कलाकार पल शाह अब ‘आरोपित’ हैन ‘अभियुक्त’ भएका छन्। तनहुँ र नवलपुर दुई ठाउँमा कलाकार पल शाहविरुद्ध नाबालिग बलात्कारको उजुरी दर्ता भए पनि सबैभन्दा पहिला मुद्दा दायर भने नवलपुर जिल्ला अदालतमा भएको छ। चैत ३ गते बिहीबारका दिन जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी (पूर्व) ले १६ पेजको अभियोग पत्रसहित मुद्दा दायर गरेको हो। जाहेरीमा के छ? कसले के बयान दिए? पल शाहले के भने? प्रहरीले के कस्ता प्रमाण जुटायो? विस्तृत विवरण
के छ जाहेरीमा ?
पीडित नाबालिग किशोरीका बुबाले तनहुँ र नवलपुर दुई ठाउँमा जाहेरी दिएका थिए। तनहुँमा दिएको जाहेरीमा उतै अनुसन्धान हुँदैछ। तनहुँमा अनुसन्धान सकिएको छैन। तर नवलपुरमा भने प्रहरीले अनुसन्धान सकाई दिएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।
किशोरीका बुबाले दिएको जाहेरीमा जिल्ला नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित गैडाकोट रिसोर्टमा एक दिने सुटिङ्गको लागि छोरीलाई लगेकोमा एक दिनमा नसकी भोलिपल्ट सुटिङ्ग गर्ने भनी सुटिङ्ग क्यान्सिल गरी पाँच दिनसम्म उक्त रिसोर्टमा राखेको उल्लेख गरेका छन्।
जाहेरीमा आफ्नी ‘नाबालिका छोरी सुतेको कोठामा गई छोरीलाई मादक पदार्थ सेवन गराई पटकपटक जबरजस्ती करणी गरेको कुरा नाबालिका छोरी समेतबाट जानकारी भएको हुँदा मेरो नाबालिका छोरीलाई विवाह गर्छु भनी प्रेमको नाटक गरी जबरजस्ती करणी गर्ने निज प्रतिवादी पूर्णविक्रम शाहलाई कानून बमोजिम कारबाही गरी पाउँ’ उल्लेख छ।
२०७७ चैत ७ गते उक्त घटना भएको जाहेरीमा उल्लेख छ। कानुनी हदम्याद अनुसार घटना भएको एक वर्षभित्रै मुद्दा दायर गरिसक्नुपर्ने भएकोले आज २०७८ चैत ३ गते मुद्दा दायर गरिएको हो।
के के जुटाइयो प्रमाण ?
जबर्जस्ती करणीका केसमा करणी गरिरहेकै देख्ने प्रत्यक्षदर्शी हुन्नन्। त्यसैले यसमा पीडितको बयान र अन्य परिस्थितिजन्य प्रमाणहरु महत्त्वपूर्ण मानिन्छ।
पीडित नाबालिग किशोरीले बयान कागजमा घटना भएको मिति २०७७ चैत ७ गते, समय राति ११ बजे र ठाउँ गैँडाकोट रिसोर्टको रुम नम्बर १०२ समेत खुलाएकी छिन्।
“निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले मलाई पहिलादेखि नै मायाको नाटक गरि यौन शोषण गर्दै आई रहेकोमा हामी बीच भएको सम्बन्धको वारेमा कोही कसैलाई नभन भनेकोले मैले कोही कसैलाई उक्त कुराको जानकारी गराएको थिएन। यसरी म नाबालिकालाई फकाई फुल्याई मायाको नाटक गरी मेरो इच्छा विपरीत पटकपटक जवरजस्ती करणी गर्ने निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई कानून बमोजिम कारवाही हुनुपर्छ” कानुनी कागजातमा परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) राखिएकी किशोरीले कागजमा भनेकी छिन्।
म्युजिक भिडियोको स्क्रिनसट
रिसोर्ट सञ्चालिका र वेटरको बयान
घटना भएको भनिएको गैँडाकोट रिसोर्ट प्रालिकी सञ्चालिक सुलोचना कुँवर जिसीले आफ्नो रिसोर्टमा प्राय कलाकारहरु आउने गरेको र २०७७ चैत ६ गते पनि गीत सुटिङ्गको लागि निर्देशक काजिश श्रेष्ठ, प्रतिवादी पल शाह भन्ने पुर्णबिक्रम शाह, पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५(क) समेतको सुटिङ्ग युनिट आएको, त्यो दिन उनीहरुले रिसोर्ट बुकिङ गरी अन्यत्र गई भोलिपल्ट ७ गते पुनः आई खाना खाई बास बसेको बयान कागज गरिदिएकी छिन्।
तर उनले प्रत्येक कोठाको चाबी निर्देशक काजिश श्रेष्ठलाई दिएकोमा प्रतिवादी पल शाह भन्ने पुर्णबिक्रम शाह र पीडित कुन कोठामा बसे आफूलाई थाहा नभएको बताएकी छिन्।
त्यसैगरी रिसोर्टका वेटरले पल शाह र उनका साथीहरुले चैत ७ गते बाहिर पट्टी मादक पदार्थ तथा खाजा नास्ता खाएका र पीडित नाबालिग किशोरी रिसोर्टको कोठामा सुत्न गएकी र उनीहरु रिसोर्टमा २/३ दिन बास बसी गएको बयान कागज गरिदिएका छन्।
दुर्गेश थापा लगायतको बयान
अभियोग पत्रमा उल्लेख भए अनुसार गायक दुर्गेश भनिने दुर्गाबहादुर थापाले पनि चैत ७ गते गैँडाकोट रिसोर्टमा पीडित आफूलाई बुकिङ गरेको कोठामा सुत्न गएको र पल शाहसमेतका व्यक्तिहरु मादक पदार्थ सेवन गरी बाहिर बसिरहेको बयान दिएका छन्। उनीहरु कुन कोठामा सुत्न गएको आफूलाई थाहा नभएको र आफू पनि छिट्टै कोठामा सुत्न गएको दुर्गेशले बताएका छन्। उनले २०७८ को असारमा पलका म्यानेजर कृष्ण जोशीले पल र पीडितको सम्बन्धको बारेमा जानकारी दिएकोमा त्यसबारे पीडितसँग बुझ्दा जबर्जस्ती गरेको भनेर बताएकोले आफू, सम्राट चौलागाइँ, सरोज ओली, योगेश काजीसमेतले हामी न्यायको पक्षमा छौँ, जबरजस्ती गरेको भए कानुनी कारबाही गर्दा राम्रो हुन्छ भनी सल्लाह गरेको र अन्य आर्थिक कुराको बार्नेनिङ बारे आफूलाई केही जानकारी नभएको बयान गरेका छन्।
गीत गाउने, रचना गर्ने र संगीत गर्ने भीमबहादुर विष्टले पनि पीडित र अभियोग लगाइएका पल शाह दुवै सोही रिसोर्टमा बसेको बयान दिएका छन्।
त्यसैगरी पक्राउ पूर्जी जारी भएपछि प्रहरीबाट लुक्दै पल शाहले फेसबुकमा सार्वजनिक गरेको अडियोमा भएका आवाज मध्येका एक सरोज भन्ने पुण्यप्रसाद ओलीले बयान कागजमा भनेका छन्- ‘प्रतिवादी तथा पिडितको सम्बन्धको बिषयमा मिडियाहरुमा हल्ला चलेको थियो । पीडित गायिका डिप्रेशनमा गएको र मर्छ भनी कृष्ण जोशीले मलाई २०७८ सालको अषाढमा बताएका थिए।’
‘केही दिनमा कृष्ण जोशी, सम्राट चौलागाई, र पिडित अनामनगरको सिलौटो रेष्टुरेण्टमा बसेका रहेछन । उक्त स्थानबाट कृष्ण जोशीले मलाई फोन गरि हामिहरु पिडितसँगै छौं । दुर्गेश थापालाई लिएर हामी भएको ठाउमा आउनु, पिडितलाई समस्या परेको रहेछ भनि बोलाएकोले म र दुर्गेश थापा सोही स्थानमा गई निजहरुलाई भेटी कुराकानी हुदा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई काठमाण्डौमा १/२ दिनमा हुने सुटिङलाई काठमाण्डौ बाहिर कहिले पोखरा कहिले नवलपरासी (पूर्व) मा लगि हेरचाह र ख्याल गरे जस्तो गरी आफु माथि यौन शोषण गरेको भनि पीडितले बताएकी थिइन्।’
‘प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई वास्ता नगरेपछि पीडित रूँदै हिँडेको र पिडितलाई बिभिन्न वहाना बनाई गाली गरेर वेईजत गर्दिन्छु भनि ह्यारेसमेन्ट समेत गर्दा रहेछन । पछि पीडितले सहन नसकी आफ्ना साथीहरुलाई उक्त पीडा सुनाएकी रहेछिन्। त्यसपछि हामीहरुले कानुनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको हो।’
रिसोर्टको इन्ट्री बुक अर्को प्रमाण
प्रहरीले गैँडाकोट रिसोर्टको इन्ट्रीबुकको प्रतिलिपि पनि प्रमाणका रुपमा राखेको छ। त्यसमा कोठा नम्बर १०१ देखि ११० सम्म पल शाह, पीडित किशोरीसहितका सुटिङ युनिट बसेको उल्लेख छ।
क्यामेराम्यान अर्जुनप्रसाद तिवारी र निर्देशक काजिश भन्ने छत्रबहादुर श्रेष्ठले रुम नम्बर १०२ मा पीडित बसेको र मादक पदार्थ सेवन गरी रुम नम्बर १०१ मा पल शाह सुत्न गएको बयान दिएको अभियोगपत्रमा उल्लेख छ।
पीडितको शारीरिक परीक्षण प्रतिवेदन
पीडित शारीरिक परीक्षण प्रतिवेदन पनि अर्को प्रमाण बनेको छ। प्रतिवेदनमा हाइमनल इन्जुरी (Hymen: Healed scratch with Hymenal injury at 7 & 5 0,clock position) भन्ने समेत व्यहोरा भएको अभियोग पत्रमा उल्लेख छ।
पल शाहको २ मिनेट ३५ सेकेन्डको त्यो अडियो
प्रहरीले अनुसन्धानको क्रममा प्राप्त हुन आएको पल शाहले बोलेको भनिएको २ मिनेट ३५ सेकेन्डको अडियो रेकर्ड पनि पेश गरेको छ।
अडियो रेकर्डको केही अंश अभियोग पत्रमा यस्तो उल्लेख छ-
….यसमा चाही के छ भनेसी यो यति ठूलो डिसिजन लिनु पर्छ नै भन्ने छैन किनभने उ प्रेगनेन्ट भाको भए …….मैले गर्दा प्रेगनेन्ट भएको भए …..समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो……….बिहे गर्ने, स्वीकार्ने की नस्वीकार्ने अब गर्लफ्रेन्ड ब्वाईफ्रेन्डमा अरुको बाहिर हेर्नुस……अब अहिले यहि छ……. गर्लफ्रेन्ड ब्वाईफ्रेन्डमा अण्डरस्ट्याण्डिङमा भयो होला ……….हामी सँगै हुँदा केही भयो होला तर यति कुरामा एकदम राम्रो सेफ तरीकाले यति अण्डरस्ट्याण्डिङ हिसाबमा हुँदा पनि लास्टमा स्वीकार्नै पर्छ? विबाह गर्नै पर्छ ?…
पल शाहले के बयान दिए ?
पल शाहले भने आफूले जबर्जस्ती करणी नगरेको भन्दै इन्कारी बयान दिएका छन्। तर उनले चैत ७ गते राति रिसोर्टमा मादक पदार्थ सेवन गरेको भने स्वीकारेका छन्। त्यसैगरी ८ गते होटल साहुले पीडित राति आफ्नी छोरीसँग सुतेको बताएको दावी पलले गरेका छन्। ८ गते रुम नम्बर १०१ मा आफू र १०२ मा पीडित सुतेको भने उनले स्वीकारेका छन्। राति साढे ११ बजे पीडितको कोठामा आफू गएको पनि उनले स्वीकारेका छन् तर हिजो होटल सञ्चालककी छोरीसँग सुतेको थाहा पाएकोले तिमीलाई डर लागेको त छैन नि ल राम्रोसँग सुत भनी आफ्नो कोठामा गएको दावी गरेका छन्।
होटल सञ्चालककी १२ वर्षीया छोरीले पनि ७ गते राति अन्दाजी १२ बजे पीडित आफू सुतेको कोठामा आई सुतेकोमा कति बेला उठेर गइन् थाहा भएन भनेर बयान कागज गरेकी छिन्।
अडियोको विषयमा पल शाहले उक्त आवाज आफ्नै भएको स्वीकार गरेको अभियोग पत्रमा उल्लेख छ। तर त्यो अडियोमा उनले बोलेको कुरा चाहिँ अरु प्रेमिप्रेमिकाको उदाहरण दिन गरेको दावी गरेका छन्।
पलले बयान कागजमा भनेका छन्, “काठमाण्डौमा फर्किएपछि म र पीडितको बीचमा विवाद भएको हुँदा सरोज वलीसँग बसी
छलफल गर्दा तीन वर्षसम्म म तथा पीडित सँगै मिलेर काम गर्ने र उमेर पुगेपछि विवाह गर्ने मौखिक सहमति भएको थियो। त्यसपछि पुनः पीडितले “मलाई तपाईको गर्लफ्रेन्ड वा श्रीमतीको रुपमा चिनाउनु पर्यो भनी बारम्बार म्यासेज गर्न थालेपछि मैले तिमी आफ्नो तरीकाले गर” भनी वादविवाद भएको केही समयपछि पीडितको तर्फबाट म उपर जाहेरी परेको हो।”
“बाहिर आएको अडियो रेकर्ड छलफलको क्रममा मैले बोलेको आवाज हो । उक्त आवाज मलाई पीडितले स्वीकार गर्नुपर्छ भनेको हुँदा केही ठोस प्रमाण भएमा देखाउनुहोस् भन्दै अरु प्रेमी-प्रेमीकाको उदाहरणसहित स्पष्ट पारेको आवाज हो। निजलाई मैले जबरजस्ती करणी गरेको होइन।”
तर अभियोग पत्रमा लेखिएको छ- “उनले यस्तो व्यहोरा लेखाएतापनि मिसिल संलग्न अडियो रेकर्डमा भएको आवाज आफ्नो भएको, वारदात मिति समयमा पीडितसँग सँगै बसेको तथ्यलाई स्वीकार गरेको तथा जाहेरी व्यहोरा, पीडितको कागज समेतलाई अन्यथा हुन् भनी खण्डन गर्न सकेको नदेखिएबाट प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जाहेरवालाको नाबालिका छोरी पीडितलाई जबरजस्ती करणी गरेको भन्ने पुष्टि भएको देखिन्छ।”
प्रमाणले देखायो पीडित नाबालिग उमेरको
यो मुद्दामा पीडितको उमेर पनि महत्त्वपूर्ण रहेको छ। उमेरको प्रमाण जन्म दर्ता प्रमाणपत्रबाट हुने गर्छ। अभियोग पत्रमा उल्लेख भए अनुसार पीडितको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिमा जन्म मिति २०६२।०४।०३ मा भई घटना भएको मितिमा निजको उमेर १५ वर्ष ८ महिना ४ दिनको नाबालिग रहेको देखिन्छ।
कुन अभियोग लगाइयो ?
अभियोग पत्रमा लेखिएको छ, ‘यी नै तथ्युक्त प्रमाणहरु रहेको प्रस्तुत मुद्दामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले “सुर्ती माड्दा माड्दै” बोलको गीत सुटिङ्ग गर्न गैडाकोट नगरपालिका वडा नं.५ स्थित पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) आएको अवस्थामा सुटिङ्ग समेत क्यान्सिल गरी मिति २०७७।१२।७, ८ र ९ गते गैडाकोट रिसोर्टमा बसाली रातको समयमा पीडित बसेको १०२ नम्बरको कोठामा प्रवेश गरी प्रेमको नाटक गर्दै म तिमीलाई विवाह गर्छु भनी फकाई फुल्याई १५ वर्ष ८ महिना ४ दिनकी नाबालिका परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) लाई पटकपटक जवरजस्ती करणी गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसूर गरेको अभियोग लगाइएको छ।’
कानुनमा १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म कैद हुनेछ भन्ने व्यवस्था छ। त्यसैगरी कैद सजायका अतिरिक्त जरिवाना पनि हुने र जरिवानावापत प्राप्त रकम पीडितलाई दिनु पर्ने पनि उल्लेख छ।
यही अनुसार क्षतिपूर्ति भराउने प्रयोजनका लागि उनको ग्लोबइ आइएमई र एनएमबी बैँकको खातामा कसैले रकम निकाल्न नपाउने गरी रोक्का राख्न बैँकमा आदेश गरी पाउन पनि अनुरोध गरिएको छ।
अब के हुन्छ ?
यो मुद्दामा तनहुँ जिल्ला अदालतको आदेशले म्याद थप गरी त्यहाँको प्रहरीले न्यायिक हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। त्यसैले त्यहाँबाट अनुसन्धान तथा सरकारी वकिल कार्यालय तनहुँबाट अभियोजन भई तनहुँ जिल्ला अदालतबाट थुनछेक आदेश भए पश्चात् मात्र त्यता झिकाई कारबाही गरी पाउन अनुरोध गरिएको छ।
तनहुँ जिल्ला अदालतमा कथंकदाचित यो मुद्दामा अदालतको आदेश अनुसार छुट्ने भएमा पनि त्यहाँको जिल्ला प्रहरी कार्यालयमार्फत् नवलपुर जिल्ला अदालतमा उपस्थित गराउन पनि भनिएको छ।
तनहुँ जिल्ला अदालतले सुरुमा ७ र पछि १२ दिनको म्याद थप गरेको थियो। त्यो म्याद बाँकी नै छ। म्याद सकिएपछि अनुसन्धान नसकिएको भए अझै म्याद थप हुनसक्छ वा अनुसन्धान सकिएको भए त्यहाँको सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्न सक्छ। मुद्दा दायरपछि उतै थुनछेकको बहस हुनेछ। अर्थात् थुनेर मुद्दाको काम अघि बढाउने कि धरौटीमा छाडेर भन्ने विषयमा अदालतले आदेश गर्नेछ। सामान्यतया यस्तो गम्भीर मुद्दामा पुर्पक्षका लागि थुनामा नै पठाइन्छ। पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएमा उनी अहिले जस्तो प्रहरी चौकीमा हैन, जेलमा नै बस्नु पर्नेछ।
(कभर फोटो पल शाहको अभिनय रहेको फिल्मको स्क्रिनसट र नवलपुर जिल्ला अदालतको फोटोको कोलाज हो)
पल शाहविरुद्ध किन मुद्दा चलाइयो ? अभियोग पत्रमा लिइएका सात आधार
1 thought on “पल शाहविरुद्ध नवलपुरमा अभियोग दर्ता, अब ‘अभियुक्त’, प्रहरीले जुटायो यस्ता प्रमाण”