ऐश्वर्या रायको निधन (!)

२०६१ चैत २६, शुक्रबार
शीर्षक पढेर झसंग हुनुभयो कि के हो ? भो, चिन्ता गर्नु पर्दैन, यो त मैले आठ दिनअगाडि च्यानल नेपालका सहकर्मीहरुलाई अप्रिल फूलका दिन Aishwarya Raiझुक्याएको कुरा सम्झिएको पो त ।

कुरा के भने त्यो दिन अप्रिल फूल भनेर मलाई थाहा थियो । दुई तीन दिनअगाडि नै केही गर्नुपर्छ भनेर सोचिरहेको थिएँ । त्यो दिन म काम गर्दै थिएँ कि शम्भु पोखरेल, हाम्रा बिहानी न्युजका प्रोड्युसर, आउनु भयो र गम्भीर मुद्रामा नै तपाइँको मेसेज छ रे, रिसेप्सनमा बुझ्नु भनेर भन्नुभयो । काम गरिरहेको भएर तत्काल नै त गरिनँ, एकछिन पछि गर्दा त मेसेज छैन रे भनियो । त्यतिञ्जेल पनि मलाई त्यो अप्रिल फूल मनाइएको भनेर थाहा थिएन । पछि शम्भु जी आफैले भनेपछिमात्रै अप्रिल फूल भएको थाहा पाएँ । अनि मैले पनि सोचेँ, केही त गर्नुपर्छ । अनि अरु रेगुलर समाचारसँगै मैले यो समाचार पनि टाइप गरेँ ।
Ash v/o
भारतकी पूर्व विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या रायको गएराति मुम्बईमा निधन भएको छ । उहाँको अन्तिम संस्कार आजै मुम्बईमा हुने भएको छ ।

गएराति शुटिङ सकाएर कारबाट र्फकँदै गर्दा दुर्घटना भई उहाँको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

सुन्दर अनुहार र मनमोहक अभिनयका कारण लाखौंको मन जित्न सफल ऐश्वर्याको जुहूस्थित घरमा हजारौं प्रशंसकहरुको भीड लागेको छ ।

ऐश्वर्याका हम दिल दे चुके सनम, देवदास जस्ता चलचित्र प्रख्यात रहेका छन् । अप्रिल फूलका दिन यस्तो समाचारमा विश्वास गर्नुभएकोमा मलाई निकै खेद लागेको छ । धन्यवाद है । हाहा ऐश्वर्याका हम दिल दे चुके सनम, देवदास जस्ता चलचित्र प्रख्यात रहेका छन् । मनमोहक अभिनयका कारण लाखौंको मन जित्न सफल ऐश्वर्याको जुहूस्थित घरमा हजारौं प्रशंसकहरुको भीड लागेको छ ।

समाचार जस्तो संवेदनशील कुरामा बढी झुक्याउनु ठीक हुने थिएन । त्यसैले मैले समाचारको अंशमा नै अप्रिल फूल बनाइएको कुरा लेखेको थिएँ । अनि अन्तिम लाइनमा पुनः समाचार दोहो-याउनुको कारण चाहिँ कसैले चलाख भएर अन्तिम अंश पहिले नै पढेर हेर्दा पनि झुक्याएको थाहा नपाउन् भनेर हो ।

समाचार लिएर सबैभन्दा पहिला म भिडियो सम्पादन कक्षमा गएँ । अञ्जु जी हुनुहुन्थ्यो । मैले ऐश्वर्या मरिन् नि भनेर भनेँ । सुरुमा त उहाँले पत्याउनु भएन। तर मेरो गम्भीर मुद्रा देखेर र समाचारको स्क्रिप्ट नै देखाएपछि भने पत्याउनु भएछ । अनि उहाँ हत्त न पत्त आफ्ना परिचितलाई फोन गर्न जानुभयो । परिचितले भने ऐश्वर्या मरेछ भनेर सुनाउँदा “सलमान नपाएर ? “भनेर उल्टै उल्लू बनाएछ । अनि समाचार पढ्दै जाँदा बल्ल अप्रिल फूल भएको थाहा पाउनु भएछ । समाचारवाचिका कोमल शेरचन भने पत्याइनन् समाचार देखाउँदा पनि ।

शम्भु जी भने झसंग नै हुनुभएछ रे समाचार पढ्दा । निकै रमाइलो भयो भन्दै हुनुहुन्थ्यो । अञ्जु जीले त मनभरी ऐश्वर्याको तस्बिर सम्झिनुभएको थियो रे । माथि समाचार कक्षमा मणिले स्लाइड बनाउँदा बनाउँदै मात्र समाचार अप्रिल फूल भएको थाहा पाएछ । यत्तिकैमा संवाददाता बासु पनि समाचार पढेर ‘फूल’ भयो । उ त ‘थुक्क आजतक हेर्न पाइएन’ भन्दै थियो । माघ १९ को शाही कदमपछि भारतीय समाचार च्यानलहरु अझै पनि प्रतिबन्धित नै छ । पछि ‘मैले त साँच्चिकै भनिठानेको’ भन्दै थिए । संवाददाता तथा समाचारवाचक मणि लोहनी पनि ‘मलाई राम्रो लाग्यो यो तरिका’ भन्दै थिए । पछि अर्का भिडियो सम्पादक राम पनि मूर्ख भयो । जे होस्, अफिसभर चर्चाको विषय बन्यो यो नौलो तरिका ‘फूल’ बनाउने !