२०६२ वैशाख १७ शनिबार
आज शनिबार सँधै झै ढीला उठेर पत्रिका हेर्दा तीनछक्क परेँ । संकटकाल फिर्ता लिइएको रहेछ । गएराति अबेर राजदरबारबाट यो घोषणा भएको रहेछ । हिजो राति अबेरसम्म इन्टरनेटमा नै थिएँ म तर सुँइकोसम्म पाइनँ मैले यसबारेमा । नेपालको इतिहासमा महत्वपूर्ण घटना राति नै हुने गरेका छन् । चाहे त्यो असोज १८ को कान्ड होस् वा राजदरबार हत्याकान्ड वा अस्ति भर्खरको भूपू प्रमलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरेको नेपालको ऐतिहासिक घटना । शायद त्यसैले संकटकाल हटाउने घोषणा पनि राति नै भएको हो कि । त्यसो त माघ १९ को शाही घोषणा पनि अघिल्लो दिन राति नै हुने व्यापक हल्ला थियो । किन भोलिपल्ट बिहान भएछ कुन्नि ।
अँ त म भन्दै थिएँ- सकंटकाल हट्यो तर के देशमा निम्तिएको संकट हट्यो त साँच्चिकै – शान्ति र पूर्ण प्रजातन्त्र अब पाइने भयो र । जे होस्, संकटकाल हट्यो र त्यससँगै वाक तथा प्रकाशन स्वतन्त्रता लगायतका अनेकन् मौलिक अधिकार बहाल भए । तर अहिलेको स्थितिमा घोषित संकटकाल हटे पनि अघोषित संकटकाल भने विद्यमानै रहने संकेत देखापरेको छ ।
आजै सरकारी सञ्चारमाध्यमहरुले फुकेका फुक्यै छन्, संकटकाल हटे पनि राजधानीका मुख्य भाग कतै पनि जुलुस, सभा, धर्ना जस्ता काम गर्न निषेध गरिएको आदेश स्थानीय प्रशासनले जारी गरेको छ । संकटकालको घोषणा हुँदादेखि नजरबन्दमा राखिएका एमाले नेता माधव नेपाल अझै रिहा भएका छैनन् । रिहा भएका अरु नेताहरुलाई चाहिँ पासोमा पार्न भ्रष्टाचार नियन्त्रण शाही आयोग तम्तयार भएर बसेको छ । त्यसैले त धारा १२७ को प्रयोग गरेर संकटकालमा गठन भएको त्यो आयोगलाई निरन्तरता दिइएको छ । सिंह (प्रकाशमान) र शेर (बहादुर देउवा) लाई त पासोमा पारिसकिएकै छ, अरु जन्तु पनि मेरा नम्बर कब आएगा भन्दै दिन गन्दै बसिरहेका छन् । तथाकथित दोस्रो पुस्ताका नेताहरु अझै रिहा भएका छैनन् ।
संकटकाल हटेपछि वाक तथा प्रकाशन स्वतन्त्रता बहाल भएको छ । तर वाक स्वतन्त्रतामा अघि भने झैं निषेधादेशले नियन्त्रण गरिएको छ भने प्रकाशन स्वतन्त्रतामा पनि त्यस्तै कदम चालिने निश्चित छ । पत्रपत्रिकालाई आर्थिक नाकाबन्दी गर्ने नीति त यसअघि नै र्सार्वजनिक भइ नै सकेको छ ।