्मकथा


(आज फागुन ७। प्रजातन्त्र दिवस। राजा र नागरिक मिलेर राणा शासनलाई ढालेर प्रजातन्त्र ल्याएको दिन। प्रजातन्त्रका लागि के कस्ता कठिनाइ भोग्नुपरेको थियो भन्ने बारे एसपी आसाले त्रिभुवनको आत्मकथा शैलीमा उपन्यास लेखेका थिए- ‘हामीले कसरी प्रजातन्त्र ल्यायौं’। त्यसैको एक अंश)

२००७ साल माघ १८ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन भएछ। धेरै मानिस समातिएछन्। ‘निरंकुश राणा शासन मुर्दावाद’, ‘श्री ५ त्रिभुवन जिन्दावाद’ भन्ने नारा लागेछ। ब्रिटिस र अमेरिकाका प्रतिनिधिहरुले मोहनशम्शेरसँग भेटवार्ता गरेछन्। तर मोहनले आफ्नै कुरा ठीक भनी अडान लिएपछि यी दुवै देशले भारतले अपनाउने नीति अपनाई ज्ञानेन्द्रको राज्यारोहणलाई अवैध मानेछन्।

यसबेलासम्म सशस्त्र क्रान्तिले उग्ररुप लिइसकेको थियो। उनीहरु (मुक्तिसेना) क्रान्तिमा भाग लिनुअघि आत्मराम ओझाले लेखेको राष्ट्रिय गीत गाउने गर्थे। यो गीत सबैले मिलेर गाइसकेपछि अनि अगाडि बढ्ने गर्थे रे। त्यो गीत यस्तो बोलीमा रहेछ :

सेती गण्डकी पश्चिम काली पूर्व छ मेची सिमाना
मानसरोवर उत्तरपथको प्राकृत बन्यो निशाना
गोरखावीर जगत प्रख्यात अमर नाम गर आउ
देशद्रोही शोषक नाम मिटाउ

वीरगञ्ज, विराटनगर, कोइलावास, दाङ, देउखुरी, भालुवाङ, जाजरकोट, मुसिकोट, प्युठान, सल्यान, सुनारपानी र अरु धेरै ठाउँ मुक्तिसेनाले कब्जा लिइसकेको थियो। काठमाडौं जेल तोड्न गएको जुलुसमाथि गोली चलाउँदा धरहरानजिकै भोगेन्द्र सिं भन्ने मारिएछन्।

भक्तपुर, पाटनमा पनि यस्ता जुलुस ठाउँ ठाउँबाट निस्किए। राणा सरकारले अब कन्ट्रोल गर्न सक्ने अवस्था भएनछ। यसपछि म बसेको हैदरावाद हाउसमा मलाई भेट गर्न सिंहशमशेर केशरशमशेर र विजयशमशेर आएको खबर आयो।

मैले सबैसँग सल्लाह गरेर यिनीहरुलाई भोलिपल्ट भेट गरेँ। उनीहरुले मलाई आराम विरामको प्रश्न सोधे। मैले बडो दयनीय अवस्थामा भने – शरीरलाई आराम छ तर मोहनशमशेरको एकोहोरो प्रवृत्तिले देशमा नेपालीहरुले दु:ख पाएको देख्दा मनमा चाहिँ पटक्कै आराम छैन।

उनीहरुले कुनै जवाफ नदिएर अकमक्किएर मलाई हेरिरहे। त्यसपछिका अन्य भलाकुसारीपछि मैले मोहनशमशेरलाई देखाएर स्वीकार गराउन ५ बुँदे टिपोट दिएँ। त्यो यसप्रकार थियो :

श्री ५ त्रिभुवनलाई नेपालको राजा मान्ने

नेपालको नयाँ विधान तयार गर्ने र बालिग मताधिकारको आधारमा चुनाव गर्ने

सबै राजनीतिक बन्दीहरुलाई तुरुन्त रिहा गर्ने

राजनीतिक संगठन बनाउने अधिकार दिने

राणाहरु र जनप्रतिनिधिहरु भएको १४ जनाको संयुक्त मन्त्रिमण्डलको गठन गर्ने

यता (दिल्ली) पाँच सुत्रीय प्रस्तावको विषय थियो भने काठमाडौंमा मलाई राजा मान्ने कि ज्ञानेन्द्रलाई राजा मान्ने विषयमा गुटबन्दी सुरु भएछ।

यी दुई समुहहरुमा छलफल भएछ। मलाई दिल्लीबाट फर्काउनुपर्छ भन्ने राणाहरु पहिले २०-३० जनामात्र थिए। पछि बढेर १२० जनासम्म पुगेछन्। त्यसैबेला बालकृष्ण शमशेर, जनार्दन शमशेरले ‘ओम शान्ति जय नेपाल’ नारा लगाएर ‘शमशेर’ हटाएर ‘सम’ मात्रै राख्ने निर्णय गरेछन्। उनीहरुले आफ्नो कम्पाउण्डको पर्खाल त पहिले नै होचो पारिसकेका रहेछन्।

राणाहरु आठपरिया र केही सिपाईहरु जम्मा गरी गोरखादल भन्ने समूह गठन गरेछन्। त्यसको केही दिनपछि त्यही गोरखादलले हातमा नाङ्गो खुकुरी लिएर असनबाट नारा लगाउँदै जनतालाई आतंकित बनाएछ। त्यसपछि गोरखादललाई खुकुरी दल भन्न थालिएको रहेछ।

काठमाडौंमा खुकुरी दलको आतंकले त्रसित भएका युवाहरुले टोल रक्षा समिति बनाएर रातभर टोलको रक्षाका लागि पालैपालो पहरा दिएछन्। रातरातभर युवाहरु जमात बनाएर घुम्न थालेछन्। केही सीप नलाग्ने देखेपछि विजयशमशेरले यो पाँच प्रस्ताव नमानी सुख छैन भनी ‘कोड’ शब्दमा मोहनशम्शेरसँग आवामा कुरा गरेछ।

यो समस्याको समाधानका लागि छलफल गर्न मोहनशमशेरले सिंहदरबारमा पुस २३ गते सबै भारदारलाई उर्दी गरेछन्। भेला भएका सबै भारदारले अगाडि मलाई राजा नमान्ने भनेको भए पनि अहिले चै मलाई नै राजा मान्ने भनेर दस्तखत गरेछन्।

सिंहदरबारको पटांगिनीमा राखेको पुस्तकमा हाँसीहाँसी सबैले दस्तखत गरेको देखेपछि मोहनशमशेरले बल्ल राजनीति बुझेर हार स्वीकार गरी भारतले राखेको पाँच बुँदे प्रस्ताव मान्न बाध्य भएको रहेछ।

२००७ साल पुस २४ गते मोहनशमशेरले ६ बुँदे प्रस्तावको घोषणा गरेछन्। ६ बुँदामा ५ बुँदा त मैले पठाएजस्तै हो। अर्को एक बुँदा प्रस्तावमा चाहिँ मात्र शब्दले नमान्दा ज्ञानेन्द्रले मान्यता नपाएको हो भन्ने परेको रहेछ। त्यसपछि नेपालको सशस्त्र क्रान्ति रोक्न लगाएर भारतमा दिल्लीबाटै प्रचार गरियो।

सबै खुसी भए। काठमाडौंमा मेरा प्रजाहरु पनि खुसी भए। २००७ साल फागुन ४ गते म दिल्लीबाट काठमाडौं हवाइ मैदानमा उत्रिँदा मेरो हातमा सम्झौतापत्र थियो। मनमा नयाँ हौशला थियो।

मेरा स्वागतमा अपार जनसमूह थियो भने यता मोहनशमशेर पनि छातीमा तक्मा भिरेर लामो कोट लगाएर हातमा लठ्ठी लिएर टाउको निहुर्‍याउँदै एयरपोर्टमा मेरा स्वागतमा थिए। यसरी हामीले प्रजातन्त्र ल्याएका हौं।

2 comments to दिल्लीमा पाँच बूँदे सहमति हुँदै गर्दा मलाई राजा मान्ने कि ज्ञानेन्द्रलाई बहस : त्रिभुवनको आत्मकथा

  • नारायण निरौला

    त्रिभुवनले भारतसँग झुकेरै भए पनि देश जोगाएका हुन्। नत्र पटेलले कुल्चने थिए। उत्तरबाट माओको पनि ठूलो बिगबिगी थियो। तिब्बतलाई हत्केलो मानेर त्यसका पाँच औंला अरुणाचल भूटान सिक्किम नेपाल र जम्बुकस्मीर हुन् अब ती लिनु छ भनेर घोषणा गरिसकेको थियो। त्यस अबस्थाबाट उनले नेपाल भन्ने देश जोगाएका हुन्। जुन बेला भारतले धमाधम अनेकौं राज्यका जामहाराजाहरूलाई भेला गर्दै साम दाम दण्ड भेद प्रयोग गरी राज्य एकीकरण गर्दै थियो त्यसबेला जुन जुक्तिले देश बचाए त्यही ठूलो कुरो हो। कसैले ठूला कुरा नगरे हुन्छ। त्रिभुवनलाई यस कुरामा गाली गर्नेले अहिले जस्तो सजिलो समयमा राज्यशक्ति हात लिएर काँगगडा पुगेर देखाउन, दक्षिणमा गङ्गानदी उत्तरको भाग फि्ता ल्याउन, त्यति पनि नसके नेपाली बस्ती भएको टिस्टा पश्चिमको भूभाग ल्याउन, त्यो पनि नसके लिपुलेक फिर्ता ल्याउन, त्यो पनि नसके नेपाल भारत सीमा बन्द गरुन् त्यो पनि नसके भारत बिरुद्ध के गर्न सक्छन् (प्रचारबाजीलाई छाडेर) गरेर देखाउन्।
    नत्र कसैले केही नखोके पनि हुन्छ यसो र त्यसो भनेर?

  • बीर बीर नेपाली

    नेपालको प्रजातन्त्र यात्राको ठुलो विडम्बना मोहनशम्सेर र त्रिभुवन हुन| कसरी सात सालको निरंकुश जहानिया शासन बिरुद्धको क्रान्तिपछी पनि मोहनशम्सेर प्रधानमन्त्री बने त्यो एउटा ठुलो एतिहासिक दमन र जनअपमानको बिषय हो| त्यही मोहनशम्सेर, जस्को मन, तन र रहनसहन मानसिकतामा निरंकुश र दमनकारी सोच भरिपूर्ण थियो, उनैले भारतसँग असमानतापूर्वक वातावरणमा अन्यायपूर्ण (1950 India-Nepal Treaty) सन्धि गरेर भावी पुस्ताका भविष्यलाई नै धमिलोपनमा डुबाईदिए| मौकाको फायदा भारतले लिए जसको लागि कुनै पनि चेतनशील नेपालीले भारतको सहधर्मितालाई स्वीकारने छैनन|भरखरै अङ्रेजको दासत्वबाट मुक्त भएका भारतले जेलबन्दी र बिखलबन्दीको परिबन्दमा पारेर नेपालीलाई चलमल गर्न दिन नसक्ने गरेर नराम्रो सँग अठ्याए|भाग्यवादी नेपाली र एउटा ठुलो स्तुतीगान गर्ने ईतिहासकार र कथित विद्वतवर्गको समुह सन्धिकर्ता, सन्धिका समय र यस्को भविष्यगामी वाधा प्रतिरोधप्रति औल्याउन चुकेका छन र जदौ संस्कारमा मस्त छन| मोहनशम्सेर र उनका आसेपासे सल्लाहकारहरु जो थिए उनीहरुका करतुत उजागर गरेर कसरी हुन्छ दण्डित गरिनपर्छ|किन अहिले पनि भारतले उक्त “सन्धि” पुनरावलोकन गर्न समेत मान्दैनन? यस्तो छ धर्म सन्स्क्रिती, ब्यवहार, पूजापाठ मिल्ने हाम्रा दक्षिणी छिमेकीको नजरिया|मोहनशम्शेरको घटिया बुद्धिले र अचेतनाले अहिले पनि देशलाई घाटा भाई रहेको छ तर उनका र आसेपासेका सन्तान भने क्रमिक रुपमा मौलाएका छन| वालकृष्ण शम्सेरले “सम” मात्र लेखेर सांकेतिक रुपमा मात्र भए पनि ठुलै राजनैतीक र सामाजिक सन्देश प्रवाह गरे| उनी धन्य छन र स्तुत्य छन| तर त्यो क्रुर, जहानिया, जन्मदै कर्णेलको उपाधी पाउने र त्यही आधारमा ढुकुटिको भत्ता पाउने निरंकुश ब्यवस्थाले सिर्जना गरेको जनतालाई अपमानजनक “जबरा” लेख्ने चलन त्यही बेलादेखि टुट्न पर्ने हो जुन बेला राणाशासन ढल्यो| तर बिडम्बना र दुर्भाग्य के भने अहिले लडदैपढदै आएको पाएको यो लोकतन्त्रमा न्याय दिन बसेका समेतले पनि गौरव मानेर “जबरा” लेख्छन| यो अपमान भएन र?
    जँहासम्म त्रिभुवनको कुरा छ, उनको चरम विलासिता, स्त्री लम्पटपनले गर्दा उही बेला भारतको हातमा नेपाल जाने सुर कसेका थिए| कुनै पनि अवस्थामा त्रिभुवनलाई प्रजातन्त्रका द्योतक भनेर मान्न सकिदैन| राष्ट्रपिताका कुरै नगरौ| आफ्नो सचिवसम्म बिदेशी राखेर उनी नतमस्तक बनेका हुन| पञ्चायतकालले उनलाई जती सुकै बढीचढै ठुलो हीरो बनाए पनि यथार्थमा उनी भगौडे र जिरो हुन जिरो|
    हामीले साँचो ईतिहास हेर्नपर्छ| झुटमा लेखेको ईतिहासले न पथप्रदर्शन गर्छ, न त यथार्थ र गौरववोध|
    हामी नतमस्तक भएपछी छिमेकीको एती बुँदे र उती बुँदे भन्ने षडयन्त्रका शिकार हामी हुन थालेको उबेलादेखि रहेछ| अहिले पनि यथावत छ|
    विगतका लागि देशको हित चिताउने एउटा नेपालीले आँशुका दुईबुँद र फेरि यस्तो नहोस भनेर कामना गर्दै रगतको दुईबुँद बाहेक के चढाउन सकिन्छ र?
    निष्कर्षमा, मोहनशम्सेर र त्रिभुवन दुवै भिलेन मात्र होइनन, कुपात्र हुन| ईतिहासमा काला अक्षरले लेखिनपर्छ| यी दुवै कुपात्रलाई सुराउन, कुसल्लाह दिन जो जती संपर्कमा आए, तिनीहरु पनि उत्तिकै जिम्मेवारी छन|

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)