मकरतन्त्र, मोबाइल फोन र माधव नेपाल

२०६२ वैशाख १९ सोमबार

अंग्रेजीको मे महिनामा आएर अक्षरवालालाई फाइदा हुन थालेको छ । माघ १९ पछिको घटनालाई खगेन्द्र संग्रौलाले मकरतन्त्र भन्ने गरेका छन् । यो तन्त्रको अघिल्लो अक्षर भएर नै मे हिनामा अक्षरधारीलाई फाइदा भएको हो कि । अब हेर्नुस् न, जब मकरतन्त्र मे महिनामा प्रवेश गर्दैथियो, तब संकटकाल हट्यो । अनि मे महिनाको पहिलो दिन मै नेकपा एमालेका हासचिव (उफ, यहाँ पनि म) माधव नेपाल नजरबन्दबाट मुक्त भए । नेपाललाई मुक्त गरिएको पुर्जी हिजो राति १० बजेतिर नै दिइएको रहेछ । अनि आज मे महिनाको दोस्रो दिन अर्को वाला मोबाइल फोनलाई तीन महिनापछि मुक्त गरियो । बाँकी
माघ १९ को शाही सम्बोधन हुँदै गर्दादेखि नै काटिएको मोबाइल लाइन ठ्याम्मै तीन महिनापछि आज ध्यान्हबाट चल्न थाल्यो । त्यसो त सबै लाइन कहाँ खोलिएको रहेछ र । अहिलेको लागि त मात्र ३४ हजार ८१ वटा लाइन खोलिएका रहेछन् । उपत्यकाभित्रका बाँकी ११ हजार जति लाइन अझै पनि बन्द नै छन् । कारण त मकरतन्त्रलाई नै थाहा होला । त्यस्तो नम्बरमा फोन गर्नुभयो भने यस्तो आवाज सुनिन्छ, तपाइँले डायल गर्नुभएको नम्बरमा आगमन कल निषेध गरिएको छ । उपत्यकाबाहिरका मोबाइल लाइन पनि कहिले खुल्ने निश्चित छैन । देशभरमा पोस्टपेड मोबाइलका ग्राहकको संख्या ७०,६८६रहेको छ । १,७२,८९३ जना प्रिपेड मोबाइलवालाहरुको पनि भविष्य निर्धारण गरिएको छैन । प्रिपेड लाइनमा फोन गर्दा यो सेवा हाल उपलब्ध छैन भन्ने सन्देश सुन्न पाइन्छ ।
यसैबीच मोबाइल खुलेकाहरुको आज चुरीफुरी हेर्नलायकको थियो । बाटोमा शानसित मोबाइलमा ठूल्ठूलो स्वरमा बात मारिरहेकाहरु कतिजनालाई त म आफैले देखेँ । उनीहरु जानीजानी ठूलो स्वरमा कुरा गरिरहेका थिए, ताकि अरुहरुले उनीहरुलाई सुनुन् । आज नेपाल टेलिभिजनको ८ बजेको समाचार बुलेटिनको मुख्य समाचार पनि मोबाइल फोन सेवा सुचारु भएको नै थियो । मोबाइल फोन खुलेको पनि ठूलै उपलब्धि जस्तो पो भयो त । कतिलाई त प्रजातन्त्र नै आए जस्तो भयो होला आज । हुन पनि २१ औं शताब्दीको जमानालाई १७ औं, १८ औं शताब्दीमा फर्काउने गरी टेलिफोन, इन्टरनेट, मोबाइल फोन काट्नु पक्कै पनि उचित थिएन । अब बिस्तारै सबै फर्कने क्रममा छ । तर अझै पनि धेरै कुरा फर्काउन बाँकी छ ।
बीबीसीको समाचारसम्ममा सरकारले अझै रोक लगाइरहेको छ । गिरिजा, माधव नेपालजस्ता नेता रिहा भए पनि ‘इमान्दार’ मानिने कतिपय नेताहरु अझै पनि थुनामा नै छन् । रामचन्द्र पौडेल, नरहरि आचार्य, अनि मानवअधिकारवादी कृष्ण पहाडी, गगन थापा, गुरुराज घिमिरे लगायतका विद्यार्थी नेताहरु पनि बन्द नै छन् ।
आज पाकिस्तानका एक च्याटमित्रसित च्याट भएको थियो । उनले हिजो मे दिवसमा निस्केको विशाल जुलुसको दृश्य टेलिभिजनमा हेरेको रहेछ र स्वतन्त्रता दिवसको जुलुस ठानेको रहेछ । हुन पनि त्यो मे दिवसको जुलुसको समाचार विश्वका सबै जसो देशमा दिएको रहेछ । अनि त्यो पाकिस्तानी मित्रलाई मैले उनीहरुकहाँ मुसर्रफले कू गर्दाको स्थितिको बारेमा सोधेको थिएँ । उसका अनुसार त्यहाँ कू हुँदा एक दुई घण्टाका लागि मात्रै टीभी,रेडियो, टेलिफोन, मोबाइल काटिएको रहेछ । हाम्रोमा तीन महिनापछि बल्ल मोबाइल आंशिक रुपमा खुलेको कुरा सुनाउँदा उनी अचम्म मान्दैथिए ।