गुगल र नेपालीपोस्टमा मेरो संसार

२०६१ वैशाख १०, शुक्रबार
विगत केही दिनदेखि म ज्यादै व्यस्त रहेँ । एउटा आउटसोर्सिङको काम गर्दैछु भारतको क्रिस्टल हुएस कम्पनीको । अझै केही दिन त्यसैमा व्यस्त रहनु पर्ने संकेत देखिएको छ । व्यस्तता कै कारण ब्लग लेखन बन्द गर्न बाध्य भएको थिएँ । आज यसो समय निकालेरै भए पनि ब्लग लेख्न बसेको हुँ । त्यसो त निद्रा नपुगेकोले हल्का टाउको दुखिरहेको छ । हिजो ३ बजे सुतेको थिएँ । तर बिहान सातै बजे आँखा खुलिहाल्यो ।
यसबीच गुगलमा मेरो ब्लगको सूचीकरण भइसकेको रहेछ । अंग्रेजीमा मेरो संसार भनेर टाइप गर्नुभयो भने गुगलले सुरु मै मेरो साइटको लिंक देखाउँदो रहेछ । त्यसबाहेक ब्लगमा भएका शब्दहरुलाई पनि युनिकोडमा टाइप गरेर सर्च गरे मेरो साइटको लिंक देखाउने रहेछ ।
अनि, यो ब्लगमा भएको अस्ति नयाँ वर्षको दिन खिचेको तस्वीर अमेरिकाबाट प्रकाशित हुने नेपालीपोस्टमा साभार गरिएको रहेछ । साथमा मेरो साइटको बारेमा पनि उल्लेख गरिएको रहेछ । क्याप्सन लेखिएको भने अलि चित्तबुझ्दो लागेन मलाई । जे भए पनि नेपालीपोस्ट जस्तो लोकप्रिय प्रकाशनले मेरो साइटको बारेमा उल्लेख गरेको हुँदा मेरो ब्लगका पाठक संख्यामा वृध्दि हुने आशा मैले राखेको छु । तर व्यस्तताका कारण नयाँ पाठकहरुलाई मैले केही नयाँ दिन सकिरहेको छैन । सोचिरहेको त छु केही विषयहरु जस्तै टाइममा एलेक्स पेरीले गरेको नेपाली राजनीतिको विश्लेषणको नेपाली अनुवाद, यही आउटसोर्सिङका कुरा अनि एउटा रोचक आधुनिक पञ्चतन्त्रको कथा । शायद मंगलबार म यी मध्ये कुनै एक विषयमा ब्लग गर्छु होला ।