यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कथाः हजुर बा !

बिहान बिहानै हजुरबाको देहान्त भएको खबर सहित घरबाट फोन आयो । म अत्यन्तै मर्माहत भएँ, युनि जान पनि मन लागेन । दिनभर घरमा बसेर हजुरबालाई स्मरण गर्न मन लाग्यो । जे जति समय उहाँ संग बिताएँ त्यो एकदम अबिस्मरणीय लाग्छ । उहाँ साच्चिकै आदर्शवान मान्छे लाग्दछ । ४ वर्ष अघि यताको अध्ययन भिसा पाउन भन्दा पहिले म उहाँलाई भेट्न र आशिर्वाद लिन गाउँ गएको थिएँ, आखिर त्यो नै अन्तिम भेट हुन गयो । संसारको नियमै हो आखिर मृत्यु अघि कसको के लाग्दछ र ?


बुवाहरु शहर बसाँइ सरे पछि जन्मेकोले मेरो जन्मथलो त होइन तर प्राय जसो दशैंमा हामी केही दिनको लागि भएपनि गाउँ जान्थ्यौं । हजुरबा–हजुरआमाको मायाँ अनि छरछीमेकीको आत्मीयताले गर्दा त्यो गाउँ मैले जीवनमा सबैभन्दा बढी नै मिस गर्ने ठाउँ हो । अध्ययनका लागी केही वर्ष बाहिर जाने भने पछि हजुरबा–हजुरआमा निकै खुशी त हुनु भो तर अब फेरि भेट हुदैँन कि भनेर नरमाइलो पनि मान्नु भो । आफू पनि स्कुलको मास्टर भएर जीवन बिताएकाले होला पढाइको महत्व बारेमा हजुरबालाई कसैले सिकाउनै पर्दैनथ्यो । सबैलाई पढ्न प्रोत्साहन गर्ने अनि सहयोग पनि गर्ने । यहि हजुरबाको प्रोत्साहनले उस जमानामा गाउँमा जन्मेर पनि मेरो बुवा राष्ट्रिय स्तरको वकिल बन्नुभो ।
“उत्तराधिकारी भएर पनि तँलाई यहाको जग्गा जमीन के कति छ केही थाहा छैन । लौ हिँड म देखाउँछु ।” म स्पष्ट सम्झन्छु त्यो क्षण । हजुर बा अघि अघि म पछि पछि हाम्रो खेती बारी हेर्न गएको । दौरा सुरुवाल अनि लामो स्टकोटमा ढाका टोपी, कालो तुना बान्नु नपर्ने चम्किला लेदरका जुत्ता । उहाँको हातमा बेत बाँसको लठ्ठी थियो जो हातले समाउने टुप्पो यु आकारमा घुमेको थियो । केही तल चाँदीको दुइवटा रिङ अनि जमीन पट्टिको टुप्पोमा फलामको धारिलो बैसाखी जडान गरेको निकै आकर्षक । उहाँको कुनै विद्यार्थीले इन्डीयाबाट गुरु दक्षिणा ल्याइदेको रे धेरै पहिले । हामी शुरुमा तेर्सो अनि पछि केही भिरालो बाटो हुदैं अगाडी बढ्यौं। बाटोमा भेट्ने कतिले उहाँलाई खुट्टामा ढोग्थे कतिले नमस्कार गर्थे । आशिर्वाद दिंदै सान संग मेरो परिचय दिनु हुन्थ्यो ।
“हजारौं पटक तलमाथि गरिए होला जीवनमा , अहिले त्यही गोरेटो मोटर बाटो भएको छ, अरु मोटर त खासै देखिन्नन् बेला बेलामा मोटर साइकल हुइकन्छन् धुलो उडाउँदै ।” उहाँ भन्नुहुन्थ्यो ।
केही मीनेट पछि हामी सम्म परेको खेतको गराहरुमा राकियौं । छेउँको ठुलो सिमलको रुख मुनिको छहारीमा बसेर सामुन्नेको बाझोँ खेतका टारहरु हेर्यौं । सुनौला धानका बालाहरु लहराउने खेतमा दुवो र झार छ, घरमा खाने अन्न बजारबाट महगों दाममा ल्याउनु पर्छ । हजुरबा एकछिन केही बोल्नु भएन, सिरियस देखिनु भो । मलिन अनुहार लगाउँदै पारी पारी सम्म आखाँ दौडाउनु भो । उहाँलाई यो खेतको कति धेरै मायाँ छ भन्ने कुरा मैले बुवाबाट पनि सुनेको थिएँ । बुवाले यो खेत बेचेर शहर जाउँ भन्दा हजुरबाले कहिल्यै मान्नु भएन । “बाँझो नै रहोस तर मेरो प्राण रहुन्जेल यो खेत बेचिदैन ।” हजुरबाको पनि बाजे बराजुको पालादेखिको नासो हो यो खेत । यही खेतले गर्दा उहाँका पुर्खाहरुको गाउँमा ठुलो इज्जत हुन्थ्यो । सधै प्रयाप्त धान गहुँ मकै आदि उब्जने यही खेतले गर्दा मेरा पुर्खाहरु गरिब भएनन् । हजुरबालाई दशकौँ अघि पनि जमीनदारको छोरो बनेर वनारस पढ्न जाने आँट यही जग्गाले दियो । २०१५ साल तिर वनारसबाट म्याट्रिक गरेर फर्केपछि गाउँको ३ कक्षा सम्म पढाइ हुने स्कुलमा उहाँ मास्टरी जागिर गर्न थाल्नुभो रे तर उहाँको ध्यान जागिरमा भन्दा यहि खेतमै बढी । लठ्ठीको टुप्पोले टाढा टाढा सम्म इसारा गर्दै आफ्नो साँध सिमाना देखाउनु भो । अनि अमिलो मन बनाउदैं पुराना कुराहरु स्मरण गर्नु भो ।
उहाँ बच्चा हुदाँ जमाना अर्कै थियो । जग्गा जमिनको ठूलो आदर थियो । खेतालाहरु पाउन कुनै समस्या थिएन । धान रोपाँइ गर्दा होस वा भित्राउदाँ ठुलै उत्सव हुन्थ्यो । असार लाग्दा नलाग्दै मानु खाएर मुरि फलाउने बेला भन्दै गाउँलेहरु उत्साहित हुन्थे । झ्याँइ झ्याँइ पञ्चे बाजा बजाएर रोँपाइ गरेको, अनि दर्जनौँ जोडी गोरुहरु कुदाएको, कैयौँ रोपाहाहरु, बाउसेहरु अनि अरु खेतालाहरु वारी पारीका डाडाँ पाखाहरु थर्कने गरि ठुलो ठुलो स्वरमा गीत गाउँदै, हल्का छिल्लीएर नाच्दै काम गरको यादहरु ताजै छ । मनोरञ्जन र काम एकैपटक गर्दा कसैलाई थकान भन्ने हुन्थेन । झरी वा घाम केही प्रवाह हुन्थेन , झरी पर्यो भने त शुभ संकेत मान्थे रे रुझेर काम गर्दा झनै रमाइलो । घुँडा घुँडा सम्मको हिलोमा गढ्दै, हिलाम्मे शरिर हुदाँ पनि कोही बिरामी हुन्थेनन् । दिउसो पुरी अनि केराको बुँगा र केराउको दानाको अचार अनि साँझ घ्यु हालेर भुटेको चामलको पिठो खाँदा खेतालाहरु आशिष दिन्थे रे । बिधि पूर्वक साँझ धानको बिउको एक झुप्पा घरको मुल खाँबोमा बाधिन्थ्यो, त्यसो गर्दा शुभ हुन्थ्यो रे । राति अबेर सम्म नाचगान हुन्थ्यो । छाता ओढेर घाम पानी नभनि वर्षायाम भरि खेतमा पानी लगाइरहनु पर्थ्यो, गोडमेल गर्नु पर्थ्यो । धान फुल्थ्यो फल्थ्यो रासाइनिक बिषादी वा चिनी मल केहि चाहिन्थेन रे । दशैं तिहाको रमझम संगै धान पाक्थ्यो । धान भित्राउदाँ फेरि अर्को उत्सव । देवी देवताको पुजा गरेर धान भित्राइन्थ्यो । घरको माथिल्लो तलामा भकारी बनाइन्थ्यो । अनि केही दिनमै अर्को बाली लगाउने, सिँचाइ गर्ने, हुर्काउने फलाउने, यही चक्र संगै वर्ष बित्थ्यो । अर्को वर्ष शुरु हुन्थ्यो उस्तै खेतीपातीको चक्र लिएर । शहर पस्न भन्दा पहिला आफुले देखे–भोगेका अनि प्रत्यक्ष सहभागी भएका यस्तै कथाहरु मैले बुवाबाट पनि धेरै सुनेको थिएँ ।
यहि खेत संग जोडिएका अर्का एक पात्र थिए शिखे दाई । हजुरबा भन्दा ४।५ वर्ष मात्रै कान्छा गाउँकै दलित थिए । हजुरबाले उनलाई भाई भन्ने मात्रै हैन, भाइकै जस्तो ब्यबहार पनि गर्नुहुन्थ्यो । उनलाई अक्षर चिनाइदिनुभो, गास बासको समस्या हुन कहिले दिनु भएन, छोरा छोरीलाई पढाउनु पर्छ भनेर सिकाउनु भो । शिखेदाइकी छोरी सायद त्यो गाउँमा दलित महिलामा एस एल सी गर्ने पहिलो चेली हुन् । हजुरबा कै कारण उनी पछि शिक्षिका भइन् । दलितहरुलाई हेप्ने त्यो रुढी समाजमा पनि हजुरबा सधै उनीहरुको पक्षमा उभिने हुनाले अरु गाउँका भलादमीहरु उहाँलाई मन पराउन्नथे रे । तर पञ्च प्रधानपञ्च बनेर शासन गर्न भन्दा गाउँलेहरु संग दुख सुख बाडेर बस्ने उहाँलाई मन पर्थ्यो रे । शिखेदाइको एउटो छोरा बच्चामा अलि चकचके थियो रे । एकदिन आफ्नै घरमा आगो लगाइदिएछ । सबै जलेर नोक्सान भएपछि शिखेदाई पागल जस्ता भएछन् । हजुरबाले गाउँका अरु मान्छेहरुलाई समेत भनेर उनको नयाँ घर बनाइदिनु भएछ । त्यसपछि त शिखेदाई हजुरबा प्रति जिन्दगिभर कृतज्ञ भए रे । हजुरबाको खेतीपातीको काम सबै उनैले समाल्थे । खेताला खोज्न,े रोपाइँको चाँजोपाँजो मिलाउने, अनि बाली भित्राउदाँ पनि सक्रिय हुने । यस बापत उनले पनि खेतको आधा उब्जनी पाउँथे । शिखेदाई को परिबार पनि धेरै हद सम्म यहि खेत मै निर्भर थियो रे ।
मेरो बुवा केटाकेटी हुँदा काखमा बोकेको, हेरबिचार गरेको स्मरण गराइरहने शिखेदाइलाई मेरो बुवाले पनि मान्नु हुन्थ्यो । शहरबाट जादाँ उनलाई कपडाहरु अनि कहिले रेडियो, घडी, राम्रा जुत्ता वा अरु केही न केही सामान लगिदिनुहुन्थ्यो । मेरो काखमा कत्तिपटक आची गरेका हुन यी नानीले भनेर शिखेदाइले बुवालाई आत्मियता देखाउँथे, बुवाले पनि उनलाई सक्दो आदर देखाउनु हुन्थ्यो । म संग उनको धेरै हिमचिम त भएन तर हजुरबा वा बुवाको कारणले भेट हुदाँ औधी माँया गर्थे ।
शिमलको छहारीमा त्यो दिन उहाँले म संग एक डेढ घण्टा बिताउनु भो । नैतिकताका कुरा सिकाउनु भो, संस्कारको महत्व बताउनुभो, आफ्नो अध्ययन वा अनुभवले जानेको ज्ञान दिनु भो । संसारलाई जिम्बेबार मानिसहरुको खाँचो छ, जे सुकै गर डाक्टर, मास्टर, उद्योगी वा हाकिम खरदार जमदार वा अरु कामदार त्यो तिम्रो छनौट हो तर कर्तब्यबाट कहिल्यै नचुक । आफ्नो काम, समाज र यो धर्ती प्रति सधै सकारात्मक बन, कृतज्ञ बन । उहाँ संग ब्यवहारिक ज्ञानको अथाह भण्डार थियो २।४ दिनको भेटघाटमा मैले कति लिन सक्थें र ?
“ पञ्चायत भने पनि, प्रजातन्त्र भने पनि, जनयुद्ध आन्दोलन जे जे भने पनि यो देशमा शासकले जनताको पीर मर्का कहिल्यै बुझेन ।” हजुरबालाई नेपालको इतिहास राजनीति धेरै थाहा छ । “गरिब जनताले कहिल्यै गरिबीबाट मुक्ति पाएनन् । बिपी कोइराला जस्ता देशको बारेमा चिन्ता गर्ने एउटा पनि नेता जन्मेनन् । कसैले यो देशमा राम्रो गरेनन् र राम्रो गर्न खोज्नेलाई पनि नराम्राहरुले अंकुश लगाए । ल हेर कस्तो जमाना आयो, १६।१७ वर्ष टेक्नै हुन्न सबैलाई विदेश जानै हतार छ । नगएर पनि के गरुन् गाउँमा बस्न लायक के नै छ र ? राम्रो गर्न खोज्ने भन्दा खुट्टा तान्न कस्सिनेको बाहुल्यता छ । यो समाजमा चाहिने भन्दा बढी राजनैतिक चेतना भयो अरु सामाजिक, आर्थिक उन्नतीका कुराहरुले कहिल्यै महत्व पाएनन् । विदेशबाट पैसा त आयो तर यो राम्रो काममा उपयोग भएन । यहाँ देश भरि खेतीपातिका जग्गाहरु कि त बाँझए, कि त घडेरी भन्दै भाउ चर्काउदै खेती गर्न छाडियो । भोली बिदेश छाडेर सबै यतै फर्कन पर्यो भने, ती महंगा घडेरीले खान देलान् त ? दुरदर्शी शासक भएनन् । उत्पादनशील शिक्षाको हकमा सबै निरक्षर जस्ता भए । हाम्रो शिक्षाले सबैलाई कुरा गर्ने मात्र बनायो, काम गर्ने बनाएन । अक्षर चिनेर सरर पढ्न सक्नु मात्रैको साक्षरताको के अर्थ जब आत्मनिर्भरता र उत्पादनशीलताको कुरा त्यहाँ जोडिदैन । यो देशले अझै पनि प्रगति गर्ला जस्तो लाग्दैन । एक दुई पिँढीले अझै मुल्य चुकाउनु पर्छ ।” उहाँको चिन्ता सायद देश समाज प्रतिको जिम्बेबारी बोध हो ।
उहाँजस्तो समाजबादी सोंच राख्ने मान्छेले पनि जनयुद्धकालमा सामन्तबादीको आरोप झेल्नु पर्यो । केन्द्रको शासन गाउँमा कमजोर भयो । जनयुद्ध चर्कियो । खराब मनसायका मान्छेहरुले त्यही युद्धलाई उपयोग गरेर उहाँलाई अपहरण गरे । बुवा गाउँ गएर थुप्रो चन्दा तिर्नु भो । अनि हजुरबा हजुरआमालाई शहर ल्याउनु भो । उहाँलाई सामन्ती बनाउने, अनि सबै ज्यादति गर्नेमा शिखेदाईको छोरो थिए । त्यही छोरोलाई हजुरबाले आफ्नै खर्चमा आइ ए सम्म पढाउनु भएको थियो । पछि शहर पठाउने अनि अध्ययन जारी राख्ने योजना बनाउँदा बनाउँदै शिखेदाइको छोरा जंगल पसेछन् बुर्जुवा शिक्षा नपढ्ने भनेर । ज्याला तलब नदिइ आफ्नो बावुलाई जीवनभर मजदुरीमा राखेको, शोषण गरेको आदि आदिको हिसाव किताब गर्ने बेला आएकोले हजुरबाको घर खेत कब्जामा लिएका रे । शिखेदाई यो कुराले निकै चिन्तित भए । शहर आउने मान्छे संग चिठी पठाए हजुरबालाई । माफी मागे छोराको गल्तिको लागि । निकै सर्मिन्दा पनि भए रे । तर बिचरा उनको के दोष । हजुरबाले पत्रको जबाफ पठाउनुभो शिखेदाइलाई त के त उनको छोरालाइ समेत केही दोष दिनु भएन । घर खेत हेरिदिनु, खेती गरेर जे जति हुन्छ तिमीहरुले नै खानु भनेर खबर पठाउनु भो । बुबा अनि हामी सबैले उहाँको महानतालाई आदर गर्यौँ । “जब शासन ब्यबस्था नै अस्थिर छ, भने द्वन्द त भइहाल्छ । त्यही द्वन्दमा शिकार भएका धेरै निर्दोष मध्ये एउटा म हुँ ।” उहाँ भन्नु हुन्थ्यो ।
उहाँहरु तीन वर्ष जति शहरमा हामी संग बस्नु भो । यहि बीचमा शिखेदाइको बारेमा दुखद खबर आयो । उनी बिरामी परेछन् अनि २।३ महिनामै मृत्यु भएछ । खबर ल्याउनेले भनेको अन्तिम अबस्था सम्म मास्टरदाइलाई भेट्न मन छ भन्थे रे । भगवान जस्ता मान्छेलाई आफ्नै छोराले अन्याय गर्यो मैले केहि गर्न सकिन, उनको ऋणि भएरै मर्ने भएँ भने रे । अनि आफ्नो छोरालाई पनि उनी शोषक होइनन् तँलाई यत्तिको बोल्न सक्ने बनाउने उनै हुन्, तैले ठुलो गल्ति गरिस् माफी मागेस भने रे । हजुरबाले पछि सम्म शिखेदाईलाई धेरै सम्झनु भो । अन्तिम अबस्थामा एक पटक भेट्न नपाएको गुनासो भइ रह्यो । असली सम्बन्ध त भनेको भावनाको हुदोंरहेछ न कि रगत वा अरु नाताको ।
हजुरबा हजुरआमा हामीसंग हुदाको समय मलाई त्यो जीवनकै अविश्मरणीय लाग्छ । दिनहरु अत्यन्तै रमाइला हुन्थे । उहाँले सुनाउने कथा, उखानहरुले मलाई साह्रै प्रभावित पार्यो । हजुरआमा त शहरमा खुशी नै हुनुहुन्थ्यो तर हजुरबाले गाउँको माया मार्न सक्नु भएन । दिनरात उतैको सपना देख्नु हुन्थ्यो । जनआन्दोलन भयो अनि शान्ति वार्ता आदि भएपछि कब्जा गरेका जग्गाहरु फिर्ता हुन थाले । हामीले धेरै जिद्धि गरेपनि हजुरबाले मान्नुभएन गाउँ नै फर्कनु भो । उहाले पछि भन्नुहुन्थ्यो युद्ध पछि गाउँ निकै दर्दनाक हुदै गयो । बिदेशीनेको लर्को रोकिएन बरु झन बढ्यो । बिकास उन्नति होला भनेको खाली राजनीति मात्र मौलायो । अर्को तिर गाउँको पहिलेको सद्भाव पनि खलबल हुदै गयो । त्यो पुरानो सद्धभावलाई फेरि जोड्नुपर्छ भन्ने मान्यता राख्दै हजुरबा गाउँ नछाड्ने निर्णय गर्नुभो । गाउँमा बस्नेहरु थरी थरी कित्तामा बिभाजनमा गरिए । जो जुन कित्तामा परेपनि उनीहरुको दुःख समान थियो, जीवनशैली उस्तै िथयो, तर बिभाजन गर्नेहरु संग स्वार्थ मात्रै थियो तर समाधान थिएन । गरिबको दिन ल्याउने भन्दै निर्दोषहरुलाई मारियो, अपाङ्ग बनाइयो, हजुरबा जस्ता ब्यक्तिहरुलाई धपाइयो तर नाइकेहरुले आफ्नो स्वार्थ मात्र पुरा गरे गरिबीका नाममा माखो मारेनन् । बिस्तारै शभ्यता र उन्नतीको मार्ग सिक्दै गरेका नेपालीहरुलाई अर्को एक दुई दशक पछाडी धकले, अन्योलमा राखे । गाउँको आत्मनिर्भरता र समुन्नति बिना राष्ट्रिय बिकास संभव छैन भन्ने कुरा बुझेका हजुरबा जस्ता दुरदर्शीलाई देखि सहेनन् । तर आफ्नो सपना अधुरो छदैं हजुरबा त परलोक हुनु भो तर उहाँको सपना पुरा हुने छाँटकाँट अझैपनि छैन ।

1 comment to कथाः हजुर बा !

  • ‘गाउँमा बस्नेहरु थरी थरी कित्तामा बिभाजनमा गरिए । जो जुन कित्तामा परेपनि उनीहरुको दुःख समान थियो, जीवनशैली उस्तै थियो, तर बिभाजन गर्नेहरु संग स्वार्थ मात्रै थियो तर समाधान थिएन’ मन पर्‍यो । प्यराग्राफ अलि मिलाउनुहोला ।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)