यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कान्तिपुरको मैदानमा हरि रोका Vs कनकमणि दीक्षित, भएको के हो ?

राष्ट्रिय दैनिक कान्तिपुरको मैदानमा हरि रोका र कनकमणि दीक्षित बीच यो साता एउटा वादप्रतिवाद देखियो। यो विषयमा मलाई धेरै जानकारी थिएन। सामाजिक सञ्जालमा यसको चर्चा देखेर के भएको रहेछ यो भनेर खोजेको थिएँ। खासमा यस्तो रहेछ कुरा-

जेठ २० गते कान्तिपुरको विचार पृष्ठमा हरि रोकाको ‘राजनीतिक प्रणालीमाथि दक्षिणपन्थी घात’ शीर्षकको लेख छापिएको रहेछ। लेखमा बंगलादेशी मोडल सबहेडलाइन रहेको छ। राज्यसत्ता कब्जा गरेर सर्वसत्तावादी शासक हुने ओली–आकांक्षालाई दक्षिण एसियामा हिजोआज ‘शेख हसिना–बंगलादेशी मोडल’ भनिने लेखकको भनाई रहेछ।

त्यसैबाट सुरु हुन्छ यो विवादको प्रसङ्ग। ओली र कनकमणि दीक्षितको प्रसंग। रोका लेख्छन्- ‘ओलीलाई एउटा यस्तो उपयुक्त व्यक्ति चाहिन्थ्यो, जोसँग भाषा होस्, सम्बन्ध राख्न सिपालु होस् र उनको सर्वसत्तावादी आकांक्षालाई सहयोग गर्न हरतरहले तयार होस् । त्यो चरित्र उनले कनकमणि दीक्षितमा देखे, जो दशकौंदेखि माओवादीविरोधी थिए, माओवादीले मानवअधिकार थिचोमिचो गरेकामा उनी नाखुस थिए र ‘एलिट’ हरूको अधिकार कटौती गरेर सर्वसाधारणलाई राजनीतिमा समावेश गराइएकामा आक्रोशित थिए । नेकपा बनेको त उनलाई फिटिक्कै मन परेको थिएन।’

उनले लेखमा प्रधानमन्त्रीबाटै रणनीतिक प्रस्तावको योजना सुन्नासाथ दीक्षित काममा जुटेको, बीस पेजको रणनीतिक दस्तावेज तयार भएपछि आपसी विमर्शपश्चात् उनी फेब्रुअरी २०२० मा दिल्ली रवाना भएको ठोकुवा गरिएको छ।

भारतीय नीति आयोगका उपाध्यक्ष राजीव कुमारमार्फत् दस्तावेज हस्तान्तरण सहज भएको दावी गर्दै रोकाले ‘यससम्बन्धी थप विवरण आवश्यक परेका खण्डमा जानकारहरूबाट सार्वजनिक हुने नै छ’ लेखेका छन्।

दीक्षितको प्रसंग लेखको अर्को एउटा वाक्यमा पनि छ- मूर्धन्य पत्रकार दीक्षितलगायत केही पात्र र व्यापारिक घरानाहरू ओली–मोदी मनोकांक्षाबीच तार जोड्न निरन्तर लागिपरिरहेकै थिए। संसद्ले चुच्चे नक्सा पारित गरे पनि सम्झौताको तार जोड्ने त्यो प्रयत्न रोकिएन।

लेख छापिएको ६ दिनपछि कनकमणि दीक्षितको ‘हरि रोकाको आक्षेपप्रति मेरो प्रतिवाद’ शीर्षकको लेख छापियो कान्तिपुरकै विचार पृष्ठमा। दीक्षितले यसलाई ‘तथ्यहीन, भ्रमात्मक र मानमर्दन गर्ने लेख’ भन्दै ‘पुष्टि नै नगरी छापिएका हरफले बिस्मात जगाउने’काम भएको बताएका छन्।

उनले लेखको बारेमा लेखेका छन्- ‘मैले बुझेको पत्रकारिताको संस्कार र नियममा, हरि रोकाको लेख बिनाप्रमाणीकरण प्रकाशित हुनु हुँदैनथ्यो । आफ्ना संवाददाताको रिपोर्टिङ मात्र होइन, विचार पृष्ठका लेखक र स्तम्भकार पनि तथ्यभन्दा बाहिर गएर लेखेका छन् भने त्यो पाठकसामु पेस गर्नु गलत नै हुन्छ । ‘लेखक या स्तम्भकारले भनेको त हो नि’ भनेर सम्पादक मण्डल पन्छिन पाउँदैन । रोकाले मेरो क्रियाकलापबारे हुँदै नभएको कुरा ‘तथ्य’ भन्दै पेस गरेको सामग्रीको विश्वसनीयता जाँच हुनैपर्थ्यो।’

उनले रोकाको लेखमा रहेका दुई कुरा सही भएको स्वीकार गरेका छन्। लेख्छन्, ‘रोकाको लेखमा थप दुई कुरा बिलकुल सही छन् । पहिलो, म कारणवश माओवादी नेतृत्वको विरोध गर्छु नै।’

‘नेकपा एमाले र माओवादी केन्द्रबीच सम्झौता गरेर पार्टी एकीकरण गरेको मलाई ‘फिटिक्कै’ मन नपरेको कुरा पनि सही हो।’

‘यससम्बन्धी थप विवरण आवश्यक परेको खण्डमा जानकारहरूबाट सार्वजनिक हुने नै छ’ भनी रोकाले लेखेको विषयमा दीक्षित लेख्छन्, ‘यो त ‘चिटिङ’ भयो । लगाउने जति आरोप लगाएपछि सम्भवतः भनेजस्तै । लौ प्रमाण आवश्यक पर्‍यो रे पाठकलाई । अब ती ‘जानकारहरू’ कहाँ छन्, को हुन्, कसले भनिदिने ? थप जान्न चाहने पत्रकार या अनुसन्धानकर्ता वा आरोपित व्यक्ति (म) स्वयंले चाहेमा ‘जानकार’ सँग सम्पर्क गर्ने माध्यम बताइदिनुपर्‍यो, यदि ती काल्पनिक नभई रोकाका वास्तविक स्रोत हुन् भने नेपालको राष्ट्रिय सुरक्षासम्बन्धी यति संवेदनशील कुरा र संगीन आरोप लगाइसकेपछि सजिलैसँग ‘कसैले बताइदेला’ भनेर लेखक पन्छिन पाउँदैनन्।’

कान्तिपुरको सम्पादक मण्डललाई पनि उनले प्रश्न गरेका छन्, ‘उता कान्तिपुरको सम्पादक मण्डलले ‘तिम्रोबारे यस्तो आयो नि, के भन्छौ ?’ भनेर चुनौती दिन किन आवश्यक नठानेको ?’

२०२० को फेब्रुअरीमा भारत गएको भनी रोकाले लेखेको प्रसंगमा दीक्षितको चुनौति छ- ‘२०२० फेब्रुअरीमा म भारत गएको या काठमाडौंमै रहेको तथ्य पत्ता लगाउन सक्षम पत्रकारलाई धेरै गाह्रो नहुँदो हो । एयरलाइन्सको रोस्टरदेखि काठमाडौं र नयाँदिल्लीका सम्पर्क व्यक्तिसँग सोधखोज गरे भयो । सबैभन्दा सजिलो त मलाई नै सोधे भयो । कोरोना संकटले ङ्याक्नै लागेको बेला फेब्रुअरी २०२० को महिना कता रहेछु भनेर उक्त वर्षको डायरी फेला पारें – १–२९ फेब्रुअरीमा म उपत्यकाभित्रै रहेछु । भारत या समुद्रपार त के, उपत्यका नै छोडेको रहेनछु ।’

‘अब मैले यहाँ उनका कुरा अस्वीकार गरिसकेपछि फेरि पनि पुष्टि गर्ने जिम्मा रोकाको हुन्छ र सामग्री छाप्ने सम्पादकको’, उनले चुनौति दिएका छन्।

यो विषयमा कान्तिपुरले सम्पादकीय टिप्पणी लेखको मुनि यसरी गरेको छ- ‘हाम्रो दृष्टिकोण पृष्ठमा लेख्ने लेखक एवम् स्तम्भकारहरू आ–आफ्ना विचार राख्न र तथ्यपूर्ण विश्लेषण गर्न स्वतन्त्र छन् । त्यसप्रति कान्तिपुर सम्पादक मण्डलको सहमति वा विमति नरहन सक्छ । हामी सार्वजनिक सरोकारका विषयवस्तु र सार्वजनिक व्यक्तित्वहरूको भूमिकामा केन्द्रित रहेर गरिने स्वस्थ बहसलाई सदैव स्वागत गर्छौं । रोका र दीक्षितका लेखले यही मान्यताअनुरूप स्थान पाएका हुन्।’

मेरो विचार
हरि रोकाको लेख दृष्टिकोण र विचार वा विश्लेषण मात्र थिएन। त्यसमा निश्चित व्यक्तिको विषयमा यही मितिमा यता गएको भन्ने आरोप पनि छ। दृष्टिकोण, विचार वा विश्लेषण नै मात्र भए पनि त्यो तथ्यपूर्ण हुन आवश्यक छ। गलत तथ्यको टेकोमा कसैले विश्लेषण गरे त्यसले भ्रम फैलाउँछ र त्यसलाई रोक्न आवश्यक हुन्छ।

नेपालमा विचार पृष्ठमा छापिने सामग्रीमा खासै तथ्य जाँच हुने गरेका देखिन्नन्। ‘युनिकोड’ नेपाली भाषालाई असङ्गतिपूर्ण बनाउन विकास गरिएको साधन हो, संसारभरी इसाइ र पश्चिमी मान्यताबाहेकको सभ्यता एवम् संस्कृति विस्थापित गर्ने/गराउने कार्यमा संलग्न मानिने मुलुक नर्वेको सहयोगमा ‘युनिकोड’को विकास गरेको हो भनेर विश्लेषण गरी पत्रिकामा छाप्ने वरिष्ठ पत्रकारहरुको लेख पनि देखिएकै हो।

हरि रोकाको लेखमा पनि दीक्षित माओवादी विरोधी हुन्, उनलाई नेकपाको एकता मन परेको थिएन जस्ता विश्लेषण गरिएको भए त्यसमा प्रश्न उठ्ने थिएनन्। त्यसलाई त दीक्षित स्वयंले पनि स्वीकार गरेकै हुन्। पछिल्ला समयमा ओली सरकारको विपक्षमा दीक्षितको बोली खासै नसुनिएका तथ्यले पनि त्यसलाई सघाउँथ्यो नै होला। तर यो लेखमा ओलीसितको भेटपछि रणनीतिक दस्तावेज तयार गरी फेब्रुअरीमा दिल्लीमा गएको ठोकुवा गरिएको छ। त्यो दस्तावेज २० पेजको छ पनि भनिएको छ र दीक्षितले त्यसलाई राजीवकुमार मार्फत् हस्तान्तरण गरेको भनेर नामै तोकिएको छ।

अब दीक्षित आफैले त्यसलाई अस्वीकार गरी पुष्टि गर्न चुनौति दिइसकेपछि कान्तिपुरले त्यसलाई ‘हाम्रा लेखक एवम् स्तम्भकारहरू आ–आफ्ना विचार राख्न र तथ्यपूर्ण विश्लेषण गर्न स्वतन्त्र छन्’ भनेर धर पायो र? दीक्षितले तथ्यमै त प्रश्न उठाएका छन्। यो तथ्यपूर्ण विश्लेषणै थियो भनेर विश्वस्त तुल्याउनु अब हरि रोका र कान्तिपुरको कर्तव्य हो। विचारको नाममा गलत जानकारी फैलाउन दिन हुँदैन।

अपडेट : बाबुराम भट्टराई Vs दीक्षित
यो ब्लग लेखिसकेपछि यही विषयमा एउटा नयाँ अपडेट पनि भेटियो। यो प्रसंगमा आज बिहान पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्विट गरी चुनौति दिए- हरि रोकाले पोल खोलेपछि आगो भएका कनकले प्रचण्ड र बाबुराममाथि विष ओकल्दै ‘भारतीय गुप्तचर प्रमुखलाई लेखेको पत्र’को हावा कुरा गरेछन्! त्यस्तो कुनै काल्पनिक पत्र भए मदन पुस्तकालयमा राखे भैहाल्यो!भारतीय सत्तापक्षलाई उसको’दुइखम्बे नीति’छोड्न बाध्यपार्ने माओवादी क्रान्तिप्रति किन यत्रो रिस?’

त्यसको जवाफमा दीक्षितले लेखेका छन्- ‘तपाईंकै मित्र र मेन्टर एस.डी. मुनिको ‘नेपाल इन ट्रांजिशन’ (पृ ३२०-३२१) हेर्नुहोला’ लेखेका छन्-

4 comments to कान्तिपुरको मैदानमा हरि रोका Vs कनकमणि दीक्षित, भएको के हो ?

  • Bipin Pokharel

    राणा परिवारको जग्गा पचाउन कनकमणि दीक्षित गर्छन् सधैँ सत्ताको चाकडी

    कनकमणि दीक्षित पहिलैदेखि सत्ता वा विदेशी शक्तिको छायाँमा मोज गर्दै आएका मान्छे हुनुहुन्छ। यसलाई पाटनमा राणाको अपुतालीमा दीक्षित परिवारले केही पाएको, हडपेको सम्पत्तिबारेको मुद्दादेखि हेर्दा यिनको अनुहार अझ छर्लङ्ग चिनिन्छ। हिम्मत भए कान्तिपुरका सुधीर शर्माले कृष्ण ज्ञवालीलाई जिल्ला, पुनरावेदन परिचालन गरे मिसिल फाइलले यो बोली हाल्छन्। नेपालका स्वतन्त्र पत्रकारहरुले अहिलेसम्म गर्न नचाहेको आखिर यो एउटा अनुसन्धान त हो। अदालतका मिसिल पल्टाउँदा त्यो सबै तथ्य उजागर भइहाल्छ। रह्यो कुरा राष्ट्रवादी ओलीको चाकरी गरे भनेर चित्त दुखाएको। दीक्षितजी यस्तो मान्छे हुनुहुन्छ जो हिजो काँग्रेस हुँदा काँग्रेसको चाकरी गरेर सबैभन्दा लोकतन्त्रवादी हुनुभयो। डकुमेन्ट खोजेर हेर्नोस्, इतिहासका सार्वजनिक लेख र अभिव्यक्ति हेर्नोस् वा गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकार हरि शर्मा सहित अरू त्यो बेलाका बालुवाटारवाला हरूसँग भेटेर कुरा गर्नुहोस्। सबै छर्लंग भइहाल्छ। उहाँको यो चरित्र स्पष्ट पाटनको केही रोपनी जग्गाको धनीपूर्जाको दाग ढाकछोप गर्न उहाँ सधै सत्ताको छाहरी चाहनुहुन्छ। पञ्चायतका राजा हुन् वा लोकतन्त्रिक कालका गिरिजाप्रसाद वा केपी शर्मा ओली वा अरु कुनै आए पनि ओली तिनकै चाकडीमा लाग्नेछन्। माओवादीको खैरो खन्ने दीक्षितजीका सार्वजनिक अभिव्यक्ति प्रचण्ड प्रधानमन्त्री भएका बखत कस्ता थिए कृपया आर्काइभ हेरौं न त्यहाँबाट पनि कतिपय कुरा बुझ्न सहज हुन्छ। कनकमणि दीक्षित ओलीको अरिङ्गाल बने भन्दा मलाई चाहिँ अचम्म लागेन। उहाँको प्रसांसा हुनुपर्छ, राज्यबाट पदकहरू फेरि पनि दिइनुपर्छ। किन भने सत्ताको यति खत्रा चाकरी गर्न सक्ने क्षमता नेपालमा अरू कोसँग छ?

  • डिल्लि

    डा. बाब्रामहरू भारत बासेर ज्यान जोगाउँदै भातमात्रै खाए यता नेपालमा राँको लगाए त ? भारतका र-अ, बाब्राम गुरु एस डी मुनीले सिसीमुनी चढाउँदै डिलमुनी पुगेर त लेखेनन् होला । बाजपेइलाई चिठ्ठीलेखेको बारे त यौटा सभाषद नेतो माउवादी चल्ला महोदय ऋषी धमलाको कार्यक्रममा चिठ्ठी मैले पुर्याको पनि भन्दै थिए क्यारे । चिठ्ठी पुर्याउने पनि जिउँदै छु भन्छन् । लिनेले पनि लिएको हो भन्छन् । तर लेख्ने चाहिँ होइन भन्छन् । कि देउवाले पढेको लभलेटर जस्तो भो ? थुन्सेले छोपेको डोको परेछ कि के हो डा. बाब्राम जी ? छर्लङ्ग देखिन थाल्यो त कर्तुत । कि दिल्ली बसेर नेपाल ढाल्ने आर्किटेक्ट बन्यौ त डा. बाब्राम ?

  • नीलेश

    ओलीले संबिधान र लोकतन्त्रप्रति उत्पातै मचाउदा पनि फिटिक्कै नबोल्ने के साझा यातायातले मुखाँ बुच्चो लाईदिएको हो भने यो त दुर्भाग्य हुनेभयो| माओवादी मन नपराउने भए वादल र हुस्सुहरु अहिले पनि ओलीसँगै सरकारमा हातेमालो गरिरहेका छन| कि समस्या छविलालजी र बाबुरामजीसँग मात्र हो जसको उकसाईमा त्यो बेलाका भ्रष्टचार प्रबर्द्धन आयोगका प्रमुख लोकमानसिंह कार्की मार्फत कनकमणीलाई अनाहकमा जबर्जस्त र प्रतिशोधमा कार्वाही गरेर एकदिन भए पनि थुनामा राख्न प्रयास गरे|
    अर्को प्रश्न कनकमणी सरलाई, के हिमाल खबरपत्रीकामा छापिएका विवादस्पद विचारहरु पहिलेबाटै ठीक छ छैन भनेर सरोकारवाल र सम्बन्धित सबैलाई सोध्ने काम गरेको हुन्छ? हालैको मात्र त्यहा प्रकाशित केही लेख विचारहरु हेर्नु हो भने जेपीटी लेखेर सिँगै जाति र समुदायलाई चाइने नचाइने लिपेको छ| त्यसको जिम्मेवारी कसले लिने? आफुलाई पर्दा मात्र नियमपालन गर्नपर्ने सोचले डुबायो| हरी रोका सरको जवाफको प्रतिक्षा गरौ|

    कोरोना महामारीको ब्यवस्थापन प्रति नेत्रित्वले चरम हेल्चक्राई गर्‍यो| कमिशनको चक्रले समयमा खोप आउन सकेन|माघसम्म सबैलाई खोप भनेर ओलीले घोषणा गर्ने अनि वास्तै नगरने?
    मध्यरातमा किन प्रोटोकल उछिनेर जासुसी संस्थाका नायकेसँग भेटे, लोकतन्त्रमा हुनपरने पारदर्शिता भएन| त्यसको मतलब सबै कुरो खुलाउन पर्छ भन्ने होइन, सरकारले गोप्यता राखेर काम गर्न पाउनु पर्छ जँहासम्म ब्यक्तीको फायदा होइन तर राष्ट्रको हित र सुरक्षाको सवाल छ| तर तीनघण्टे वार्ताको चित्तबुझ्दो उत्तर नआएकोले झन अलमल र अढकालवाजीले प्रश्रय पायो|
    अध्यादेश पछी अध्यादेश, संबिधानको धज्जी उढाउन खोजिएको छ| संबैधानिक परिषदको नियुक्ती प्रधानमन्त्रीका मनलागे छन, राजदुतको नियुक्ती हाँसोका पात्र भएका छन|

    काम र नतिजा होइन, उदघाटन, शिलान्यास र नियुक्तीलाई ओलीले प्राथमिकता दिए|
    यी त केही नमुना मात्रै| तर बरीष्ट पत्रकारज्युको तीखो कलम किन उठेन?

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)