यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

स्थिति बुझौँ, सचेत बनौँ : यस्तो छ अहिलेको हालत


भारतमा अहिले कोरोना संक्रमणले रेकर्ड कायम गरेको छ। विश्वको कुनै पनि देशमा एक दिनमा सबैभन्दा बढी संक्रमितको अहिलेसम्मको रेकर्ड भारतमा नै बनेको छ। दिनदिनै हजारौँको मृत्यु भइरहेको छ। भारतबाट हवाई र स्थलगत रुपमा यात्रु भित्रिरहेकै छन्। नेपालकै केही ठाउँमा नेपालगञ्ज र काठमाडौँमा अस्पतालमा बेड अभाव हुन थालिसक्यो। विज्ञहरु के भन्छन्, स्थिति कस्तो छ?

आउनुस् केही दृश्य हेरौँ।

टेकु अस्पतालका प्रमुख कन्सलटेन्ट सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला फेसबुकमा लेख्छन्

यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं । यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं-हामी सचेत र चनाखो हुँदैनौं ।

मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ । अधिकांश फोन, आइसीयू र भेन्टिलेटरको खोजीमा आउँछन् । तर, टेकू अस्पताल भरिसक्यो । थप बिरामी राख्ने सम्भावना न्यून छ । अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन । रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन ।

विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन । अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ । हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं । घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था?

जताजतै खुला छ र कोरोना भाइरसको संक्रमण दिन दुइगुणा, रात चौगुनाको दरले बढ्दो छ । यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ । अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए ।

हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रुपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो । यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं । कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं । हामी सुस्तायौं, तर कोरोना भाइरस अझ संक्रामक भएर आयो ।

संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ, स्वास्थ्य सेवा डामाडोल हुन सक्छ । अस्पतालमा बेड नपाउने समस्या त छँदैछ, कुन उपचारले बिरामी निको हुनेछन् भन्ने अन्यौल पनि उस्तै छ । कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ ।

कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ । एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ । पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन् ।

तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ । “चेन ब्रेक” नगरी हामीले सम्हालिने मौका पाउने छैनौं । अहिले आइसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ, त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनु भएको होला भन्ने अनुमान गर्न सकिन्छ ।

कृपया, अब अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं । सुरक्षाका सबै मापदण्ड अपनाऔं । अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन । सकेसम्म सुरक्षित रहने कोसिस गरौं । यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँ-कहाँ चुक्यौं ।

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी : ‘अक्सिजन र औषधिले धान्ने स्थिति छैन । एक हप्ताभित्र सडकबाट उपचार सेवा सुरु हुन्छ । जसलाई अक्सिजन चाहिन्छ । बाहिरबाटै अक्सिजन दिँदै पठाउँदै गर्नुको विकल्प छैन’, उनी भन्छन्, ‘हेल्चेक्य्राइँ धेरै भयो । कन्ट्रोल गर्नै सकिएन । नयाँ भेरियन्ट छिटो फैलिएको छ । हामी आत्तिएका छौँ ।’

पढ्नुस्- आईसीयूबाट डाक्टरको अपिल- बाँच्न गाह्रो छ, सेल्फ लकडाउनमा बस्नुस् (शिलापत्र)

अस्पतालमा बेड छैन, प्रवक्ता भन्छन्- सरकारलाई बदनाम गर्न खोजियो

हिमालय टिभीको रिपोर्ट हेर्नुस्-

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सार्वजानिक कार्यक्रममै जेठको अन्तिमसम्म दैनिक ११ हजार संक्रमित भेटिने बताएका छन् । तर दैनिक दुई हजार संक्रमित भेटिंदा नै अस्पतालमा बेडको हाहाकार छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा सामान्य अवस्थामा पनि ३ हजार वटा आईसीयूसहितको भेन्टिलेटर आवश्यक पर्छ । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकमा नेपालमा अहिले ११ सय ८० बेड मात्रै आईसीयू छन् ।

साथै सरकारी तथ्याङ्क र वास्तविक बिरामीको संख्यामा कति फरक छ, अनलाइनखबरको यो रिपोर्टमा पढ्नुस्- दैनिक दुई हजार संक्रमित पुग्दैमा बेडको अभाव

हरेक दिन सय भन्दा बढी संक्रमित थपिएका छन् । उनीहरुमध्ये धेरै होम आइसोलेनसमा छन् भने कतिपयलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छन् । तर अस्पतालहरुमा बेड पाइन छाडेको छ । तत्काल अक्सिजन सपोर्ट दिएर उपचार गराउनुपर्ने कोरोना संक्रमितहरु समेत कहिले बेड खाली होला भनेर अस्पताल बाहिर कुरिरहेका छन् । पढ्नुस्- नेपालगञ्जको दृश्य : बेड पाउन पालो कुर्छन् कोरोनाका गम्भीर बिरामी स्थलगत रिपोर्ट : नेपालगञ्जमा धान्नै नसक्ने गरी बढ्यो कोरोना, अस्पतालको आँगनमै बिरामीको बेहाल

6 comments to स्थिति बुझौँ, सचेत बनौँ : यस्तो छ अहिलेको हालत

  • Ritesh Singh

    अहिले चाहिं त्यो सुषुप्त भाँडामाझी चाहिं के गर्दै छ ? हौवा भन्दै छ ?

    अनि त्यो जडिबुटी र काठपात बेचेर अर्को रामदेव र पतंजली बन्ने सपना देख्ने घोर हिन्दु दक्षिणपन्थी र अमेरिका देखि ट्रंप को पैसा खाएर त्यसको वकालत गर्दै हिंड्ने र कोरोना हौवा भन्ने आर्को लट्ठक चाहिं के भन्दै छ ?

  • बिनेश

    एकदम् सहि र रमाईलो तरिकाले लेख्नु भो। कसैको दिमागमा घुस्छ कि? होइन भने सबैले ढिलो चाँडो अफैलाई परे पछि भोग्छ्न् । तर यहि बिचमा अरु निर्दोष मान्छे र front line मा काम गर्नेहरु (डाक्टर, नर्स, अस्पतालमा अरु काम गर्ने सहयोगी मन र हातहरु, सरसफाई मा सहयोग गर्ने हरु, ट्राफिक प्रहरिहरु, स्वयंमसेबकहरु र अन्य” नपरोस् भन्ने भगबान संग प्रार्थना गरिरहन्छु 🙏

  • JP

    अस्ति समयमै स्वास्थ्यमन्त्रिले शिक्षाण संस्थाहरु वन्द गरौ भन्दा शिक्षामन्त्रिले जानाजानी अटेर गरे| शिलान्यास र उदघाटनमा प्रधानमन्त्रि र सरकार ब्यस्त रहे, आपसमा जुझ्नमा लागेका छन| कसलाई आफ्नो पक्षमा ल्याउन नियुक्ती दिउ र समिती बनाउ, ककसलाई ठेगाना लाउने हो भन्ने प्राथमिकता सरकारका प्रमुख कार्यकारीको छ| सरकारले समयमा सावधानी अपनाउने कदम चालेको भए यस्तो भयावह स्थिती आउने थिएन होला|

  • डिल्लि

    हामीले साह्रै हलुका रुपमा लियौँ । पार्टी भोज भतेर छोडेनौँ । केही तोरी लाहुरेहरूले त कोरोना भाइरस हौवा हो भन्न भ्याए । हामीलाई केही हुँदैन बेसार पानीले र हाछ्युँ गरेर हट्छ भन्यौँ । पक्कै पनि हामी नेपालीहरूको ताजा खानेकुरा र तातो तातो खाने बानीले पक्कै सहयोग गरेको हो । भान्साको मसलाले धेरै सहयोग गरेको हो । प्रयोग गर्न जाने यो जटील अवस्थामा पनि सहयोग गर्छ नै । मात्रा मिलाउन सक्दा आयुर्वेदिक ओखतिले धेरै राहत दिन सक्छ र सक्थ्यो पनि । तर सबै डाक्टर सबै जान्ने-सुन्ने र फेसबुके समाधान “अल्प विद्या भयङ्करी” भएर आयो । कसैले गुर्जो गुर्जो भनेर हिडे । रक्तचाप घटेर ढले ।

    तिब्रगतिमा रोग फैलिनुका कारणहरू विभिन्न रहे । त्यसमा पनि मूलकारणहरू यस्ता रहे र रहिरहेका छन्

    १) राजनीतिक दलाहा दलका अनैतिक हर्कतमा खोले-कुँडो खान दगुरेका भेडा जुलुस, भेडा सम्मेलन, नेताजीहरूका लाजनीतिक उत्सवहरू
    २) आम नागरिक (पूर्व महाराजका समेत)का भोजभतेर, पिकनिक, पर्व र जात्राहरू ।
    ३) भेटघाट, भिडभाड, रमितेहरूका रमिता ।

    लागिहालेकाले उपाय के त ?
    १) प्रसस्त झोल युक्त पदार्थहरू (जस्तै दाल, गेडागुडी आदिका) खाने, तातो पानीको सेवन बढाउने । खान मन नलागे पनि थोरै थोरै गरेर खाने । नखाएमा कम्जोरी बढ्छ र ढलिन्छ ।
    २) उपलव्ध मसलाहरू जस्तो अदुवा, पिप्ला, तुल्सीको पात, वेसार, ज्वानो, जिरा, लसुन, दालचिनी, अलैंची जे जे उपलव्ध छन् त्यो पिसेर थोरे घ्युमा फुराएर पानीमा उमाली सो काँडामा थोरै नुन, र कागति निचोरेर खाए घाँटी दुख्ने (क्रोनिक टनशिल) र निमोनियाको समस्या घटाउन सकिन्छ । यो कोरोना भगाउने ओखति भने होइन ।

    ३) हिड्डुल गरिरहेका र शारीरिकरुपमा सक्तहरूले अरुको स्वास्थ्य सम्वेदनशीलतालाई ध्यान दिएर अरुलाई सार्न भिडभाड वा कसैकामा पाहुना लाग्न वा चिया चुस्की सहित अर्थ न वर्थको राजनीतिक गफ र डीङ हाँक्न नजाने ।

    ४) बाहिर गम ठोकेर हिड्नु भन्दा परिवारका विरामीको हेरचाह गरेर बस्ने ।

    ५) बाहिर हिड्नै परे अनिवार्यरुपमा माक्स लगाउने । हातमा हेलमेट झुण्ड्याएर मोटरसाइकल हाँके जस्तो चिउँडोमा माक्स बोकेर नहिड्ने ।

    ६) नेताहरूको भेडा जुलुसमा नेताहरूलाई महान बनाउन म-हाना-हान गर्न भेडा बनेर भेडा जुलुसमा कसैले नजाने । यी म-हान नेताहरूको छलाँङ र पाइन देखिसकियो । यिनको पछि कुदेर ठूलो आर्थिक छलाङ हाकिन्छ भन्ने भ्रममा नपरी खेतबारीमा समय दिने वा आफ्नै व्यवसायमा लाग्ने वा कौशीमा तरकारी फलाउन परिश्रम गर्ने ।

    ७) ज-जस्ले जेजे धर्म मान्ने हो आत्मादेखि मान्ने । आत्मा देखि पूजा-प्रार्थना गर्ने । अवस्था सामान्य भएपछि मनलागे जति क्षमा सहित ब्याज थपेर जसरी मन लाग्छ धर्म कर्म गर्ने । हल्ला गर्दै पूजा प्रार्थाना भन्नै नहिड्ने ।

    ८) स्यानी ठूली टाइजर खोज्दै खराब केमिकलहरूको पछि नकुद्ने । साबुन पानी नभए मात्र यी टाइजर खोज्ने र लगाउने । नत्र साबुन पानी स्यानीटाइजर भन्दा राम्रो ।

    यति गरेमा तिब्रगतिमा फैलिएको महामारी घटाउन सकिन्छ । नत्र आफू पनि मरिन्छ अरुको पनि मरणको कारण बनिन्छ । मर्नु अघि यत्ति पुण्य त गरौँ ।

  • Dipesh

    मनको कुरा भन्नुभो। वास्तविकता भनौ या विडम्बना यही हो।

  • Suman

    Kasle bujhne yo kura. Malai ta k nai huncha ra bhandai bajar dulne ko jamat ghateko chaina, neta haru party jogaune nihu ma bhela sabha garna chodeka chainan.. jata pani nirdhakka dekhin cha.. sarkar ko ta kurai k garnu. Janata le ho dukha paune khoi kasaile bujhdainan. Buda budi traash ma ghar bhitrai baschan, chora chori masta bajar dulchan corona liyera aauchan buda budi ko haribijog. India bata nepal hudai anya desh jane kram badeko cha bhanchan, sarkar lai teta dhayan dine ki kurai jogaune bhanne ma badi chinta.. vaccine pani kaile ho kaile.. aba yehi stiti rahe desh sok ma dubcha..