यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

भाइरल डाक्टरका स्टायटस कपिपेस्ट गर्ने मिडिया र मिडियाकर्मीले ध्यान दिन नसकेका यी तथ्य

“आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ… यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं”

मंगलबार साँझ ५ बजेर ६ मिनेटमा रवीन्द्र पाण्डेले लेखेको यो फेसबुक स्टायटस बुधबार राति अबेर मैले यो ब्लग लेख्दासम्म एक हजारभन्दा बढी पटक सेयर भइसकेको छ। पाण्डे सेलिब्रिटीहरुका पनि प्रिय हुन्। उनको स्टायटसलाई ‘डा. रवीन्द्र समीरका अधिकांश सुझाव, जानकारी र सूचना तथ्यपरक हुन्छन्’ भनेर इन्डोर्स गर्दै कमेडियन मनोज गजुरेलले पनि त्यसको आठ मिनेटमै आफ्नो फेसबुकमा साभार गरे।

मिडियाका त उनी प्रिय नै हुन्। उनको यही स्टायटसलाई कम्तिमा तीन वटा अनलाइनले समाचार बनाइसकेका छन्- आगामी ३ हप्ता नेपालका लागि अत्यन्तै कठिन : जनस्वास्थ्यविद् डा. पाण्डे (फरकधार), आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था : डा रबिन्द्र पाण्डे,जनस्वास्थ्य विज्ञ (नेपालन्युज), ‘तीन हप्ता दुःख सहेरै भएपनि कोरोना फैलन रोकौँ’ (दृष्टिन्युज)

तर तीन महिनाअघि जतिबेला अरु विज्ञहरु नेपालमा दोस्रो लहर आउन सक्छ, सतर्क हुनुपर्छ र सावधानी अपनाउनु पर्छ भनिरहेका थिए, त्यतिबेला उनले लेखेका थिए- ‘बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं।’

त्यतिमात्र होइन। उनले अझ थपेका थिए, ‘यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ। आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन।’

उनको यो स्टायटसलाई विभिन्न नाम चलेका मिडियाले साभार गरेका थिए। उदाहरणका लागि-

नयाँ प्रजातिको भाइरसबाट डर नमानौँः डा. रवीन्द्र पाण्डे (देशसञ्चार)

डाक्टर भन्छन् : पुरानो कोरोना हजार जनामा सर्न सक्छ भने नयाँ १७ सयमा (नागरिक)

बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे नडराऔंः डा.पाण्डे (काठमाण्डुपाटी)

उनले मृत्युदर कम रहेको दावी गर्दै खतरा भाइरस आयो भन्ने कुरालाई हल्ला र सत्य होइन भनेका थिए। अब अहिले हामी देखिरहेका छौँ, पहिले कति महिना लगाएर बल्ल हुने मृत्युको संख्या अहिले एकै दिनमा भइरहेको छ।

जतिबेला उनले मृत्यु दर कम रहेको दावी गरेका थिए, त्यतिबेलातिरै विदेशमा गरिएका अध्ययनको नतिजाले देखाइसकेको थियो कि B.1.1.7 नामको पहिला युकेमा पहिचानमा भएको यो भेरिएन्टको सम्बन्ध बढी मृत्युदरसित छ। वेबएमडीको समाचार

Infections with ‘U.K. Variant’ B.1.1.7 Have Greater Risk of Mortality (अमेरिकी सरकारी स्वास्थ्य अनुसन्धान संस्थाको वेबसाइट)

उतिबेला संक्रमितको संख्या कम भइरहेको बेला नडराऔँ, केही खतरा होइन भन्ने, अनि अहिले दैनिक संक्रमण ९ हजार नाघिरहँदा र मृत्यु हुनेको संख्या एकै दिन २ सय नाघिरहँदा अबका दिन चुनौतिपूर्ण हुन्छन् भन्ने यो कस्तो विज्ञता? अब अहिले दिनदिनै संक्रमण र मृत्युको संख्या बढिरहेका बेला आगामी दिन चुनौतिपूर्ण हुन्छन् भनेर त जसले पनि अनुमान गर्न सक्ने कुरा हो नि। जता-जता हावा चल्यो, त्यता-त्यता लाग्ने पनि कसरी विज्ञ?

विज्ञ त त्यो हो, जसले भविष्यमा आउन सक्ने सम्भावित खतराको आंकलन गर्दै बेलैमा सचेत गराओस् र सावधानीका उपाय अपनाउन जनाउ दिओस्। यो केही खतरा भाइरस होइन, मृत्यु दर पनि कम हुन्छ भनेर विज्ञता झारिदिएपछि र त्यसैलाई ध्रुवसत्य मानेर मिडियाहरुले जस्ताको तस्तै कपिपेस्ट गरेपछि त्यसै पनि कोरोना भनेको केही होइन रहेछ, हाँछ्यु गरेर जाने रहेछ, हामीले पचाइसक्यौँ भन्ने मानसिकतामा रहेका सर्वसाधारणको हेलचक्र्याइँ झन् बढेन होला र?

महामारीहरुको इतिहासले देखाउँछ, जब-जब मानिसहरु यस्तै लापरवाह बन्छन्, तब-तब दोस्रो लहर आउँछ र त्यो पहिलोभन्दा घातक हुनसक्छ। हाम्रोमा केही विज्ञहरुले यस्तो सम्भावना औँल्याइरहेकै थिए। तर मिडिया त्यस्ताको कुरा ल्याउन छाडेर नाममा डाक्टर रहेका भाइरलहरुको पछि लागे।

घाँटीमै कोरोना नष्ट हुने?

यो नेपालखबरले प्रकाशित गरेको समाचार हो। यो बाहेक अरु थुप्रै अनलाइनले पनि उनको स्टायटसलाई कपिपेस्ट गरेर आफ्नो न्युजपोर्टलमा राखेका छन्।

६ मे, २०२१ मा उनले राखेको स्टायटसमा लेखिएको छ- ‘बालबालिका तथा युवामा इम्युनिटी पावर धेरै हुन्छ। त्यस्तै खोप लिएका व्यक्तिमा भाइरसविरुद्धको एन्टिबोडी हुन्छ। एकपटक संक्रमण भएका व्यक्तिमा पनि एन्टिबोडी बिकास भएको हुन्छ। त्यस्ता व्यक्तिमा भाइरस घाँटीमै नष्ट हुन्छ।’

भाइरोलोजिस्ट डा. सुदीप खड्का यो गलत भएको बताउँछन्। भाइरसकै बारेमा अनुसन्धान गर्ने उनी भन्छन्, ‘बालबालिका तथा युवामा इम्युनिटी पावर धेरै भन्ने हुँदैन। कारणवस बालबालिकामा कोरोना कम सर्ने हो। नत्र बालबालिकामा अत्यन्तै जोखिम गराउने थुप्रै थुप्रै भाइरस, ब्याक्टेरियाहरु छन्। उदाहरणको लागि फ्लुले बालबालिकालाई धेरै असर गर्छ। खोप लगाएका व्यक्तिमा एन्टिबडी त हुन्छ तर खोपका कारण बन्ने एन्टिबडी र घाँटीमा सक्रिय एन्टिबडी फरक हुन्। खोपले गर्दा उत्पादन भएका एन्टिबडी फोक्सोमा उपलब्ध भए पनि घाँटीमा उपलब्ध हुँदैन। घाँटी नाकमा सिकृटेड अर्थात् शरीरले उत्पादन गरेर बाहिर निकाल्ने एन्टिबडी सक्रिय हुन्छन्। त्यस्ता एन्टिबडीको उत्पादन अहिलेको खोप लगाएर हुँदैन। खोप लगाए पश्चात् पनि उपल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमणको सम्भावना रहन्छ।’

‘जिनमै अलौकिक शक्ति भएको नेपाली रे’

एक वर्षअघि २४ अप्रिल, २०२० मा उनले लेखेका थिए- ‘नेपालीमा कोरोना संक्रमणसंग लड्ने इम्युनिटी पावर बढी छ।’ विज्ञता भन्दा पनि साहित्यका फूलबुट्टा भरेर ‘राष्ट्रिय गर्वले ओतप्रोत भएको’ यो स्टायटस पनि थुप्रै मिडियाले साभार गरेका थिए। त्यो लेखमा पाण्डेको ठहर थियो -‘नेपालीसँग इम्युनिटी पावर धेरै हुन्छ। यसमा शंका गर्नुपर्ने कुनै कारण छैन। कोरोना संक्रमण फैलिएको खण्डमा नेपालीको मृत्यु एकदम कम हुन्छ। हाम्रो जिनमै अलौकिक शक्ति छ।’

कुनै विज्ञले जिनमै अलौकिक शक्ति हुन्छ भनेर बिना कुनै तथ्य, बिना कुनै अनुसन्धान यत्तिकै बोलिदिन मिल्छ? जुन देशका बासिन्दाको औसत आयु बल्ल ७० वर्ष पुगेको छ (हामीभन्दा माथि ११० देश माथि छन्) त्यसको इम्युनिटी पावर कसरी बढी भनेर कसैले प्रश्न सोधेनन्। बरु गर्वले छाती फुलाएर त्यही स्टायटस मिडियामा कपिपेस्ट गरे।

त्यसको दुई महिना नबित्दै हो, संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तै लाइनमा विद्वता छाँटेको। नेपालीहरूको रोग प्रतिरोध क्षमता राम्रो छ भनेर कसले भन्यो भनी सोधिएको प्रश्नको जवाफमा ओलीले भनेका थिए अघि सुन्नुभएन, मैले भर्खरै भनेको। हिमालमा ठोक्किएको स्वच्छ हावा खाएकोले नेपालीको इम्युनिटी पावर बढी हुने खालको तर्क पनि उनले गरेका थिए।

अब अहिले देखियो त इम्युनिटी पावर? रोग प्रतिरोध क्षमता त्यस्तो राम्रो भएको भए अहिले किन यस्तो अवस्था आइरहेको छ त?

नेपाली मात्र होइन विश्वमै पनि यो रोगको मृत्यु दर कम छ। तर यसले यति धेरैलाई संक्रमित बनाउँछ कि ती मध्ये थोरै प्रतिशतमात्र अस्पताल आवश्यक पर्नेहरुको संख्यालाई समेत देशहरुको स्वास्थ्य संरचनाले धान्न सक्दैन। अनि धेरैको मृत्यु हुन्छ। बाँकी त इम्युनिटी पावरकै कारण बाँच्ने हो।

बीसीजी खोपको अप्रमाणित हल्ला फैलाउँदै

‘हामी नेपालीले बिसिजीको खोप लगाएका छौं , समयसमयमा जुकाको औषधि, हात्तीपाइले रोगको औषधि खाएका छौं।  तसर्थ जोखिम न्यून छ’, एकताका उनले यस्तो अप्रमाणित हल्ला पनि फैलाएका थिए, जुन निकै भाइरल भएको थियो। सधैँ झैँ धेरै अनलाइन मिडियाहरुले यसलाई कपिपेस्ट गरेर आफ्नो भ्युज बढाउने मौका पाएका थिए। तर विश्व स्वास्थ्य संगठनको साइन्टिफिक ब्रिफ डकुमेन्टले भन्छ,  कुनै प्रमाण देखिएको छैन।

त्यसैगरी उनले नेपालमा बढीमा १ हजार जना संक्रमित हुने र त्यसो भएमा पनि २० जनाको मात्र मृत्यु हुने भविष्यवाणी त्यसमा गरेका थिए। लेखेका थिए, ‘त्यो मृत्यु पनि अन्य विभिन्न रोगको कारण मृत्यु उन्मुख व्यक्तिको मात्र हुनेछ | स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन।’ उनले त्यसो भनेको तीन महिनामै संक्रमितको संख्या १७ हजार र मृत्युको संख्या ४० पुगेको विश्व स्वास्थ्य संगठनको सिचुएसन रिपोर्टमा हेर्न सकिन्छ।

उनले लेखेको स्टायटसको एक अंश।

अब अहिले देखिरहनुभएको छ युवा वर्गको पनि धमाधम मृत्यु भइरहेको छ।

आत्मबल यसरी बढ्छ?

कतिपय उनका प्रशंसकहरुले आत्मबल बढाउनलाई उनले यसरी लेखेको भनेर तर्क गर्ने गर्छन्। तर यो कूतर्क हो। आत्मबल बढाउने नाममा तथ्यविहीन, मिथ्या र अप्रमाणित कुराहरु बाँड्न हुँदैन।

अस्ति एउटा ट्रेनिङमा कोरोना भाइरसको खोप नेपालमा बन्यो भनेर आएका न्युजहरुको उदाहरण दिँदै त्यो अन्ततः मिथ्या दावी प्रमाणित भएको बताउँदै गर्दा त्यो समाचार राख्ने एक पत्रकारले भन्दै थिए- अहो, त्यो समाचार लेख्दा छाती क्या गर्वले फूलेको थियो!

हामीलाई हाम्रो राम्रो कुरा भनिदिने, लेखिदिने चाहिएको छ- चाहे त्यो गलतै र अप्रमाणित किन नहोस्।

आत्मबल बढाउने नाममा हाम्रो इम्युनिटी पावर बढी छ, हामीलाई केही हुँदैन भन्ने गलत कुरा जनमानसमा स्थापित गराइदिँदा मानिसहरु लापरवाह भएर जनस्वास्थ्यका मापदण्ड अपनाउन छाडे र त्यसैको फलस्वरुप अहिले आएर यति धेरै संक्रमण र मृत्यु भइरहेको छ। यसको जिम्मा इम्युनिटीको गफ दिनेहरुले अलि अलि भए पनि लिन पर्ने कि नपर्ने?

कस्तो डाक्टर, कस्तो जनस्वास्थ्यविद्?

नेपाली मिडियाले उनलाई जनस्वास्थ्यविद् लेख्ने गरेका छन्। यो उनको स्वघोषित पद हो कि मिडियाले भिराइदिएको पद हो, थाहा भएन।

तर त्यसरी जनस्वास्थ्यविद् लेख्नेहरुले कहिल्यै उनको पढाइको बारेमा केही सोध्नुभएको छ? केही खोज्नुभएको छ?

उनलाई डाक्टर लेख्नेहरुले कहिल्यै रविन्द्र पाण्डेको नाम नेपाल मेडिकल काउन्सिलको वेबसाइटमा सर्च गर्नुभएको छ? (नेपालका सबै मेडिकल डाक्टरहरुले नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनु अनिवार्य छ)

मैले खोज्दा यस्तो भेटियो-

तर तपाईँ नझुक्किनुस् है, काउन्सिलको दर्ता नम्बर ५३८८ भएको डा. रवीन्द्र पाण्डे ती मिडियाले सेलिब्रिटी बनाएका डाक्साप हैनन्। उनी त कार्डियोलोजिस्ट हुन्। गंगालाल अस्पतालको वेबसाइटमा यस्तो छ हेर्नुस्-

मिडियाका साथीहरुलाई प्रश्न- त्यसो भए तपाईँहरुले सेलिब्रिटी बनाएका डाक्सापलाई कहिल्यै तपाईँ मेडिकल काउन्सिलमा दर्ता भएको डाक्टर हो कि होइन, हो भने काउन्सिलको दर्ता नम्बर कति हो, जनस्वास्थ्यविद् कसरी हुनुभो, कहाँ पढ्नुभो भनेर कहिल्यै सोध्नुभो र त्यसलाई भेरिफाइ गर्नुभयो?

खासमा त तपाईँहरुले विज्ञको भनाईमा कतिको कन्सिस्टेन्सी छ, आज एउटा कुरा, भोलि अर्कै कुरा त गरिरहेका छैनन्, तथ्यमा टेकेर कुरा गर्छन् कि जति बेला जे चर्चामा छ, त्यही कुरा गरेर भाइरल हुने काम त गरिरहेका छैनन् भन्ने पनि गहिरिएर विश्लेषण गर्नुपर्ने हो। तपाईँको काम फेसबुकमा कसैले मिलाएर लेखेको कुरालाई कपिपेस्ट गरेर आफ्नो वेबसाइटमा राखेर फैलाउने मात्रै हो त? गम्भीर भएर आत्मसमीक्षा गर्नुस्।

आफै अध्ययन पनि गर्ने कि कपिपेस्ट गरेर जागिर मात्र पचाउने?

यो नयाँ भाइरस हो। यसका धेरै कुरा अझै प्रष्ट छैनन्। अनुसन्धानले दिनदिनै नयाँ कुराको संकेत गरिरहेको हुनसक्छ। यस्तो अवस्थामा पुरानै कुराको आधारमा विज्ञ भनाउँदाले गफ दिइरहेका छन् कि भनेर थाहा पाउन पनि तपाईँ आफैले अध्ययन गर्नुपर्ने, यसबारे बुझ्नु पर्ने हैन र? कमसेकम यो बेला कसको विज्ञता केमा छ, त्यो त थाहा हुनुपर्‍यो नि, कि सधैँ कपिपेस्ट गरेर जागिरमात्र पचाउने हो? हुनत सजिलो त्यही हो। तर यसरी तपाईँमा रहेको समाजलाई सुसूचित गराउने जिम्मेवारी पूरा हुन्छ त?

विज्ञहरु पनि थरिथरिका हुन्छन्। कोही भाइरसमा राजनीति मिसाएर बोल्दिन्छन्, कोही नभएको विज्ञता छाँट्दिन्छन्। कुन विज्ञलाई आफ्नो मिडियामा प्राथमिकता दिने भन्ने जिम्मेवारी तपाईँको हो। तपाईँले याद गर्नुभएको छ कि छैन, दोस्रो लहर आउन सक्छ भनेर शरद वन्त, अनुप सुवेदी, सुदीप खड्का, जनक कोइराला लगायतका विज्ञहरुले निरन्तर सचेत गराइरहेका थिए।

भाइरल हुने बाहेकका अरु विज्ञतिर आँखा खोई?

जति यी भाइरलवालालाई मिडियाले प्राथमिकता दिन्छन्, त्यति अरुले पाउँदैनन्। मिडियालाई के प्रश्न कसलाई सोध्ने भन्ने पनि थाहा नभएको देखिन्छ। भाइरस बारे भाइरोलोजिस्टलाई बुझ्न सकिन्छ। वासुदेव पाण्डे, सुदीप खड्का, लुना भट्टसित तपाईँ भाइरस बारे बुझ्न सक्नुहुन्छ।

संक्रमणको फैलावट र रोकथामबारे इपिडियोमोलोजिस्टसँग कुरा गरे धेरै कुरा थाहा हुन्छ। महेश मास्के, केदार बराल जस्ता डाक्टरहरुसित कुरा गर्नुभो भने तपाईँलाई धेरै कुरा थाहा हुन्छ। त्यसपछि त्यसलाई समाचारमा कसरी प्रयोग गर्ने तपाईँको खुबी हो।

संक्रामक रोग विशेषज्ञ पनि नेपालमा एकसेएक छन्। प्रभात अधिकारी, जनक कोइराला, किरणराज पाण्डे, अनुप सुवेदी, शेरबहादुर पुनसित कुरा गर्नुभयो भने न्युज एङ्गल प्रशस्त आउन सक्छ।

यत्ति हो, यी विज्ञहरुले तपाईँलाई रवीन्द्र पाण्डेले जस्तै मिलाएको भाषामा शुद्धाशुद्धिसमेत हेर्न नपर्ने गरी फेसबुकमा टक्क लेखेर राख्दिँदैनन्। तर उनीहरुले तपाईँलाई समय मिलाएर मज्जाले कुरा बुझाइदिन सक्छन्। बस तपाईँले सोध्न जान्नुपर्‍यो। उनीहरुको भनाईलाई पहिला आफूले बुझ्नुपर्‍यो र उनीहरुले भनेकै कोट आफ्नो समाचारमा लेख्न सक्नुपर्‍यो। जे विज्ञता हो त्यो विषयमा प्रश्न सोध्नुपर्‍यो।

रिपोर्टरको मात्र हैन, नेतृत्वको पनि कमजोरी

यो ब्लग लेख्ने क्रममा स्वास्थ्य क्षेत्रमा रिपोर्टिङ गरिरहेकाहरुसित पनि कुरा गरेको थिएँ। उनीहरुले रिपोर्टरमा ज्ञान, तालिमको अभाव हुनुको साथै नेतृत्वको पनि कमजोरीमा जोड दिए। हुन पनि हो, नेपालमा हेल्थ रिपोर्टिङलाई खासै ध्यानै दिइएको थिएन महामारी आउनुअघिसम्म। तर यतिखेर अरु सब बिटलाई पनि हेल्थ बिटमै केन्द्रित गर्नुपर्ने अवस्था छ। तर ‘हेल्थ लिटरेसी’ कै अभाव मिडियाको नेतृत्व तहमा पनि छ। नेपालमा सार्स कोभ २ भयो तर कोभिड-१९ भएन भनेर विज्ञको भनाईलाई मिसकोट गरेर समाचार छापिएको पनि हामीले देखेकै हौँ।

नेपालको हेल्थ रिपोर्टिङ धेरैजसो टिप्स पत्रकारिता थियो महामारी अघिसम्म। अर्थात् रुघा लाग्दा के गर्ने, छाला चम्किलो बनाउन के खाने, गर्मी महिनामा पसिना धेरै आउँछ? यसो गर्नुस् भन्ने पाराको। अस्पतालका सुइट रुमहरुमा चर्को शुल्क तिर्नुपर्ने अवस्था अहिले भर्खरको हो र, उहिल्यैको हो। सरकारी अस्पतालमा आइसियु नपाएर बिरामीलाई दिनहुँ मिटरब्याज झैँ बेडमात्रको हजारौँ शुल्क तिर्नुपर्ने अवस्था अहिले भर्खरको हो र, उहिल्यैको हो नि। तर मूलधारका मिडियालाई सधैँ राजनीतिले मात्र छोयो। स्वास्थ्य बिट बनाएर अलग्गै मिडिया चलाइरहेकाहरुको सञ्चालन खर्च पनि तिनै अस्पताल र फार्मेसीहरुको विज्ञापनले धान्नु पर्ने अवस्था छ। अनि बेथितिबारे कलम कसरी चलोस्। खास कुरा के हो नबुझी बिरामीका आफन्तले तोडफोड गरेका भरमा डाक्टरको लापरवाहीले मृत्यु भन्ने खबर ठूलो बन्छ। तर मिडियामा पहुँच नभएका, बोल्न नसक्ने बिरामीका आफन्तहरुका बिरामी अस्पताल व्यवस्थापन र चिकित्सककै साँच्चिकै ठूलो लापरवाहीको शिकार हुँदा समाचारै बन्दैन।

मिडिया हाँक्ने सम्पादक र डेस्कमा बस्ने उपसम्पादकहरुलाई पनि विज्ञ होइन, भाइरल व्यक्तिहरुकै भनाई राख्न सकसक लाग्छ। सोसल मिडियामा चलेको हावा अनुसार यो एङ्गलिङमा रिपोर्टिङ गर्नुपर्‍यो भनेर रिपोर्टरलाई लगाउँछन्। अनि रिपोर्टर पनि यो त होइन है यस्तो भनेर प्रतिवाद गर्न सक्दैनन्, बरु यो इस्यु राम्रो हुन्छ है भनेर दिन सक्दैनन्। अनि हुने त्यही हो जे अहिले भइरहेको छ।

चुरोकुरो- कपिपेस्ट मात्र नगर्नुस् न, हस्?

अहिलेको यो जटिल अवस्थामा पनि मिडियाका साथीहरु विज्ञको नाममा फेसबुकमा पस्किएका सामग्री थपक्क कपि गरेर आफ्नो वेबसाइटमा पेस्टमात्र गरेर नबस्नुस् न, हस्? कुरा के हो पहिला आफू बुझ्नुस्। आफैले नबुझी अरुलाई कसरी बुझाउने? जे विषयका विज्ञ हो, त्यो विषयमा बुझ्नुस्। कसैले केही दावी गरे प्रश्न सोध्नुस्, किन ? कसरी ? केका आधारमा यस्तो भन्नुभएको? प्रश्नले हो तपाईँको पत्रकारितालाई जीवित राख्ने।

कोरोना भाइरस कसरी फैलिन्छ, कसरी त्यसबाट जोगिने भन्ने कुरा अझै पनि धेरैलाई थाहै छैन। लक्षण देखिएर पनि परीक्षण नगरी बस्दा किन जोखिम हुन्छ भन्ने बारे आफै बुझ्नुस्, समुदायलाई बुझाउनुस्। परीक्षण गर्ने ठाउँ कहाँ हो, कसरी गर्ने भनेर बुझाउनुस्।

अहिले हामी कि त हुँदै नभएका मिथ्या जानकारीहरुको मारमा छौँ, कि सकारात्मकताको नाममा आधारहिन कुराहरु फैलाएर बसिरहेका छौँ। साँचो कुरा गरौँ। आफूलाई विज्ञ भन्नेले गरेको कुनै कुरा गलत ठहरिन आए प्रश्न गरौँ। उनीहरुले जे भन्यो, जे लेख्यो- त्यही मात्र फैलाउने हो भने त तपाईँ उनीहरुको कुरा फैलाउने एक माध्यम मात्र बन्नुभयो। तपाईँको भूमिका चाहिँ खै त? आफैलाई सोध्नुस् है यो प्रश्न।

जाँदाजाँदै मिडियामा विज्ञका रुपमा छाउने अर्का व्यक्तिका विभिन्न भनाई समेटिएको यो भिडियो पनि हेर्नुहोला

9 comments to भाइरल डाक्टरका स्टायटस कपिपेस्ट गर्ने मिडिया र मिडियाकर्मीले ध्यान दिन नसकेका यी तथ्य

  • Rakesh Shrestha

    Jagrit is at it again. This man needs to stop spreading falsehoods while more than 200 people are succumbing to the virus every day and the medical facilities are being overwhelmed.

    Anyone who thinks Jagrit is speaking nonsense, pleases comment on that YouTube video, because right now only his blind followers are posting positive comments calling him a hero

    What you need to understand it the motivation of the extreme political ideology Jagrit Ryamajhi belongs to. Just read history books about how extreme this ideology is – Vietnam, Cambodia, Stalin’s Russia. and sadly even our own country, the proponents of this extreme ideology do not place any value on human life. Human lives, even if it is the millions is “expendable” for them as long as they can achieve their political goals.

    Human lives are only a “means to an end” to the proponents of this extreme view. Remember, even in Nepal, how many schoolteachers were murdered and tortured and called “bourgeois” , but these cowardly people could never touch the Panchas and the real corrupt people, and we all know how they all are now dividing up the loot amongst themselves while the rest of the nation suffers.

    And remember, how many people were murdered in Cambodia, North Korea etc etc by this ideology

    Jagrit and his ilk want to establish a “ideologically pure” land like North Korea, where “youth leaders” like him and his other cronies can enjoy life while the rest of the country is subjected to hard labor and an unsustainable life. And, killing even a few million, or even a few hundred thousand Covid deaths would mean nothing for them as long as they can reach their goal.

    Jagrit has no degree in medicine, he is not a scientist and he has no qualifications other than “pseudo facts” that he randomly pulls out of his butt, and his arguments sound logical only to the extremely uneducated people, and this is the demographic they want to exploit to achieve their target.

    This man needs to be called out for what he is

  • मुकेश यादव

    समिर लेखक बन्धु ले अघि को कमेन्ट मा सही कुरा करनु भयो / अब म अफै लाइ पनि के के भनुन कि नभनुन भनने रनभुल मा परेको थिएँ इ राय माझी बन्धु को बारे /

    जागृत राय माझी बन्धु यसो सरसरति हेरादा त् बडो प्रखर वक्ता प्रस्तुत हुने करनु हुन्छ / अनि मेरो आफनै गाउँ क कति कति पय मनाछे ले उनक कुरा सुनेर यो भाइरल वैरल भनने त् खाने दाउ रहेछ भनदै कुनै सेफ्टी वेफटी को बाल नदिए का छन महिनौ भर मित्र वर्ग /

    अब आयर भका भक्क विमारी सिकिस्त र अनेकन को त् देहावसान भएको कुरा सर्व विदितै छ

    हिजो एक ब्ररस भन्दा बढी सम्म ठुलो ठुलो स्वर ले बडो यो विषयमा प्रखर ज्ञान भएको र कमेन्ट करन लायक “एक्स्पर्ट” जस्तो करी हामी जसता सिम्पल गाउँले लाइ त् मुर्खह बनाए बनाए हामरा जागृत राय माझी मित्र ले , र आज पनि त्यहि भनदैछन दिन को २०० भनदाबढी देहावसान भएको आज को सिचुएसन यस्तो छ मित्र हरु

    अनि यस्ता युवा नेता ले गलती स्वीकार करने कि झन ठुलो स्वर ले चिललौने त् ? अनि कस को रोहवर मा कति कति रकम को लेना देला पो भयको छ कि ?

    सालोक्य सर ले अलिक सटिक रुप मा यी जागृत राय माझी बन्धु को बारे रिसरच करेर हामी लाइ खुलासा करी दिनु भे आभारी हुने थियोयों

    सालोक्य मित्रले यस्तो मिहिनेत करेर जनसाधरण मा सही सत्य को खुलासा करनु भय को छ अनेकन विषय मा / अत्यन्त आभार प्रकट गर्न चाहन्छु मित्र

  • Suman Lekhak

    Baroolo made a nice video on Sameer Dixit. Yes, Sameer made some miscalculations early on, but early on, it how the virus was going to play out was anyone’s guess. At least has a PhD and is an infectious disease researcher and at least he was man enough to acknowledge his most recent misquote about the vaccine from China.

    Nice work, baroolo.

    I hope you also call our another “expert”, one who has no educational background and no experience on infectious diseases. That person is “Jagrit Rayamajhi”. Mr Rayamajhi is a great speaker and sounds very convincing, and therein lies the problem. For more than a year, Mr Rayamajhi has been misleading the public with his Covid denial. His modus operandi is to cite unverifiable resources, and his audience is the largely uneducated populace of Nepal.

    Baroolo, please do some fact finding and research about who Mr. Jagrit Rayamajhi is sponsored by and whose money is he pocketing. Mr Rajamajhi has time and again made numerous factless statements.

  • Raj

    Italy ma kunai tata aba bhuichalo jadaina surakchut chau (yestai 2) kei bhanako bigya lai tya ko sarwocha adalat le karwahi (Kaid wa jwriwana wa dubai) garako udharan samay sandharbhik hola

  • ईन्द्र कमल

    अन्त विरलै देखिने यस्ता खोजिपुरक र बिष्लेषणात्मक ब्लगहरु पढ्न पाईने हुनाले माइसंसार नबिराई पढछु| म विज्ञलाई आदर गर्ने मान्छे, विज्ञका रायलाई गढेर बुझ्न् खोज्ने मनुवा, तर आफुलाई सकेसम्म विज्ञको क्रेडिबिलिटी पनि लेखाई र तथ्यको आधारमा नियाल्न खोज्ने पाठक ठान्छु| भाषा, स्वर, कथने र सुनाउने शैली, सामायिकता, सामाजिक पहिचान, सहज उपलबधता, भाईरले प्रबित्ती, मेडिया एक्स्पोजर र शब्द सरंचनाले केही हदसम्म मायने राख्छन तर ती मिलाउदैमा मात्र प्राविधिक बिषयमा विज्ञ कहलाईनु पर्ने आवश्यकता छैन भन्ने मेरो मान्यता हो| जोखाना र अढ्कलवाजी विज्ञता होइनन, ज्योतिष विधामा पनि विज्ञान नपहिल्याए त्यस्तो हुनसक्ला तर जनस्वास्थ्य जस्तो जीउधनको सुरक्षासँग मतलब भएको अ नि वर्तमान र भविष्यसँग जोडीएको नितान्त गम्भीर बिषय सँग अवश्य होइन र हुँदैन| भन्नुको तात्पर्य्य, रबिन्द्र समीरले विज्ञको पगरी बोक्नु र उँहालाई त्यो पगरी भिराउनु उपयुक्त देखिदैन| पढेलेखेको आधारमा होस वा डिग्री र जागिर मात्र भएर विद भनिहाल्नु पनि अन्याय हुनजानेछ| अहिलेलाई यति मात्र भनु कि रबिन्द्रजीको कुनै भनाइ र पोस्ट स्टाटस मा तथ्यपरक डाटा र बिष्लेषण देखिदैन| लागेको कुरा डिग्री हुनेले लय मिलाएर भन्दैमा विज्ञ र विद भईहाल्छ?
    हाम्रो नेपालमा जे लेखे नी दाँयावाँया नहेरी अन्धनधुन्ध फलोअर र गाली गर्नेको को कुनै कमी छैन| एक शब्द लेखे पनि समाजिक सन्जालमा फेस देखाउन पाईहलिन्छ|
    आफुलाई डाक्टर लेख्ने कथित जनस्वास्थ्य विदले आफ्नो डिग्री र योग्यता खुलाउन पर्ने हो| साहित्यविद भए अर्कै कुरो हो कल्पनाको उडान जती माथि तल लगे नी हुन्छ तर जनस्वास्थ्यमा विष्लेषण विश्वासनीय डाटा र तथ्यको आधारमा हुनपर्छ भन्ने बुझेकै होलान|
    माथिका ब्लगबाट मेनस्ट्रीम मेडियाका सम्पादक र समाचार प्रेषकहरुले पनि केही बुझ्न् पर्ने प्रष्टै देखियो|
    धन्य माईसंसारले यी विसंगति औउल्यादिएर हामी पाठकहरुमा सोच्न वाध्य गराएका छन| अन्त्यमा, तपाईंका यी वाक्यहरु दोहोराउन मन लाग्यो-

    “…विज्ञ त त्यो हो, जसले भविष्यमा आउन सक्ने सम्भावित खतराको आंकलन गर्दै बेलैमा सचेत गराओस् र सावधानीका उपाय अपनाउन जनाउ दिओस्। यो केही खतरा भाइरस होइन, मृत्यु दर पनि कम हुन्छ भनेर विज्ञता झारिदिएपछि र त्यसैलाई ध्रुवसत्य मानेर मिडियाहरुले जस्ताको तस्तै कपिपेस्ट गरेपछि त्यसै पनि कोरोना भनेको केही होइन रहेछ, हाँछ्यु गरेर जाने रहेछ, हामीले पचाइसक्यौँ भन्ने मानसिकतामा रहेका सर्वसाधारणको हेलचक्र्याइँ झन् बढेन होला र?..”

  • jhakri kanchha

    कती मेहनत गरेर भाईरल चेक गर्नु भएछ। लेखक लाई छ तोप को सलाम र भाईरल तथा कथित डाक्टर लाई २१ जुता को झापाट ।

  • चुरोकुरो- कपिपेस्ट मात्र नगर्नुस् न, हस्?
    तपाइको यस्तै तथ्यपरक ब्लगको प्रतिक्षामा । चिर्नुस, मज्जाले चिर्नुस ।

  • GOKARNA GAUTAM

    I salute you for your depth analysis.

  • […] उनको बारेमा अस्ति एउटा ब्लग लेखेको थियो। त्यो खासमा उनीप्रति  भन्दा पनि […]

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)