यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

रेखा थापाको होली फोटो खिच्‍न जाँदा भएको ‘काण्ड’

आज फागु पूर्णिमा। तराईका जिल्लाहरुमा बाहेक रङ्गहरुको पर्व होली मनाइँदैछ। तर यसपालि पनि कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको देखिएकोले सतर्कता अपनाउनु पर्ने भएको छ। त्यसैले म त घरबाहिर ननिस्की यत्तिकै बसिरहेको छु। अरुलाई होली लागेको छ, मलाई भने अल्छी लागेको छ।

त्यसैले होलीको एउटा पुरानो कुरा सम्झन चाहन्छु। कुरा आजभन्दा ११ वर्षअघिको हो। माथिको फोटो त्यही बेलाको हो। यो फोटो खिच्ने बेलाको ‘काण्ड’हो यो। ‘काण्ड’ भन्ने बित्तिकै फेरि के के न ‘काण्ड’ नसोच्नुस् नि फेरि। व्यक्तिगत रुपमा भने ‘काण्ड’भन्दा कम होइन।

२०६६ सालको होली। त्यतिबेला म नागरिकन्युजमा काम गर्थेँ। मूलधारको मिडियाको अनलाइनमा नयाँ नयाँ प्रयोग गर्ने जोश र जाँगर थियो। काम सुरु गरेको वर्षदिन पनि भएको थिएन। होलीको दिन विशेष डिजाइन ल्याएका थियौँ। होलीका विशेष समाचार/लेखहरु र ठूल्ठूला फोटोहरु। त्यतिबेला अनलाइनमा यस्तो प्रयोग हुँदैन थियो।

जोश यस्तो थियो कि लेख्ने र अपलोड गर्ने मात्र होइन, फोटो र भिडियो पनि आफै खिच्दै हिँड्ने! टिम पनि गज्जबको मिलेको थियो हाम्रो।

‘कला’ बिटमा यज्ञश, दीपेन्द्र लामासँग सन्तोष रिमाल पनि थिए।

‘जाउँ रेखा थापाले होली मनाएको फोटो खिच्‍न’, सन्तोषले प्रस्ताव राख्यो। अहो, रेखा थापा त्यतिबेलाको चल्तीकी नायिका। उनको होली खेलेको फोटो खिचेर तुरुन्तै अनलाइनमा हाल्न पाए त गज्जबै भइहाल्छ नि भन्ने लाग्यो।

‘जाउँ न त’ भनिहालेँ मैले पनि।

सन्तोषले जेडिए कम्प्लेक्सबाट आफ्नो बाइक कुदायो छवि ओझाको प्रोडक्सन अफिसतिर। म उनको बाइक पछाडि क्यामेरा लिएर बसेँ। बाटोमा होली मनाइरहेका हुललाई छल्दै हामी त्यहाँ पुग्यौँ।

छवि र उनका अरु साथीहरु त्यहाँ थिए, तर रेखा भने थिइनन्। उनी काठमाडौँबाहिरबाट प्लेन चढेर बल्ल पो आउँदै रहिछिन्।

कुर्नु पर्ने भयो। आइहाल्ने भनेकोले हामी कुरेर बस्यौँ।

उनीहरु बियर र अरु कुरा खाँदै थिए। कर गरे पनि हामीले ड्युटीमा भएकोले नखाने भन्यौँ। प्रसाद खाऊ न त भनेर लड्डु दिइयो। शंका लाग्यो, भाङ मिसाएको पो हो कि भनेर। हामीले सोध्यौँ पनि। छविले भने, ह्या- कहाँ म भाङ भएको दिन्छु भाइहरुलाई। प्रसाद हो के, खाऊ।

सन्तोष र मैले डराई डराई हातमा लियौँ लड्डु। खाउँ कि नखाउँ दोधार।

सन्तोषले खाइदिउँ खाइदिउँ भन्यो। आ, जे त पर्ला भनेर मैले पनि ग्वाम्मै मुखमा हाल्दिएँ लड्डु।

केही पनि भएन त !

बेकारमा डराएको भन्ठानेर सन्तोष र म एकछिन मुखामुख गरेर हाँस्यौँ।

यत्तिकैमा रेखा आइपुगिन्। सन्तोषले फोटोको बारेमा भनेपछि उनीहरुको त्यतिबेलाको नयाँ रिलिज हुन लागेको फिल्मका नायक आयुष रिजाल पनि त्यहीँ रहेछन्। एक्सन भनेर कसैले नभनिकनै उनीहरुले होली खेलेको एक्टिङ गर्न थाले। मैले भटाभट फोटो खिच्न थालेँ।

हाम्रो काम सकिहाल्यो। मलाई फोटो अनलाइनमा हाल्न हतार भयो, सन्तोषलाई समाचार लेख्न। हामी त्यहाँबाट विदावारी भएर जानुअगाडि फेरि पनि लड्डु अफर गर्दै थिए। हामीले हतार भएको भन्दै त्यहाँबाट बाटो ततायौँ।

फर्कँदै गर्दा सन्तोषले भन्यो, ‘उमेश दाइ, मिसाएको पर्‍यो कि क्या हो, घुमाएको जस्तो पो हुन थाल्यो त !’

‘ह्या, होइन होला। मलाई त केही भएको छैन,’ मलाई पनि हल्का उडे उडे जस्तो लागिरहेको थियो। तर मैले ढाँटेँ। हो भन्यो भने सन्तोषको ड्राइभिङमा असर पर्ला भनेर।

सुन्धारा अफिसमा पुग्दासम्म त भाङको हल्का असर अलि बढ्न थालिसकेको थियो। ‘त्यत्रो न्युज लेख्न बाँकी छ, डुबाइहाले नि’ भन्दै थियो सन्तोष। म भने क्यामेराबाट कार्ड निकालेर फोटो आफ्नो डेस्कटपमा खन्याउन थाले।

त्यतिन्जेल फनफनी घुमाउन र आकाशमा उडे जस्तो हुन थालिसकेको थियो। ८/९ वटा फोटो निकालेर हल्का एडिट गरीवरी नागरिकन्युजमा अपलोड गरियो।


त्यो दिनको नागरिकन्युजको होमपेजको स्क्रिनसट।

अफिसको मिटिङ रुममा आराम गरी बसेको थियो सन्तोष। म पनि त्यहीँ पुगेँ। आँखा चिम्म गरी बसेँ एकछिन। जिउ पो सोफामा, आत्मा त आकाशमा उडे जस्तो, जिउ हल्का भए जस्तो। कस्तो अचम्मको हुने रहेछ भाङको नशा त। उडुँ उडुँ जस्तो पो लाग्ने रहेछ।

‘कागती खायो भने असर कम हुन्छ होला, जाउँ’ मैले सन्तोषलाई भनेँ।

अफिस बाहिर सुन्धारामा जुस बेच्ने पसलेलाई कागती निचोर्न लगाइयो। खाइयो। तर भाङको नसा कागती पानीले के जान्थ्यो।

म त सक्दिनँ है भनेर सार्वजनिक बसमा चढी घरतिर लागेँ। असर बढ्न थालिसकेको थियो भाङको।

कन्डक्टरले पैसा उठाउन आउँदा हातमा भएको नोट त दिएँ तर कहाँ झर्ने भनेर सोधेको प्रश्नको जवाफ मुखबाट फुत्किएन। कहाँ झर्ने नै पो बिर्सिएँ त। मुखबाट बोली नै फुत्किन्न त।

बोली नफुत्किए पनि झर्ने ठाउँमा भने झरेँ। त्यस्तो कन्ट्रोल नै नहुने गरी हिँड्नै नसकेको त होइन झुम्म चाहिँ भइरहेको थियो।

घर पुगेर सुतेँ।

त्यो दिन मैले उनीहरुले दिएको लड्डु एउटा हातमा लिएको त थिएँ, तर पूरै खाएको थिइनँ। आधा खाएर आधा त्यतै फ्याँकिदिएको थिएँ। एक पटक शिवरात्रिमा भाङ खाएर दुई दिन सुतेको घटनाले तर्सिएर होला, मैले त्यो दिन शंकाले लड्डु पूरै खाएको थिइनँ। तर आधा लड्डु खाँदा पनि त्यसले देखाएको असरले दङ्ग थिएँ। धन्न शिवरात्रिको भन्दा निकै कम असर मात्र भयो मलाई। सन्तोषलाई भने व्यापकै असर परेछ। त्यो दिन ऊ कसरी अफिसबाट घर पुग्यो पनि मलाई थाहा छैन।

अहिले अमेरिकामा रहेका सन्तोषलाई भने मैले आधामात्र लड्डु खाएको शायद् अहिलेसम्म पनि थाहा छैन होला।

त्यो दिनपछि होलीमा कसैले लड्डु खुवाउन खोज्यो भने यही ‘काण्ड’ याद आउँछ।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)