२०६२ वैशाख १६ शुक्रबार
मेरो संसार ब्लगको होस्टिङ एउटा निःशुल्क स्थान उपलब्ध गराउने कम्पनी ब्लगसमबाट हुँदै आएको छ । धेरै ठाउँ चहारेपछि अन्ततः मैले यो स्थानलाई उपयुक्त ठानेको थिएँ । तर अहिले आफ्नो निश्कर्ष गलत भएको त हैन भन्ने महसूस मलाई भइरहेको छ । किनभने यो साइट समय-समयमा डाउन अर्थात् अनुपलब्ध हुने गर्छ । हिजो पनि रातिदेखि आज अपरान्हसम्म साइट डाउन भएको थियो । यसका कारण म एकदमै निराश भइसकेको थिएँ । त्यसो त कम्पनीको पनि आफ्नै समस्या होलान्, उसले पनि त बिना शुल्क यस्तो सेवा उपलब्ध गराउनु पर्छ । तर प्रतिस्पर्धी अरु साइटहरुमा त्यस्तो समस्या खासै मैले देख्ने गरेको छैन । निःशुल्क स्थान दिने कम्पनीको सेवा प्रयोग गर्नु भने मेरो बाध्यता हो । न यसरी ब्लग गर्दा मलाई कुनै आर्थिक हिसाबले फाइदा हुन्छ न भविष्यमा हुने आशा नै छ । त्यसैले शुल्क तिरेर उत्कृष्ट सेवा दिने स्थानमा ब्लग होस्ट गर्ने मेरो सामर्थ्य छैन । त्यसै त इन्टरनेट र त्यसलाई चलाउन लाग्ने टेलिफोन शुल्कले ढाड सेकाउने गरेको छ ! यति लामो पुराण हालेर पाठकवृन्दलाई भन्न चाहिँ के खोजेको हुँ भने कुनै बेला तपाईँले चाहनुभएको बेला साइट खुलेन भने निराश नहुनु होला, पछि फेरि प्रयास गर्नुहोला, माया नमार्नुहोला । किनकि यो समस्याको समाधान गर्न म असमर्थ छु । नेपोलियन पनि मेरो स्थानमा भएको भए यो समस्याको समाधानलाई असंभव नै ठान्थे होलान् र असंभव भन्ने शब्द मूर्खको मात्र शब्दकोशमा हुँदैन भनेर स्वीकार्थे होलान् । कतै मैले बढी त भनिनँ ?
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.