क्यामेरा निषेधित क्षेत्रमा गएर पशुपतिको फोटो पनि खिचियो
२०६२ वैशाख १, बिहीबार
अक्सर नयाँ वर्षको दिन म पोखरामा हुन्थें । तर लगातार दुई वर्ष भयो पोखरा नगएको नयाँ वर्षको दिन । नयाँ वर्षो दिन पनि सँधै झै नियमित समयमा नै उठेँ । त्यो समय भनेको अक्सर ७ बजे हो । तर ७ बजे निद्रामात्रै खुल्ने हो । सवा ८ बजेदेखि बीबीसी सुन्यो अनि साढे ८ पौने ९ बजेतिर खाना खान गयो । शनिबारबाहेक अन्य दिन मेरो दिन यसरी नै सुरु हुन्छ । अनि ९ बजेतिर अफिस जान टेम्पो कुर्ने काम सुरु हुन्छ । अफिस आज अरु दिनभन्दा खाली देखिन्थ्यो । आजदेखि च्यानल नेपालले कल साइन वा लोगो परिवर्तन गरेको रहेछ । पहिला च्यानल नेपालमात्र अंग्रेजीमा लेखिएको हुन्थ्यो पहेंलो अक्षरमा भने अहिले नेपालको नक्सामा च्यानल नेपाल लेखिएको लोगो रहेछ ।
अफिसबाट आज म छिट्टै निस्केँ पौने एक बजेतिर र पशुपति गएँ । एक नातेदारको धार्मिक कार्यक्रम भएकोले मात्र हैन, नयाँ वर्षमा नयाँ जोश र नयाँ उमंग भर्नका लागि भगवानको आशिर्वाद पाइने आशले पनि म त्यता गएको थिएँ ।
आखिर पत्रकार न परेँ, अरु भन्दा केही अलग काम गर्नै थियो । शायद त्यसैले पो हो कि, क्यामेरा निषेधित क्षेत्रभित्र क्यामेरा लगेर खुल्लमखुल्ला नै फोटो खिचिदिएँ डिजिटल क्यामेराबाट । त्यसमध्य दुईवटा फोटो मैले यहाँ पनि राखेको छु । वास्तवमा मलाई यो पशुपति वा अन्य हिन्दू धार्मिक स्थलमा फोटो खिच्न निषेध गर्ने, छालाको सामान लग्न नदिने जस्ता कुरा पटक्कै मन पर्दैनन् । फोटो खिच्दैमा केही बिग्रने त हैन । मूर्ति चोरी चाहिँ रोक्न नसक्ने, जाबो फोटो चाहिँ खिच्न नदिने ??
नयाँ वर्षको पूर्वसन्ध्या चाहिँ टेलिभिजन कार्यक्रम हेरेर बिताइयो । नेपाल टेलिभिजनका महाप्रबन्धक दुर्गानाथ शर्माले यो वर्षको कार्यक्रम ‘जरा हट के ‘ छ भनी घोषणा गरेकोले के के न होला भनेर हेरेको त जस्ताको तस्तै रहेछ । खाली वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आयोजना स्थलमात्र फरक रहेछ । सबैभन्दा पट्यारलाग्दो पक्षचाहिँ नेपाली संगीतका स्वर्णिम पानाहरु भन्ने सेग्मेन्ट थियो । यस्तो सेग्मेन्ट त कुनै म्युजिक अवार्ड समारोहमा राखे सुहाउँथ्यो । फेरि सबै गीतहरु एकै लहरमा गाउन नलगाई बीचबीचमा सम्बोधन गर्नु साँच्चिकै पट्यारलाग्दो थियो ।
एनटीभीको कार्यक्रममा च्यानल नेपालका दुई पूर्व कार्यक्रम सञ्चालिकाहरु रितु रामदाम र पूर्व मिस वर्ल्ड युनिभर्सिटी आयुषा श्रेष्ठ उद् घोषिका बनेकी थिइन् । उता इमेज मेट्रोको कार्यक्रममा उद् घोषण गर्ने महिमा र आसिफ पनि पहिला च्यानल नेपालमा नै काम गर्नेहरु थिए । समाचार पढ्न नदिएकोले आयुषाले च्यानल नेपाल छाडेकी थिइन् । अंग्रेजी समाचारको एउटा पूरै समूह त्यही तलब कै कारण अलग हुँदा महिमा पनि त्यसमा शामेल थिइन् ।