निर्मलाको हत्यारा केही दिनमा पत्ता लगाउने : स्टन्ट हो कि साँच्चिकै ?

‘निर्मला पन्तको हत्यारा अब महिनामा होइन, दिनमा पत्ता लाग्नेछ।’

‘निर्मला पन्तको हत्यारा अब २० दिनभित्रै पत्ता लागिसक्नेछ।’

केही दिनदेखि विभिन्न मिडियामा यस्ता समाचारहरु पढ्न पाइरहेका छौँ। घटनाको झण्डै तीन वर्षमा प्रहरीले दर्जनौँ पटक यस्ता वाचाहरु गरिसकेको छ। ती वाचाहरु खाली स्टन्ट मात्रै पुष्टि भइसकेको यथार्थ हामी सामु छ। के यस पटक साँच्चै नै निर्मलाको हत्यारा पत्ता लगाउनेतर्फ प्रहरी अघि बढेको हो त?

के भागरथी घटनामा पाएको सफलताबाट हौसिएर प्रहरी नेतृत्वले अब निर्मलाको घटना पनि सल्टाउने प्रयास थालेको हो?

यो ब्लग महेन्द्र बमको आवाजमा पडकास्टमा सुन्नुस्-

भागरथी घटनामा डिएनएको अस्त्र

निर्मला प्रकरणबारे ३० अङ्कको #WhoKilledNirmala सिरिज लेख्ने क्रममा २९ औँ अङ्कमा हामीले लेखेका थियौँ- कानुनको कठघरामा उभ्याउन होइन, चोख्याउन सघाइरहेको छ डिएनए रिपोर्ट

डिएनए प्रोफाइलिङबाट बलात्कारको केसमा अपराधी खोजिएको घटना निर्मलाको पहिलो थिएन। ललितपुरको गोदामचौरमा २१ वर्षकी एक युवतीलाई २०७४ मंसिरमा जबर्जस्ती गरियो। यो घटनामा निर्मला जसरी ती युवतीलाई मार्न खोजिएको थियो। तर उनी बाँचिन्। उनैले आफूमाथि जबर्जस्ती गर्नेको पहिचान गरिन्। तर…

तर डिएनए मिलिदिएन।

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले दिएको रिपोर्टमा रघु, पवन र विशालध्वज अपराधी हुन नसक्ने ठहर गरिएको थियो। रिपोर्टमा रमिलाको भेजिनल स्वाबमा भेटिएको वीर्यका सम्भावित ‘ कन्ट्रिब्युटर’ उनीहरु नभएको उल्लेख थियो।

तर अदालतले त्यसलाई स्वीकार गरेन।

कत्रो विडम्बना ! विज्ञानलाई समेत अस्वीकार गर्नुपर्ने अवस्था ! खासमा यो प्रहरी ल्याबलाई अदालतले विश्वास नगरेको उदाहरण थियो। यस्तो घटनापछि प्रहरीले आफ्नो ल्याबलाई विश्वसनीय बनाउने उपायको खोजी गर्नुपर्ने थियो।

यो अङ्क लेखिसकेपछि फेरि एउटा अर्को घटना भयो- २०७६ को तिहारमा देउसी खेल्न बोलाएर जबर्जस्ती गरेको भन्दै एक युवतीले अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राईविरुद्ध उजुरी दिइन्।

यो केसको पनि फरेन्सिक जाँच प्रहरीकै ल्याबमा भयो। तर यस पटक एपी टेस्टमा semen अर्थात् वीर्य नै नभेटिएको प्रतिवेदन दियो ल्याबले। तर पनि अदालतले त्यसलाई नमानेर राईलाई पुर्पक्षका लागि थुनामै पठाइदियो।

प्रहरीले फेरि पनि आफ्नो ल्याबको विश्वसनीयतामा उठेको शंकाको समाधान गरेन/गर्न चाहेन।

प्रहरी नेतृत्व, सर्वसाधारण र मिडियाले समेत नबुझेको र नखोजेको कुरा के थियो भने प्रहरीको ल्याबले सात वर्षअघि (सन् २०१४ मार्चमा) डिएनए परीक्षण सुरु गरेदेखि अहिलेसम्म नेपालमा बलात्कार र बलात्कार पछि हत्याको कुनै पनि मुद्दामा डिएनए मिलेर अपराधी जेल गएको रेकर्ड छैन।

तर, यो पटक भने अचम्मै भयो।

भागरथी भट्टको घटनामा पक्राउ परेका किशोरसित डिएनए मिलेको घोषणा प्रहरीले गर्‍यो।

के मिल्यो, कसरी मिल्यो ?

मिल्यो, डिएनए मिल्यो।

प्रहरीले दिएको जानकारी यति हो। मिडियाले पनि प्रहरीले दिएकै जानकारी अनुसार त्यतिमात्रै लेखेका हुन्। के मिलेको हो न प्रहरीले बताएको छ, न मिडियाले खोजेको छ। मिडिया त प्रहरीले हुँदै नभएको नगरपालिकाको नाम राखेर न्युज दिँदा पनि पत्याएर जस्ताको तस्तै छाप्ने न पर्‍यो ! उदाहरण यहाँ क्लिक गरी पढ्नुस्।

एपी टेस्टमा वीर्य मात्र भेटिएको हो कि, अटोजोमल मिलेको हो कि, वाई एसटिआर मिलेको हो कि, वाई एसटिआरका कति वटा अङ्कमात्र मिलेको हो कि- केही पनि बताइएको छैन। मिल्यो भन्यो पुग्यो।

भागरथीको केसमा अदालतमा प्रहरीले अनुसन्धान सकाएर प्रस्तावित रायप्रतिवेदनसहित मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। अनि सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ। तर स्थानीय पत्रकारहरुलाई मिल्दैन भन्दै अभियोगपत्रसमेत हेर्न नदिइएको त्यहाँका स्थानीय संवाददाताहरुले मलाई बताएका छन्। के आधारमा के अभियोग लगाएका छन् नै नहेरी कसरी आइरहेका छन् हौ समाचारहरु चाहिँ?

प्रहरीले सार्वजनिक गरिसकेपछि अन्नपूर्ण पोस्टको फ्रन्टपेजको समाचार। 

काका र बाउको ‘फण्डा’ पछि डिएनए म्याच?

भागरथी प्रकरणमा नातेदार एक किशोरलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गर्नुअघि नै डिआइजी ‘उत्तम दाइ’ले पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या गरेको देखिएको बीबीसी नेपालीलाई बताएका थिए। तर पोस्टमार्टम रिपोर्टमा बलात्कार भएको नभएको/ हत्या भएको नभएको देखिँदैन। पोस्टमार्टम रिपोर्टमा त घाउचोटको अवस्था र मृत्युको कारण देखिन्छ। बलात्कार भएको नभएको त भेजिनल स्वाबमा वीर्य भेटिएको/नभेटिएको एपी टेस्ट वा डिएनएमा वाई एसटिआर भेटेपछि पो हुने होला नि त।

किशोरलाई सार्वजनिक गर्दाको पत्रकार सम्मेलनमा उनै उत्तम दाइले आरोपितले बलात्कार भने नगरेको बयान दिएको संकेत गरेका थिए। प्रहरीले दिएको स्टोरी पनि म्याच भएको जस्तो लागिरहेको थिएन- भीरबाट धकेलेर खसालेको, अनि घाइतेलाई जबर्जस्ती गर्न खोजेको, पाइन्ट फुकालेपछि रगत देखेर त्यत्तिकै छाडेको, घाँटी थिचेर हत्या गरेको।

पत्रकार सम्मेलन गर्न आफै उपस्थित भएका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले त्यतिबेला हामीले डिएनए परीक्षण पनि गर्न पठाएका छौँ, त्यसको रिपोर्ट पनि आउन बाँकी छ भन्ने बारे केही पनि बताएका थिएनन्।

कार्की थरका एक सरकारी व्यक्तिप्रति उठिरहेको शंकाका बीच आरोपित किशोरले बाउकै अगाडि ‘मैले नै गरेको हुँ’ भनेर बयान दिएको भनेपछि नानाभाँतीका हल्लाहरु त्यसै सेलाए। प्रहरीले अनुसन्धान सकाएर मुद्दा बुझायो। सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्‍यो। किशोर सुधार गृहमा पुगे।

घटनामा ट्विस्ट त्यतिबेला आयो, जतिबेला किशोर र उनका काकाबीचको फोन संवादको अडियो सार्वजनिक भयो। त्यसमा किशोरले आफूले घटना नगराएको र जबर्जस्ती बयान दिन लगाएको कुरा थियो। पछि बाउसितको पनि संवाद सोसल मिडियामार्फत् सार्वजनिक भयो।

यही फन्डाका बीच अर्को ट्विस्ट आयो प्रहरीबाट। भनियो- भागरथीको भेजिनल स्वाब र किशोरको डिएनए मिल्यो।

अनुसन्धान सकाएर मुद्दा बुझाउँदासम्म वास्ता नगरिएको डिएनए अडियो सार्वजनिक भएपछि अचानक किन आयो? प्रश्नको जवाफ खोज्न मिडिया लागेन।

सामाखुशीस्थित प्रहरी ल्याब। फोटो साभार : किरण जोशी

आफ्नै ल्याबमा किन गर्छ प्रहरीले परीक्षण?

मिडियाहरुले डिएनए राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको भनेर समाचार लेखे। उदाहरण इकागज, इमेज खबर, सेतोपाटी। तर त्यो गलत थियो। विज्ञान मन्त्रालय मातहत खुमलटारमा रहेको यो स्वतन्त्र ल्याब हो भने परीक्षण पुलिसको सामाखुसीस्थित ल्याबमा गरिएको हो।

खुमलटार ल्याब निकटले मलाई दिएको जानकारी अनुसार यस पटक डिएनएलाई कसरी विश्वासिलो गराउने भन्ने बारे केही विज्ञसित सल्लाह पनि नभएको होइन। प्रहरीले खुमलटार र आफ्नै ल्याब दुवै ठाउँमा संयुक्त परीक्षण गर्ने कुरा पनि भएको थियो। तर पछि कुन्नि किन हो, प्रहरीको ल्याबमा मात्र गरियो।

खुमलटारमा गर्दा विश्वासिलो हुने अर्को एउटा कारण के पनि छ भने प्रहरीको ल्याब भन्दा यो ल्याब अनुभवी मात्रै होइन, अत्याधुनिक पनि छ।  प्रहरीले १६ वटा जेनेटिक लोकस/मार्कर भएको किट प्रयोग गर्छ भने खुमलटारले २७ वटा मार्करयुक्त अत्याधुनिक किट। जति बढी वटा मार्कर भएको प्रयोग गर्‍यो, उति विश्वसनीय मानिन्छ। अमेरिकाको एफबिआईले पनि सन् २०१७ को जनवरी १ देखि कम्तिमा २० वटा हुनुपर्ने गाइडलाइन्स बनाएको छ।

यसबाहेक प्रहरी भनेको मुद्दाको एक पक्ष पनि हो। त्यसैले फरेन्सिक जाँचको काम प्रहरी बाहेक अर्को त्यसैका लागि डेडिकेटेड निकायलाई नै दिँदा झन् विश्वास बढ्नु पर्ने हो।

मैले केही विज्ञसित भागरथी प्रकरणमा डिएनए म्याच भएकोबारे सोधेको थिएँ। उनीहरुको प्रतिक्रियामा विश्वासको संकट थियो। कारण विभिन्न थिए- एक, यस्तै अन्य मुद्दामा देखिएका नतिजाहरु। दुई, ल्याबको प्राविधिक क्षमता र दक्षता र अनुभवको कमी।

किशोरलाई पक्रनुअघि नै प्रहरीले भागरथीको भेजिनल स्वाब परीक्षणका लागि पठाइसकिएको थियो। तर त्यसमा वीर्य भेटियो कि भेटिएन, भेटिएको भए त्यसको डिएनए प्रोफाइल तयार भयो कि भएन भन्ने बारे कुनै जानकारी नै दिइएन।

अकस्मात् अडियो विवाद आएपछि डिएनए मिल्यो भनियो।  मिल्यो त मिल्यो के मिल्यो?  निर्मलाको भेजिनल स्वाबमा भेटिएको Y डिएनएको १६ वटा जेनेटिक लोकस/मार्कर मध्ये ९ वटा अङ्क दीलिपसिंह विष्टको डिएनएसित मिलेको थियो। त्यसरी त्यति मिलेर त भएन।

प्रमाण हुने हो कि बनाउने ?

निर्मलाको घटनाबाट सबैले धेरै पाठ सिके। मिडियाले पनि पहिले जस्तो हल्लाका आधारमा ‘रे’लाई समाचार बनाइदिएन। राजनीतिले पनि साथ दियो। त्यता चुनाव जित्नेहरु ओली पक्षकै एमाले रहेछन्।  प्रहरी पनि संवेदनशील देखियो। तर अति धेरै संवेदनशील पो भएको हो कि। प्रहरीले कुनै पनि घटनाको अनुसन्धान गर्दा भएको प्रमाणलाई पो संकलन गर्ने हो, पब्लिकले विश्वास गरिदियोस् भनेर प्रमाण आफै बनाइहिँड्ने त होइन नि। कुकुर ल्याएर धुइँपत्ताल सबै खोज्दा पनि फेला नपरेको भागरथीको घडी किशोरले भनेर झाडीमा फेला परेको भन्ने ‘स्टोरी’ अरु सामान्य व्यक्तिलाई ‘सामान्य’ लाग्ला, अलि ‘लजिकल्ली’ सोच्नेलाई लाग्दैन। तर कानुनले त मानिहाल्छ। किनभने स्थानीय तहका पदाधिकारी राखेर घडी भेटिएकै हो भनेर मुचुल्का गरिएको छ। कानुनले प्रमाण देख्ने हो। धन्न निर्मलाको केसमा खल्तीलाई जस्तो यो घडीको इस्यु कसैले उठाइदिएन।

भागरथीको घटनामा निर्मलाको घटनामा जस्तो विस्तृत नबुझेको हुनाले मलाई प्रहरीको अनुसन्धानले आरोपित देखाएको किशोरको बारेमा केही बढी थाहा छैन। उनलाई दोषी हो कि होइन भनेर अदालतले ठहर गरिहाल्छ। सबै घटनामा सिसिटिभी फुटेज वा आँखाले देख्ने प्रत्यक्षदर्शी हुँदैनन्। त्यो भन्दैमा अपराधी निर्दोष हुँदैन। अरु विभिन्न परिस्थितिजन्य प्रमाणहरु पनि हुन्छ। त्यसले पनि अपराधीलाई इङ्गित गरिरहेको हुन्छ। प्रहरीलाई उही केटोले अपराध गरेको भन्ने लागेर क्लु भेटेरै यसो गरेको होला।

तर त्यसो हो भने डनलाई समातेर ब्राउन सुगरसित फेला परेको भने जस्तो गरी यो घटनामा पनि प्रमाण बनाउन आवश्यक थियो र? काका र बाउको एउटा अडियो सार्वजनिक हुँदैमा हस्याङफस्याङ गर्दै डिएनए मिलेको फुक्न जरुरी थियो र?

प्रहरीको ल्याबबाट पहिलो पटक कुनै अभियुक्तको डिएनए मिल्नु त खुशीको कुरा हो। विज्ञानको जित हो। तर हो, हामीलाई थाहा छ राज्य लाग्यो भने त जे पनि गर्न सकिन्छ।ठ्याक्कै प्रमाणै नभएर हो, नत्र प्रहरीको ल्याबको कस्ता कस्ता अनियमितताका कुरा ठोक्किन आइपुगेका छन्। पहिल्यै भागरथीको भेजिनल स्वाबबाट डिएनए प्रोफाइलिङ भइनसकेको अवस्थामा कसैको दुई थोपा यता मिसायो भने पनि त डिएनए मिल्छ भन्नेसम्मका आशंका कसैले गर्नु दुर्भाग्य हो। हतार हतार डिएनए मिलेको घोषणा गर्दा अब भविष्यमा प्रहरीलाई यस्ता घटनामा डिएनए नै मिलाउनु पर्ने जरुरी हुने अवस्था आउन सक्छ भन्ने तर्फ पनि प्रहरी नेतृत्वले ध्यान दिनु पर्ने हो।

मोन्टाज गरिएको फोटो। फोटोमा जस्तो पहेँलो टेप घटनास्थलमा लगाइएको थिएन। 

निर्मला प्रकरण के हुँदैछ ?

२० दिनभित्र निर्मलाक‍ो हत्यारा सार्वजनिक गर्नेछौं भन्ने खकर पढ्न पाउँदा खुशी लाग्यो तर शंका पनि त्यत्तिकै लाग्यो। यो केस भागरथीको जति सरल छैन। यसलाई पहिल्यै नेता, प्रहरी नेतृत्व र मिडियाले गिजोल्नु गिजोलिसकेको छ।

तत्कालीन आइजी सर्वेन्द्र खनालले प्रदीप रावल र विशाल चौधरीलाई झण्डै अपराधी बनाउन लागिसकेका थिए। त्यतिबेला मिडियामा उनीहरुले अपराध स्वीकारेको भन्दै समाचारहरु समेत लेखाइएको थियो। जसरी भागरथी केसमा किशोरले बाउकै अगाडि अपराध स्वीकारेको भनियो, त्यही शैलीमा विशालले पनि बाउकै अगाडि अपराध स्वीकारेका थिए।

तरपछि दबाबमा उनीहरुको मुखबाट सकार्न लगाइएको भन्ने सार्वजनिक भयो। ती दुवै घटनाको दिन प्रहरीकोमा कुखुरा चोरेको कान्डमा थुनामा रहेको भन्ने कुरा समेत आयो।

भागरथी प्रकरणमा त अभियुक्तले अपराध स्वीकारेको मात्र भनियो। भिडियो आएको थिएन।  तर निर्मला प्रकरणमा त दिलिपसिंह विष्टले अपराध स्वीकारेको भिडियो नै बाहिर आयो। तर पागल हो, केटीहरुलाई आँखा जुधाएर पनि हेर्दैन, गौतम बुद्ध जस्तो हो भनेर भ्रम छरियो। जबकि मैले पछि महेन्द्रनगर गएर उसित कुरा गरेको थिएँ। त्यसमा उसले यौन आशयका कुराहरु प्रशस्त गरेको थियो।

तर पछि डिएनए नमिलेपछि हाजिर जमानीमा उसलाई छाडियो। मुद्दा अदालतै नपुगीकन हाजिर जमानीमा उसलाई छाडियो। पछि सर्वेन्द्र खनाल आइजी हुँदा नै गृहमन्त्री स्तरीय निर्णयबाट एउटा विज्ञ समिति गठन गरिएको थियो।

त्यसमा यी तीन वटा बूँदा महत्त्वपूर्ण छन्-

  • पीडितबाट संकलित Vaginal swab मा वीर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट भेरिफाई गर्न सकिएन ।
  • Vaginal swab मा भनिएको Male component DNA वीर्यको हो भन्न सकिएन ।
  • नकारात्मक नतिजा निस्केको अवस्थामा डीएनए मार्कर कम्ती संख्याको भए पनि फरक नपर्ने तर सकारात्मक नतिजा आएको अवस्थामा अन्तरराष्ट्रिय मापदण्ड अनुसार हुनु पर्दछ।

यसरी विज्ञ समितिले डिएनएमा वीर्य भएकोमा नै शंका गरिसकेको अवस्थामा दिलिपलाई पुनः अनुसन्धान गरी कानुनी दायरामा ल्याउन सक्ने सम्भावना थियो। तर एक पटक उसलाई पक्रेर त्यत्रो ठूलो आन्दोलन मच्चिसकेको र त्यसका कारक तथा अदालतले यही केसमा परेको अदालतको मानहानी मुद्दामा ‘तुच्छ सजाय’ भोगिसकेका पत्रकार खेम भण्डारीबाट थर्कमान पुलिसले अहिलेसम्म उसलाई सोधपुछ समेत गर्ने हिम्मतै गरेन। जबकि निर्मलाकी आमा दुर्गादेवीलेसमेत उनीविरुद्ध  किटानी जाहेरी दिएकी थिइन्।

के अब प्रहरीले पुनः दिलिपविरुद्ध थप प्रमाण संकलन गरी अदालत पुर्‍याउने हिम्मत गरेको हो त ?

वा अरु कुनै नयाँ पात्र ??

अन्य कुनै पात्र भइदिएको भए यो ३२ महिनाको बीचमा देखा परिसक्ने थियो। किनभने अहिलेसम्म सबै कोणबाट अनुसन्धान भइसकेको हुनुपर्ने हो। दिलिपको विषयमा पहिले यसले गर्नै सक्दैन भनेर जुन हौवा मच्चाइयो, त्यो गलत साबित भइसक्यो। अब उसले पनि गर्न सक्छ भनेर उसलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान अगाडि बढाउन सकिन्थ्यो।

उसले अपराध स्वीकारेको र उसले भनेको ‘स्टोरी’ घटनास्थलसँग मेल खाएको, उसको चरित्र पनि त्यस्तो घटना घटाउन सक्ने भएको, आफ्नै भिनाजु मारेर जेल सजाय भोगेकोले आपराधिक पृष्ठभूमि भएको र घटनाको समयमा घटनास्थल आसपासमा उसलाई देख्ने साक्षी समेत भएको अवस्था छ। यति हुँदा पनि उसलाई कसैको डरमा अभियुक्त मान्नै नसकिने हो भने अब अर्को नयाँ पात्रको हकमा त पक्कै यो भन्दा बढी प्रमाण पेश गर्नु पर्ला।

अब कुनै प्रत्यक्ष प्रमाण वा भनौँ भौतिक प्रमाण त घटनास्थल मा फेला परेको अवस्था छैन। भनेपछि प्रहरीले अब नयाँ प्रमाण बनाउने पनि कुरा आएन।  घटना हुँदै गरेको कुनै प्रत्यक्षदर्शीले देखेको भए त यति लामो समयसम्ममा अहिलेसम्म मैले भेटेँ भनेर भनिसक्नुपर्ने हो।

कि अब आएर नक्कली साक्षी पो तयार गरेको पार्ने तयारी हो कि भनेर पनि शंका गर्न अब किन नसक्ने? भागरथीको घटनामा जस्तो डिएनए पनि कसरी मिलाउनु अब विज्ञ समितिले नै डिएनएको किस्सा समाप्त पारिदिइसक्यो। समितिका संयोजक जीवन रिजालले नै उहिले हामीसँग भनेका थिए, ‘डिएनए परीक्षणमा १६ मा १६ वटै एलिल अङ्क मिल्ने भेटिए पनि उही अपराधी हो भनेर शत् प्रतिशत किटान गर्न म सक्दिनँ।’

जेनतेन अपराध स्वीकार्न लगाइए पनि फेरि कहानी त मिल्नु पर्ला नि। त्यो साइकल बिग्रेको र बनाएको कहानी त दिलिपसिंह विष्टकै हो। नयाँ कहानी कसरी बनाउने हो।

भागरथी प्रकरणमा जस्तो पीडितले लगाएको पाइन्ट दुवै घुँडाबाट तल झरेको छैन, घुँडामाथि नै छ, त्यस्तो अवस्थामा अपराधीको गोप्य अङ्ग कसरी पीडितको योनीमा प्रवेश गर्‍यो र त्यहाँको भेजाइनल स्वाबमा बलात्कारीको वीर्यसमेत भेटिएर डिएनए पनि मिल्यो? मैले त कुरै बुझेको छैन बा !

अब निर्मलाको घटनामा नयाँ पात्र ल्याउँदा निर्मलालाई मारेको र बलात्कार गरेको भिडियो फुटेज नै पेस गरे मात्र विश्वसनीय र सबैले मान्ने स्थिति हुने होला।

कसरी समाधान होला त?

निर्मलाको आत्माले शान्ति पाउनु पर्‍यो। वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याउँ। होइन, कञ्चनपुरको एसपी फेरिने, सुदूरपश्चिमको डिआइजी फेरिन लागेको भएर स्टन्ट गरेको हो भने ध्यान दिनु पर्‍यो। जालझेल, षड्यन्त्र गरेर जसरी पनि घटनालाई सुल्झाउनु भन्दा सयौं अपराधी छुटुन् तर एउटा निरपराधी नपरोस् भन्ने कानुनी सिद्धान्तलाई मनन गरौँ।

प्रमाण पुग्दैन भने शंकाको भरमा यत्रो जघन्य अपराधमा दोषी साबित गर्ने प्रयास नगरौँ। प्रहरीले दिने लजिक मात्र दोषी साबित गर्ने आधार हुन सक्दैन। सकेसम्म प्रत्यक्ष प्रमाणबाट पुष्टि गरौँ। सकिन्न भने परिस्थितिजन्य प्रमाणमा टेकौँ न कि प्रहरीको मनमा उब्जेका शंका। शंकाको सुबिधा शंकितले उपयोग गर्न पाउने कुरालाई मनन गरौँ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि यो केसलाई कसैको दबाबमा सुल्झाउने नाममा हतार गर्दा उसैत बिग्रेको केस, झन् बढी बिग्रेला भन्नेमा ध्यान दिए वेश। सबभन्दा पहिला त तपाईंका अनुसन्धानकर्ताहरुको किन फरक-फरक मत ? कसैले यही हो भनेर ठोकुवा गर्ने, कसैले यो हुनै सक्दैन भन्ने। अनि दुई पक्षले दुई थरि मिडिया च्यापेर मिडियाबाजी गर्ने !

घटना कसरी भयो? किन भयो? कसले गर्न सक्ने सम्भावना छ? त्यो लाश भेटिएकै स्थान घटनास्थल प्राइमरी हो कि सेकेन्डरी हो? पहिला एक मत जुटाउनुस्। अनि अन्तिम निष्कर्षमा पुग्नुस्। अहिलेसम्म पनि उही ओपेरा होटल, बम दिदीबहिनी, अम्बाको रुख, गौतम बुद्ध जस्ता हल्लामा फँस्नुहुन्छ र डिएनएमै घुमिरहनुहुन्छ भने यसले गतिलो नतिजा पक्कै नदेला।

सबभन्दा राम्रो उपाय त एउटा विज्ञ समिति गठन गर्नुस्, जसमा अनुसन्धानविज्ञ (भूपु र बहालवाला), कानुनविद्, फरेन्सिकविज्ञ पनि होस्। अनि अहिलेसम्म भएका अनुसन्धानमा संलग्न सबैको राय लिनुस्, शंकास्पद सबै पात्रहरुको बारेमा यो अपराधी किन हुनसक्ने/किन नसक्ने भनी ब्रेन स्ट्रोमिङ गर्नुस् र निर्णयमा पुग्नुस्।

मिलाएर गर्न त जे पनि सकिन्छ। मिल्ने कि मिलाउने भन्ने कुरो न रह्यो। टेक्निकल पाटो (मोबाइलको लोकेसन त घटनास्थलमा मात्र होइन, नयाँ कटान क्षेत्रमा सुतेर बसेका मान्छेको पनि उही सेल आइडी र ल्याक आइडी मिल्ने रहेछ भनेर त देखिसकेकै कुरा हो) मिल्यो भन्नु पनि नौलो कुरा रहेन। विशाल चौधरी, प्रदीप रावलदेखि एआइजी धीरु बस्नेतले पक्रन लागेका दिनेश पाली र सिआइबीको सुरुको टिमका लिडर अंगुर जिसीकै पालामा पक्राउ परेका चक्र बडुको पनि मिलेकै हो। देखाउँदै नदेखाउने हो भने डिएनए पनि मिल्यो भन्न सकिएला ! सर्टको टुक्रा वा घडी जस्तो केही कुरा तीन वर्षपछि फाले पनि मुचुल्का गरे प्रमाण लागिहाल्ला। तर सोचौँ, यसरी निर्मलालाई न्याय मिल्ला त?

सम्बन्धित ब्लगहरु

#WhoKilledNirmala 

#WhoKilledNirmala

Social Media Auto Publish Powered By : XYZScripts.com