यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

राजनीतिको सुई घुम्दैफिर्दै फेरि रत्नपार्क?

राजनीतिक स्थायित्व र नागरिकमुखी शासकको आशमा १५ वर्ष अगाडि नेपालीले जनआन्दोल गरेथे। त्यो आन्दोलनपछि सत्ता, शक्ति र पदमा पुगेका दल, नेताले के काम गरे त्यो भन्नै परेन, सबै सार्वजनिक छ।

राजा गए पनि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीले शक्ति केन्द्रहरुसँग साँठगाँठ गरेर संविधान र लोकतन्त्रको हुर्मत लिए भनेर यतिबेला जनतामा आक्रोश चुलिँदोछ। र, लोकतन्त्रिक राज्यका अंग अंगमा फेरि पनि प्रहार भइरहेछन्। अनि राजनीतिको सुई घुमेर फेरि उही रत्नपार्क पुग्न खोज्दैछ। जनआन्दोलनको गाइँगुइँ सुनिन थालेको छ।

२०६२-६३ को जनआन्दोलनलाई नजिकबाट नियालेका एक जना सञ्चारकर्मी हुन्, नारायण श्रेष्ठ। उनै नारायण श्रेष्ठ जो बीबीसी साझा सवालमा कुनै बेला सुमधुर शैलीमा नेतालाई तीखा प्रश्न सोधेर र्याख र्याख पार्थे। अघिल्लो जनआन्दोलन उनले कस्तो देखेथे? यो सामग्री नारायण श्रेष्ठको जनआन्दोलन डायरी हो।

अप्रिल आन्दोलन

नारायण श्रेष्ठ

अहिले सम्झन्छु २०६२/६३ को आन्दोलन चल्दैगर्दाको एक दिन; साहित्यकार र कलाकारहरुले पनि आन्दोलनलाई समर्थन गर्ने कार्यक्रम थियो। पुरानो बानेश्वरस्थित गुरुकुलमा कालाकार, देशका गिनेचुनेका साहित्याकार भेला भएका थिए। लेखक कलाकारहरुको जुलुस सुरु भयो। कलाकर्मीहरु बत्तिसपुतली चोकमा के पुगेका थिए अन्दाधुन्द गिरफ्तारी सुरु भयो। ठाकुर बेल्वासे लगायतलाई पुलिसले भ्यानमा कोच्यो। कति दौडँदै गुरुकुलतिरै फर्के। पछि पछि खेद्दै आएको पुलिसले गुरुकुलको पार्किङ क्षेत्रमा आईपुगेपछि गोली चलायो। छवालीले छाएको प्रतिक्षालय छेउबाट एकजना तन्नेरी कान्लामूनि हाम्फाल्दा गोली उसको पछि पछि चल्यो। धन्न, पछि त्यही तन्नेरी खोका मात्रै बोकेर फर्क्यो। रबरको गोली रहेछ।

केहीबेरमा कलाकर्मीहरु पुन: जम्मा भए। गोली चलेको विरोधमा विज्ञप्ति लेखियो र हस्ताक्षर संकलन सुरु भयो। झण्डै पाँच दर्जन कलाकर्मीको हस्ताक्षर थियो त्यसमा। हस्ताक्षहरुको बीचमा कतै मैले पनि लेखिदिएँ– ‘जनतामाथि गोली हान्ने निरंकुशतन्त्रको अन्त होस् !’

***

कोटेश्वरको खुल्ला सडकमा मान्छेहरुको हुलसँगै अघि बढ्दा शिवपुरी डाँडाबाट छुटेको हेलिकप्टर रिङरोडलाई फन्को मारेर गयो। भिडमा कसैले भन्यो – ‘आन्दोलनकारीको शक्ति बुझ्न आएको राजाको दूत हो यो।’

अलि परबाट अर्कोले कड्केर बोल्यो– ‘हैन यसमा कमल थापा सवार छ। भरे त्यसले आन्दोलनकारी छैनन्, तीतरबीतर भैसके भनेर दरबारमा बिन्ति चढाउँछ।’ ०६२ सालको अन्ततिर उठेको त्यो जन उभारलाई त्यो बेलाका गृहमन्त्री कमल थापा ‘मुठ्ठीभरका नेताहरुको उक्साहट’ भन्थे, जसको पछाडि त्यसबेलाको राज्यले ‘आतंककारी’ भनेको माओवादीको हात छ भनेर तिनी दोहोर्‍याइरहन्थे। त्यसदिन दिनभरिमा कम्तिमा अरु आधा दर्जन पटक हेलिकप्टरले रिङरोडलाई फन्को मारेर गयो।

आन्दोलन भदौको नदीजस्तो झन झन उर्लिंदो थियो। नदी जतिजति तल बग्दै जान्छ त्यति नयाँ खोला र अरु साना नदी अनि त्यससँगै बगेर आउने फरक रंग मिसिंदै गएजस्तै त्यो जनउभारको आकार र रंग अस्मेल भेलजस्तो भैरहेको थियो। राजधानीमा मात्र हैन देशका प्रत्येक सहर र गाउँमा राजा र उनको व्यवस्थाको विरोधमा सभा जुलुसहरु निस्किरहेका थिए।

झण्डै तीनहप्ता अघिदेखि आन्दोलनको रापले पूरै देशलाई छोपेको थियो । सञ्चारकर्मीको रूपमा मलाई त्यसको तापले नगाँज्ने कुरै भएन। हरेक दिनजसो कर्फ्यु र निशेधादेशको अवज्ञा गर्ने क्रम तन्नेरीहरुका लागि नियमित जस्तै थियो।

रेडियो सगरमाथाको जागिरे, रातको समय प्रसारण धान्ने पालो पर्थ्यो मेरो। राती सधैँजसो कर्फ्यू लाग्थ्यो। त्यसपछि रात रेडियोकै कुनै कोठामा बित्नु अनिवार्य थियो। अनि विहान सुरु हुन्थ्यो उही अवज्ञा-सभा, धर्ना, जुलुस र नाराबाजीको विज्ञप्ति, केही नेताहरुको नजरबन्दी यस्तै हुने गर्थे समाचारको नियमितता। प्रिपेटड मोबाईल फोनमाथि कैँची लागेको थियो। कहिले कहीँ त ल्यण्डलाईन फोन देखेर पनि सत्ता आतंकित हुन्थ्यो र त्यसको सेवा बन्द हुन्थ्यो। त्यस्तोमा सभा जुलुस भएका ठाउँमा जानुबाहेक अरु केही उपाय हुन्नथ्यो समाचार संकलनका लागि।

***

२०६३ साल बैशखको ८ गते तत्कालीन व्यवस्था विरोधी जुलुसलाई नियाल्दै, भनौं जुलुसमै सहभागी हुँदै बालाजु-कलंकी-सातदोबाटो भएर कोटेश्वर चोक पुग्न लाग्दा सायद साँझको पाँच बज्नै लागेको थियो। बैशाख महिनाको बेला पाँच बजेको समय झण्डै मध्यदिन जस्तो घामको तापले पोल्ने हुन्छ। म त्यहाँ पुग्दा चन्द्रागिरिको डाँडालाई छुन एकजुवा घाम बाँकी थियो। डाँडालाई हल्का बादलले छोपेको थियो।  तर घामको राप केही लोलाएको थिएन। सडकमा प्रदर्शनकारीहरुको नाराको राप झन चर्को थियो। जति जति बेला आकाशमा हेलिकप्टरले आन्दोलनकारीलाई निरीक्षण गर्थ्यो, उनीहरुको आवाज झन चर्को हुन्थ्यो। तिनीहरु झन जोडले ‘लोकतन्त्र –जिन्दाबाद, राजतन्त्र-मूर्दाबाद’ भन्थे। राजको नाम सुन्नै नचाहने गरी गन्हाएको थियो उनीहरु माझ। राजका मन्त्रीहरुको सत्तोसराप हुन्थ्यो। अनि दलका नेताहरुको हाई हाई।

पूरै रिङरोड भित्र कर्फ्यु आदेश थियो। सडकभरि सेना खटिएका थिए। आन्दोलनकारीहरु सेनालाई राजाको देख्थे र सेना आफूलाई ‘शाही’ हुन पएकोमा सायद गर्व गर्थ्यो। राजाका गृहमन्त्री कमल थापाले रिङरोडभित्र र सडकमा जारी कर्फ्यू आदेश उलंघन गर्नेलाई कारबाहीको धम्की दिएका थिए। थापाको आदेश तामेली गर्न सेना सडकमै थियो- हतियारले सुसज्जित भएर। तर जनता आदेश मानिरहेका थिएनन्। आदेश उल्लंघन गर्ने जनतालाई गोली दाग्न पनि आदेश हुँदो हो तर सुरक्षाकर्मी त्यसो गर्न मानिरहेका थिएनन्। जनताको अस्मेल हुलले सायद त्यसो नगर्न उनीहरुलाई नैतिक दवाब परेको थियो। त्यसदिन बिहान म सोह्रखुट्टे नजिक नयाँबजारमा थिएँ।

राजधानीमा आन्दोलनकारीहरु जम्मा हुने निश्चित चोकहरु थिए जहाँ तिनीहरु भेला भएपछि नाराजुलुस निस्कन्थ्यो। कोणसभा र विरोध कार्यक्रम आयोजना हुन्थ्यो। अमृत क्यामसको नजिकै भएर होला सोह्रखुट्टे चोक त्यस्तै एउटा गन्तव्य थियो आन्दोलनकारीहरुका लागि।

बिहान साथी ध्रुव, प्रताप र स़ञ्जीवसँग निस्किएँ। नयाँबजारबाट सोह्रखुट्टे चोकसम्म आईपुग्दा मानिसहरु घर घरमा अब के होला भनि ससंकित देखिन्थे। कति चाहिँ अघि नै आन्दोलनतिर हिँडेसकेका थिए। कतिपयलाई आन्दोलनमा सहभागी हुनु पनि एक किसिमको पेशाजस्तै बनेको थियो। मानिसहरु ‘आन्दोलनमा जान हिँडेको’ भन्थे।

सुधार होला भन्ने आस गर्ने ठाउँ नदेखेर

मानिसहरुले त्यस समयलाई ‘आन्दोलनको मौसम’ भन्थे। तर त्यो बाध्यता थियो। किनभने राजनीतिमा कुनै सुधार भएको थिएन। सुधार होला भन्ने आस गर्ने ठाउँ पनि जतनाले देखेनन्। त्यसबाहेक राजाकाजमा सक्रिय हुने राजाको चाहनालाई धेरैले कत्ति मन पराएका थिएनन्।

बिहान ९ बजेतिरको समय सोह्रखुट्टे पुग्दा त्यसअघिका दिन जस्तै चोकामा टारय बलिरहेको थियो। केही सयमा मानिसहरु, खासगरी तन्नेरीहरु जम्मा भएका थिए। नजिकको पुलिस चौकी सुस्तजस्तो लाग्थ्यो। त्यसभित्र सुरक्षाकर्मी भए-नभएको खासै भान हुन्नथ्यो। अलि पर लाखाछें चोकमा केही टाटेपाङग्रे बर्दिधारी उपस्थित थिए। फलामको टोप लगाएका ती बर्दीधारीलाई हातमा लौरो र प्लाष्टिकको ढाल सम्हाल्दैमा भ्याईनभ्याई थियो। ती सडकमा बलेका टायरका धुवाँको मुकदर्शक जस्तै थिए।

‘—ने चोर-देश छोड, लोकतन्त्र जिन्दाबाद!’ तन्नेरीहरुले घन्काएको नारामा प्रौढको उपस्थिति थोरै देखिन्थ्यो। तर ती तन्नेरीहरुको आवाजमा जोश थियो, लक्ष्य निश्चितजस्तै थियो कुनै परिवर्तनको। ती जोशले कराइरहेका थिए।

मान्छेहरु जम्मा हुने क्रम झन बढ्दो थियो। हुलमा जम्मा हुन नआएकाहरु पनि घरको छतमा बसेर थाल ठटाएर प्रदर्शनकारीको समर्थन गरिरहेका थिए। घण्टा घण्टामा एफएम रेडियले दिने समाचार सुनेर मान्छेहरु सिचुएसन अपडेट गराउँथे। त्यो जिन्दाबादको हुल सोह्रखुट्टेबाट गोंगोबु तर्फ बढ्यो। गोंगबु बिगत केही दिनदेखि आन्दोलनकारी र दमनकारी दुवैको केन्द्र जस्तै बनेको थियो। सशस्त्र प्रहरीका अधिकृतले गोंगोबुमा एउटा निजी घरबाट आन्दोलनकारीलाई गोली हानेको घटनाले राजधानी निकै तातेको थियो। काङ्ग्रेसनेता अर्जुननरसिंह केसीका भाई जगदीसनरसिंह केसीले त्यहाँको आन्दोलनकारी मोर्चा सम्हालेको बताइन्थ्यो। समाचार कक्षमा बस्दा पनि प्राय: उनको फोन आउँथ्यो साँझपख दिनभरिको घटना अपडेटका लागि।

नयाँ बजारबाट सोह्रखुट्टेसम्म मात्र भनेर जाँगेमा हिँडेको म, चप्पल पड्काउँदै प्रदर्शनकारीसँगै गोंगोबुतिर लागेँ। बिहानै सहरभरि सरकारले निशेधाज्ञा जारी गेरेको आदेश रेडियो नेपाल र नेपाल टिभीले सुनाएको थियो। तर गोंगोबु पुग्दासम्म पनि बाटोमा केही नयाँ थिएन, मानौं निशेधाज्ञा छैन।

बाटोमा सुरक्षाकर्मी बाक्लै थिए। गोंगोवु पुग्दा बिहानको करिब साढे १० जति बजेको थियो। बैशाखको बिहान घाम निकै छिप्पिएजस्तो थियो। मानिसहरु सिमली र निमको हाँगा भाँचेर घाम छल्दै जुलुसमा थिए।

काङ्ग्रेस कम्युनिस्ट सबैको रंगिविरंगी झण्डा बोकेका हजारौं मानिस त्यहाँ थिए। शहर भित्रबाट पनि मानिसहरु जुलुसमा भाग लिन बाहिर निस्किएका थिए। शहर बाहिर काँठतिरबाट पनि मानिसहरु जुलुसमा भाग लान लामबद्द भएर आएका देखिन्थे। बिशाल उत्साहजस्तो थियो त्यो बेलाको माहोल।

मलाई लाग्छ त्यो जुलुस भित्रको रसायन त दलका केही नेताले बनाएका थिए होलान्। तर मानिसहरु सडकमा उत्रेको देख्दा तीब्र जोश र परिवर्तनका लागि आवेग नपाल्ने कमै हुन्थे होला। माहोल यस्तो थियो घरभित्र बसुँ जस्तो सायद कसैलाई लाग्दैनथ्यो।

जुलुसका हजारौं सहभागीहरु महाराजगञ्ज, चक्रपथ र सामाखुसी चोकतिरबाट त्यहीँ जोडिन आईपुगे। झण्डा र व्यानर बोकेका हजारौं मानिसको जुलुस अघि बढ्दैथ्यो। मानिसहरु हिँडिरहेका छन् र नयाँ थपिइरहेको छ। अगाडि बालाजु चोकमा रामकोट, नेपालटार र सायद नुवाकोपट्टिबाट आएका प्रदर्शनकारीहरु जोडिए। पारिजातचोकमा पुग्दा लैनचौर ठमेलबाट आएकाहरु मिसिए। मानिसहरु मिसिँदा यस्तो लाग्थ्यो वर्षाको अस्मेल भेलमा ठाउँठाउँमा पुगेर फरक रंग बोकेको पानी मिसिएको छ। बनस्थलीको उचाईबाट पश्चिमपट्टि स्वयंभूसम्म जुलुसको लाईनमा लामबद्द मानिसहरुको ताँती देख्दा फेरि एकपटक अदम्य जोश भरिएर आउँथ्यो ।

सडकको दायाँबायाँ फूलेका शिरिषका निला फूलहरु मुनि परिवर्तनको मोहमा मानिसहरु झुम्मिएको देखिन्थ्यो। जुलुसमा मानिसहरु गणतन्त्रका गीत गाउँदै नाच्थे। नारा लाग्थ्यो। थुप्रो थुप्रोमा विभाजित थिए मानिसहरु र पनि सबैमा एउटा मेल देखिन्थ्यो।

मानिसहरुको हुल छिचोल्दै म कलंकी पुगें। सडकभरि मान्छे नै मान्छे छन्। कयौं दिनदेखि सडकमा मोटर गुडेका छैनन्। हिँड्नु बहेक अरु बिकल्प पनि छैन। त्यसो त आज जुलुस हेर्न हिँडेको दिन।

कलंकी चोक पुग्दा झन धेरै मान्छे जम्मा भएजस्तो लाग्यो। जाने गइरहेका छन्, आउने थपिरहेछन्। भेला भएर रमाईलो गर्ने, गीत गाउने, नाच्ने अनि प्रदर्शन गर्नेहरुको क्रम पनि जारी छ।  ढुंगेअड्डातिरबाट अरु सयौं मानिसहरु थपिइरहेका छन्। यस्तो लाग्थ्यो यो कुनै तीर्थको यात्रा हो। म सोच्दै थिएँ के मानिसहरुले आज पुण्य पाउलान् त? कस्तो होला त्यो प्रप्ति? हुनसक्छ हरेकले आ-आफ्ने तरिकाले सोचेका हुन सक्छन् सम्भावित राजनीतिक उपलब्धिको नतिजा।

आन्दोलन र घेराबन्दीले राजधानीमा खाने कुराको अभाव थियो। दाल तरकारीको आपूर्ति थिएन। ग्याँस चामल बजारमा थिएन। मानिसहरु भन्थे असल परिवर्तनका लागि हामी यो कष्ट सहन तयार छौं। नेताहरुले ढाडस दिएका थिए– फेरि एकपट हामीलाई साथ देऊ, बाँकी जीवनभरि तिमीहरुले अरु कष्ट भोग्नु पर्ने छैन।

सडकमा संसद स्थापना गरेका दलहरु त आन्दोलनमा प्रष्ट देखिन्थे नै, भूमिगत रहेको माओवादीले पनि ती दलहरुसँग १२ बुँदे संझौता गरेकाले आन्दोलना जान गाउँ गाउँबाट माओवादीले मान्छे पठाएको छ भन्ने सुनिन्थ्यो। शहरमा पनि माओवादी सेना छिरेकाले शाही सेनाले आन्दोलजकारीमाथि गोली चलाउन नसकेको हो भन्नेहरु पनि थिए।

जे जे भए पनि खासमा मानिसहरुमा परिवर्तनको उज्यालो घामको अपेक्षा थियो।

***

कलंकी चोकबाट खसीबजारतिर ओरालो लाग्दा मानिसहरुको हुल झन बढेजस्तो लाग्यो। हजारौं मानिसहरुलाइ नियाल्दै हिँड्नुमा एउटा माजा थियो। तिनीहरुको अनुहारको भाव र पहिरनको भाषामा बेजोडको सन्देश थियो। जुलुसका मान्छेहरुलाई देख्दा आन्दोलनमा गाउँ गाउँबाट मानिस शहर छिरेका छन् भन्ने कुराको हेक्का हुन्थ्यो।

खसी बजार नाघेर बल्खु चोक पुग्दा रिङरोड भित्रपट्टि बक्लो संख्यामा सेना उभिएको थियो। तर के गोली हान्ने हिम्मत गर्न सक्छ त यसले? साथीहरुबीच यस्तै गफ चल्दै गर्दा हामी भनिमण्डल चोक पुगिसकेका थियौं। दिउँसोको चर्को घाममा अलासतालस हुँदा पनि जुलुस घटेको थिएन। दलहरुको चक्रपथ घेराउ गर्ने कार्यक्रम साँच्चै सफल हुँदै थियो। जुलुका सहभागीलाई कोही पानी दिएर सघाउँथे, कोही ताली पिटेर हौस्याउँथे। रोडमाथिको ढिस्कोबाट महिलाहरु चीसो पानी खन्याइरहेका हुन्थे। आन्दोलनकारीहरु तल ठाडो घाँटी लाएर पानी पिउँथे। यो एक खालको मेल थियो सामाजिक आवस्यकाताका लागि। कम्तिमा त्यस्तो बुझ्न सकिन्थ्यो आन्दोलनका सहभागीहरुलाई देख्दा।

घण्टा घण्टामा अपडेट गर्ने एफएमको समाचार सुन्दा रिङ रोड पूरै घेरिएको छ भन्ने थाहा लाग्थ्यो। सातदोबाटो काटेपछि हरि रोका देखिए। सँगै सिके लाल पनि थिए। बाटोमा मैले चिनेका तिनै थिए। लाखौंको भीडमा अरुलाई चिनिन वा बाँकी सब चिनजानका थिएनन्, थाह भएन। 

सुखी जीवनको अमूर्त कल्पना

फ्यातुलो चप्पलले झण्डै १५ किलोमिटरको पैदलयात्रा गर्दै म यतिबेला कोटेश्वर पुगेको थिएँ। त्यहाँ पुग्दा फेरि अर्को पल्ट हेलिकप्टरले फन्को मारेर गयो। अनि गाईगुईं सुनियो राजाले संवोधन गर्दै छन्। आन्दोलनका सहभागीहरुमा व्यवस्था परिवर्तनको सम्भावित आस पलायो। तर के हो भन्ने मिडियामा प्रष्ट थिएन।

सिनामंगल पार गर्दा थाहा भयो राती ७ बजे राजाले देशबासीका नाममा सम्बोधान गर्ने छन्। ओहो, के त्यसो भए व्यवस्था फेरिन लागेको हो त? राजाले घुँडा टेके?

म अझै सडकमै थिएँ। सडकभित्र निशेधाज्ञ छँदै थियो। अहिलेजस्तो मोबाईलमै रेडियो सुन्न मिल्ने सुबिधा थिएन। कहाँ गएर राजाको सम्वोधन सुन्ने होला? के भन्लान राजाले? प्रदर्शनकारीको बलमा सुरक्षाकर्मीले केही नगरेको हुन सक्छ। तर जती जती साँझ पर्दै गयो मानिसहरु केही पातलो हुँदै गए। अलि डर पनि लाग्ने बेला भयो। मित्र पार्कबाट कालोपुल लाग्दा रातको ७ बजेको थियो। धोबीखोला किनारको सुकुम्बासी बस्तीमा एउटा टेलीभिजनमा राजा बोल्दैथे। बुढीआमा थिइन् भित्र। तिनलाई अनुरोध गरेर हामी बस्यौं ।

‘जनताको नासो जनतालाई नै फिर्ता दिईबक्सेका छौं’ राजाले बोले।

त्यो भनेको संसद पुनर्स्थापना हो वा सरकार नयाँ हुने वा राजाको अध्यक्षको सरकार, के हुने प्रष्ट थिएन। केही छिमेकी देश र केही बुद्धिजीवले राजाको त्यो निर्णयलाई राम्रो भने, स्वागत गरे। राजा सुध्रिए अब पालो दलका नेताहरुको भन्ने टिप्पणी केही ठूला भनिएका अखबारका सम्पादकहरुबाट सुन्न पाइयो। म सोच्दै थें -के नेपाली जनताले खोजेको त्यती मात्रै थियो त? त्यो पनि जनताको हातमा नासो फर्काएको भन्ने मात्रै।

दिनभरि सडकमा गणतन्त्रको नारा देखिरहेको थिएँ म। साँझ राजाको सम्बोधनपछि राजनीतिको समस्या सल्टेकै हो त? म दुविधामा थिएँ । लाखौं जनताको चाह त्यती मात्रै होजस्तो मलाई लागिरहेको थिएन।

भोलिपल्ट बिहान रानीपोखरी हुँदै रत्नपार्कतिर हानिएँ। विहानै घामको रापमा घण्टाघर वरिपरि शिरिषका फूलहरु भूईभरि पोखिएका थिए। के यी भूईं झरेका फूलहरु व्यवस्था परिवर्तनको छोटो सन्देशलाई स्वागत गर्दै विनित भएका हुन त? तर भित्री मनले भन्यो, भूई झरेका फूलहरु शुभकार्यको संकेत हुन सक्दैन।

राजाको सन्देशपछि केही नेतामा दुविधा देखियो। उनीहरुले चाहेको परिवर्तन त्यती मात्रै थियो वा अरु पनि भन्ने कुरामा ती नेताहरु प्रष्ट रहेनछन्। त्यससँगै अरु नेताहरु पनि थिए जो भन्दै थे, ‘अब राजा चाहिन्न। राजतन्त्रलाई नै उखेलेर फाल्नु पर्छ।’ हिजोको जस्तै आन्दोलन आज पनि चर्क्यो। नेताहरुले जे सोचेका भए पनि जनताले त्यतीमा चित्त बुझाएनन्। अन्तत: बैशाख ११ गते राजाले दोश्रो संवोधनमा संसद पुन:स्थापनाको घोषणा गरे।

समय यसरी गुज्रेको थियो आन्दोलनको बेला। सायद नेपालीको त्यो एउटा सुखी जीवनको अमूर्त कल्पना थियो। र त्यो एउटा परिवर्तन सम्भव भएको थियो।

यो पनि

हो, मैले साझा सवाल छाड्ने निर्णय गरेँ- नारायण श्रेष्ठ

साझा सवालले पायो नारायण श्रेष्ठको उत्तराधिकारी

1 comment to राजनीतिको सुई घुम्दैफिर्दै फेरि रत्नपार्क?

  • Pradeep

    अब तपाइँ नेता बन्नु अाउनु पर्ने भयो नाराण सर। हामीले त्यत्रो दुःख गरेर जो नेता बनेका छन्, ती सबै राजै भएका छन्। पुराना राजा गए छोटे राजा अाए। हाम्रो दु:ख उहीँको उहीँ ५। जस्ताको उस्तै छौं। उनेरूको दु:खका लागि ल८िएछ।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)