यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

भाइरल ‘डाक्टर’ले आफै स्वीकारे उनी ‘मेडिकल डाक्टर’ होइनन्

के तपाईँले सामाजिक सञ्जालमा भाइरल हुने र मिडियाले पनि तात्तातै कपिपेस्ट गर्ने खालका स्टायटस लेख्ने रवीन्द्र पाण्डेलाई मेडिकल डाक्टर ठान्नुभएको थियो?

तपाईँ गलत हुनुहुन्छ। किनभने उनी आफैले आफू मेडिकल काउन्सिलमा दर्ता नभएको खुलाएका छन्।

माइसंसारले उनको बारेमा अस्ति एउटा ब्लग लेखेको थियो। त्यो खासमा उनीप्रति  भन्दा पनि उनको स्टायटसलाई आँखा चिम्लेर कपिपेस्ट गर्ने मिडिया र मिडियाकर्मीप्रति लक्षित थियो, उनीहरुलाई आत्मसमीक्षाको अनुरोध गरिएको ब्लग थियो। त्यसैको जवाफमा ‘भ्रम निवारणबारे’ शीर्षकमा ७ सय शब्दको स्टायटस बुधबार लेख्दै उनले आफू नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएको खुलाएका हुन्। मेडिकल डाक्टरहरु नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनु अनिवार्य छ।

नेपालमा डाक्टर भन्ने बित्तिकै मेडिकल डाक्टर बुझ्ने प्रचलन छ। तर पीएचडी डाक्टरहरु पनि डाक्टर कहलिन्छन्। अर्थात् मेडिकल बाहेकका पनि डाक्टर हुन्छन्।

सामान्य पाठकको त कुरै छाडिदिउँ, उनको स्टायटस कपिपेस्ट गरी आफ्नो न्युजपोर्टलमा राख्‍ने धेरै मिडियाकर्मीले पनि शायद् उनलाई मेडिकल डाक्टरै बुझेका थिए होलान्। अब उनीहरुको भ्रम पनि निवारण हुनुपर्ने हो।

उनले आफू नेपाल हेल्थ प्रोफेसनल काउन्सिल अर्थात् स्वास्थ्य व्यवसायी परिषद्‍मा दर्ता भएको भन्दै नम्बर पनि खुलाएका छन्। यो भनेको मेडिकल काउन्सिल ऐन अन्तर्गत मेडिकल काउन्सिलमा दर्ता हुन योग्यता नपुगेका स्वास्थ्य व्यवसायीहरूको सेवालाई व्यवस्थित एवं वैज्ञानिक ढङ्गले परिचालन गर्न तथा उनीहरूको योग्यता अनुसार नाम दर्ता गर्ने व्यवस्था गर्न २०५३ सालमा बनेको नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन अन्तर्गतको अलग्गै काउन्सिल हो।

त्यो बाहेक आफ्नो स्पष्टीकरणमा उनले आफू NAMC मा पनि दर्ता भएको दावी गरेका छन्, तर नम्बर दिएका छैनन्। NAMC भनेको नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल हो। यो भनेको आयुर्वेदिक पट्टीको हो। आयुर्वेद पट्टीकोलाई कविराज वा वैद्य भन्ने गरिए पनि अचेल उनीहरुले डाक्टर पनि लेख्न थालेका छन्।

जनस्वास्थ्यविद् कसरी ?

मिडियामा उनको नाम जनस्वास्थ्यविद् अङ्ग्रेजीमा public health expert का रुपमा आउने गर्छ। मैले मिडिया र मिडियाकर्मीलाई कसरी भनेर प्रश्न सोधेको थिएँ। जनस्वास्थ्य पढ्दैमा जनस्वास्थ्यविद् हुने, अर्थशास्त्र पढ्दैमा अर्थविद् हुने, पत्रकारिता पढ्दैमा पत्रकारिताको एक्सपर्ट हुने हो र ?

एक्सपर्ट कहलिन त केही क्राइटेरिया हुनुपर्ने होला नि। मैले बुझे अनुसार त एक्सपर्ट अर्थात् विद्, विज्ञ हुन ऊ त्यो विषयमा जानकार हुनुपर्‍यो, विश्वसनीयता हुनुपर्‍यो र विज्ञान आधारित सोच बनाउने प्रवृत्ति हुनुपर्‍यो। अर्थात् यही हो भनेर ठोकुवा गर्ने होइन कि उपलब्ध हुँदै गरेको प्रमाण र अनुसन्धानको नतिजा अनुसार आफ्नो विचार परिवर्तन गर्दै जाने, गल्ती भए त्यसलाई महसूस गरेर गल्ती स्वीकार्ने एटिच्युड हुनुपर्‍यो। आफूले एउटा कुरा भनेको छ तर नयाँ प्रमाण र दावी आयो भने आफ्नो पुरानो धारणालाई पुनर्विचार गर्ने खालको हुनुपर्‍यो। जता जता हावा चल्या छ त्यतै त्यतै बहने भन्न खोजेको हैन फेरि।

अझ अर्को महत्त्वपूर्ण कुरा त सम्बन्धित विषयमा रिसर्च गरेको हुनुपर्‍यो। जर्नलहरुमा आर्टिकल छापिएको हुनुपर्‍यो। छापिएर मात्र भएन, त्यसको विश्वसनीयता हुनुपर्‍यो। विश्वसनीयता उसको आर्टिकल कति जनाले साइट गरेको छ, त्यसबाट प्रष्ट हुन्छ।

जस्तै अस्ति मैले डा. लुना भट्ट शर्माको बारेमा एउटा ब्लग लेखेको थिएँ कि कसरी उनले नेपालमा भित्रिएको चिनियाँ खोपलाई डब्लुएचओले मान्यता नदिएको  भ्रम फैलाइन् भनेर। उनी पनि मेडिकल डाक्टर हैनन्, भाइरोलोजिस्ट हुन्। तर त्यो एउटा गल्ती भयो भन्दैमा उनलाई विषयको जानकारी नै नभएको भन्न हुँदैन, पाइँदैन। गुगल स्कलरमा गएर खोज्दा उनका यस्ता रिसर्च पेपर देखिए-

त्यो सबैभन्दा माथिको पेपरलाई २७ पटक साइट गरिएको छ। त्यो भनेको विश्वसनीयता मापन हो। कुन जर्नलमा प्रकाशन भएको हो, त्यसको विश्वसनीयता चाहिँ इम्प्याक्ट फ्याक्टरबाट मापन हुन्छ।

अर्को उदाहरण संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीको हेर्नुस्-

यो हेर्न सजिलो छ, scholar.google.com मा जानुस्, नाम टाइप गरेर हेर्नुस्।

हाल टेकु अस्पतालका चिफ कन्सलट्यान्ट अनुप बास्तोलाको यहाँ क्लिक गरी हेर्नुस्– प्रतिष्ठित जर्नल लान्सेटमा छापिएको छ नेपालको पहिलो कोरोना भाइरस केसबारे आर्टिकल जसलाई २२७ पटक साइट गरिएको छ। टेकुकै शेरबहादुर पुनको हेर्नुस्। भाइरोलोजिस्ट सुदीप खड्काको हेर्नुस्।

अब एकचोटी मिडियाहरुले जनस्वास्थ्यविद् भनेर भाइरल गराउने गरेको रवीन्द्र पाण्डेको हेरौँ न त।

पक्कै पनि नाम देखियो। तर ध्यान दिनुहोला है, यी नामहरु हाल सहिद गंगालाल ह्रदय रोग केन्द्रमा कार्यरत कार्डियोलोजिस्ट डाक्टर रवीन्द्र पाण्डेका हुन् जो नेपाल मेडिकल काउन्सिलमा आवद्ध छन्।

ल मिडियाकर्मी साथीहरु तपाईँहरु आफै खोज्नुस् तपाईँहरुले भाइरल बनाउने रवीन्द्र पाण्डेको जनस्वास्थ्यका विषयमा अनुसन्धानमूलक आर्टिकल कतै छ कि छैन गुगल स्कलरमा गएर यहाँ क्लिक गर्नुस्

अस्ति एउटा ट्रेनिङमा मैले आलुबाट बत्ती बल्छ भन्ने दावी गरेँ भने तपाईँहरु न्युज बनाउनु हुन्छ भनेर सोधेँ। धेरैले बनाउँदिन भने। ती मध्येका केही पत्रकारहरु त्यस्ता थिए जसले स्प्राइटको बोतलमा कोरोना भाइरसको भ्याक्सिन नेपालमै बनेको र अझ विश्व स्वास्थ्य संगठनले समेत चासो दिएको समाचार बनाएका थिए। छुटाउनु भएको भए त्यो ब्लग पढ्न यहाँ क्लिक गर्नुस्।

मैले सोधेँ, अनि त्यो समाचार चाहिँ किन बनाउनु भएको त ?

ती मध्ये एक जनाले मलाई भनेका थिए, हामी उनको नामको अगाडि प्रोफेसर जोडिएको देखिएर विश्वासमा परेका थियौँ। प्रोफेसर भन्दैमा भएन नि, त्यो दावी गर्ने प्रोफेसर ललित कुमार दासको कतिवटा रिसर्च आर्टिकल छापिएको छ, यसरी नै हेरेको भए उनको विश्वसनीयता कति थियो, छर्लङ्गै हुन्थ्यो।

कहाँ पढेको र योग्यता कहिल्यै सोध्नुभो?

मिडियामा एक्सपर्टको रुपमा परिचय गराउने तपाईँ मिडियाकर्मीहरुले कहिल्यै उनको योग्यता र पढाइबारे प्रश्न गर्नुभो?

‘जहाँसम्म म कसरी जनस्वास्थ्यविद भएँ ? भन्ने सवाल छ, मैले जनस्वास्थ्य विषयमा बंगलादेशबाट उपकुलपति स्वर्णपदक सहित सन् २००७ मा उत्तीर्ण गरेको हुँ,’ उनले भ्रम निवारणबारे शीर्षकको आफ्नो स्पष्टीकरणमा लेखेका छन्।  

बंगलादेश त बंगलादेश, त्यत्रो ठूलो देश। पढ्ने त कुनै स्कूल वा युनिभर्सिटीमा नै होला नि। उनले आफूले पढेको ठाउँको नामसमेत लेखेका छैनन्। पढाइको पनि तह होला नि, ब्याचलर्स, मास्टर्स, पिएचडी अथवा तीन महिने, छ महिने, एक वर्षे – कुन तहको त? उनले ७ सय शब्दको स्पष्टीकरणमा त्यो पनि खुलाएका छैनन्।

विभिन्न रिसर्च पेपर भनेर हचुवामै ?

उनले आफ्नो स्पष्टीकरणमा लेखेका छन्, ‘बेलायतको नयाँ प्रजाति पहिले ७० % बढी फैलिने तर मृत्युदर कम भएको भनेर धेरै रिसर्च पेपरले उल्लेख गरेका थिए।’

धेरै भनेको कति ? दुई वटा? चार वटा? धेरै भन्ने तर कुन कुन रिसर्च पेपरमा यस्तो उल्लेख थियो भनेर चाहिँ उनले न इङ्गित गरे, न त्यसको लिङ्क नै राखे। बुधबारको ब्लगमा मैले  दुई वटा लिङ्क समेत राखेको थिएँ।

Study: U.K. Variant Associated With Higher Death Rate (Webmd)

Infections with ‘U.K. Variant’ B.1.1.7 Have Greater Risk of Mortality (NIH)

थप हेर्नुस्

B.1.1.7 variant linked to 55% higher mortality compared to other strains of SARS-CoV-2 (London School of Hygiene & Tropical Medicine)

मेरो एक जना साथी छ, नाम उल्लेख नगरौँ होला। उसको बानी मलाई थाहा छ, अरुलाई थाहा छैन। एक दिन उनले हाम्रा केही साथीहरुका अगाडि गफ दिए, कार्लोस रोड्रिगुएजले सन् १९८० मै पत्ता लगाएको हो- पिपलको रुखले अरु रुखभन्दा ४० प्रतिशत बढी अक्सिजन फाल्छ भनेर। मैले यसो गुगल गरेर हेरेको त त्यो नामका साइकलिस्ट, टेनिस कोच आदिमात्रै भेटेँ। उसलाई एकान्तमा सोधेँ, ओए को हो यो कार्लोस रोड्रिगुएज भनेको, भेटिन्न त कतै? उसले हाँस्दै जवाफ फर्कायो- तैँले सिरियसली लेको ? गफ जोतेको नि।

गफै जोत्‍न त जे भने पनि हुन्छ।

उनले आफ्नो स्पष्टीकरणमा लेखेका छन्, ‘अहिले फैलिएको प्रजाति बेलायतको मात्र नभएर अफ्रिका, ब्राजिल तथा भारतमा पटकपटक म्युटेसन भएको भाइरसको कारण हो। बेलायतमा पछि म्युटेसन भएर त्यसको शक्तिमा घटबढ भएको अध्ययनले देखाएका छन्।’

फेरि अध्ययनले देखाएका छन् लेखे। अध्ययन कुन हो चाहिँ  खुलाएनन्, लिङ्क हालेनन्। उनले बेलायतको मात्र नभएर अफ्रिका, ब्राजिल र भारतको भेरियन्ट भएको ठोकुवा गरे। तर नेपालमा कुन भेरियन्टको छ भनेर त अध्ययनै भएको छैन। त्यसै गफ जोतेर हुन्छ? नेपालमा अहिलेसम्मको अध्ययनमा युके भेरियन्टमात्र पुष्टि भएको छ। यहाँ हेर्नुस्।  ब्राजिल र साउथ अफ्रिकाको भेरियन्ट हालसम्म पुष्टि नभएको विषय हो।

माघ ५ मा स्वास्थ्य मन्त्रालयको विज्ञप्ति-

 

जिन अलौकिकबारे

पहिले उनले लेखेका थिए- ‘‘नेपालीसँग इम्युनिटी पावर धेरै हुन्छ। यसमा शंका गर्नुपर्ने कुनै कारण छैन। कोरोना संक्रमण फैलिएको खण्डमा नेपालीको मृत्यु एकदम कम हुन्छ। हाम्रो जिनमै अलौकिक शक्ति छ।’

इम्युनिटी पावर धेरै र जिनमै अलौकिक शक्ति भएकोले नेपालीको मृत्यु एकदम कम हुन्छ भन्नेले अहिले देखियो होला नि मृत्यु कम हुने रहेछ कि बढी।

अहिले आएर स्पष्टीकरणमा कुरा फेर्दै उनले लेखेका छन्, ‘हरेक व्यक्तिको जिन अलौकिक हुन्छ। त्यो नै व्यक्तिको पहिचान हो। मेरो सम्पूर्ण जेनेटिक स्वभाव कुनै व्यक्तिसँग हुबहु हुँदैन। यो सांकेतिक भनाइ थियो।’

अनि त्यसो भए त नेपालीको मात्र किन विश्वका हरेक देशका मान्छेको जिन अलौकिक हुन्छ त। नेपालीकै मृत्यु एकदम कम हुन्छ किन लेखेका रहेछन्, उनको स्टायटस साभार गर्ने मिडिया र मिडियाकर्मीले एक पटक राम्रोसित सोचून्।

आत्मबल बढाउने नाममा अप्रमाणित कुरा फैलाउने?

उनले आफ्नो स्पष्टीकरणमा आत्मबल, मनोबललाई बढाउन लेखेको भन्ने तर्क गरेका छन्। त्यसो भए त कोरोना भनेको केही होइन भन्ने ‘सुसुप्त रायमाझी’ जस्ताले पनि त आतंक किन मच्चाउने भनेरै आत्मबल बढाउन त्यसो भनेको भन्न पाइयो नि। मिल्यो त? हामी नेपालीको इम्युनिटी पावर बढी छ भन्ने कुरा कुनै तथ्य र प्रमाणले नदेखाए पनि आत्मबल बढाउनकै नाममा विज्ञ भनेर प्रचार गरिएका व्यक्तिको नामबाट मिडियामा आएपछि मान्छेले के सोच्छन्? यस्ता कोरोनालाई त पचाइदिन्छौँ भनेर हेलच्क्रयाइँ गर्ने, लापरवाही गर्ने हुँदैन? अनि त्यही कारणले कसैलाई कोरोना लागेर ज्यान गयो भने त्यसको जिम्मा इम्युनिटी बलियो छ भनेर भ्रम फैलाउनेहरुले थोरै भए पनि लिनु पर्ने कि नपर्ने होला?

हुँदाहुँदा देशका प्रधानमन्त्रीले समेत नेपालीको इम्युनिटी पावरबारे अप्रमाणित कुराहरु बोल्न थाले। रमाइलो त के भने प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले समेत पाण्डेलाई इन्डोर्स गरेको यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

पानीमा डुबेर मरिन्छ भन्ने सुनाउँदा आतंकित भइन्छ र आत्मबल, मनोबल कम हुन्छ भनेर ह्या यो पानीले केही गर्दैन भन्ने। अनि उकासी उकासी पौडी खेल्न नजान्नेलाई समुद्रमा जान प्रोत्साहित गर्ने। त्यसपछि त्यो आत्मबल बढेको मान्छे केही हुन्न त हो नि भनेर जाँदा छालमा पौडिन नसकेर डुबेर मर्‍यो भने….. !

डा. सुरेन्द्र केसी, भरत दाहाल, पुण्य गौतम आदिका त छुट्टै फ्यानबेस छन् भने रवीन्द्र पाण्डेका हुनु नौलो कुरा होइन। कमसेकम उनले ‘सुषुप्त’ रायमाझीले जस्तो मास्कै लाउनु पर्दैन, कोरोना केही होइन त भनेका छैनन् भन्ने पनि तर्क होला। ठीकै हो। उनको लेखाइ र सर्वसाधारणले सेयर गर्नु र भाइरल बनाउनुसित मेरो चासो होइन, मेरो चासो त मिडियाले किन र के आधारमा उनलाई विज्ञ, expert ठानेका र उनको हरेक स्टायटसलाई कपिपेस्ट गरेका भन्ने मात्रै हो। पढ्ने पाठक नझुक्किनका लागि उनी मेडिकल डाक्टर होइनन् भन्ने पनि लेखिदिए हुन्थ्यो।

शुक्रबारमा छापिएको एउटा आरोप

अब म तपाईँहरुको ध्यान शुक्रबार नामको  एउटा साप्ताहिकमा छापिएको एउटा कन्टेन्टतिर लैजान्छु। १२ माघ २०७४ को अङ्कमा कभर स्टोरी एउटा सेलिब्रिटी डिभोर्सको विस्तृत कभरेज थियो। त्यसमा महिला पात्रका भनाई र आरोपहरु समेटिएका छन्-

यो स्टोरीको अनलाइन संस्करण यहाँ क्लिक गरी पढ्न सकिन्छ।  

त्यसमा लेखिएको छ- मैले डाक्टरलाई औषधि खान्न भनेँ । पहिला औषधि खाएर यस्तो भएको, दुई वर्षसम्म बेडको बेडमा सुतेको बताएँ । डाक्टर छक्क पर्दै  ‘कुन औषधि, डाक्टरको नाम के हो’ सोध्नुभयो । साइक्रेटिक हो ? भनेर सोध्नुभयो । ()ले हैन भन्दै जनस्वास्थ्यतिरको भएको बताउनुभयो । ‘स्टेक्याम’ भन्ने औषधि खुवाएको याद छ । औषधि तीन/चारवटा थियो ।
‘तपाईंहरु कुन जमानामा हुनुहुन्छ, जुन पायो त्यही ठाउँमा गएर हुन्छ ? यो औषधि हामीले नेपालमा पहिल्यै ब्यान्ड गरेको, यस्तो पनि खुवाउने हो ? भनेर डाक्टर कराए । पहिला मलाई डिप्रेसन भएको भनेर गलत औषधि खुवाइएको रहेछ ।

तर अचम्म के छ भने त्यसमा पत्रिकामा छापिएका तल पहेँलो लगाइएका यी कुरा सेन्सर गरेर हटाइएको छ। मैले त्यतिबेला नै सेभ गरिराखेको भएर यता राख्न सकेको हुँ।

विषय र प्रसंगले अर्को अर्थ नलागोस्, यहाँ कसैको डिभोर्समा को दोषी, को नदोषीको कुरा हैन। मात्र ध्यानाकर्षण केमा भयो भने पब्लिक हेल्थ पढेको मान्छेले कुनै व्यक्तिलाई डिप्रेसनको औषधी चलाउन मिल्ने हो कि नमिल्ने ?

जवाफ खोज्नुहोला भन्ने आशा गरौँ।

15 comments to भाइरल ‘डाक्टर’ले आफै स्वीकारे उनी ‘मेडिकल डाक्टर’ होइनन्

  • गौरव

    डब्लुएचओ भन्छ यो भाइरस नयाँ भएकोले हामीलाई यसबारे प्रशस्त जानकारी छैन । तर नेपालमा स्व विज्ञहरु यो भाइरसको नाली बेली सबै बताउन आतुर छन् ।

  • Bimal

    pasang Lama and Yadav Gurung, with due respect, please read the title of this blog first and its contents to support it. The bottom line is Rabindra Pandey (Sameer) is not a medical doctor registered under NMC. In his response in FB, he gave the impression as if he has studied medicine in Bangladesh. No name of the institution of the degree was cited though. The MySansar blog also exposed why he is not an expert although Rabindra (Sameer) Pandey himself writes as Dr. and Public Health Expert in his name. My reading of the blog was that it was meant for the media to be aware of this fact as was being quoted Rabindra Pandey as Dr. and Public Health Expert without verifying what he is.

  • Shankar

    नक्कली डाक्टर र कन्डक्टर एकै हो भन्दा कन्डक्टर को बेजत भएँ न ? कन्डक्टर पनि पेसा हो , इमान्दार कन्डक्टर र नक्कली डाक्टर लाइ दाज्न मिल्छ ? बाक्य फिर्ता लिनुहुन्छाकी ?

  • pasang Lama

    नेपालमा NAMC मा दर्ता भएका चिकित्सक धेरै छन् . काउन्सिल ले डा. लेख्ने अधिकार देको हुन्च . स्वाथ्य मन्त्रालय का सह प्रबक्ता पनि NAMC वाला हुन् . खोप का परमुख झलक गौतम देखिन २५ ३० जाना स्वाथ मन्त्रा लय का डा. NAMC वाला हुन . MPH लाइ NPHC ले बिसेसग्य दर्ता गरेको छ . तेसैले आफै मामारी को बिषय मा चेतना दिने को खेदो किन गर्नु .

  • Dr Yadav Gurung

    ‌रविन्द‍्र पाण्डे चिकित्सक हुन् । उनले ब्याचलर अफ अायुर्वेद मेडिसिन एण्ड सर्जरी बीएएमएस पढेका हुन् । पछि जनस्वास्ठ्यमा स्नातकाेत्तर गरेका हुन् । त्रिभुवन विश्वविद्यालय अन्तगर्तकाे चिकित्सा विज्ञान प‍्रतिष्ठानबाट नै साँढे ५ वर्षकाे बिएएमएस डिग‍्री गरेका हुन् । याे डिग्री भारतकाे जस्ताे शुद्ध अायुर्वेद पनि हैन । यसलाइ नेपालमा इन्टेग्रेटेड डिग‍्रीकाे रुपमा माेडर्न मेडिसिन र अायुर्वेदलाइ समावेश गरी नेपाललाइ सुहाउने गरी तयार पारिएकाे हाे । नेपालमा अायुर्वेद चिकित्सालाइ पनि मुख्य उपचार प्रणालीकाे रुपमा राखिएकाे छ । नभए स्वास्थ्य मन्त्रालयकाे वेबसाइट मा गएर हेरे हुन्छ । कविराज भनेकाे ३ वर्षे काेर्ष जुन एचए सरहकाे छ । वैद्य १८ महिने काेर्ष हुन् । यी दुवै काेर्ष एसइइ वा एसएलसी पछि गर्ने हुन् भने बिएएमएस पढ्न १० जाेड ई मा बायाेलाेजी वा एचए वा कविराज पढेकाे हुनुपर्छ । बिएएमएसकाे पठन पाठन तथा प्रयाेगात्मक कक्षा टिचिङ् हस्पिटल नरदेवी अायुर्वैद अस्पताल र कितिपुरकाे अायुर्वेद शिक्षण अस्पतालमा गराइन्छ । नेपाल अायुर्वेद चिकित्सा परिषद् मा दर्ता भइ डाक्टर लेख्न याेग्य हुने कुरा जानकारी गराउँछु । यसरी तथ्य नबुजी भ्रमकाे खेती गर्नु दुरासयपूर्ण देखिन्छ । बीएएमएस गरेका चिकित्सकहरु पनि स्वास्थ्यसेवामा एमबीबीएस सरह अाठाैं तहकाे मेडिकल अधिकृतमा लाेकसेवा मार्फत उत्तीर्ण भइ सेवा गरिरहेका छन् । अायुर्वेद चिकित्सामा स्नातक र जनस्वास्थ्यमा स्नातकाेत्तर गरेकाे व्यक्ति पढाइ र अनुभवले एक विज्ञकाे रुपमा सल्लाह सुजाव दिन सक्छन् ।

  • raju

    देशमा येस्तै टपरटुइयाँ को बोलवाला छ।

  • Dinesh

    डाक्टरी विज्ञता र चाटुकारी विज्ञता कतिपय प्ररक हुन। क्वै अाफ्नो क्षेत्रको डाक्टर पेशामा खत्रा हुन छोडेर पत्रकार, किताब छाप्ने कम्पनी, मिडिया र एनआरएनहरुको चाकरी गर्न किन पछि लागिरहनछ? भगवान् कोइरालासहित अरू कतिपय डाक्टर कसरी अब्बल दरिए? फाइन प्रिन्टका मालिक र धेरै पत्रकारले नसोधेको कुरा तपाइँले सोच्नु भएछ। अब खेल खत्तम! :-): अझै खोज गर्नुहोस् तपाइँका कतिपय पत्रकार साथी यी तथाकथित डाक्टरबाट निःशुल्क उपचार पाउनेहरु होलान्। निःशुल्क लाभ लिने सम्पादक पनि होलान्। अनि विज्ञ हुन सफल भा पो हो कि? खोज्नोस् न अनि के परिणाम अाउँदो र’५।

  • निर्मल

    ती नक्कली मेडिकल डाक्टरको फेसबुक स्टाटस पढेर मलाई जे मनमा लागेको थियो ठ्याक्क त्यही कुराहरु सहित probing प्रश्नहरु राख्नुभएछ धन्यवाद। फेसबुकमा उनले भन्न भ्याएछन्, सकारात्मक रे? के को साकारात्मक जब गैरकानुनी रुपमा उनले सुझाएको औषधी सेवन गर्दा ज्यान जोखिममा पर्छ भने।

    आँफैले वाकायदा आफ्नो नाम अघाडि डा. लेखेर जनस्वास्थ्यबारे मत जाहेर गर्न थाले पछि कन्फ्युजनमा राख्ने भयो| अभिब्यक्ति र लेखनकलामा पारंगत हुँदैमा मात्र विद र विज्ञ हुने होइन। साहित्य लेखेर जनस्वास्थ्यविद भन्न् पाईन्छ? समाजसेवी हुनलाई झुटो जनस्वास्थ्यविद र डा.को पगरी गुथनु हो भने जनतालाई सिधै गुमराहमा पार्नु हो। गोल्माली र अलमलमा पार्ने काम हुन्छ, त्यस्तालाई कार्वाही गरिनपर्छ।

    त्यस्ता कथित विद को विश्वसनीयताको खोजी नगरी उद्द्रित गर्ने मेडियाको पनि पोल खुल्यो।

    बाङलादेशमा च्याउ सरी डाक्टरी र स्वास्थ्य पढाउने पाठशालाहरु छन्, राम्रा पनि छन्, नराम्रा पनि छन्। एकजना मन्त्रीले सही कुरो ब्यक्त गर्दा ओलीले उनलाई हटाइदिए तर सत्य त जो उनले भनेका थिए त्यही थियो, सबैमा लागु नभए पनि सत्यतथ्य त्यही हुन भनेर सबैलाई थाहा छ। अब साहित्यकारजीले सार्वजनिक रुपमा भन्दिनु परो कुन पाठशालाबाट अध्ययन कैले सकेका हुन्? आफ्नो नाम अघाडि र पछाडि खुल्लमाखुल्ला डा. र जनस्वास्थ्यविद झुन्डाउन अघि एकपल्ट सोच्न परो है। बरु समाजसेवी वा शुभचिन्तक भने केही हानी नोक्सानी नहोला।

    रविन्द्र सर, यो ब्लगमै हजुरको कमेन्ट पढन पाइयोस भन्ने इच्छा राख्दछु। वादे वादे तत्व वोध।

  • Bari Khanal

    Salokyaji, Thanks for doing fact based journalism. Hope everyone in the field follow you. I am wondering why no one speaks or write s about Mr. Rishi Dhamala.

  • Cherry

    There is Another Professor from China – Rajiv Jha – Xinxiang Medical College – He is also Not registered In Nepal Medical Council ( fails 3 Times In council exam ) But he Himself Claim The Top Scientist in China and Nepal and Involve in Political Activities

  • गणेश जिमी

    मेडिकल डा हुन होईनन् त्यो हाम्रो लागि ठुूलो सरोकारको विषय भएन, तर यस्तो आपतकालिन अवस्थामा रात दिन खटिएर जनतालाई निस्वार्थ र सहि परामर्स दिने जो कोहि भगवान सरह हुन। सवै एकार्कामा सहयोगको भाबना राखौं न कि नकरात्मक कुरा मात्र खोदलेर खुट्टा तान्ने।

  • बासु

    नक्कली डाक्टर कण्डक्टर सरह हो। मज्जाले झाँको झार्नु भएछ। यो मान्छेबाट कतिलाई नकारात्मक असर परेको या हानी नोक्सानी भएको छ त्यो थाहा पाउन गार्हो छ। अब त ट्याऊँट्याऊँ नबोल्लान् कि?

  • Pravesh Srivastava

    Plz correct namc dr are not kaviraj n vaidya. After completion of 5 n half year bams course n registration in namc they are considered as dr. Kindly correct

  • डी. मिस्टर

    भाइरल ‘डाक्टर’ले आफै स्वीकारे उनी ‘मेडिकल डाक्टर’ होइनन्…उहाँले आफूलाइ मेडिकल डाक्टर चाहि कहिले पनि कसैलाइ भन्नु भएकाे छैन। मैले थाहा पाएसम्म।

  • गगने

    ए तेस्तो पो हो तेसैले त उखानेको खुसामदि तिर अलिक बढीनै तल्लिन लेखिन्थ्यो! जे हो कोरोना महामारिमा जनतालाई अवेरनेस् गराउने कार्यमा तल्लिन देखिएकोले धन्यबाद दिनैपर्छ्! NMC मा रजिस्टर् भयर दिनकै लाखौ लूट्ने डांका हरुले कुछ नगरेर आफ्नै पेट् भरिरहेको बेलामा यिनिले फेसबुकमै भयपनि जानकारि र सचेतता जगाउने कार्यमा लगनशिल योगदान गरेको पाईयको ले त्यो खोस्टामा रजिस्टर् भयको भन्दा जनताको मनमा रजिस्टर् हुने कार्य महत्वोपुर्ण् छ् र यिनले तेसै गरेको ठहर् गर्छु म चै!
    No Offence

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)