यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

‘कान्तिपुर’ लाज पचाएर चुप बस्ने, ‘काठमान्डु पोस्ट’ माफी माग्ने : ‘मलाला कान्ड’मा नेपाली मिडिया कसले के गरे?

‘यसअघि यो पुरस्कार नोबेल पुरस्कार विजेता मलाला युसाफजाईले पाएकी थिइन्।’

२०२१ मार्च ६ शनिबारको ‘कान्तिपुर’ राष्ट्रिय दैनिकको पहिलो पेजमा ‘नजलेको मुस्कान’ शीर्षकको समाचारमा मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्लूओसी’ अवार्ड पाएकोबारे लेखिएको समाचारमा यो वाक्य राखिएको थियो।

मलालाले यो पुरस्कार नपाएकोले समाचारको यो दावी गलत रहेको बारे नेपाल फ्याक्ट चेकले तथ्य जाँच र माइसंसारले ब्लग लेखेको थियो मंगलबार

अमेरिकी दूतावासले बुधबार बिहान सोसल मिडियामार्फत् आफूले सुरुमा पठाएको विज्ञप्ति गलत रहेको स्वीकार्दै क्षमा मागेको थियो।

गल्ती सबैबाट हुन्छ। गल्ती नगर्ने त को होला र संसारमा। विश्वका ठूल्ठूला, नाम चलेका मिडियाले पनि गल्ती गरेका छन्। तर गल्ती गरेपछि त्यसलाई स्वीकारेर आइन्दा त्यस्तो नहुनेतर्फ कदम चाल्नु नै उपयुक्त हुन्छ।

तर नेपाली मिडिया त्यसो गर्न चाहँदैन। कान्तिपुर र काठमान्डु पोस्टको उतिबेलाको रस्सेन्द्र भट्टराईलाई अर्बपति दावी गर्ने काण्ड होस् वा आपराधिक समूहले गराएको पुष्टि भइसक्दा पनि स्रोतलाई उदधृत गर्दै माओवादीले घटना गराएको भनेर समाचार लेख्ने नागरिक दैनिकको डा. भक्तमानको कान्ड होस्- गल्तीका लागि माफी मागिएन।

पछिल्लो समय सोसल मिडियाको बढ्दो प्रभावका कारण गल्ती गर्दा पहिले जस्तो यत्तिकै हराउँदैन, छरपष्ट हुन्छ। दबाब बढ्छ। त्यसैले अहिले सम्पादकहरुलाई गल्ती गर्दा चुप बस्ने सुविधा छैन।

तर पनि अहिलेको अवस्थामा पनि नानीदेखि लागेको पत्रकारको ‘धाकै सही, पत्रकार भनेका ज्ञाता हुन्‘वाला बानी देखिहालिने रहेछ। ‘मलाला काण्ड’ मा यो देखियो।

एउटै हाउसका दुई मिडियाको फरक

कान्तिपुर र काठमान्डु पोस्ट एउटै हाउसका दुई मिडिया हुन्। तर दुई मिडियाको फरक ‘मलाला कान्ड’मा देखियो।

काठमान्डु पोस्टले चौथो पृष्ठमा सम्पादकीयको मुनि करेक्सन छापेको छ-

दूतावासले दिएको जानकारी स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेकोमा पोस्टले पछुतो मानेको त्यो सूचनामा उल्लेख छ। अनुप काफ्ले सम्पादक हुँदा काठमान्डु पोस्टले थालेको करेक्सन नीति सञ्जीव सतगैंयाले पनि जारी राखेका छन्।

काठमान्डु पोस्टले आफ्नो अनलाइन संस्करणमा पनि यससम्बन्धी समाचारमा भूल सुधार गरी यो सूचना राखेको छ।

तर कान्तिपुरले भने आजको पत्रिकामा यो समाचारबारे केही लेखेको छैन।

कान्तिपुरले त झन् शनिबार एउटा मात्र होइन, दुई दुई वटा समाचारमा त्यही गलत कुरा लेखेको थियो। मुख्य समाचारमा ‘नजलेको मुस्कान’ शीर्षकको समाचार र सोही समाचार सँगै छापिएको ‘बिहानै गुड न्युज’ शीर्षकको अर्को समाचारमा पनि ‘पाकिस्तानी बालशिक्षा अभियानकर्ता मलाला युसुफजाईले पनि पाइसकेको यो अवार्ड आफूले पाउन लाग्दा हर्षविभोर भएको मुस्कानले सुनाइन्’ लेखिएको थियो।

यसरी मुख्य बनाएर छापिएको समाचारका तथ्य गलत रहेको ठहर भइसक्दा पनि कान्तिपुर गल्ती सच्याउनु पर्ने आफ्नो दायित्वबाट पन्छिएको छ। समाचारको भाषा हेर्दा कतै पनि कुनै विज्ञप्तिमा मलालाले यो अवार्ड पाइसकेको दावी गरेको भनेर लेखेको देखिन्न। विज्ञप्तिमा लेखिएको कुरालाई आफूले लेखेको जस्तो बनाउनु नै गल्ती हो। विज्ञप्तिमा लेखिएको कुरा जस्ताको तस्तै कपिपेस्ट गर्नलाई त किन पत्रकार चाहियो र? पत्रकारले विज्ञप्तिलाई आधार बनाएर थप खोज्नु पर्‍यो नि। विज्ञप्तिमा अमेरिकाको राजधानी क्यालिफोर्निया हो भनेर गल्ती लेखियो भन्दैमा त्यसैलाई जस्ताको तस्तै छाप्न त भएन नि।

यद्यपि, कान्तिपुरको अनलाइन संस्करणमा भने यो विषयलाई सम्बोधन गरिएको छ।

तर यसको भाषा हेर्नुस् त, काठमान्डु पोस्ट जस्तो आफूले पनि गल्ती गरेको हो भनेर पछुतो गरिएको छैन। फलानोले पठाएको प्रेस विज्ञप्ति अनुसार समाचार लेखेकोमा सच्याइएको छ पो भनिएको छ गाँठे। गल्ती भनेर समेत लेखिएको छैन। रमाइलो छैन त ? 🙂

भनेपछि कान्तिपुरको अनलाइनलाई गल्ती भएको भन्ने त थाहा रहेछ त, अनि पत्रिकामा त्यही गल्ती स्वीकार्न किन कञ्जुस्याइँ हो फेरि। पत्रिकामा पनि त मुख्य समाचारै बनाएर छापिएको समाचार हो त त्यो।

अरु क-कसले के के भनेर सच्याए, त्यो हेर्न पनि रमाइलो हुन्छ।

बीबीसी नेपालीले यसरी सच्यायो

बीबीसी नेपालीले मुस्कान खातुनको कोटलाई शीर्षकमा तानेर समाचार बनाएको थियो। बीबीसीको यो नोटमा आफूले के गल्ती गरेको थियो, वास्तविक तथ्य के थियो, कहिले यो सामग्री संशोधन गरियो अनि दूतावासले के जानकारी दियो समेत उल्लेख गरेर क्षमा समेत मागेको छ।

अनलाइनखबर : ‘उसले गल्ती गरेकोमा मैले किन माफी माग्ने’ शैली

अनलाइन मिडिया अनलाइनखबरले समाचार सच्याउँदा राखेको नोट भने ‘गल्ती उसले गरेको हो, मैले किन माफी माग्ने’ पाराको छ। त्यसमा ‘अमेरिकी दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिए अनुसार यो समाचारमा पनि सो वाक्यांश प्रयोग गरिएको र पछि दूतावासले माफी माग्दै त्यसलाई सच्याएकोले उक्त वाक्यांश हटाइएको’ भनिएको छ।

अनलाइनखबरको त्यो समाचारमा मलालाले त्यो पुरस्कार पाएको भनेर विज्ञप्तिमा लेखिएको उल्लेख गरेको थिएन। दूतावासले पठाएको विज्ञप्तिलाई हामीले स्वतन्त्र रुपमा पुष्टि नगरेकोले दोष हाम्रो पनि हो भनेर काठमान्डु पोस्टले जस्तो आफ्नो पनि गल्ती भएको स्वीकार्ने आँट भने अनलाइनखबरले गर्न सकेन।

हिमालखबर : भ्रम परेकोमा क्षमायाचना

हिमालखबरले भने विज्ञप्तिलाई दोष नदिएर आफूले अघिल्लो समाचारमा के गलत लेखेको थियो, खास कुरा के थियो भन्ने प्रष्ट खुलाएर ‘गलत सूचना समाचारमा परेर पाठकमा भ्रम पर्न गएकोमा क्षमायाचना’ गरेको छ। दोष जति अरुको टाउकोमा थोपर्ने, आफू चाहिँ साखुल्ले पल्टने मिडियालाई हिमालखबरले यसरी पनि सच्याउन सकिन्छ है भनेर देखाए जस्तो लाग्यो।

नेपाललाइभ : पाठकले थाहा पाउलान् भनेर डराए जस्तो

नेपाललाइभ अनलाइनले भने सबैभन्दा झुर सम्पादक नोट लेखेको छ। त्यसमा लेखिएको छ-‘यसअघि प्रकाशित समाचारका केही तथ्य फरक परेकाले सच्याइएको छ।’ भो त अब? कुन तथ्य गलत भएको हो, के थियो, के हुनुपर्ने हो- त्यो त खुलाउनु पर्‍यो नि। केही नभनी सुटुक्क सच्याउनु र के सच्याएको थाहा पाउलान् जस्तो गरी सुटुक्क सच्याउनु उस्तै उस्तै हो।

गल्ती गर्ने तर माफी नमाग्ने, नसच्याउने मिडियाहरु

माइरिपब्लिकाले यो ब्लग तयार पार्दासम्म गल्ती सच्याएको छैन। उसको समाचारमा त्यो गल्ती कायमै छ।

त्यसैगरी सरकारी अखबार गोरखापत्रको अनलाइन संस्करणमा पनि यो गल्ती अहिलेसम्म सच्याइएको छैन।

अन्नपूर्ण पोस्टले पनि यो गल्ती अहिलेसम्म सच्याएको छैन।

त्यसैगरी ‘मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय ‘साहसी महिला अवार्ड’ शीर्षकको समाचार न्युज २४ ले, कहिलेसम्म महिलाले एसिड प्रहार सहिराख्नु पर्ने ? शीर्षकमा अनलाइनखबरले,  मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड शीर्षकमा देखापढीले , मुस्कानले जितिन् ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्ड, अमेरिकी प्रथम महिलाले प्रदान गर्ने शीर्षकमा रातोपाटीले राखेका समाचार पनि सच्याइएको छैन। यी त नाम चलेका केही अनलाइनको उदाहरणमात्र भयो। नामै नसुनिएका अरु कति अनलाइनहरुले पनि यो गलत समाचार हालेका छन्। गुगलमा सर्च गर्दा प्रशस्तै देखिन्छ।

सेतोपाटी : गल्ती गर्ने, सुटुक्क हटाउने

सेतोपाटीले भने पहिले गलत समाचार राखेको भए पनि पछि त्यो अंशलाई सुटुक्क हटाएको छ। आफूले गलत समाचार राखेकोमा सेतोपाटीले न सच्याएको भनेर सूचना राखेको छ, न माफी मागेको छ। पाठकप्रति इमान्दार भएको भए सूचना राखेर माफी माग्नु पर्थ्यो।

सेतोपाटीको पहिलेको समाचार यहाँ क्लिक गरी हेर्न सकिन्छ। अहिलेको समाचार यहाँ छ।

मिडियालाई मेरो सात सुझाव

मिडियाका गल्तीहरुलाई पछ्याइरहेको भएर त्यसैका आधारमा मेरो केही सुझाव छ –

१) अडियन्सप्रति इमान्दार हुनुस् : मिडिया अडियन्स (पाठक, दर्शक, स्रोता) प्रति इमान्दार हुने हो। कसैले गल्ती इङ्गित गरोस्, नगरोस् अडियन्सप्रति इमान्दार भएर भएको गल्ती स्वीकारेर माफी माग्दा तपाईँ कमजोर हुने होइन, तपाईँको विश्वसनीयता झन् बढ्ने हो। नेपाली मिडियामा काम गर्ने वरिष्ठ पत्रकारहरुलाई माफी माग्दा आफू कमजोर भएको देखिने हो कि भन्ने ठूलो भ्रम छ। त्यो भ्रमबाट मुक्त हुनुस्। तपाईँको गल्ती सोसल मिडियाको यो जमानामा लुकेर लुकिनेवाला छैन। कसैले थाहा पाएर इङ्गित गर्नुअघि नै इमान्दार भएर गल्ती सच्याएर त्यसको सूचना अडियन्सलाई दिँदा त्यसले झन् विश्वास आर्जन गर्छ।

२) गल्ती भइहाल्यो, कसले थाहा पाउँछ र : याे एउटा अर्काे भ्रम नेपाली पत्रकारहरुमा छ। इन्टरनेटमा एक पटक राखिसकेकाे कुरा खाेज्याे भने भेट्न सकिन्छ। अझ कागजमा छापिएकाे कुरा त जहिल्यै हेर्न सकिहालिन्छ। छापा पत्रकारितामा गल्ती भयाे भने झन् पुरानाे पत्रिका खाेजेर याे पत्रिकाले याे बेला यस्ताे गल्ती गरेकाे थियाे भनेर ५० वर्षपछि पनि थाहा पाउन सकिन्छ। कुनै न कुनै दिन गल्ती पत्ता लागिहाल्छ। रस्सेन्द्र भट्टराईवाला समाचार भन्ने बित्तिकै २०६० सालमा काठमान्डु पोस्टमा प्रतीक प्रधानको बाइलाइन र कान्तिपुरमा सञ्जय न्यौपानेको बाइलाइन तथा दुवैको प्रधान सम्पादक युवराज घिमिरे भन्ने थाहा भइहाल्छ। डा. भक्तमानको अपहरणवाला समाचार छापिँदा नागरिकका सम्पादक नारायण वाग्ले र रिपब्लिकाका सम्पादक अमित ढकाल थिए भन्ने कुरा लुकाएर लुकिन्न। तर अनुजा बानियाँको केससम्बन्धी इतिहास खोतल्दा सम्पादक सुधीर शर्मा हुन् भन्ने मात्र आउँदैन, त्यो समाचारमा गल्ती स्वीकार गरी माफी मागिएको थियो भन्ने पनि तथ्य पनि सँगै आउँछ।

त्यही भएर सुझाव- आ, कसैले थाहा पाउँदैन भन्ने भ्रम त्याग्नुस्, गल्ती थाहा पाउने बित्तिकै सच्याएर माफी मागिहाल्नुस्। नत्र इतिहासको गल्तीले भविष्यसम्म पिरोलिरहने सम्भावना हुन्छ।

३) सच्याउँदा झन् धेरैले पाे थाहा पाउने हाे कि : चुप बसे गल्ती नै भए पनि जतिले थाहा पाए, पाए। सच्याएकाे सूचना राख्दा त झन् गल्ती भएकाे थाहा नपाउनेले समेत हामीले गल्ती गरेकाे थाहा पाउँछन्। त्यसैले चुपै बस्दा राम्राे खालकाे मनस्थिति पनि केही पत्रकारहरुमा देखिन्छ। याे त पाठकलाई अपमान गरेकाे भयाे, गल्ती भनेर थाहा पाउँदा पाउँदै त्यसकाे ढाकछाेप गर्ने तपाइँ कुन नैतिकताले अरुकाे गल्तीमा अौँला ठड्याउन सक्नुहुन्छ?

४) विनयशील हुनुस् : सबै कुरामा काेही पनि सर्वज्ञानी हुन्नन्। पत्रकारले पनि आफूले सबै कसरा जानेकाे छु, म त गल्ती नै गर्दिनँ भन्ने भ्रम पाल्न भएन। सकेसम्म गल्ती नगर्ने हाे, भइहाले विनम्र भई माफी माग्ने हाे। हाे तपाइँलाई केहीले यति पनि थाहा नभएकाे भनेर उडाउन सक्लान् तर थाहा नभएकाे कुरा थाहा भएन र गल्ती भइसक्याे भने त्यसलाई लुकाउनु भन्दा स्वीकारेर अघि बढ्नु नै हितकारी हुन्छ।

५) म सुटुक्क सच्याउँछु, कसले थाहा पाउँछ र : माथिकाे उदाहरणमा सेताेपाटीले जस्तै अरु मिडियाले पनि पटक पटक यसाे गरेकाे देखिएकाे छ। सामान्य गल्तीहरु सच्याउँदा त ठीकै हाे, तर तथ्यमा नै फरक परेका गल्तीहरु सुटुक्क सच्याउँछु र कसैले थाहा पाउँदैनन् भनेर साेच्नुहुन्छ भने त्याे तपाइँकाे भ्रम हाे। इन्टरनेटमा तपाइँले एक पटक राखेकाे कुरा कतै न कतै भण्डार भएर बसेकै हुन्छ। पछि सच्याउँदा वा हटाउँदा पनि त्यहाँ पुरानै कुरा जस्ताकाे तस्तै रहन्छ। त्यसैले प्रविधिकाे याे जमानामा फट्याइँ गर्न सधैँ सम्भव हुन्न भन्ने कुरा नबिर्सनुस्।

६) सच्याउँदिन, माफी माग्दिनँ के हुन्छ? : केही हुँदैन। मनाेज गजुरेलले भन्ने गरे जस्ताे ढुक्क हुनुस्, केही नहुन्जेल केही हुन्न। कान्तिपुरले मलालाले त्याे पुरस्कार पाएकाे जुन समाचार राख्याे, त्याे गलत साबित भइसक्याे। तर उसले (अनलाइनमा सच्याए पनि) पत्रिकामा न सच्यायाे, न माफी माग्याे। आफूले गलत समाचार राखेको र पाठकलाई त्यसबाट भ्रम परेको त कान्तिपुर आफैलाई थाहा भइसक्यो। तर पनि औपचारिक रुपमा पत्रिकामा सूचना राखेर गल्ती स्वीकार गरी नसच्याउनु भनेको आफ्नो गल्तीलाई लुकाउनु पाठकप्रति इमान्दार नहुनु नै हो। कान्तिपुर मात्र होइन, गोरखापत्र, अन्नपूर्ण पोस्ट, देखापढी आदिले पनि कान्तिपुरलाई नै पछ्याएका छन्। देशको अग्रणी मिडिया भएकोले कान्तिपुरले अझै जिम्मेवार भएर अरुलाई पनि मार्गदर्शन हुने गरी यस्तो हुँदा के गर्ने भन्ने गल्ती सच्याउने नीति बनाउनु पर्ने हो।

७) सच्याउँदा इमान्दार हुनुस् : गल्ती हुँदा त्यसलाई कसरी सच्याउने भन्ने बारे नीति बनाएर त्यस अनुसारको भाषा लेख्नुस्। माथिको उदाहरणमा नेपाललाइभले लेखे जस्तो झारा टार्ने गल्ती नगर्नुस्। नेपाललाइभले ‘केही तथ्य फरक परेकोले सच्याइएको छ’ भनेर लेखेको छ। पाठकप्रति इमान्दार हुने हो भने आफूले के लेखेको थियो, हुनुपर्ने के थियो स्पष्ट खुल्ने गरी व्यहोरा लेखेर सच्याउनुस्। विदेशमा पनि यस्तै परम्परा छ। ‘अन्यथा भएकोमा सच्याइएको छ’ लेख्ने पनि चलन छ नेपाली पत्रकारितामा। त्यो परम्पराबाट माथि उठ्नुस्। अझ अनलाइनमा कुनै गलत कुरा प्रकाशित भएपछि सच्याउँदा सम्बन्धित समाचारकै लिङ्कमा गएर सच्याउनुस्। नयाँ समाचार पोस्ट गरेर त्यसमा सच्याउने, पुरानो गल्ती भएको समाचार जस्ताको तस्तै राख्ने काम गलत हो। जस्तै इकागजको फागुन ११ मा प्रकाशित यो समाचार हेर्नुस्। यसको शीर्षक छ- महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिए। जबकि अहिलेसम्म उनले राजीनामा दिएका छैनन्। यो लिङ्कमा रहेको समाचार अहिले पढ्ने हो भने अझै पनि राजीनामा दिइसकेको नै भन्ने बुझिन्छ। इकागजले त्यो गलत समाचारलाई अहिलेसम्म न सच्याएको छ, न माफी मागेको छ। बरु त्यही दिन मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल शीर्षककोअर्को समाचार राखेको छ। यो गलत हो। गल्ती भएको भए सच्याउँदा सानो भइन्न।

 

2 comments to ‘कान्तिपुर’ लाज पचाएर चुप बस्ने, ‘काठमान्डु पोस्ट’ माफी माग्ने : ‘मलाला कान्ड’मा नेपाली मिडिया कसले के गरे?

  • ज्यानबहादुर तामाङ लामा

    कैलेकँही हतारोमा असावधानीले गल्ती हुन्छ, क्षमा माग्नु विनयशीलता र गल्ती सुधारने अवसर हो| अमेरिकी राजदुतावासले समयमा औल्याएको गल्ती सुधारेर विनयशीलता देखाएका छन| अरुका लागि पनि उदाहरणीय बन्नेछ|
    तर कसैले सानै ठाने माने पनि अमेरिकी राजदुतावासले अर्को गल्ती गरेछ| नाममा हिज्जे जस्तो सम्वेदनशील गल्ती नगर्न राजदुतावासका श्रोतसाधन सम्पन्न निकाय अलि चनाखो भईदिएको भए हुन्थ्यो||भिसा निवेदनमा चुईक्क एक अक्षर पनि तलमाथि परे कस्तो शास्ती ब्यहोर्नपर्छ त्यो धेरैलाई थाहा भएकै हो|
    हुनपर्ने मलाला युसुफजाई, तर भएछ मलाला युसज्फाइ| कान्तिपुरले चाँही सही हिज्जे लेखेछ|
    जे होस, हाम्री साहसी चेली मुस्कानलाई वधाई र सधैं सफलताको मुस्कान छाईरहोस| अमेरिकी बिदेश मन्त्रालयलाई नेपाली स्वच्छ मनका लाखौं धन्यवाद|

  • […] पाउँदै नपाएको अवार्ड पाएको भनेर विज्ञप्ति सार्वजनिक गरेको, पुलिसले जे भन्यो त्यही पत्याएर सुगा […]

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)