२०६२ वैशाख २० मंगलबार
आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । आज प्रेसमाथि विभिन्न बन्देज लगाइएको अवस्थामा हामी यो दिवस मनाउँदैछौं । त्यसो त विश्वभर नै पत्रकारितको स्थिति त्यति राम्रो रहेको छैन । विश्वभर पत्रकारहरु मारिने क्रम जारी छ । अधिकांश पत्रकारहरुको मृत्यु हत्याबाट हुने गरेका रहेछन् ।
कमिटी टु प्रोटेक्ट जर्निलस्ट (सीपीजे) का अनुसार सबैभन्दा बढी पत्रकारहरुको हत्या हुने देश फिलिपिन्स हो । त्यसपछि यो सूचीमा क्रमशः इराक, कोलम्बिया, बंगलादेश र रुस रहेको छ । सन् २००० यता विश्वभर १२१ पत्रकारको हत्या भइसकेको रहेछ । पत्रकारिता गर्दैगर्दा ज्यान गुमाउनेहरुको संख्या भने १९० रहेको छ ।
नेपालमा पनि अहिले पत्रकारिताको स्थिति निकै खराब रहेको छ । राजधानीमा त त्यति कडा नहोला, तर मोफसलमा बसेर पत्रकारिता गर्नु सार्है चुनौतिपूर्ण र जोखिमपूर्ण काम बनेको छ । एफएममा समाचार बन्द हुँदा हजारौं पत्रकारहरुले रोजगार गुमाएका छन् । माघ १९ को शाही कदमपछि नियन्त्रित प्रेसले पत्रकारहरुलाई अहिलेसम्मकै सबैभन्दा कठिन मोडमा ल्याइपुर्याएको छ । आर्थिक स्थिति अोरालो लागेकोले कतिपय पत्रकारहरुको रोजगारी गुमेको छ । हाम्रै कुरा गरुँ न, हामीले मासिक तलब नपाएको नौ महिना नाघिसकेको छ । तलब समयमा दिने वाचा गरिन्छन् तर त्यस्तो वाचा यो देशमा सरकार र राजाले चुनाव गराउँछु भन्नु जत्तिकै भएको छ । हाम्रोमात्र हैन, राजधानी र समाचारपत्र जस्ता ठूला दैनिकहरुको हालत पनि त्यस्तै छ रे । समयमा तलब पाउने पत्रिका संस्था त अहिले सरकारी गोरखापत्र, निजीमा कान्तिपुर र भारतीय लगानी भएको अन्नपुर्ण पोस्ट र दि हिमालयन टाइम्समात्रै हो ।
बिना पारिश्रमिक काम गर्नु सहज हुँदैन । तर के गर्नु विडम्बना, काम गर्नैपरिरहेको छ । कि यो पेशाबाटै पलायन हुनुपर्यो कि चुपचाप सहनु पर्यो । यस्तो वातावरणमा पत्रकारहरु कसरी गुजारा गरिरहेका छन्, कहिलेकाहीँ म आफै छक्क पर्छु । मेरै कुरा गर्दा कार्यालयसम्म जानका लागि टेम्पो भाडा जुटाउन मुश्किल पर्ने गर्छ ।
माघ १९ को शाही कदमपछि नेपालमा प्रेसको अवस्था, के कस्ता चुनौति, धम्की यसले सहनु परिरहेको छ भन्ने सम्बन्धमा सीपीजेले गएको हप्ता एउटा विशेष रिपोर्ट प्रकाशित गरेको छ । करिब चार वर्ष नेपालमा काम गरेका बीबीसीका ड्यानियल ल्याकद्वारा लिखित यो विस्तृत रिपोर्टका केही मुख्य अंशलाई म नेपालीमा अनुवाद गरी आउँदा दिनमा ब्लग गर्ने सोचिरहेको छु ।