भर्खरै फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटमा नेपालले नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा राम्रो खेलेको भनेर तारिफ भयो । नेपाली फुटबल समर्थकको यो लागि खुशीको विषय बन्यो । यस्तैमा मंगलबार अर्को खुशीको विषय पनि आयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालको फिफा वरीयता सुधार भएको भन्दै एउटा स्कृनसट सेयर गरे । प्रशिक्षक अब्दुल्लाह अलमुताइरिले पनि त्यसलाई सेयर गरे । जुन नेपालको लागि साँच्चै खुशीको विषय थियो ।
त्यहाँ फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको र १६८औं स्थानमा उक्लेको भन्ने आशय थियो । नेपाल यसअघि १७१औं स्थानमा रहेको र अहिले १६८औं स्थानमा उक्लेको त्यहाँ उल्लेख छ ।
समाचार फैलियो
केही नेपाली मिडियामा समाचार आइहाल्यो फिफा वरीयतामा नेपालको तीन स्थान सुधार । नेपालले २०२२ को विश्कप र २०२३को एसियन कप छनोटमा राम्रै प्रदर्शन गरेको थियो । आफूभन्दा ३० स्थान माथिको चाइनिज ताइपेईलाई २-० ले हराएको थियो । त्यसैले वरीयतामा सुधार हुने पक्का नै थियो । जोर्डन र अष्ट्रेलियासंग समान ३-० ले अनी मैत्रीपूर्ण खेलमा इराकसंग ६-२ ले हारेपनि ठूलो टिमलाई हराएकोले नेपालले वरीयतामा सुधार आउने अपेक्षा नै थियो ।
बुधबार कान्तिपुर दैनिकमा पनि त्यो समाचार प्रकाशित भयो । तीन स्थान सुधार भनेर । अनी कान्तिपुरकै अनलाइन इकान्तिपुर डट कममा पनि त्यो समाचार अपडेट भएको छ ।
कान्तिपुरले फिफा वरीयतामा नेपालको सुधार भन्दै नेपालले विश्वकप छनोट खेलेपछि यो वरीयता बाहिर आएको उल्लेख गरेको छ । तर यो समाचारको स्रोत के हो उल्लेख गरेको छैन ।
यस्तै मंगलबारै खेलपाटी डट कमले पनि वरीयता सुधार भएको समाचार पोष्ट गरेको छ । त्यसमा फुटबल र्याङ्किङले जनाएअनुसार भनेर राखिएको छ ।
नेप्लेज डट कमले २ वर्षपछि वरीयता सुधार भन्दै फिफाले सार्वजनिक गरेको वरीयता अनुसार नै भनेर लेखेको छ ।
यस्तै मेरो खेल डट कमले फिफाले सार्वजनिक गरेको भनेर लेखेको छ ।
अन्य केही नाम नचलेका अनलाइन पोर्टलले पनि समाचार पोष्ट गरेका छन् ।
फिफामा छैन अपडेट
के साँच्चै नेपालको वरीयता सुधार भएकै हो त? भनेर हामीले खोज्यौँ । विश्व फुटबलको वरीयता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गर्छ । र, अहिलेसम्म अरु कसैले सार्वजनिक गरेको र त्यसमा समाचार बनेको पनि खासै देखिएको छैन ।
नेपालको यो नयाँ वरियताबारे भने फिफामा केही उल्लेख गरिएको छैन । फिफाले पछिल्लो पटक २७ मे मा वरीयता अपडेट गरेको थियो । जहाँ नेपाल १७१औं स्थानमै छ । त्यसमा अहिले अपडेट भएको छैन ।
त्यसैले फिफाले नै अपडेट नगरेको वरीयता कसरी समाचार बन्यो त ?
कताबाट आयो वरीयताको अपडेट?
खासमा football-ranking.com भन्ने वेवसाइटले दैनिक रुपमा फुटबलको वरीयता अपडेट गर्ने गर्छ ।
मंगलबार सार्वजनिक भएको स्कृन सट त्यही वेवसाइटमा रहेको वरीयताको हो । त्यसैलाई आधारमा मानेर एन्फा अध्यक्ष र हेड कोचले त्यो पोष्ट गरे । त्यसैलाई नेपाली मिडियाले फलो गरे तर फिफाको अपडेट हेरेनन् ।
एउटा प्राइभेट वेवसाइटले र्याङ्किङ अपडेट गर्दा नेपालका मिडियाहरुले फिफाले नै वरीयता सार्वजनिक गरे जसरी समाचार बनाए । अहिलेसम्म फिफामा बाहेक अन्त वरीयता अपडेट भएर समाचार बनेको देखिएको छैन । नेपाली मिडियामा पनि यसअघि भने फिफामै अपडेट भएपछि वरीयताको समाचार बनेको थियो ।
तर यस पटक भने झुक्कियो । एन्फा अध्यक्ष र हेड कोचले नै वरीयता सुधार भएको भनेर सामाजिक सञ्जालमा सेयर गरेपछि समाचार पनि बन्न थाले ।
…..
– नेपालको वरीयता तीन स्थान सुधार
– फुटबल र्याङ्किङले दैनिक अपडेट गर्दा नेपालको वरीयता १६८औं स्थानमा देखिएको हो । तर फुटबलको सर्वोच्च निकाय फिफाले वरीयतामा अपडेट गरेको छैन । त्यसैले नेपालको अहिलेको आधिकारिक वरीयता १७१ नै हो ।
झन्न ELO Ratings हेरेनछन्। नत्र नेपालको वरियता झन् खस्कियो भन्दै समाचार बनाउथेहोला। https://www.eloratings.net/