सोल्टी र फिस्टेल “सँधैका लागि बन्द”

२०६२ वैशाख २६ सोमबार
सरकारद्वारा आतंककारी घोषित माअ‍ोवादीको ट्रेड युनियनले काठमाडौंको सोल्टी होटल र पोखराको फिस्टेल लज सँधैका लागि बन्द गर्ने घोषणा गर्दै त्यहाँ कुनै पनि बेला निरन्तर कारबाही हुनसक्ने भन्दै त्यहाँ कसैलाई नबस्न धम्की दिएका छन् । उनीहरुको यस्तो निर्णयबाट त्यहाँ कार्यरत सयौं कर्मचारी पीडित बनेका छन् ।
माअ‍ोवादीको नाममा हिजो मेरो ईमेलमा आइपुगेको एक वक्तव्यमा उक्त धम्की दिइएको छ । यसअघि पनि उनीहरुले आन्दोलनका नाममा सोल्टी लगायत अन्य कयौं व्यावसायिक प्रतिष्ठानहरुलाई महिनौं बन्द गराइसकेका थिए । त्यतिबेला सोल्टीमा कार्यरत कर्मचारीहरुले ज्यानको जोखिम भए पनि काम गर्ने प्रतिवध्दता व्यक्त गरेका थिए । शाही परिवारको लगानी भएको नाममा नेपालको नाम चलेको पाँचतारे होटल सँधैका लागि बन्द गर्ने घोषणा माअ‍ोवादीहरुले गरेपछि यसले त्यसैपनि अ‍ोरालो लागिरहेको नेपालको पर्यटन व्यवसायमा झनै असर पर्ने महसूस गरिएको छ ।