२०६२ वैशाख १६ शुक्रबार
माघ १९ को शाही घोषणापछि पहिलो पटक विदेश भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदा राजाले विमानस्थलमा पत्रकारहरुलाई भ्रमणको उपलब्धिका बारेमा “ब्रिफिङ” गरेको सुन्दा सुरुमा त अचम्म लाग्यो । प्रधानमन्त्री, मन्त्रीहरुमात्र यसरी विदेशबाट फर्कँदा पत्रकारहरुसित कुराकानी गर्ने गर्थे । संभवतः राजाले विमानस्थलमा नेपाली पत्रकारहरुसित कुराकानी गरेको यो पहिलो घटना हो । पछि यसो विचार गरेर हेर्दा भने बेकारमा अचम्म मानेको रहेछु जस्तो लाग्यो । माघ १९ पछि देशमा प्रधानमन्त्री भन्ने पद नै छैन । प्रधानमन्त्रीले गर्ने काम राजाले नै गरिरहेका छन् । अनि यसरी प्रधानमन्त्रीले जस्तो विमानस्थलमा पत्रकारहरुसित कुरा गर्नु कुन ठूलो कुरा भयो र । २१ अौं शताब्दीको राजतन्त्र देखिने र सुनिने हुन्छ भनेर त मौसूफले पहिले नै भनिबक्सेको थियो नि ! सुस्तरी शब्दलाई तौलीतौली बोल्ने राजाको स्वभाविक आवाज निकै मधुर सुनिन्छ, अौपचारिक भाषणको भन्दा निकै फरक । यस्तो आवाज पहिले राजाबाट विभिन्न विकासक्षेत्रको भ्रमणका क्रममा सर्वसाधारणलाई अटोग्राफ दिँदै कुराकानी गर्दाका बखत पनि सुनिएको थियो । विमानस्थलमा रेकर्ड गरिएको राजाको आवाज सुन्नलाई यहाँ क्लिक गर्नुहोला ।
राजदम्पतीको स्वागतका लागि आज काठमाडौंमा भव्य तयारी थियो । विदेशी राष्ट्रप्रमुख आउँदा जस्तै नै तयारी गरिएको थियो । ट्राफिक जाममा फँसिएला भनी आज छिटै घर फर्किँदा माइतीघरमा नयाँ फूलका बिरुवा लगाइँदै गरिएको देखिएको थियो । विभिन्न संघसंस्थाहरुले ठाउँठाउँमा स्वागत द्वार बनाएका थिए ।
ट्राफिक जाममा अड्किनु जस्तो झन्झटको काम अरु केही हुँदैन । आज त राजदम्पती अौपचारिक विदेश भ्रमण सकाएर स्वदेश फर्कने कार्यक्रम थियो । तर राजपरिवारको काठमाडौंमा कतै सवारी हुँदा पनि आजभोलि एक दुई घण्टा अगाडिदेखि ट्राफिक जाम गरिने गर्छ जसले निकै हैरान पार्छ । ट्राफिकले गाडी ठाउँठाउँमा रोक्नेको त के कुरा, बटुवाहरुलाई एक छेउबाट हिँड्न समेत दिइन्न, अर्को छेउबाट हिँड्नु पर्छ । गाडीबाट सर्रर्र हिँड्नेहरुलाई त यस्तो कुरा सामान्य लाग्न सक्छन् । तर त्यसवापत् सास्ती पाउनेहरुको मनमा पर्ने नकारात्मक प्रभाव निकै दीगो हुनसक्छ । त्यसैले यस्तो समस्या समाधान गर्न वा कम्तीमा न्युन गर्नका लागि सम्वध्द निकायले सोच्न जरुरी छ ।
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.