यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

खोप लगाउनेमा भारत पछि पहिलो भनेर प्रमले किन भ्रमित पार्नु, साँचो कुरा गरे भो नि

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते सोमबार टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गरे। कोभिड–१९ महामारीको नियन्त्रणका विषयमा सरकारले गरिरहेका र गर्ने विभिन्न काम बारे बताए। सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल बनाउन लगाउने, वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने, प्रदेश सरकारले पनि मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने, सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाउने जस्ता केही निर्णय राम्रा भएका छन्। यो गर्नै पर्ने काम हो।

लिखित सम्बोधन पढ्ने क्रममा उनले अङ्ग्रेजीमै अन्तर्राष्ट्रिय समुदायसित सहयोगको आह्वान पनि गरे। सम्बोधनका क्रममा एउटा दावी गरेको भने चित्त बुझेन। सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनेका थिए, ‘अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आफ्ना देशवासीलाई कोरोना बिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएकोे छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।’

के प्रधानमन्त्रीले भने जस्तो ‘खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक’ हो त ?

‘कोरोनाविरुद्ध खोप लगाउनेमा हामी दक्षिण एसियामै भारतपछि पहिलो’ भन्नुको अर्थ त्यति स्पष्ट हुन्न। यसले कूल खोप लगाउनेको संख्यामा हो कि जनसंख्याको अनुपातमा हो कि, खोप अभियान सुरु गर्ने समयमा भारतपछि पहिलो भन्नेमा अन्यौल हुन्छ।

‘दक्षिण एसियामै भारतपछि पहिलो’ दावी पछि प्रधानमन्त्रीले खोप लगाउनेको तथ्याङ्क दिएका छन्- हालसम्म करिब २१ लाख। त्यसले कूल संख्यामै हामी दोस्रो हो कि भन्ने भान हुन्छ।

तर कूल संख्यामा नेपाल दोस्रोमा पर्दैन।

आवर वर्ल्ड इन डेटाले राखेको तथ्याङ्क अनुसार अप्रिल २९ सम्मको तथ्याङ्कमा बंगलादेशमा ८६ लाखभन्दा बढीले खोप लगाइसके। अप्रिल २८ तारिखसम्मको नेपालको तथ्याङ्क  २० लाखभन्दा बढीले खोप लगाएका हुन्।

स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्रीले सम्बोधन गरेकै दिन सार्वजनिक गरेको तथ्याङ्कमा २० लाख ९१ हजार ५ सय ११ जनाले खोप लगाएको उल्लेख छ। दक्षिण एसियामा तेस्रोमा पाकिस्तानको हाराहारीमा संख्या भए पनि दोस्रोमा बंगलादेश देखिन्छ। नेपालको भन्दा बंगलादेशको संख्या करिब ६५ लाखले बढी छ।

जनसंख्याको अनुपातमा भुटान पहिलो

कूल जनसंख्याको अनुपातमा खोप लगाएका संख्यालाई हेर्ने हो भने दक्षिण एसियामा मात्र होइन, विश्वमै भुटान पहिलोमध्येमा पर्न आउँछ।  भएको छ। खोप लगाउन योग्य वयस्क उमेर समूहका ९३ प्रतिशतले भुटानमा खोप लगाइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एपीको समाचार अनुसार ८ लाख जनसंख्या भएको भुटानमा ६२ प्रतिशतले खोप लगाइसकेका छन्।


आवर वर्ल्ड इन डेटाले राखेको तथ्याङ्क अनुसार पनि दक्षिण एसियाका देशमा भुटान पहिलो, माल्दिभ्स दोस्रो, भारत तेस्रो र नेपाल चौथोमा देखिन्छ।

त्यसो भए के खोप लगाउन सुरु गरेको आधारमा नेपाल प्रधानमन्त्रीले दावी गरे जस्तै भारतपछिको पहिलो हो त?

दक्षिण एसियाका विभिन्न देशहरुमा खोप अभियान सुरु भएको मिति यस्तो छ-

भुटान : मार्च २७, २०२१

अफगानिस्तान : फेब्रुअरी २३, २०२१

पाकिस्तान : फेब्रुअरी २, २०२१

माल्दिभ्स : फेब्रुअरी १, २०२१

श्रीलंका : २९ जनवरी, २०२१

नेपाल : २७ जनवरी, २०२१

बंगलादेश : २७ जनवरी, २०२१

भारत : जनवरी १६, २०२१

भारतमा जनवरी १६, २०२१ देखि कोरोनाविरुद्ध खोप अभियान सुरु भएको हो। भारतले आफ्नो देशमा सुरु भएपछि आफ्नो देशमा उत्पादन भएको सेरम इन्स्टिच्युटमा तयार भएको अक्सफोर्ड एस्ट्राजेनेका खोप छिमेकी देशहरुलाई सहयोगस्वरुप निःशुल्क पठाएको थियो। पाकिस्तान बाहेक दक्षिण एसियाका देशहरुले सोही खोपबाट अभियान सुरु गरेका हुन्।

दक्षिण एसियाका देशहरुमध्ये भारतपछि नेपाल र बंगलादेशले उही दिन अर्थात् २७ जनवरीमा खोप अभियान सुरु गरेका हुन्। श्रीलंकाले भने त्यसको दुई दिनपछि २९ जनवरीमा बल्ल खोप अभियान थालेको हो। नेपाललाई १० लाख डोज खोप भारतले सहयोग स्वरुप निःशुल्क दिएको थियो। पाकिस्तानले भने चीनले दिएको खोपबाट फेब्रुअरी २ मा खोप अभियान सुरु गरेको हो।

यसरी हेर्दा भारतपछि खोप अभियान सुरु गर्नेमा नेपाल र बंगलादेश सँगसँगै हुन्। यसलाई दक्षिण एसियामै नेपाल पहिलो भनेर किन ढाँट्नु ! त्यही पनि आफैले किनेर ल्याएर लगाउन सुरु गरेको भए एउटा कुरा। भारतले सित्तैमा दिएको खोपबाट अभियान सुरु गरेर दक्षिण एसियामा भारतपछि हामी पहिलो भनेर किन नचाहिने गर्व फुक्नु ! नेपालले पछि १० २० लाख डोज किन्ने प्रक्रिया गर्‍यो र त्यसमा पनि १० लाखमात्रै फागुन ९ गते आएको थियो। १० लाख आउन बाँकी नै छ। अब त भारतमै खोप पुगेको छैन, नेपालमा त्यो किनेको आउने त कहिले हो कहिले।

(सुरुमा नेपालले किन्न अग्रिम भुक्तानी दिएको खोप संख्या २० लाख हुनुपर्नेमा १० लाख भएछ। १० लाख त आएको रहेछ, पाँच लाख आएको होइन। हुस्सु भएर गरेको गल्ती माथि सुधारेको छु। गल्तीका लागि माफी चाहन्छु। विभिन्न देश संस्था र विश्व स्वास्थ्य संगठनको सह-योजना कोभ्याक्समार्फत् चाहिँ ७ मार्चमा ३ लाख ४८ हजार डोज खोप आएको हो)

भारतले सित्तैमा सरप्राइजका रुपमा १० लाख डोज खोप नदिएको भए नेपालको खोप अभियान अझै ढिला हुनसक्थ्यो।

प्रधानमन्त्रीको सम्बोधनको एउटा अर्को कुरा पनि मन पर्‍यो। उनले भने, हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं। ठीक हो। प्रभावित हुन हुन्न। अम्बाको पातले गार्गल गरेर कोरोना हटाउने, हाँछ्यु साँछ्यु गरेर उडाउने, नेपालीको इम्युनिटी बलियो जस्ता कुरा पनि अहिले आएर हल्ला र अफवाह मात्रै हो भन्ने धेरैलाई थाहा भइ नै सक्यो।

रमाइलो कुरा के भने तीन महिनाअघि खोप अभियान सुरु गर्ने बेला प्रधानमन्त्रीले भनेका थिए- तीन महिनाभित्र सबै नेपालीलाई खोप

तीन महिना नाघ्यो तर सबै नेपालीलाई हैन सात प्रतिशत नेपालीलाई बल्ल खोप पुग्यो। अनि गर्व गर्न दक्षिण एसियामा भारतपछि पहिलो भन्न परेको हो कि के हो?

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ-

कोभिड–१९को सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीको देशबासीका नाममा सम्बोधन

२० बैशाख २०७८

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

– एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरु बनायौं । एकबर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा रहेन । देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौं ।

– यस सफलताको लागि महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मी सहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीहरुको भूमिका उल्लेखनीय रह्यो । त्यस असमान्य घडीमा सङ्क्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु ।

– अहिले हामी कोभिड–१९ महामारीको दोस्रो लहरको सामना गर्दैछौं । कोभिडको यो लहर नयाँ स्वरुपमा थप घातक रुपमा देखा परेको छ । संक्रमणको दर र मृत्युदर गतबर्षको तुलनामा बढी छ । हिजोको २४ घन्टाको तथ्याङ्कलाई उदाहरणको रुपमा लिँदा, पीसीआर परीक्षण गरिएका १६ हजार ७७० केसमध्ये झण्डै ४३ प्रतिशत अर्थात ७ हजार २११ मा संक्रमण देखिएको छ ।

– हिजो साँझसम्म कूल संक्रमित संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । कूल संक्रमितमध्ये निको भएका संक्रमित ८४.५ प्रतिशत, निको हुने क्रममा रहेका संक्रमित १४.५ प्रतिशत र ज्यान गुमाउनेको संख्या ०.९९ प्रतिशत छ । ३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित संख्या छ । ७२ जिल्लामा कोभिड–संक्रमित रेकर्ड भएका छन् । बैशाख १९ गतेसम्मको कूल संक्रमितमा ३८.४ प्रतिशत काठमाडौं जिल्लामा मात्रै र ५०.४ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् ।

– यस महामारीबाट संक्रमित भई अस्पतालमा उपचार गराइरहुनु भएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्यलाभ गरिरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र्र स्वास्थ्यलाभको कामना गर्दछु ।

– हालसम्म ३ हजार भन्दा बढी देशवासीले अनाहकमा यस महामारीबाट जीवन गुमाउनु परेकोमा दुःख व्यक्त गर्दछु र उहाँहरुका शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– गतबर्ष यो महामारी नेपाल भित्रिनुअघि नै सरकारले यसको रोकथाम र नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय गरी प्रभावकारी काम गर्न माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रीय निर्देशक समिति गठन गरेको सबैलाई जानकारी नै छ । त्यसैको योजनामा देशभर होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र बनाइएको थियो, क्वारेन्टिनको व्यवस्थापन र अस्पतालहरूमा शीघ्र उपचारको व्यवस्था मिलाइएको छ । शून्यको संख्यामा रहेको पीसीआर परीक्षण ल्याव संख्या क्रमशः बढाउँदै लगिएको थियो । हाल सरकारी र निजीस्तरका गरी ८७ स्थानमा पीसीआर परीक्षण हुने गरेको छ । सबैजसो अस्पताललाई कोभिडको उपचार गर्नसक्ने स्थितिमा पु¥याइएको छ । गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पताल निर्माण र केद्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीब्रता दिइएको छ ।

– अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आफ्ना देशवासीलाई कोरोना बिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएकोे छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।

– मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको छ । चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ । नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु ।

– त्यसैले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन् । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवम् प्रभावकारी ढङ्गले कोभिड बिरुद्धको लडाईँलाई कार्य अघि बढाउन प्रदेश केन्द्रित हुनेगरी अहिले नेपाल सरकारका एक÷एक जना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको छ ।

– संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एकहदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ । यसलाई थप कडाई गरिंदैछ र प्रभावकारी ढंगले लागू गर्न पहिलेझैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ :

– यही २०७८ बैशाख २० गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको छ ।

– २०७८ बैशाख २३ गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ ।

– स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ । नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

– भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइने छ । सबै तहमा कन्ट्याक ट्रेसिङ बढाउन लगाइएको छ ।

– स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने छ । कोही सङ्क्रमित पाइएमा उनीहरुलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको छ ।

– प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।

– सरकारी तथा अन्य कार्यालयमा एक चौथाई कर्मचारीबाट कार्यसम्पादन गराउन शुरु गरिएको छ । अत्यावश्यक बाहेक अन्य कार्यालय, संघसंस्था बैशाख मसान्तसम्म बन्द रहनेछन् ।

– नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ ।

– वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ ।

– प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन् ।

– सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ ।

– सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्नेछ । कुनै अस्पतालले विवरण पूरा नपठाई शैया लुकाएको भेटिएमा कारबाही हुनेछ ।

– ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ । सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ । लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिनेछ । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने छ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।

– कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिनेछ ।

– स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।

– जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ ।

– सङ्क्रमणको साङ्लो तोड्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ । महामारी नियन्त्रण भएसंगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने नै छ ।

– जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्नेछन् । परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्नेछन् । अन्तर मन्त्रालय समन्वयमा काम गरिनेछ ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– महामारीको सङ्क्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्छ । यसलाई प्रभावकारी बनाउन सरकारका साथै आम नगारिकको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले,

– सकभर घरमै बसौं, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔं,

– समय समयमा साबुनपानीले हात धोऔं वा स्यानिटाइजरले हात सफा गर्ने गरौं

– भोजभतेर तथा पर्व घरमै मनाउँ

– भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं ।

– हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं

– चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गरौं ।

– धैर्य गरौं, संयमता अपनाऔं ।

– सावधान होऔं तर आतङ्कित नहोऔं ।

– गतवर्ष गरिएको बन्दाबन्दी र जारी गरिएको निषेधाज्ञाका समयमा हामीले पालना गरेको अनुशासनले महामारीको असर धेरै हदसम्म कम हुन गएको थियो । यसमा भएको हेलचत्र्mयाईले क्रमशः महामारी फैलिन बल पुर्‍याएको तथ्यलाई हामी सबैले मनन गरौं । नभुलौं, महामारीले कसैलाई पनि छाड्दैन ।

– अन्त्यमा, महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालक/सहचालक, सफाइकर्मी एवम् सम्बद्ध सबैलाई विचलित नभई आ–आफ्नो कर्तव्य निर्वाह गर्न म हार्दिक आह्वान गर्दछु ।

– राजनीतिक दलका नेता÷कार्यकर्ता, सामाजिक संघसंस्था एवम् प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई कोभिडविरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न समेत आग्रह गर्दछु ।

धन्यवाद !

1 comment to खोप लगाउनेमा भारत पछि पहिलो भनेर प्रमले किन भ्रमित पार्नु, साँचो कुरा गरे भो नि

  • कमल

    अरुथोक होइन, ११ महिनामा एकचोटि पनि आफ्नो अफिस नजाने प्रधानमन्त्री भएको पहिलो देश चैने दक्षिण एसियामा मात्र होइन, विश्वमै हुनसक्छ| फलानो तेलानो जाँ भएनी उदघाटन र शिलान्यास गर्न जान चैने हुने तर आफ्नो अफिस जान चैने नमिल्ने? यसले के सन्देश प्रवाह गर्छ?
    ११ महिनामा ३० करोडको खाजा बालुवाटारमा खाए भनेर ईतिहासका प्राध्यापक डा. सुरेन्द्र केसी सरले सधैं सचेत गराईराख्नु भएकै छ|
    देशको प्रमुख कार्यकारीले २४/७ भ्रमको खेती गरेर फसल पनि राम्रो भएको देश हो यो सुन्दर शान्त नेपाल|

    लौ मानौ, प्र.म. ले बिहान बेलुकी अफिस नजानु ठुलो कुरो होइन, खाजा खानु पनि भोकाहरुलाई ठुलो कुरो नहोला, तर काम त फत्ते हुनपरो नी|
    पैसा तिरीसकेको खोप समयमा ल्याएको खै आएको? समयमा आएको भएको कतीको ज्यान बच्ने थियो, कतिले पीडा भोग्न परने थिएन|

    “तीन महिना नाघ्यो तर सबै नेपालीलाई हैन सात प्रतिशत नेपालीलाई बल्ल खोप पुग्यो। अनि गर्व गर्न दक्षिण एसियामा भारतपछि पहिलो भन्न परेको हो कि के हो?” — सही कुरो|

    “तीन महिनाभित्र सबै नेपालीलाई खोप” – प्रधानमन्त्री|
    तीन महिना अघि भनेका यी कुरा हुन| प्रधानमन्त्री जस्तो देशको प्रमुख कार्यकारीले यस्तो हावादारी तालमा बोल्दै हिंडेपछी अब कुन नेपालीले उनलाई पत्याउन पर्ने हो? विगत तीन महिनामा प्रधानमन्त्री, संसद रोक्न, नियुक्ती दिन र इतरका नेताहरुलाई बाहर र भितर, ठोरी, रामपूजन र जलहरी गर्नमै ब्यस्त भएपछी नेपाली जनताको पैसाबाट खाएको तलबभत्ता सुविधा कसरी जस्टिफाई गरने होला|

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)