देउवाको बेडरुममा शाही आयोग

२०६२ वैशाख १४ बुधबार
वा ! क्या रमाइलो छ घटनाक्रम । सस्पेन्स थ्रिलरजस्तो छ घटनाविवरण । पहिला चारैतिरबाट घेरा हालियो । त्यसपछि बत्ती निभाइयो । अनि फोन काटियो । अनि बेडरुमको ढोका ढककाउँदै १० मिनेटभित्र बाहिर ननिस्के ढोका फुटालीभित्र पस्ने चेतावनी….. । बाँकी
घटना माघ १९ को नाटकको अर्को अध्याय हो । त्यसैले रोमाञ्चक नहुने त कुरै भएन । तीन पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई गएको मध्यरात सवा दुई बजे यसरी गिरफ्तार गरिएछ । तीन पटक प्रधानमन्त्री भई दुई पटक राजाबाट बर्खास्त गरिएका देउवालाई मध्यरातमा त्यसरी किन गिरफ्तार गर्नु परेको हो कुन्नि ? देउवा त गिरफ्तारी दिन कति दिनदेखि दौरासुरुवाल लगाएर तयार नै बसेका थिए नि ।
भ्रष्टाचारको छानबिन पनि गर्न पाउने मुद्दा लगाएर फैसला पनि गर्न पाउने असीमित अधिकार पाएको शाही आयोगले आलोचकहरुले आरोप लगाए जस्तो राजनीतिक पूर्वाग्रह नराखी कारबाही गरिरहेको भए देउवालाई गिरफ्तार गर्न मध्यरातको साइट किन जुराउनु पर्थ्यो र । दिउँसै गिरफ्तार गरेको भए भइ हाल्थ्यो नि । भ्रष्टाचार गरेकै हो भने कार्यकर्ता र सञ्चारकर्मीको अगाडि गिरफ्तार गर्दैमा के बिग्रन्थ्यो र । बिचरा देउवा ! हेर्नुस् त, सँधै गिरफ्तारी दिन दौरा सुरुवालमा ठाँटिएर बस्थे तर आज बिहान बयानका लागि आयोग परिसरमा पुर्‍याइँदा त राति सुत्दा लगाउने ड्रेसमा थिए ।
देउवाको गिरफ्तारीले झ्याउ लाग्ने आर्ट फिल्म जस्तो देखिएको नेपाली राजनीति एकाएक अब के होला अब यसो होला भनेर कौतूहलता जगाउने सस्पेन्स थ्रिलर फिल्म जस्तो बन्न पुगेको छ । हुन पनि केही दिनदेखि नेपाली राजनीति ज्यादै रोमाञ्चक बनेको छ । गगन थापा गिरफ्तार भए । एमाले कार्यालयमा प्रहरी हस्तक्षेप भयो । प्रहरी हस्तक्षेपपछि आएको गृह मन्त्रालयको वक्तव्य त झन् रमाइलो थियो । केही उच्छृङ्खल व्यक्ति त्यहाँ प्रवेश गरेको थाहा पाएर तिनीहरुलाई नियन्त्रण गर्न प्रहरी गएको रे । प्रहरीलाई आफ्नो काम त गर्न दिनुपर्‍यो नि बाबा । अनि साधना अधिकारीको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि मात्र प्रहरीले कारबाही अर्थात् गिरफ्तारी गरेको रे । कस्तो यी राजनीतिक दलहरु त, कुरै नबुझी हल्ला गर्छन् भन्या बढी । प्रहरीको चाहिँ मानवीयता नै हुन्न कि क्या हो !