२०६२ असोज १० सोमबार

काठमाडौंका रत्नपार्क, बानेश्वर र बसन्तपुर अनि ललितपुरको मंगलबजारपछि लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले आज ऐतिहासिक कीर्तिपुर नगरीको नयाँ बजार सडकमा विशाल सभाको आयोजना गर्यो। मंगलबजारको सभामा जस्तो अल्छिलाग्दो भाषण र सुस्त प्रस्तुति यस पटक देखिएन र उपस्थिति पनि घटबढ भएन। कार्यक्रमले सुरुदेखि नै सबैलाई पछिसम्मै बाँधेर राख्नसक्यो। तर साँझ ६ बजिसक्दा पनि कार्यक्रम नटुंग्याएर टाढा फर्कनु पर्ने सहभागीहरुको समस्यालाई बेवास्ता गरेका कारण सभापतिको मन्तव्य व्यक्त हुने बेलासम्म भने थोरैमात्र त्यहाँ थिए।
तपाईँहरुलाई भनिदिउँ, नागरिक आन्दोलनले यस्तो किसिमका सभा गर्दा सहरमा माइकिङ गर्दै हिँड्दैन। न पर्चा, पम्पलेट र वाल पेन्टिङ नै हुन्छ। यस्ता सभामा हुने विशाल जनसमूहको उपस्थिति एकअर्काले भनेको सुनेर र पत्रपत्रिकामा प्रकाशित समाचार अनि इमेलबाट जारी गरिने सूचनाहरुका कारण भेला भएका हुन्। विदेशी पैसाको खोला बगेको छ भन्नेहरुले यो तथ्यलाई पनि एकपटक बुझ्न जरुरी छ।

कार्यक्रम सञ्चालन गर्दै शिव गाउँले। तस्वीरः उमेश
मैले पनि आज नागरिक सभा हुँदैछ भन्ने जानकारी पत्रिकाबाट नै पाएको हुँ। कीर्तिपुरमा हुने भनेर त भनिएको थियो, तर कहाँ हुने भन्ने बारेमा केही बताइएको थिएन। त्यसैले अन्यौलमा थिएँ। तर चहार्दै गर्दा नयाँ बजारको बाटैमा हुन लागेको रहेछ भन्ने थाहा पाइयो। सवा ३ बजिसकेको थियो तर त्यहाँ बल्ल तयारी हुँदै रहेछ र मानिसहरुको उपस्थिति देख्दा आज पनि बेइज्जत हुने भइयो कि के हो जस्तो लागेको थियो। तर कार्यक्रम सुरु हुँदासम्म र सुरु भइसकेपछि भने यति भीड जम्मा भयो कि मानिसको टाउकोबाहेक केही देखिँदैन थियो।
कीर्तिपुरको आफ्नै इतिहास छ। नेपालमा राज्य गर्ने शाहवंशका पूर्खा पृथ्वीनारायण शाहले यो ठाउँलाई जित्न तीन पटक लडाइँ गर्नुपरेको थियो। अन्त्यमा युध्दको नियम उल्लंघन गरेर बल्ल यो ठाउँ जित्न सकेको थियो। २०३६ सालको जनमत संग्रहमा भलै धाँधली गरेर पहेँलोलाई जिताइएको होस् तर यो ठाउँबाट शतप्रतिशत मतदान नीलो अर्थात् बहुदलका लागि भएको थियो। अनि २०४६ सालमा स्थलबाट नसकेर हवाई आक्रमण गरेर आन्दोलनकारीहरुलाई शहीद बनाइएको थियो। त्यतिबेला नै मुक्तक्षेत्र घोषित कीर्तिपुरमा आज नागरिक आन्दोलनको खुलासभा हुँदैथियो।
कार्यक्रमको सञ्चालन गरे शिव गाउँलेले। सभापति थिए नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे। कार्यक्रमको सुरुवात गरियो सर्वनाम नाट्य समूहो पर्खाल नामको नाटकबाट। यससम्बन्धी बढी जानकारीका लागि यो फोटो ब्लग हेर्नुहोला।

शहीदका परिवार र सभापति मञ्चमा। तर पछि सम्मानका लागि त्यहाँ भेला गराइएका शहीदका परिवारलाई कसैले वास्ता गरेनन्। फोटोग्राफरहरुले उनीहरु बसेकै मेचमा चढेर फोटो र भिडियो खिच्दै गरेको मैल टाढैबाट देखेँ। तस्वीरःउमेश
नाटकपछि ०४६ सालको आन्दोलनका क्रममा शहीद बनेकाहरुका छोरी, बुबालाई मञ्चमा बसाएर सम्मान गरियो। त्यसपछि लोकतान्त्रिक चलचित्रकर्मीहरुको मञ्चबाट लोकतान्त्रिक आन्दोलनको अभिलेख छायाङ्कन कार्यको शुभ मुर्हूत गरियो। भदौ २४ गतेदेखि आन्दोलनका दृश्य खिच्न थालिएका भए पनि आज यहाँ आधिकारिक रुपमा मुर्हूत गरिएको थियो। मुर्हूतका लागि देवेन्द्रराज पाण्डेले क्यामेराको स्वीच अन गर्नुभयो भने कृष्ण पहाडीले क्ल्याप हान्नुभयो। शक्ति लम्सालले नारा लगाउनु भयो, लोकतन्त्र भीडबाट आवाज आयो, जिन्दाबाद। फेरि शक्ति लम्साल चिच्याए, निरंकुशतन्त्र, भीडबाट आवाज आयो मूर्दाबाद। त्यो दृश्य मैले क्यामेरामा भिडियोको रुपमा कैद त गरेको थिएँ, तर पछि स्थान अभाव भएपछि त्यहीँ डिलिट गर्न बाध्य भएँ।
मुर्हूतपछि सुरु भयो गीतको क्रम। गीत गाउन आए उही जीवनभर संघर्षको गीत गाउँदै बसेका रामेश र रायन। उनीहरुले जनतालाई हातमा हात मिलाएर आउन आग्रह गरे। त्यसपछि कीर्तिपुरकै समाजसेवी तथा मानवअधिकारकर्मी शिवशरण महर्जन पहिलो वक्ताका रुपमा अगाडि आए। त्यति जमेको थिएन उनको भाषण तर पहिलो वक्ता भएका कारण सबैले धैर्यपूर्वक नै सुने। महर्जन अब कसैले पनि मास्न नसक्ने लोकतन्त्र ल्याउनका लागि सबै जुट्नु पर्ने आह्वान गर्दै थिए।

सहभागीहरुको भीड। तस्वीरः उमेश
राजाले नागरिक आन्दोलनप्रति समेत लक्षित गर्दै विदेशीहरुले पैसाको खोलो बगाएर नचाहिने गतिविधि गराइरहेको भनी लगाएको आरोपप्रति कार्यक्रममा चर्को आलोचना र व्यङ्ग्य गरिएको थियो। कार्यक्रम सञ्चालक शिव गाउँलेले सञ्चालन कै क्रममा भने, “हामीलाई यस्तो आरोप लगाउने को ? जसलाई हामीले २३७ वर्षदेखि खान दिएका छौं, जसलाई हामीले २३७ वर्षदेखि मानसम्मान र इज्जत दिएका छौं। १०-१५ करोडको रोल्सरोयलमा चढ्ने मान्छेहरुले खाली खुट्टा हिँड्ने नागरिकहरुलाई पैसाको खोलोको धम्की दिन मिल्दैन।”
यसपटक आयोजकहरुले प्रस्तुति निकै ध्यानपूर्वक राखेका जस्तो मलाई लाग्यो। पहिलो वक्ताले सुस्त बनाउन लागेको सभालाई तताउन आइपुगे कवि स्नेह सायमि। उनको कविताको शीर्षकले नै लामो ताली पायो। शीर्षक थियो, “श्रीपेच फुकालेर आउनुपर्छ”

श्रीपेच फुकालेर आउन चुनौति दिँदै स्नेह सायमी। तस्वीरःउमेश
अहिंसा र लोकतन्त्रका मूल बाटाहरुमा स्थान खोज्ने हो भने
निहत्था नागरिकसँग प्रतिस्पर्धामा उत्रने हो भने
बन्दूक बिसाएर आउनुपर्छ
श्रीपेच फुकालेर आउनुपर्छ
अब तपाईँ कल्पना गर्नुस्, यसो भन्दा कति तालिको गडगडाहट भयो होला त्यहाँ। उनी अगाडि बढदै गए
….त्यति सजिलो छैन संविधानभन्दा माथि बस्न
जनतासँग प्रतिस्पर्धा गर्ने हो भने
संविधानसम्मत भएर आउनु पर्छ
श्रीपेच फुकालेर आउनुपर्छ
(कविताको पूर्ण विवरण अडियोसहित छिट्टै नै राख्दैछु। कृपया प्रतीक्षा गर्नुहोला)

गन्हाउने बोकोलाई काट्नु पर्योः कवि दामोदर रेग्मी। तस्वीरः उमेश
स्नेह सायमिभन्दा भर्खरका कवि दामोदर रेग्मी झन् के कम। मलाई त सबैभन्दा रमाइलो कविता नै उनकै लाग्यो। दुर्भाग्यवश प्राविधिक गडबडीका कारण मैले उनको कविताका केही अंश छुटाउन पुगेँ। तर जति संकलन गरेको छु, आशा छ, त्यसले तपाईँहरुको प्यास मेटिनेछ। यो कविताको पनि पूर्ण विवरण अडियोसहित छिट्टै नै राख्दैछु। अहिलेलाई केही अंश
उनको कविताको शीर्षक थियो, मुक्ति धर्तिको। तर सजिलोका लागि गन्हाउने बोका भने हुन्छ।
कविताको सुरुवात नै हेर्नुस् कति गजबको छ,
आमा !
यो आफ्नै दाइलाई सिङ्गौरीले हानेर लडाउने बोको
मै हुँ भनेर देख्ने, सुन्ने, बोल्ने
त्यसको कत्रो धोको
उनले माघ १९ को प्रतिगामी कदमलाई यसरी प्रहार गरे
आमा !
यो १९ गते बतास्सिएर आएको गन्हाउने दुर्गन्धित बोको….
अनि यो लाइन पनि गज्जबकै छ…
कस्तो अभागी रहेछ त्यो
त्यसलाई खान दिएकै थियो, लाउन दिएकै थियो, बस्न दिएकै थियो
बोको भनी इज्जत पनि दिएकै थियो
मात्तिन पनि कति मात्तिसकेछ अब त
त्यसले मूर्ति देख्यो कि बोक्यो….
यहाँ पनि तालीको गडगडाहटको कल्पना गर्नुस्….
आमा !
अब अष्टमी नपर्खिउँ न
सार्है पीडा भइसक्यो अब
त्यो बोकोलाई च्वाट्टै छिनाइदिउँ न……
आमा अब यो धर्तीलाई मुक्त गरिदिउँ न
त्यसपछि फेरि पालो आयो वक्ताको। वक्ता थिए लेखिका मुक्ता श्रेष्ठ। उनले राजा शान्तिका पक्षमा नभएको दाबी गर्दै चुनौति दिइन्, यदि राजा शान्ति चाहन्छन् भने युध्दविराम गरेर देखाअोस्। नेपाली जनता अब रैति हुन नचाहने भन्दै उनले ठोकुवा गरिन्, या त नेपालमा लोकतन्त्रको स्थापना हुन्छ , या त राजतन्त्रको अन्त्य हुन्छ, दुवै सँगसँगै जान सक्दैन। उनले पार्टीहरुलाई चेतावनी पनि दिइन्, खबरदार, यस्तो अधकल्चो सम्झौता गर्न पाउन्नौ। अलि लामै बोल्न लागेपछि भने दिक्क लाग्न थाल्यो।

अनि फेरि अर्का कवि मञ्चमा आए, विमल निभा। उनको कविताको शीर्षक थियो, एक दुई तीन चार पाँच
एक- स्पर्श गर्छ
दुई-घुसघुसाउँछ
तीन- बात मार्छ
चार-मुस्कुराउँछ
र पाँच- बर्बराउँछ
पाँचमा षड्यन्त्र गर्ने, क्रुध्द हुने, विक्षिप्त हुने, केही पनि नगर्ने आदि पनि थिए। पाँचमा पुगेपछि किन सबै हिसाब गोलमाल हुन्छ भनी उनले प्रश्न गरे। पाँचको इशारा कतातिर हो भन्ने त तपाईँलाई पनि थाहा भयो नै होला।

आइज गोली आइजः झासँ गोली झासँ गीत गाउँदै। फोटोः उमेश
त्यसपछि रामकृष्ण दुवाल, वीरप्रसाद धन्सारी, दीलिप महर्जन र रानीशोभा महर्जनले झासँ गोली झासँ अर्थात् आइज गोली आइज भन्ने नेपालभाषाको गीत सुनाए।

आफ्नै ठाउँमा आफ्नै मातृभाषाका गीत सुनेपछि मेट्रो एफएमका समाचार प्रमुख श्रीकृष्ण महर्जनले मन थाम्न सकेनन् र उनी नाच्न थाले। तस्वीरः उमेश
नेपालभाषा कै गीत भए पनि भाषा नबुझ्नेहरुले समेत झासँ झासँ भनी चिच्याए र ताली बजाएर साथ दिए।

मेरो समाधि भङ्ग भयोः भिक्षु आनन्द। तस्वीरः उमेश
त्यसपछि मञ्चमा देखिए एक चीरवस्त्रधारी भिक्षु। उनी थिए भिक्षु आनन्द। किन समाधिमा लीन नभएर उनी राजनीतिक सभामा आए त। उनकै भाषामा ” जब म समाधीमा लीन हुन चाहन्छु, एकाएक मेरा वरिपरी समाज र देशको चिच्याहट र मर्माहत सुन्छु। मेरा दाजुभाइ र दिदीबहिनीहरुको रोदन र क्रन्दन सुन्छु। एकातिर श्रीमान गम्भीर प्रचण्ड प्रतापि भूपतिको अभिनन्दन देख्छु त आफ्नै दाजुभाइहरुको रोदन र क्रन्दन पनि सुन्छु। अनि मेरो मनको शान्ति भंग हुन्छ र मेरो समाधि भंग हुन्छ। ” उनले नागरिक आन्दोलनलाई सुस्पष्ट दिशातर्फ लैजान आयोजकहरुलाई आग्रह गरे।

कार्यक्रममा सहभागी हुन आएका स्थानीय महिला। तस्वीरः उमेश
त्यसपछि कवि गोविन्द वर्तमानले उ त्यसै आउँदैन शीर्षकको कविता सुनाए। तर मलाई त्यो त्यति राम्रो लागेन। कविता कै क्रममा चन्दा उठाउन थालियो।

चन्दा उठाइरहेका स्वयंसेवकहरु। तस्वीरः उमेश

लौ हेर्नुस् पैसाको खोलो बगेको तर यो विदेशी हैन, स्वदेशी नै पैसा हो। तस्वीरः उमेश
यसअघिका कार्यक्रममा नभए पनि यसपटक मैले पनि आफ्नो गोजीमा भएको चानचुन पैसा चन्दा उठाउने स्वयंसेवकहरुको चन्दा संकलन कपडामा राखेँ। पछि दिइएको जानकारी अनुसार आजको कार्यक्रममा ८ हजार ४ सय ५७ रुपैयाँ चन्दा संकलन भएछ।

कवयित्री इन्दिरा दाहालको कविता पनि गजब कै थियो। तस्वीरः उमेश
गोविन्द वर्तमानपछि कवयित्री इन्दिरा दाहालको तिमी र राष्ट्रियताको खोल शीर्षकको कविता पनि रमाइलै थियो।
तिमी त साँच्चै पशु पति
अझ भन्दा बाघ पति, सिंह पति, के के हो के के पति
हामी त मान्छे हौं
मान्छेको पनि मालिक हुन्छ र ?
अझ यो सुन्नुस्
दाइको टाउको काटेर
भाइको रगत चाटेर
भो परेन अब हाम्रा आराध्यदेवसँग तिम्रो नाम जोडेर
किन कलुषित बनाउनु हाम्रो राष्ट्रियतालाई ?
उनी किन रोकिन्थिन् र अझ कडा प्रहार गर्दै गइन्
होशियार दाजुभाइ हो
टोपीको इज्जत जाला
टोपी त नेपालीको शिरमा हुनुपर्छ
मुसोलिनीको हैन
दौरा सुरुवालको नाक काटिएला
हिटलरलाई त्यो सुहाउँदै सुहाउँदैन……
त्यसपछि सहभागी सबैलाई जुरुक्क जुरुक्क उचाल्ने प्रस्तुति नन्दकृष्ण जोशीको लोकतान्त्रिक देउडा- झ्याम्म झ्याम्म। त्यहाँ उपस्थित सबै, यहाँसम्म कि झ्याल, बरण्डा, छतबाट कार्यक्रम हेरिरहेकाहरुसम्म ताली बजाउँदै झ्याम्म झ्याम्म गरिरहेका थिए।

जनता रोएका छन्, शासक हाँस्याका छन्…झ्याम्म झ्याम्मः नन्दकृष्ण जोशी लोकतान्त्रिक देउडा गाउँदै। तस्वीरःउमेश
झ्याम्म झ्याम्मको अर्थ चाहिँ निरंकुशतालाई सिस्नुले झ्याम्म झ्याम्म दिएको रे। यो गीत गाउँदा मैले सहभागीहरुतर्फ ध्यान दिएर हेरेको थिएँ। अनगिन्ती टाउकाहरु सबै एकै सुर र तालमा झ्याम्म झ्याम्म गरिरहेका थिए। अनौठो उल्लासमय वातावरण थियो त्यहाँ। त्यो वातावरणलाई तपाईँ केही मात्रामा भए पनि अडियो ब्लग सुनेर महसूस गर्न सक्नुहुनेछ जुन छिट्टै नै म अपलोड गर्दैछु।
झ्याम्म झ्याम्मपछि राजनीतिक विश्लेषक प्रा. कृष्ण खनालले अब हिजोको जस्तो प्रजातन्त्र चाहिएन अब लोकतन्त्र चाहियो भन्ने माग राख्नुभयो। त्यसका लागि केही गर्नुपर्दैन, राजाले विदा लिएपुग्छ, माअोवादी र पार्टीहरु मिले पुग्छ अनि दुवै पक्षले बन्दूक छाडेपुग्छ, खनालले भने।

पानी कवि अर्जुन पराजुली कविता पाठ गर्दै। तस्वीरः उमेश
खनालपछि अर्जुन पराजुली आए। तर उनले पुरानै कविता बढी सुनाए। त्यसैले उनको प्रस्तुति त्यति ठीक लागेन मलाई। यद्यपि उनको जति सुने पनि सुनुँ लाग्ने कविताको आनन्द सबैले उठाइरहेका थिए र ताली पनि पाइ नै रहेका थिए। भुस्याहा कुकुरहरु सबै अभिनन्दनमा गएको अनि जंगबहादुरसितको भेट कविता भने मैले पहिलो पटक सुनेको थिएँ र रमाइलै थियो। यी कविता अडियो ब्लगसहित राख्ने नै छु।
अब साँझ परिसकेको थियो। अँध्यारो हुने क्रम सुरु भइसकेको थियो। मञ्चमा आए कृष्ण पहाडी। सँधै झैं चर्को भाषण र ताली पाए उनले। विदेशीको पैसाको खोलो बगेको देखाउन सके प्रमाणित गर्ने चुनौति दिँदै उनले नेपालीको पैसा विदेशी बैंकमा लगेर हाल्नेको पनि हिसाब हामी निकाल्छौं भने। कसाई, बगरे र राजामा कुनै अन्तर नभएको तर्कको पुष्टि उनले यसरी गरे, कसाई पनि मार्नु अगाडि खसीलाई सु्म्सुम्याउँछ। अहिले राजा पनि कहिले विराटनगर कहिले ललितपुर गएर त्यसरी नै सुम्सुम्याउने काम गरिरहेका छन्।
पहाडीको मन्तव्य सकिनेबित्तिकै सबै उठेर हिँड्न थाले। अँध्यारो पनि हुन थालिसकेको थियो। घडी हेर्दा ६ बजेर १० मिनेट गइसकेको थियो। अनि म पनि सञ्चालकले माइकबाट बस्न गरिएको अनुरोधलाई लत्याउँदै घरतर्फ लागेँ। घरतर्फ जाँदै गर्दा संवैधानिक भएर बस्दिन भन्ने गीत गाइँदै थियो। सभापतिको मन्तव्य भने मैले छुटाएँ।
कविता र गीतका अडियोसहितको ब्लग गर्दैछु। कृपया बाटो हेरेर बस्नुहोला।
काठमाडौं र ललितपुरपछि आज ऐतिहासिक नगरी कीर्तिपुरमा नागरिक सभा सम्पन्न भएको छ। सभामा नागरिकहरुको विशाल उपस्थिति थियो। आजको कार्यक्रम पछिल्लो पटक मंगलबजारमा भएको कार्यक्रम जस्तो सुस्त थिएन। कति प्रस्तुतिले त जुरुक्क जुरुक्क उचालेका थिए सहभागीहरुलाई। यसबारे विस्तृत ब्लग थप तस्वीर र अडियोसहित चाँडै नै राख्नेछु।