यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

एक श्रमजीवी पत्रकारको पीडा- काम गरेको तलब लिन के गर्नुपर्ने हो?

-राजकुमार गजुरेल-

अन्ततः मैले पनि हिजो सामान्यतया लेखिरहन आवश्यकै नहुने व्यक्तिगत कुरा सामाजिक सञ्जालमा लेखेँ।

पहिले यस्तै खालको कुरा कसैले लेख्दा के गर्‍या होला है यस्तो,  किन सार्वजनिक रुपमा लेख्नुपरेको, कानुनी उपचार खोज्दा हुन्छ नि भन्ने लाग्थ्यो।

हिजो उकुसमुकुस भएर सहनै नसकी मैले झण्डै दुई वर्ष काम गरेको संस्था नागरिक दैनिकको बारेमा लेख्न पुगेँ। आफूले छाडे पनि संस्थाको माया हुने रहेछ। यो संस्थाको सधैँ उत्तरोत्तर प्रगतिकै कामना गर्छु। तर लेख्नै पर्ने बाध्यता कसरी आयो, यसबारे म थोरै बताउन चाहन्छु।

पोहोर चैत ११ गते लकडाउनको घोषणा नहुन्जेल म बिहान ६ बजे नियमित अफिस पुग्थेँ। अफिस पुग्ने पहिलो कर्मचारी नै म हुन्थेँ।

नागरिकनेटवर्कको नागरिकन्युज पोर्टलमा नागरिक र शुक्रबार साप्ताहिकमा प्रकाशित कन्टेन्टलाई अपलोड गर्दै, विभिन्न ठाउँबाट आएका समाचारलाई काँटछाट गर्दै प्रकाशन गर्दा दिउँसो ३ बजेको पत्तै हुँदैन्थ्यो।  डेस्कमा काम गर्दै अनुभव बटुलिरहेको थिएँ।

त्यतिबेला पहिलो लकडाउन घोषणा हुँदाको पहिलो दिन चैत ११ गते हामी अफिसको गाडी चढेर अफिस पुगेका थियौँ। साथीहरु सबै डराएका थिए। केही बेर काम गरेपछि मलाई रिङ्गटा लाग्यो र म अफिसको गाडी चढेर टिचिङ हस्पिटल गएँ। त्यहाँ चेकजाँच गरेपछि म डेरातर्फ लागेँ।

मलाई मेरो हाकिमले केही दिन आराम गर्न गर्न सुझाए अनुसार म डेरामै आराम गरेर बसेँ। त्यसको दुई/तीन दिनपछि अफिसका साथीहरुले घरैबाट काम गर्न थाले। हामीहरुले सके जतिको काम घरैबाट गर्‍यौँ। हामी अनलाइन डेस्कमा काम गर्ने मध्ये म काठमाडौं मै बसेर अफिसको काम गरिरहेको थिएँ भने केही साथीहरुले उपत्यका बाहिर घरमै गएर काम गरिहेका थिए।

त्यसबेला प्रबन्ध निर्देशक विनोद ज्ञवाली सर आफैले फोन गरेर ‘तिमीहरुलाई खर्च छ/छैन,  मेरो तर्फबाट’ भनी रु १० हजार खातामा पठाइदिनु भएको थियो। त्यो महामारीमा त्यति पैसा धेरै नै मूल्यवान थियो।

त्यसको केही दिनपछि २०७७ वैशाख ११ गते नागरिकको वार्षिकोत्सवदेखि नागरिकन्युज अनलाइन पोर्टल नयाँ लेआउटमा जाने भएकोले अफिसमै गएर काम गर्नुपर्ने भयो। हामी काठमाडौंमा भएका साथीहरु अफिसबाटै नियमित काम गर्न थाल्यौँ।

गत चैतमा लकडाउन हुँदा मेरो माघ महिनादेखिको तलब आउन बाँकी थियो। त्यसमा पनि माघदेखि नै मेरो तलब केही बढेको पनि थियो। लकडाउनको बीचमा माघ-फागुनको तलब किस्तामा आयो। तर मेरो बढेको तलब थपिएर आएन, पुरानै आयो।

मैले एचआर म्याडमलाई भन्दा हिसाब हुँदैछ, आउँछ भनिन्। त्यसपछि पनि तलब काटिएर आयो। कहिले ८ हजार, कहिले ९ हजार, कहिले १० हजार। यति नै तलब आउने भन्ने नै निश्चित थिएन। कहिले कति कहिले कति। कुन महिनामा कति काटिने भनेर न हामीलाई भनियो, न कुनै नीति बनाइयो।

यसबीचमा एचआरसँग कुरा हुँदा अनलाइनमा काम गर्नेले आठ घण्टा काम गर्ने हो, तलब पुरै आउँछ भनिन्। महामारीले आर्थिक समस्या भोगिरहेका सबैलाई समस्या हुन्छ भनेर नियमित काम गरियो।

गत असोजमा हल्का रुघाखोकी लाग्यो, अफिसले कोभिड टेस्ट गरेर आउनु भन्यो। तर चेक गर्न कुनै ठाउँ रिफर गरेन। आफ्नै खर्चले चेक गरियो। चार दिनमा रिपोर्ट नेगेटिभ आयो, अनि अफिस गइयो। त्यसरी विदा बस्नु पर्दाको पनि दिन गनेर तलब काटियो। दशैँमा बोनसको त कुरै छाडौँ, उल्टो दशैँ र तिहारको घर बिदाको पनि तलब काटियो।

मंसिर अन्तिममा मलाई पैसाको आवश्यकता छ भनेर माग गर्दा हुन्छ-हुन्छ मात्र भन्ने आश्वासन पाइयो। मेरो हाकिम, एचआर  र म बीच काम छोडेको एक महिनामा पूरै पैसा दिने मौखिक सहमतिपछि मैले गत पुस ४ गते राजिनामा दिएँ। सोझो हिसाबले पाउँछु होला जस्तो लाग्यो। मैले निरन्तर मेरो पारिश्रमिक दिनुहोस् भनेर मागिरहेँ। पुस, माघ, फागुन, चैतसम्म मागिरहेँ र अहिलेसम्म मागिरहेको छु। मैले भिख मागेको होइन। सापटी वा ऋण पनि मागिरहेको छैन। आफूले गरेको कामको सहमति अनुसार पाउनु पर्ने पैसो मागिरहेको छु। यो बीचमा यी कुरा राख्न मैले कम्पनीलाई नियमित इमेल गरिरहेँ। त्यो मेलको कुनै सुनुवाई भएन।

अनि मैले बाध्य भएर यो कुरा सामाजिक सञ्जालमा राखेँ- के गर्दा ठीक होला भनी आफूले गरेको कामको पाउनु पर्ने तलब पनि नदिने यो कस्तो विडम्बना!

फेरि पनि मेरो विनम्र माग छ, कृपया मलाई अरु कुरा केही चाहिँदैन। मैले गरेको कामको तलब दिनुस्, सम्मानका साथ। मलाई दिनुपर्ने रकम तपाईँहरु जस्तो यत्रो मिडिया चलाइरहेको कम्पनीलाई ठूलो पनि होइन।

 

 

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)