के नेपालमा फेरि लकडाउन हुनसक्छ?


कोभिड-१९ संक्रमितहरुको संख्या छिमेकी देश भारतमा निकै बढेसँगै त्यसको असर नेपालमा पनि पर्न थालेको छ। नगण्य संख्यामा रिपोर्ट गरिएका संक्रमितको संख्या विगत केही दिनमा आकाशिएको छ। हुँदाहुँदा संक्रमितको संख्या दिनमा चार अङ्कको भइसकेको छ। सक्रिय संक्रमितहरुको संख्या बढेसँगै फेरि नेपालमा लकडाउन हुने हो कि भन्ने प्रश्न पनि सबैतिर देखिएको छ। अघिल्लो वर्ष लकडाउनले थला पारेको अर्थतन्त्र बिस्तारै बौरिन लागेको बेला फेरि त्यही अवस्था आउने हो कि भन्ने त्रास पनि छ। के फेरि लकडाउन होला त?

पोहोरको लकडाउनका बेला ललितपुरको एक सडक

अघिल्लो पटक जस्तो एकै पटक देशैभर लकडाउन शायद् अब नहोला। अघिल्लो पटक अरु उपाय अपनाउनुभन्दा पनि लकडाउनलाई मात्र एकमात्र विकल्प ठानियो। फलस्वरुप लकडाउन अवधिसम्म खासै संक्रमणको संख्या बढेन। तर जब लकडाउनलाई खुकुलो बनाइयो, तब ह्वात्तै संक्रमितको संख्या बढे।

बिस्तारै संक्रमितको संख्या घट्दै गयो। हामी पनि लापरवाह हुँदै गयो। जनस्वास्थ्यका मापदण्ड अपनाउन छाड्यौँ। जबकि विदेशको अनुभवले पनि महामारीको दोस्रो लहर आउने देखाइरहेको थियो।

मास्क लगाउने, हात साबुन पानीले धुने, दूरी कायम राख्ने, स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने जस्ता मापदण्ड पालना गर्दै संक्रमित देखिएमा उसलाई आइसोलेट गर्ने अनि कन्ट्याक्ट ट्रेसिङ गरी उसको सम्पर्कमा आएकाहरुलाई संक्रमण भएको नभएको निश्चित गर्न सकेको भए संक्रमणको चेन ब्रेक गर्न सकिन्थ्यो। तर हामीले यसो गर्न सकिरहेका छैनौँ।

अनि अब स्वास्थ्य संरचनाले धान्न नसक्ने गरी धेरै संक्रमित भए र उनीहरुलाई अस्पताल लानु पर्ने अवस्था आयो भने पहिलो लहरभन्दा घातक दोस्रो लहर हुनसक्छ। यस्तो अवस्थामा निश्चित ठाउँमा लकडाउन हुनसक्ने सम्भावना धेरै छ।

नेपालगञ्ज र बागलुङबाट सुरुवात

निश्चित ठाउँमा हुने लकडाउनको अभ्यास अहिले नै नेपालका दुई ठाउँमा भइसक्यो। एउटा हो नेपालगञ्ज उपमहानगरपालिका। यो उपमहानगरपालिकामा वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ राति १२ बजेसम्म एक साताका लागि लकडाउन गरिएको छ।

यहाँ सक्रिय संक्रमितको संख्या ७३५ पुगेको थियो। नेपाल सरकारले वैशाख ६ गते जारी गरेको आदेशमा उपमहानगरपालिकामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा त्यस्तो क्षेत्रलाई उच्च जोखिम भएको क्षेत्र मानिने र सो क्षेत्रमा स्थानीय प्रशासनले आदेशमा उल्लिखित विषयका अतिरिक्त अन्य नियन्त्रणका व्यवस्था लागू गर्न सक्ने भनिएको छ।

त्यसैगरी बागलुङ नगरपालिकाका तीन वटा वडामा पनि वैशाख ७ गते राति १२ बजेदेखि वैशाख १७ गते रातको १२ बजेसम्म लकडाउन गरिएको छ।

नगरपालिका वा गाउँपालिकामा  २ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा त्यस्तो क्षेत्रलाई उच्च जोखिम भएको क्षेत्र मानेर लकडाउनसहितका व्यवस्था लागू गर्न सकिने सरकारले जारी गरेको आदेशमा उल्लेख छ। 

काठमाडौँमा लकडाउन होला?

काठमाडौँको अवस्था के छ त ? काठमाडौँ उपत्यकामा काठमाडौँ र ललितपुर दुई वटा महानगरपालिका छन्। बाँकी नगरपालिकाहरु हुन्। स्वास्थ्य मन्त्रालयले वैशाख ७ गते दिएको तथ्याङ्क अनुसार देशभरमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु काठमाडौँ, ललितपुर र बाँके थिए।

भक्तपुरमा सक्रिय संक्रमितको संख्या २३६ छ, जुन सरकारले तोकेको नगरपालिका क्षेत्रभित्रको २ सय सक्रिय संक्रमितको सीमाभन्दा बढी हो। तर भक्तपुरमा सूर्यविनायक, चाँगुनारायण, मध्यपुर थिमि र भक्तपुर गरी चार नगरपालिका छन्। छुट्टाछुट्टै नगरपालिकाको तथ्याङ्क उपलब्ध छैन।

काठमाडौँ महानगरपालिकामा भने वैशाख ७ गतेसम्म प्रारम्भिक विवरण अनुसार सक्रिय संक्रमितको संख्या ६७८ छ जुन सरकारले तोकेको उच्च जोखिमको महानगरपालिकाको मापदण्ड अनुसार ३२२ कम हो। हिजोमात्रै काठमाडौँ मा ५५० जना संक्रमित पहिचान भएका थिए। यस अनुसार काठमाडौँमा एक हजार सक्रिय संक्रमितको संख्या चाँडै नै पुग्ने देखिन्छ।

काठमाडौँ देशको राजधानी र आर्थिक गतिविधिको केन्द्र पनि भएकोले यहाँ लकडाउन गर्ने निर्णय सिडिओ एक्लैले गर्न सक्ने ल्याकत देखिन्न। भन्नलाई त सिडिओले गर्ने भनिएको छ। खासमा त स्थानीय तह (महानगरपालिका, वडा)लाई दिनु पर्ने हो।

महानगरपालिका पूरैलाई लकडाउन गर्नुभन्दा सक्रिय संक्रमित बढी देखिएको वडामा लकडाउन गर्ने बागलुङको मोडल यहाँ काठमाडौँमा पनि लागू हुनसक्छ। वास्तवमा त्यही गरे हुने हो। तर त्यतिले पुग्दैन। आइसोलेट गर्ने र कन्ट्याक्ट ट्रेसिङ गर्दै संक्रमण परीक्षण गर्ने काम पनि तत्काल गर्नुपर्छ।

वैशाख ७ गतेसम्मको तथ्याङ्क हेर्दा काठमाडौँका ३२ वडामध्ये सबैभन्दा बढी सक्रिय संक्रमित पहिचान भएको वडा नम्बर ३२ (कोटेश्वर क्षेत्र) हो। यहाँ १०३ जना सक्रिय संक्रमित छन्।

त्यसैगरी ७९ सक्रिय संक्रमित रहेको वडा नम्बर १६ (सोह्रखुट्टे, बालाजु क्षेत्र) र ५४ सक्रिय संक्रमित रहेको वडा नम्बर १४ (कलंकी, कुलेश्वर क्षेत्र) र ५१ सक्रिय संक्रमित रहेको क्षेत्र वडा नम्बर २६ (लैनचौर क्षेत्र) विशेष सतर्कता अपनाउनु क्षेत्रका रुपमा देखिन्छ।

स्वास्थ्य मन्त्रालयको वैशाख ७ गतेको यो विवरणबाट पनि अस्पतालहरुमा आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीहरुको चाप बढ्दै गएको देख्न सकिन्छ।

त्यसैले स्वास्थ्य मापदण्ड अपनाउँ। एक पटक कोरोना लागिसकेको हुनाले म भन्दैछु, कोरोनालाई केही होइन जस्तो खेलाँची नगरौँ। मलाई त निकै लामो समयसम्म यसले असर गर्‍यो। सतर्क र सचेत हुनु नै अहिलेको लागि उपयुक्त हो।

सम्बन्धित ब्लगहरु-

Comments are Disabled

Social Media Auto Publish Powered By : XYZScripts.com